संसारभर ३ हजारभन्दा धेरै आजीवन सदस्य रहेको नेपाली भाषा साहित्यकै सबैभन्दा ठूलो सञ्जाल भएको संस्था ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)’ को निर्वाचन नजिकिँदैछ । आगामी जुलाई ७ देखि ९ तारिख हुन गइरहेको अधिवेशनले अनेसासको १८ औँ केन्द्रीय अध्यक्ष चयन गर्नेछ । दुई वर्षे कार्यकाल (सन् २०२६-२०२८) का लागि हुन गइरहेको अधिवेशनमा अनलाइन भोटिङमार्फत विश्वभर रहेका अनेसासका आजीवन सदस्यहरूले मतदानमा सहभागी हुन पाउनेछन् । सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरिमा ८० भन्दा धेरै यसका शाखहरू रहेको र त्यसमार्फत ३ हजार जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरू अनेसासमा आबद्ध रहेको बताइन्छ ।
यस पटकको अधिवेशनमा साहित्यकारद्वय लालगोपाल सुवेदी र सुरेन उप्रेतीले अध्यक्ष पदका लागि उम्मेद्बारी घोषणा गर्नुभएको छ । साहित्यकार सुवेदी लामो समयदेखि अमेरिकामा रहँदै आउनुभएको छ भने साहित्यकार उप्रेती क्यानडामा बस्दै आउनुभएको छ । यिनै दुई उम्मेद्वारमध्ये हामीले साहित्यकार उप्रेतीसँग नजिकिँदै गरेको अनेसासको निर्वाचनमा केन्द्रित रहेर केही कुराकानी गर्ने कोशिश गरेका छौँ ।
साहित्यकार उप्रेती अनेसास क्यानडाको संस्थापक अध्यक्ष (सन् २००४) हुनुहुन्छ भने लगातार तीन कार्यकाल उहाँ अध्यक्षमा रहनुभयो । सन् २०१० देखि हालसम्म उहाँ अनेसास क्यानडाको सल्लाहकार हुनुहुन्छ । त्यसैगरी उहाँले अनेसासको केन्द्रीय कार्यसमितिमा महासचिव (सन् २००६-२००८) को जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । अन्य विभिन्न संघसंस्थामा आबद्ध रहेर सक्रिय जीवन बाँचिरहनु भएका उप्रेती साहित्यिक र सामाजिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । थुप्रै साहित्यिक कृति प्रकाशित गरिसक्नुभएका साहित्यकार उप्रेतीको जन्म भने पाँचथरमा भएको थियो ।
अब प्रस्तुत छ साहित्यकार उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश….
१) अनेसासको केन्द्रीय अध्यक्ष पदका लागि उम्मेद्वारी दिनुभएको छ । अनेसासमा तपाईंको उम्मेद्वारी किन ?
– अनेसासको स्थापना भएको पनि ३५ वर्ष भइसक्यो । यति लामो अवधिसम्म पनि अनेसासको आफ्नो भवन छैन । संस्थाको ठेगाना स्थापनाकालमा जुन थियो, अहिले पनि त्यहीँ नै छ । आफ्नो भवन नहुँदा हाम्रा कृतिहरू, प्राप्त पुरस्कार र सम्मानहरू यावत कुरालाई व्यवस्थित गर्न सकिएको छैन । अनेसासको भवन बनाउन अपरिहार्य बनेको छ । अनेसासको केन्द्रमा र नेपालमा भवन बनाउनका लागि मेरो पहिलो प्राथमिकता हुनेछ । अनेसासको वेवसाइडलाई व्यवस्थित गर्न सकिएको छैन । आजीवन सदस्यहरूको फोटोसहितको अपडेड गर्न सकिएको छैन । जसले गर्दा प्रत्येक जसो निर्वाचनमा मतदाता सर्जकहरूको गुनासाहरू आउने गरेका छन् । नेपाल बाहिर रहेका नयाँ पिँडीलाई नेपाली भाषा सिकाउन सकिएन भने हाम्रो भाषा साहित्य र संस्कृति हराउने छ । हाम्रो पहिचान हराउनेछ । अत: नेपाली भाषा कक्षाहरू हरेक देश र शहरमा शुरू गर्नु जरूरी छ । त्यसका लागि अभिभावकलाई समेत उत्प्रेरित गर्नु आवश्यक छ । अरू उस्तै प्रकृतिका संघसंस्थाहरूसँग सहकार्य गरेर प्रशिक्षणमा एकरूपता ल्याउनु पर्ने छ । पाठ्यपुस्तक र पाठ्यसामाग्री उत्पादन गर्नु छ । नेपाली साहित्यलाई अन्य भाषीसम्म पुर्याउन अनुवाद गर्नु छ । पठन संस्कृति हराएको छ । त्यसलाई बढाउन र गुणस्तरीय लेखन संस्कृतिको विकाश गर्नु छ । अनेसासलाई एकताको सूत्रमा बाँधेर सशक्त बनाउँदै नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि मेरो उम्मेदवारी हो ।
२) तपाईंसँगै साहित्यकार लालगोपाल सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेद्बारी दिनुभएको छ । आफ्नो जीतको सम्भावना कति देख्नुहुन्छ ?
