म त्यही गौँडा
त्यही गल्लीहरू बाँचेर
यहाँसम्म आएँ
जुन गल्ली हिँड्दा हिँड्दै
उनीहरूले जिन्दगानी सिध्याए
एउटा विरक्तिलो पाखोजस्तो
मानवविहीन ढाँडबारीमा पुगेर
पानीको मूल भेट्ने गर्थ्यो
उनीहरूले बाँच्ने गरेका गल्लीहरूले
सङ्गीन युगहरू बाँचेपछिको विरह
त्यही उच्छ्वासका साथ घटघटी पिउँथ्यो
आज तिम्रा अनाम गल्लीहरूमा
मुरकट्टाहरू संगिनी खेल्दैछन्
लाखेका तालमा छमछमी नाच्दैछन्
राँकेभूतको चालमा आदिम सभ्यताहरू
अमर हुनुको मुखुण्डो पोतेर
हरेक साँझ समलिङ्गी हाट भरिरहेछन्
तिम्रा अनाम गल्लीहरूमा
म अथवा एक अनाम यात्री
हरेक साँझ एक बोझिलो पाइला चाल्छु
अग्ला अग्ला सिमलका भुवाहरूजस्ता
गन्तव्यहीन सपनाहरू भिरेर
सयौं आकाशहरू छिचोल्छु
सयौं रुपहरू बदल्छु
एउटा मान्छे बन्ने प्रेत बोकेर
हरेक दिन ज्यूँदा प्रेतहरूसँग कुस्ती खेल्छु
तिम्रा अनाम गल्लीहरूमा
बाख्री, भैंसी र भेडीहरू
बलिको बोको बनेजस्तो
खसी, राँगो र भेडाको नाममा
मान्छेहरूको किनबेच हुँदैछ
मृत कविको मूल्य
रुपैयाँ पच्चीस हजार मात्र ।
चानुवा—७, धनकुटा
हालः चाँगुनारायण— १, भक्तपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










