काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले विशेष कार्यक्रमको आयोजना गरेको छ । ह्वाइट माउन्टेन स्कुल, टोखा–६, काठमाडौंमा आयोजित उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका काव्य साधना सम्बन्धी चर्चा, विश्लेषण तथा कविता वाचन गरिएको थियो ।

साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन कवि तथा कार्यसमितिका सचिव भोला प्रेमीले गर्नुभएको थियो भने समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै भानुभक्तका केही रचनाहरू वाचन गर्नुभएको थियो । गरिमा पोख्रेल, रमा न्यौपाने तथा भोला प्रेमीले आ–आफ्ना कविता वाचन गरेर कार्यक्रमलाई साहित्यिक उचाइ प्रदान गर्नुभएको थियो ।

प्रा. गङ्गाधर कट्टेलले भानुभक्तको काव्य साधनामाथि समीक्षात्मक मन्तव्य राख्दै उहाँ नेपाली भाषामा कविता रच्ने आदिकवि भएकाे उल्लेख गर्नुभयो । प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेलले आदिकवि भानुभक्त आचार्यको अमूल्य काव्य साधनामाथि प्रकाश पार्दै छहरा साहित्य समाजको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

डा. बासुदेव काफ्लेले भानुभक्तका विविध फुटकर रचनाहरूको चर्चा गर्दै कविता वाचन गर्नुभएको थियो । उहाँले अन्त्यमा कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्य अनुरागीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सीता रिजाल, मन्जु शर्मा, ज्ञानेन्द्रप्रसाद दाहाल, तिलक शर्मा पौडेल, प्रेसित गेलाल आदिले असल श्रोताको रूपमा सहभागिता जनाउनुभएको थियो ।कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले आफ्नो ‘असारे गीत’ शीर्षकको कविता वाचन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभएकाे थियाे  ।