– म साहित्य लेखनका साथसाथ एक कुशल सङ्गठक पनि हुँ । मैले अनेसास, एनआरएन र अन्य सामाजिक संघसंस्थामा रहेर महत्त्वपूर्ण कामहरू सहजताका साथ सम्मन्न गरेको छु । सामूहिक प्रयासमा हामीले ठूलाठूला सम्मेलन, सभाहरू सम्पन्न गरेका छौँ । ती कार्यक्रमहरूमा मेरो महत्वपूर्ण भूमिका रहेको थियो । ती कुरा अनेसासका आजीवन सदस्य र विद्वान साहित्यकारहरूलाई थाहा छ । प्रत्येक सम्मेलनमा मैले गरेका जिम्वेवारीपूर्ण गतिविधिबाट सहभागी साहित्यकारहरू परिचित हुनुहुन्छ । सन् २०२२ सालदेखि अनेसास क्यानडाले ‘हजुरबा हजुरआमा’ दिवस र नेपाली राष्ट्रिय पोशाक दिवस मनाउन सुरू गरेको छ । नेपाल सरकारसँग समेत अनुरोध गरेर नेपालीको पहिचान जोगाउने कार्यको थालनी मेरै सक्रियतामा सुरूवात भएको कुरा सबै मतदाताहरूलाई थाहा छ । यिनै कुराहरूले गर्दा विजय हुने कुरामा म विश्वस्त छु ।
३) तपाईंको चुनावी घोषणापत्रको पहिलो नम्बरमै ‘अनेसासको भवन निर्माण’लाई प्राथमिकतामा राखिएको छ । साहित्यको विकासमा भवनको सम्बन्ध के छ ?
– हो, मेरो घोषणापत्रको पहिलो नम्बरमा नै अनेसासको भवन निर्माणलाई प्राथमिकताकासाथ राखिएको छ । जबसम्म बस्ने थातथलो हुँदैन, तबसम्म सुरक्षित बसोबास हुँदैन । कार्यालयलाई कहिले कता र कहिले कहाँ सारिरहनु पर्ने भएको हुँदा अनेसासका भौतिक आर्जनहरूलाई व्यवस्थित राख्न सकिएको छैन । डेरा बस्नेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरेपछि धेरै समयसम्म सामान नभेटिएको म पनि भुक्तभोगी नै हुँ । जब आफ्नै भवन हुन्छ, तबमात्र संस्थागत विकासमा ध्यान पुर्याउन सकिन्छ । हाम्रा सम्पति भनेका सिर्जनाहरू हुन् । हामी हरेक दुई वर्षमा उत्कृष्ट कृतिलाई पुरस्कृत गर्छौँ । हामीसँग हजारौँ पुस्तक सङ्कलित हुनु पर्ने हो । तर घर नभएपछि पुस्तकहरू पनि छैनन् । हरेक सम्मेलनमा लाखौँको सामान ल्याउँछौ । तर कार्यक्रम समाप्त हुँदा राख्ने ठाउँ नभएर सामानहरू कसैका बेसमेन्टमा शरणार्थी बन्न बाध्य छन् । बैठक बस्नलाई रेस्टुरेन्टमा जानु पर्छ । हामी ३५ वर्षसम्म पनि घरविहीन छौँ । घर नभएसम्म संस्था र संस्थासँग आबद्धहरूले सुरक्षित महसूस गर्न सकिँदैन । यिनै कारणहरूले अनेसासको भवन निर्माण पहिलो प्राथमिकतामा परेको हो ।
४) अनेसासको एउटा उद्देश्य, नेपाली भाषा साहित्यलाई विश्वबजारमा पुर्याउनु पनि हो । भोलिका दिनमा यसलाई कसरी अगाडी बढाउने योजना छ ?
