प्रिय अमित, हृदयभरिको माया अनि संसारभरिको खुशी तिमीलाई ।

म तिमीलाई के भनेर सम्बोधन गरुँ ? जीवनसाथी भनूँ या जीवनदाता ? तिम्रो महानतालाई सम्बोधन गर्ने शब्दको अभाव छ मसँग । म आज निकै भावुक भएकी छु । अमित, आज मैले फेरिरहेको सास तिम्रो हो । मेरो शरीरको धड्कन तिम्रो हो । मैले बाँचिरहेको जीवन तिम्रै प्रेम, त्याग, समर्पण र महानताको अमूल्य उपहार हो ।

एकअर्कालाई साथ र सहयोग गरेर जीवन बिताउने वाचा गरिरहँदा हामी २२ र २३ वर्षका थियौँ । हामीसँगै हाम्रा रहर, चाहना र सपनाहरू पनि जवान बन्न खोज्दै थिए । हाम्रा सपनाका बोटमा आँकुराहरू पलाउँदै थिए । तिमी घरको जेठो छोरा थियौ । जिम्मेवारी धेरै थियो । मध्यमवर्गीय परिवारमा बाँचेका हामीलाई आर्थिक अभाव हुने नै भयो । रोजगारीको आवश्यकता खट्किरहेको थियो । तिमी बीचमै पढाइ छोडेर विदेश पस्यौ । भर्खरै विवाह गरेका हामी ६ महीना पनि नहुँदै छुट्टियौँ ।

हाम्रो राज्य व्यवस्थाले दिन नसकेको सुशासन र सिर्जना गरेको बेरोजगारीको परिणाम हामीले भोग्यौँ । हाम्रो वैवाहिक यात्राको एक दशक बिताउँदा हामीले दुई सन्तानको रहर पनि पूरा गर्यौँ । हाम्रो समय ठिकठाकसँग चल्दै थियो । तिमी विदेशमा बसेर पसिना बगाउँदै थियौ, म हाम्रा सन्तानहरूको रेखदेख र लालनपालनमा व्यस्त थिएँ । हामीले प्रेम साट्न अनि शीतल छहारीमुनि अङ्कमाल गर्न दशैँ तिहार जस्ता ठूला चाड पर्खनुपर्थ्यो । विडम्बना ! जतिबेला हामीलाई एकअर्काको न्यानो माया, खुशी र सहकार्यको आवश्यकता थियो, त्यतिबेला हामी साथ थिएनौँ । अहिले हामी साथै छौँ तर त्यो खुशी र युवा शरीर हामीसँग छैन ।

जीवन सधैँ कहाँ एकनासले चल्दो रहेछ र ! ठीकठाकसँग चलिरहेको हाम्रो जिन्दगीमा नियतिले एकाएक बज्रपात गर्यो । विपत्तिको पहिरो खस्यो । सङ्कटको सुनामी चलिरह्यो लामो समयसम्म हाम्रो जीवनमा । जब म बिरामी भएँ, त्यसले हाम्रा धेरै चिजहरू लुट्यो । हाम्रो खुशी लुट्यो, रोजगारी लुट्यो अनि हामीले मिहिनेत गरेर थोपा थोपा गर्दै जम्मा गरेको सम्पत्ति लुट्यो । त्यति मात्रै होइन, हाम्रो स्वास्थ्य लुटेर हामीलाई विशाल समुद्रको बिचोबीचमा ल्याएर छोडिदियो, जहाँबाट हामी कि तर्नुपर्थ्यो कि मर्नुपर्थ्यो । उपचारको क्रममा डाक्टरले जब मलाई दुबै किड्नीमा समस्या भएको बताए, म छाँगाबाट खसेजस्ती भएँ । आमाबुवा धेरै नै दुःखी हुनुभयो ।

मभन्दा दुःखी तिमी थियौ, सायद । विदेशको रोजगारी छोडेर तिमी फर्कियौ । हाम्रो नियमित दिनचर्या रोकियो । हाम्रो बसोबास अस्पतालमा बढी, घरमा कम हुन थाल्यो । डाक्टरको हातमा मेरो जिन्दगी थियो । चेकजाँचपछि डायलासिसको नियमित क्रम चल्यो । आफ्नो शरीरका दुबै किड्नीले काम नगरिसकेपछि मेरो शरीरलाई एउटा स्वस्थ किड्नीको आवश्यकता थियो । जुन आवश्यकता पूरा गर्न तिमी तयार भयौ । प्रिय अमित, तिमीले आफ्नो शरीरको अङ्ग काटेर पनि मलाई बचाउने जुन निर्णय गर्यौ, त्यो मेरा निम्ति तिमीले गरेको ठूलो त्याग र समर्पण थियो । त्यो तिम्रो महानता थियो । आफ्ना प्रिय अभिभावकहरूको अस्वीकृतिका बाबजुद पनि तिमीले मलाई बचाउनका लागि जुन हिम्मत देखायौ, त्यो कार्यको प्रशंसा जति गरे पनि कमै हुन्छ ।

