छहरा साहित्य समाज, धापासीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा लघुकथा गोष्ठी सम्पन्न गरेको छ ।

वरिष्ठ आख्यानकार श्री ध्रुव मधिकर्मी कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भने वरिष्ठ आख्यानकार हरिहर खनाल तथा समालोचक प्रा. गङ्गाधर कट्टेल विशेष अतिथि रहनु भएको थियो ।

सो कार्यक्रममा सर्वश्री हरिहर खनाल, ध्रुव मधिकर्मी, योगेन्द्र तिमिल्सिना, भोला दुलाल, डा. बासुदेव काफ्ले, मञ्जु शर्मा नेपाल, आनन्द पौड्याल, भगवती पौड्याल तथा शाम्भवी वशिष्टले लघुकथा वाचन गर्नु भएको थियो भने नवीन कार्की, रुपा रिसाल, रमा शर्माले केही लामा र संस्मराणत्मक कथा प्रस्तुत गर्नु भएको थियो ।

साहित्यानुरागी स्थानीय व्यक्तित्वहरु समेतको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको उद्घाटन मञ्चमा आसिन अतिथिहरुलाई पुष्पगुच्छा प्रदान गरी गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ध्रुव मधिकर्मीले लघुकथाको विकासक्रमको सन्दर्भ तथा यसका विशेषताहरु माथि प्रकाश पार्नु भएको थियो । उहाँले लघुकथा गोष्ठीका सहभागीहरूका रचनाहरूतर्फ संकेत गर्दै सबैको रचनाकर्म प्रशंसनीय रहेको विचार व्यक्त गर्नु भएको थियो ।

त्यस्तै, विशेष अतिथि समालोचक प्रा. गङ्गाधर कट्टेलले लघुकथा वारे समालोचकीय दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो ।

टोखा नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन छहरा साहित्य समाज, कार्यसमितिका सदस्य डा. वासुदेव काफ्लेले गर्नु भएको थियो ।

ग्रीनल्याण्ड माध्यमिक विद्यालय, धापासीको सभाकक्षमा आयोजित सो कार्यक्रममा छहरा साहित्य समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले उपस्थित अतिथिहरु सबैलाई धन्यवाद दिई कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।