– अनेसासले नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि काम गर्ने संघसंस्थाहरूसँग समन्वय गरी अनुवादलाई प्राथमिकतामा राखेर अगाडि बढाउने योजना छ । नेपाल प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपालभित्र रहेका सबै विश्वविद्यालयहरू, गैरआवसीय नेपाली संघको भाषा साहित्य विभाग, विश्वसाहित्य महासंघ र भारत तथा अन्य मुलुकमा रहेका नेपाली भाषा पढाउने विश्वविद्यालयसँग सहकार्य गरी अनुवाद गरेर विश्वव्यापी बनाउने । साहित्यमा नोवेल पुरस्कार र त्यस्तै प्रकृतिका ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित व्यक्तिहरूलाई नेपालमा ल्याएर नेपाली साहित्यकारहरूसँग कार्यशाला गोष्ठी गर्ने । सहप्रकाशनहरू गर्ने, जसले नेपाली साहित्यलाई अन्य भाषाभाषी समक्ष पुर्याउने छ । अनेसासले अङ्ग्रेजी भाषामा अन्तर्राष्ट्रिय स्तरमा जर्नल प्रकाशन गर्ने । यी कार्यले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास गर्दछु ।
५) मैले पहिले पनि बेलाबेला उठाउने सवाल के हो भने – नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटा फाल्टै विभाग होस्, जसले नेपालभन्दा बाहिरको नेपाली साहित्यका लागि मात्र काम गरोस् । तपाईंको चुनावी घोषणापत्रमा पनि यो कुरा उल्लेख गर्नुभएको रहेछ । यसलाई कसरी कार्यन्वयन गर्न सकिएला ?
– महत्त्वपूर्ण प्रश्नका लागि धन्यवाद ! नेपाल बाहिर रहने नेपालीहरूको सङ्ख्या लाखौँ पुगिसकेको छ । अब नेपाल संसारका धेरै देशहरूमा पुगेको छ । अब प्रज्ञा प्रतिष्ठान पनि पुरातन शैलीमा मात्र सीमित रहनु हुँदैन । अब कसरी नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्ने भन्नेमा पहल थाल्नु पर्छ । नेपालभित्रका जातजातिहरूका भाषा, साहित्य, संस्कृतिको उन्नयनका लागि धेरै संघसंस्थाहरूले काम थालनी गरेका छन् । अब नेपाल भित्रकालाई समन्वय गर्ने र प्रोत्साहन गर्ने शाखाहरूमा मात्र सिमित नरही, संसारका प्रमुख भाषाहरूमा अनुवाद गर्ने शाखाहरू खोल्नु आवश्यक छ । अब प्रज्ञा परिषद, प्राज्ञ सभा गठन गर्दा नेपालभन्दा बाहिरका सर्जकहरूलाई अवैतनिक रूपमा भए पनि प्राज्ञको रूपमा राख्नु पर्दछ । उहाँहरूको विद्वतालाई नेपाल प्रज्ञा प्रतिष्ठानले उपयोग गर्न सक्नु पर्दछ । सरकारलाई भाषा साहित्य संस्कृति पाठ्यपुस्तक आदिको गुणस्तर र उन्नयनका लागि सल्लाह सुझाव दिन सक्नु पर्दछ ।
६) नेपालभन्दा बाहिर (भारत बाहेक) रहेको नेपाली समुदायको दोस्रो पुस्तामा नेपाली भाषा साहित्यको हस्तान्तरणलाई लिएर ठूलो बहस हुने गरेको छ । यो एउटा चिन्ताको विषय पनि मानिन थालिएको छ । अनेसासले भोलिका दिनमा यसबारेमा के कस्ता काम गर्ने योजना बनाएको छ ?
– हामीहरू समयमै सचेत नहुने हो भने अबको दुई पुस्तापछि नै नेपालभन्दा बाहिर रहेका नेपाली भाषीहरूको पहिचान गुम्नेछ । भाषा केवल भावना विनिमय गर्ने साधन मात्र हैन । भाषाभित्र साहित्य, संस्कृति, संस्कार, सम्पदा जस्ता सम्पत्तिहरू अव्यक्त रूपमा रहेका हुन्छन् । ती नै हाम्रा पहिचानका श्रोतहरू हुन् । रूप रङमा साउथ एशियनहरू र दक्षिण अमेरिकनहरूमा खासै भिन्नता छैन । हामीलाई पहिचान गराउने, अलग गराउने भनेकै भाषाले गर्दा हो । भाषा जोगाउनका लागि हरेक नेपालीका घरमा नेपाली भाषा बोल्न प्रोत्साहित गर्ने । नेपाली चाडपर्व रितिरिवाजलाई पालना गर्ने । नेपाली भाषा कक्षाहरू सञ्चालन गरी सहज ढङ्गले भाषा सिकाउने । हरेक महादेशमा अर्थात एउटै समय हुने ठाउँमा अनलाइनबाट भाषा कक्षा सञ्चालन गर्ने ।
७) एउटा कुरा नि – छोराछोरीकै सुखद भविष्यको खोजी गर्दै हामी आफ्नो देश छोडेर अन्य देशमा ‘सेटल’ हुन जान्छौँ । फेरि तिनै सन्तानले आफ्नो देशको भाषा बिर्सिए/बिर्सिएलान् भनेर चिन्ता गर्नु कतिको सान्दर्भिक होला ?
