के गरीब भएर जन्मनु हाम्रो दोष हो र? यदि होइन भने नगरेको गल्तीको सजाय जीवनभरि किन भोग्नुपर्छ हामीले?

मेरी आमा जसले मेरो खुशीका लागि आफ्ना खुशी र चाहनामाथि जीवनभर बलत्कार गरिन् । तिमी, जसले आफ्नो तृष्णा मेटाउन घरभन्दा अलि परको जङ्गलमा मलाई रातभरि बलत्कार गर्‍यौ ।”

मेरो आँखाबाट आँशुभन्दा बढी आजको युगमा पनि छुवाछुत र जातीय भेदभावको शिकार हुनुपर्दाको वेदना बग्ने गर्छ ।”

माथिका यी उद्गारहरू हालसालै प्रकाशित कथासङ्ग्रह “मुना—मदनको डिभोर्स पार्टी” कथाबाट साभार गरिएका हुन् ।

दिपक समिर नेपाल टेलिभिजनका स्रोताहरूका लागि कुनै नौलो नाम होइन । विगत २५ वर्षदेखि पत्रकारिता गर्दै आएका समिर कथाकारका रूपमा नयाँ देखिए तापनि उनको लेखन यात्रा भने लामै देखिन्छ । सयौँ रेडियो नाटक, कविता, गीत, गजल, यात्रा संस्मरण लेखेका समिरले ‘मुनामदनको डिभोर्स पार्टी’लाई प्रथम कथासङ्ग्रहको रूपमा प्रकाशनमा ल्याएका छन् । समाजका सिमान्तकृत अदृश्य पात्रहरूको कथा खोज्ने, टिप्ने र टेलिभिजनको पर्दामा सुमधुर शैलीमा सामग्री प्रसारण गर्ने गरेका समीरको मस्तिष्कमा कथाको बिज धेरै पहिलेदेखि बसेको देखिन्छ । त्यो कुरा उनका कथाहरू पढ्दा पाठकहरूले सहजै अनुभूति गर्छन् । स्वैरकल्पनामा आधारित भएर कथा लेख्न रुचाउने समिरको लेखनमा समाजको यथार्थ चित्रण छ तर त्यसलाई फरक शैलीमा, फरक परिवेशमा प्रस्तुत गरिएको छ । उनका कथाहरूमा मनोविज्ञानका थुप्रै पाटाहरू छन्, प्रेमको संसार छ र राष्ट्रप्रेम छ । संसारका थुप्रै चर्चित दिवङ्गत पात्रहरू लुई पास्चर, अब्राहम लिङ्कन, लक्ष्मीप्रसाद देवकोटा, राजकुमारी डायना, इभा ब्राउन जस्ता चरित्रलाई विभिन्न भूमिकामा उभ्याएका छन् कथाकारले । उनीहरू कथामा जीवन्त बनेका छन् । कथाकार आफैँ ती पात्रहरूको प्रत्यक्ष अन्तर्वार्ता लिन्छन् । बाँचुञ्जेल उनीहरूले गरेका कर्मका बारेमा प्रश्न गर्छन्, मनका अन्तरकुन्तर केलाउँछन् र जीवनमा गरेका कामहरूको बारेमा समीक्षा गर्न लगाउँछन् ।

‘हिउँको सिन्दुर’ र ‘हिटलरकी प्रेमिका’ जस्ता कथाले प्रेमको महत्त्वबोध गराउछन् । प्रेमको शक्ति निकै अद्भूत र दिव्य हुन्छ । पवित्र प्रेम सबैभन्दा माथि हुन्छ जसले कुनै चिज देख्दैन, मात्र प्रेम देख्छ । प्रेमका लागि मानिस आफ्नो सुन्दर जीवन त्याग्न समेत तयार हुन्छ भन्ने कुरा उनका कथामा पाइन्छ । हिटलर जस्तो कठोर र क्रूर व्यक्ति पनि अनेकौँ दुष्कर्मका बाबजुद इभा ब्राउनको प्रेममा पर्छ । इभाले हिटलरप्रति देखाएको साँचो प्रेम वास्तवमै अद्भुत छ । हिटलरको अन्तिम समय जान्दा जान्दै पनि हिटलर लुकेको बङ्करमुनि पुग्नु, बिहे गर्नु र आत्महत्या गर्नु जस्ता कुराले प्रेमको अमरतालाई देखाएका छन् ।

