मान्छे पोल्ने मन्दिर मन्दिर
सपना पोल्ने जंगल जंगल
भेल बग्ने सडक सडक
ढल बग्ने नदी नदी
कहाँ जाँदै छ त्यो मान्छे ?
मान्छे पोल्ने मन्दिर मन्दिर
उनीहरूले बाध्यतावश
एकपटक तिम्रो नाममा
केवल एक पटक
एउटा चिर्कटो समाउने छन् र
अकासिँदै गरेको कालो धुवाँको
क्षणिक दर्शक बन्नेछन्
कुन शब्दले लेख्छन् यी मान्छेहरू
शहीदहरूको बलिदानी इतिहास
कि किताबका पानाहरूमा
कुनै बदिनी रुँदिन
कुनै कमिनी बोल्दिन
कुनै गाइने रेट्दैन
कुण्ठित तार सारङ्गीको
गन्तव्यविहीन मोडहरू हुँदै
कहाँ जाँदै छ त्यो मान्छे ?
भिरमा उभिएको
धमिलो शहरको फेदीबाट
सम्झिरहिछ मनसरा
भारत भासिएको भाइ
कतार कसिएको खसम
कसरी बाँच्लान्
यहाँका बाँकी सपनाहरू
मुग्लान भासिएलान् कि
हाम फाल्लान् कर्णालीमा ?
चानुवा—७, धनकुटा
हालः चाँगुनारायण— १, भक्तपुर ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










