प्रिय धावक !
कहिलेसम्म रहन्छौ
यही देउरालीमा
र लेकबेसी गर्छौ,
कहिलेसम्म धाउँछौ
यही गोधुलीमा
र प्रेमका गीत गाउँछौ ?
तिम्राजस्ता हजार पाइलाहरू
तिम्राजस्ता हजार गीतहरू
हजार सपनाहरूसँग कुस्ती खेल्छन्
हजार साँझहरुसँग जीवन साट्छन्
हजार जोवनहरूसँग यौवन बेचिरहन्छन्
प्रिय धावक !
तिमीलाई कस्तो लाग्छ हँ !
न हतार, न रोदनको
न सपना, न अभिलाशाको
छङ्छङी हामफाल्ने
भूतछाङ्गाको गीत ?
प्रिय धावक !
मेरै छातीमा चौतारो बनाउने तिमी
वर र पीपलु साँची राखी
फूलपाति चढाउने तिमी
लेकबेसी धाउने तिमी
प्रेम गीत गाउने तिमी
अन्नप्राशन शनि दोषन
पीपल ढोग्न आउने तिमी
मृत्युपछि दागबत्ती र
मलामी सुस्ताउने तिमी
प्रिय धावक !
कहिलेसम्म रहनेछौ
यही धरतिमा
र उकाली ओराली गर्छौ ?

चानुवा—७, धनकुटा
हालः चाँगुनारायण— १, भक्तपुर