सिंगापुर लिक्वानले बनाए तर नेपाललाई बनाउन कुनै लिक्वान जन्मेन भन्ने चिन्ता कथाकारलाई छ । अस्तव्यस्त सडक, कतै ट्राफिक जाम, कतै मान्छे नै मान्छेको अकारण भीड, कतै कलेज बङ्क गरेर सडक छेउमै बेपर्वाह अङ्कमाल गरिरहेका किशोरकिशोरी, कतै अस्पतालको बाहिरसम्म आइपुगेका रोगीहरूको भीड, म्यानपावरमा पासपोर्ट बुझाउने युवाहरूको भीड, एयरपोर्टमा विदेश जाने अभागीहरूको भीड, बबरमहलमा आन्दोलन गरिरहेकाहरूको भीड बोकेर नेपालले दुःखेको छ । अनुशासनहिनता, अराजकता र भ्रष्टाचार व्याप्त छ, मुलुकले सुशासन पाएको छैन । सिस्टम बस्न सकेको छैन । यी तमाम नियतीले गर्दा जनताले दुःख पाएकोप्रति कथाकार चिन्तित छन् ।

‘मैना’ कथा अन्यायमा परेर पनि न्याय नपाएका पीडितको कथा हो । पन्ध्र वर्षीय दलित किशोरी मैना सुनार बलात्कृत भइन् । यौनपिपासुहरूले उनलाई बलत्कारपछि हत्या गरे तर उनले न्याय पाउन सकिनन् । पीडितले न्याय पाउन सकेन भने न्याय मर्छ, तर पीडकले कुनै न कुनै समयमा सजाय भोग्नु नै पर्छ । जन्मलोकमा नभए, मृत्युलोकमा आफ्नो कर्मको फल सबैले अवश्य भोग्नुपर्छ । यसले कथाकारमा स्वर्ग, नर्क जस्ता कुराहरूप्रति विश्वास छ भन्ने कुरालाई दर्शाउँछ ।

‘मुनामदनको डिभोर्स पार्टी’ यस कथा सङ्ग्रहको शीर्ष कथा हो । यस कथाले आधुनिक वर्तमानले भोगिरहेको सामाजिक विकृतिको चित्रण गरेको छ । सामाजिक सञ्जालको कारणले मानिस वास्तविक दुनियाँभन्दा परपर जाँदैछ । वैवाहिक जोडीले एक अर्काको चरित्रमाथि शङ्का गर्ने, एक अर्कामाथि विश्वासको सङ्कट बढ्दै गइरहेको र आफूसँगै बसेको जीवनसाथीभन्दा अरु नै राम्रो लाग्न थाल्ने प्रवृत्तिलाई कथाकारले उजागर गरेका छन्  । परिणाम स्वरूप सम्बन्ध डिभोर्समा टुङ्गिने गरेको छ । सीमाहीन स्वतन्त्रताले सामाजिक विखण्डन निम्त्याएकोप्रति लेखक चिन्तित छन् । जीवनको अन्तिम सत्य मृत्यु नै हो । चाहे जतिसुकै पद प्रतिष्ठा प्राप्त गरेको अभिजात वर्गको व्यक्ति होस् वा एउटा भिखारी । जीवनको अन्त्य समान रूपमा हुन्छ । एकातिर पद प्रतिष्ठाले युक्त सम्पन्न नेता अर्कोतिर अभाव र कष्टको जिन्दगी जिएको एउटा गरीब भिखारीको अन्त्यष्टिको दृश्य समान हुन्छ । एउटा भिखारी जो जीवनभर रित्तो थियो, मृत्युपश्चात् पनि रित्तै हात जानु परेको छ । अर्कोतिर सम्पूर्ण सुख, सुविधाले सम्पन्न धनी व्यक्ति पनि सारा दौलत छाडेर रित्तै गएको छ । जीवनमा समान हुन नसकेका यी दुई पात्रहरू जीवनको अन्त्यमा समान देखिएका छन् ।