प्रिय अमित, मेरा आमाबुवाले जसरी मलाई प्रेम गर्नुहुन्छ ठीक त्यसै गरी तिमीलाई पनि तिम्रो आमाबुवाले माया र प्रेम गर्नुहुन्छ । यस अर्थमा तिमीले आफ्नो अङ्ग काटेर दिने निर्णय गर्दा उहाँहरूले असहमति जनाउनु स्वभाविक थियो । ती सबै आफ्ना प्रियजनका असहमतिका बाबजुद पनि तिमीले मेरा निम्ति, हाम्रा सन्तानका निम्ति जुन त्याग देखायौ, आफ्नो स्वस्थ शरीरलाई दाउमा राख्यौ, त्यो निकै साहसिक र महान निर्णय थियो तिम्रो । मानिसहरू मृत्युपछि आफ्नो अङ्गदान गर्न त डराइरहेका हुन्छन्, तिमी त काम गरिरहेको आफ्नो शरीरको अङ्ग मलाई दिन राजी भयौ । अमित, त्यतिबेला मैले तिम्रो अनुहारमा मानिस होइन, साक्षात भगवानको रूप देखेँ । मैले आफूलाई निकै भाग्यमानी ठानेँ, एउटा महान् जीवनसाथी पाएकोमा । मर्दै गरेको मेरो जीवनमा तिमी आयु बनेर आयौ, ढुक्ढुकी बनेर आयौ । थोरै मानिसहरूले मात्र त्यो साहस र आँट गर्न सक्छन् । यस अर्थमा तिमी मेरो लागि महान छौ ।

आफ्नो अङ्ग दिने निर्णय गरेपछि पनि तिमीलाई सजिलो कहाँ थियो र ? सात, आठ महीनासम्म नियमित चेक गराउनु पर्ने । बुटवलबाट महीनामा तीनचार पटक काठमाडौं धाइरहनु पर्ने भयो । तिम्रा सबै दुःखको साक्षी म थिएँ । मेरा कारणले तिमीले भोग्नु परिरहेको दुःख र कष्ट देखेर म भित्रैबाट दुःखी हुन्थेँ, मर्माहत हुन्थेँ तर गर्न केही सक्दिनथेँ । म त बिरामी नै भएँ, एउटा सद्दे मानिसले मेरा कारणले दुःख पाएकोमा म भित्रभित्रै पिल्सिन्थेँ र जल्थेँ । जीवनमा कहिलेकाहीँ यस्ता दुःखहरू आइलाग्छन् जुन पीडालाई न बाँड्न सकिन्छ न त कसैसँग मन खोल्न नै सकिन्छ । म त्यही पीडित मनोविज्ञान लिएर बाँचिरहेकी एक पात्र थिएँ ।

प्रिय अमित, मेरो उपचारको क्रममा हामीले थोपा थोपा गर्दै जम्मा पारेको सीमित पैसा पनि खर्च भइसकेको थियो । हामीलाई पैसाको जोहो गर्नुपर्ने भयो । त्यसका लागि हाम्रा अभिभावक लगायत हामीले आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत् नै अपिल गर्नुपर्ने अवस्था आयो । मानिसहरूले निकै दुःख गरेर कमाएको पैसाको केही हिस्सा मेरो जीवन बचाउन खर्च गर्नुभयो । धेरै इष्टमित्र, बन्धुबान्धव, शुभचिन्तक र प्रियजनहरूले हामीलाई सक्दो सहयोग गर्नुभयो । स्वदेश र विदेशबाट समेत हामीलाई ठूलो रकम प्राप्त भयो । जजसले त्यो अभियानमा हामीलाई सहयोग गर्नुभयो, त्यो केवल पैसा मात्र थिएन, त्यो पैसासँगै माया, प्रेम, सद्भाव, विश्वास र मेरो जीवन जोडिएको थियो । मलाई स्वस्थ भएको देख्न चाहने मेरा सम्पूर्ण शुभचिन्तकहरू, आफन्तजन, प्रियजनहरूप्रति हामी सदा ऋणी हुनेछौँ । मानिसले सजिलो बेलामा गरेको सहयोग त कहिलेकाहीँ बिर्सन पनि सकिन्छ होला तर सङ्कटको बेला गरेको सहयोग कहिल्यै भुल्न सकिँदैन । तसर्थ उक्त सहयोगको कुनै मूल्य छैन । त्यो सहयोग हाम्रा लागि अनमोल छ । मेरो जीवन बचाउने यस अभियानमा मलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति, शुभचिन्तकहरूप्रति हामी कृतज्ञ छौँ र हृदयदेखि नै आभार व्यक्त गर्दछौँ ।