– गम्भीर कुरा हो यो । हामी सुखद भविष्यको खोजीमा भौँंतारिएका अवश्य हो । तर मानिसलाई आत्मसम्मान भएन भने बाँच्न सक्दैन । पहिचान भएन भने मानिसको आत्मसम्मानमा चोट पुग्दछ। अवहेलना सहेर दीर्घकाल चल्दैन । स्थानान्तर हुने बित्तिकै हाम्रो शारीरिक बनावट, कपालको र अनुहारको रङ फेरिँदैन । नयाँ भाषा बोल्दैमा मानिसको पहिचान फेरिँदैन । “तिमी कुन देशबाट आएको हो ?” भनेर कसैले सोध्दा, गर्वकासाथ उत्तर दिन पनि आफ्नो पहिचान जोगाएर राख्न सक्नु पर्छ । अमेरिका या बेलायतमा बसेका नेपाली मूलका बालबालिकाले त्यहीँ जन्मिए पनि त्यहाँको जस्तो भाषा र संस्कृति जानेका हुँदैनन् । यो भाषा साहित्य र संस्कृति पनि पुस्तान्तरण हुँदै गएको हुन्छ । स्ल्याङ शब्दहरू स्थानीय बोलिचालीका भाषाहरू ठेट शब्दहरू हाम्रा नानीबाबुहरूले सुनेकै हुँदैनन् । भाषा गुम्यो भने लटाईबाट छुटेको चङ्गाजस्तै बन्ने छौँ हामी ।
८) प्रवासको नेपाली साहित्यको वर्तमान अवस्था चाहिँ कस्तो देख्नुहुन्छ ? र हाम्रा चुनौतीहरू के के हुन् ?
– प्रवासका नेपाली साहित्यहरू अधिकांश प्रवासका पीडा, कुण्ठा, आक्रोश, राजनितिक विभेद, राजनीतिक विकृति विसङ्गति, हिंसा अनुभूति, यात्रा, वियोग, पारिवारिक विखण्डनमा केन्द्रित भएर लेखिएका पाइन्छन् । खोजमूलक तथ्यमा आधारित भएर कमैमात्र सिर्जना भएका पाइन्छन् । यीभन्दा माथि उठेर लेख्न सक्नु नै हाम्रो चुनौती हो ।
९) विश्वभरि रहेका नेपाली सर्जकहरूलाई एउटै मालामा उन्ने काम त अनेसासले गर्दै आइरहेको छ । लेखनको गुणस्तर मापन गर्ने र त्यसको सुधारको लागि के कस्ता कदमहरू चाल्दै आएको छ अनेसासले ? र भोलिको अवस्था के रहला ?
– पठन संस्कृति हराएर गएको छ । आफ्नो किताब पढेर राम्रो रहेछ भनेर लेखिदिऊन् भन्ने आग्रहबाट पीडित छन् साहित्यकारहरू । कतिखेर लेखिसकेर प्रकाशन गर्ने भन्ने हतारमा सर्जक बाँचेका छन् । तारे होटलमा लगेर केही पत्रकारलाई तैर्याउन पाएदेखि छापा रङ्गिनेछ भन्ने बुझेकाहरूले राम्रै जुक्ति लगाएको देखिन्छ । पुरस्कार पाउन सोर्सफोर्सका बुट्टा समातेर सर्जकहरू पुरस्कार थाप्छन् । यो प्रवृतिले पुरस्कार नै लजाएर रातोपिरो भएको कुरा बग्रेल्ती देखिन्छन् । लेखकलाई निर्मम भएर स्वास्थकर सल्लाह दिने संकाय पनि छैन । प्रशिक्षण, कार्यशाला, मेन्टरशिपको व्यवस्था गर्ने हो भने सिद्धान्त अनुरूपको सिर्जना हुने छ भन्ने मलाई लाग्दछ ।
१०) जाँदाजाँदै अन्त्यमा केही ?
– साहित्यपोस्टले नेपाली भाषा र साहित्यलाई उचाइमा लैजानका लागि कुनै वाद, विचार आदिबाट विचलित नभई विशुद्ध साहित्यको उन्नयनमा लागेकोमा बधाई छ । यसले श्रव्य पुस्तकहरू पनि प्रकाशन गरेको थाहा पाएर सुन्न पाउँदा समयसापेक्ष बगेको अनुभूति भयो । नेपाली भाषासाहित्यको गाम्भीर्यतालाई बुझेर गहन प्रश्न गर्नु भएकोमा तपाईंप्रति म नतमस्तक छु । चुनावको समीपमा पुगेको हुनाले अनेसास सन् २०२६-०२८ को निर्वाचनमा अध्यक्ष पदमा विजय गराएर माथि प्रस्तुत कार्यलाई पूरा गर्नका लागि सबै अनेसासका आजीवन सदस्यहरूलाई अपील पनि गर्दछु । धन्यवाद !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