‘स्वर्गीय सपना’, ‘उजेली, तिम्लाई के ल्याइदिऊँ’ रोजिरोटीको समस्याले ग्रस्त बेरोजगार युवाहरूको कथा हुन् । स्वर्गीय सपना कथाले विकसित मुलुकमा गएर प्रशस्त धन कमाउने लालसाले विदेशिएका शिक्षित जनशक्ति कसरी विभिन्न समस्यामा फस्छन् र घर, परिवारको जिम्मेवारी तथा दायित्वबाट पछि हट्छन् भन्ने कुरालाई चित्रण गरेको छ । विदेश पसेका युवाहरू चाहेर पनि आफ्नो देश फर्कन सक्दैनन् । विकसित मुलुकको कडा नियम, कानूनको परिधिभित्र बसेर नेपाली युवाहरूले आफ्नो परिवार, स्वतन्त्रता र स्वाधिनता गुमाउनु परेको छ । विदेशी भूमिमा एक्लिनु परेको तीतो यथार्थलाई कथाले बोलेको छ । युवाहरूको बढ्दो महत्त्वाकांक्षाले वृद्धवृद्धाहरू एक्लिँदै गइरहेको, बूढेसकालमा मृत्यु कुरेर बस्दा पानीसमेत दिने मानिस नभएको वर्तमान यथार्थलाई कथाले मार्मिक रूपमा पस्केको छ । अर्कोतिर हजारौँ सपना बोकेर विदेसिएका युवाहरू काठको बाकसमा फर्कनु परेको कारुणिक अवस्थालाई निकै मार्मिक रूपमा प्रस्तुत गरेको छ कथाले । पलपल प्रेमीको यादमा बस्नु, घरपरिवार, बालबच्चा सम्हाल्नु, सुखी र समृद्ध जीवनको सपना देख्नु तर अन्त्यमा आफ्नो श्रीमान् काठको बाकस बनेर फर्कनुले कथालाई वियोगान्तमा लगेर टुङ्ग्याएको छ ।

वर्तमान राजनीतिको विकृत स्वरूपलाई चित्रण गरिएका कथाहरू पनि लेखेका छन् समिरले । विकृतिको विम्ब कीरालाई बनाएर नेपाली राजनीतिका पात्रहरूको मस्तिष्कमा कीरा परेको अर्थात् सोम्पो रोग लागेको कुरा महान् वैज्ञानिक लुई पास्चर मार्फत् व्यक्त गर्छन कथाकार । सत्तामा बस्नेहरूलाई देशको चिन्ता नभएको, देशको आर्थिक अवस्था झन् झन् बिग्रँदै गएको, जनताका सेवा सुविधाप्रति बेवास्ता गरिएको र नेतृत्व वर्गमा लोभ, स्वार्थ, सत्तामोह बढ्दै गएकोप्रति लेखकको चिन्ता छ ।

पुस्तकमा जम्मा चौधवटा कथाहरू सङ्ग्रहित छन् । कथाहरूमा एउटा गहिरो आकर्षण छ । पाठकमा कौतुहलता जगाउन कथाहरू सफल छन् । कथामा गुरुत्वाकर्षण बल छ जसले पाठकको ध्यान राम्रैसँग तान्छन् । कथाहरूमा सूचनाको भण्डार छ, ज्ञानको सागर छ । विश्वका चर्चित पात्रहरूलाई उभ्याएर, अन्तर्वार्ता लिएर कथाकारले ती पात्रहरूको मनोविज्ञान केलाएका छन्, सफलताको राज फेला पारेका छन् र जतिसुकै महान् र चर्चित भए पनि मानिसमा केही समान गुणहरू हुन्छन् भन्ने कुरा दर्शाएका छन् । काम गर्ने शैली र मानिसभित्र रहेको गहिरो इच्छाशक्तिले नै मानिसलाई सफल बनाउँछ भन्ने कुरामा समिरका कथाहरूले मार्गदर्शन गर्छन् ।

समिरका कथाहरूमा अद्भुत प्रेम छ । जीवनदर्शन छ । राष्ट्रप्रेम छ । विश्व परिवेश समेट्न सफल उनका कथाका पात्रहरू जीवन्त छन् । तृतीय पुरुष शैलीमा लेखिएका कथाको भाषाशैली सरल र सम्प्रेष्य छ । स्वैरकल्पनाको प्रयोग गरिएका उनका कथाहरूले समाजका कथा व्यथालाई फरक शैली र ढाँचामा प्रस्तुत गरेका छन् ।

कथा तथा समग्र पुस्तकमा केही कमिकमजोरी समेत नखड्किने भने होइन । कथा सङ्ग्रहको शीर्षक अरु नै केही राखेको भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ । कथाहरू पढ्दा पाठकलाई जुन आनन्दको अनुभूति हुन्छ, पुस्तकको शीर्षकमा त्यो आकर्षण कम छ । कथा लेखनमा कथानक अनिवार्य तत्त्वको रूपमा रहेको हुन्छ । कथानकको त्यो शृङ्खला कुनै कुनै कथाहरूमा टुटेको अनुभूति गर्न सकिन्छ ।

समग्रमा, कथाहरू निकै रसिक छन् । नवीन शैली र ढाँचामा संरचित छन् । पाठकमा गहिरो प्रभाव छोड्न कथाहरू सफल छन् । सुन्दर समाजको परिकल्पना कथाकारको मूलभूत उद्देश्य हो । त्यो उद्देश्य पूरा गर्न कथाकार सफल बनून् ।