प्रिय अमित, अहिले हामी दुवै ओछ्यानमा छौँ । डाक्टरले सफल शल्यक्रिया गरेर दुवैलाई नयाँ जीवन दिनुभएको छ । निकै ठूलो र जोखिमपूर्ण काम सम्पन्न भइसकेको छ । डाक्टरले किड्नी ट्रान्सप्लान्ट गरिसकेपछि मेरो शरीरले त्यसलाई रिसिभ गरिसकेको छ । अब हामीलाई मात्र केयरको जरुरत छ । डाक्टरको सल्लाहअनुसार हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनु र आफ्नो केयर गर्नुमा हाम्रो काम सीमित भएको छ । यस बीचमा मैले के महसूस गरेँ भने मृत्युको नजिक पुगेर फर्केपछि जीवनको वास्तविक मूल्यबोध हुँदो रहेछ । मैले आज फरक अनुभूति गरिरहेकी छु । कुनै पनि देशको राज्यव्यवस्था कमजोर भयो भने नागरिकले धेरै दुःख पाउँदा रहेछन्, यो कुराको गहिरो अनुभूति गरिरहेको छु । मानिसको जीवनमा स्वास्थ्यभन्दा ठूलो धन केही छैन । हामीले हाम्रो स्वास्थ्यलाई सन्तुलित बनाउने कुरामा सधै ध्यान दिनुपर्छ भन्ने कुरा बुझेँ । जीवन क्षणभङ्गुर छ त्यसैले हामी सधैँ वर्तमानमा जिउनुपर्छ । वर्तमानको आनन्द उठाउनुपर्छ । आफूभित्र रहेका रिस, राग, इर्ष्या, जलन, अहङ्कारले हामीलाई दुःखी बनाउँछ । त्यसको विनाश गर्नुपर्छ र आफूसँग जे छ त्यसमै रमाउनुपर्छ भन्ने कुरा सिकेँ । आफ्नो तुलना कसैसँग पनि गर्नुहुँदैन । किनकि हरेक मानिस आफैँमा पूर्ण छ । मानिसले सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । यदि सकिँदैन भने कसैलाई दुःख दिने काम पनि गर्नुहुँदैन भन्ने कुरा बुझेँ ।

प्रिय अमित, अब मैले जिउने सम्पूर्ण जीवन नाफाको जीवन हो । त्यसैले मलाई अब कसैप्रति कुनै गुनासो छैन । म पूर्ण रूपमा सन्तुष्ट छु । मृत्यु त जीवनको अकाट्य सत्य हो तर मानिसलाई आफ्नो जीवनप्रति अत्यधिक प्रेम हुन्छ । संसारमा ८ अरब मानिसहरू छन् । एकै दिनमा हजारौँ जन्मिन्छन्, हजारौँ मर्छन् । त्यसको कसैलाई कुनै परवाह छैन तर आफ्नो जीवनको हरेक मानिसलाई अत्यधिक परवाह हुन्छ । यो मानवीय स्वभाव नै हो । मेरो जस्तो बुवा (जो भोक, प्यास नभनी दिन रात औषधि उपचारको निम्ति खट्नुभयो) र तिमी जस्तो श्रीमान् नभएको भए म आज यहाँ हुने थिइनँ । मैले आज यति बोल्न र लेख्न सकेँ, यो तिम्रै कारण हो ।

पत्र निकै लामो भएछ अमित । अब म यहीँ रोकिन्छु । तिम्रो सदा जय होस । सबै सबैको जयजयकार होस् । अन्तमा,

ॐ सर्वे भवन्तु सुखिन !
सर्वे सन्तु निरामया ! !
सर्वे भद्राणि पश्यन्तु !
मा कश्चित् दुःख भाग्भवेत् !!

तिम्रो हृदयकी रानी

चञ्चला