टङ्क पन्थ

टङ्कप्रसाद पन्थ

अटल छ दिलमा यो राष्ट्रको प्रेम गाढा
नय अनुनय सारा भित्र भो प्रेम ज्यादा
जय विजय सुनाई बोल्छ नेपाल हाम्रो
मृदुल मन हुँदा क्या लाग्छ नेपाल राम्रो !!

सकल जन लडेथ्यौँ राष्ट्रको निम्ति खाली
घत–विघत सहेथ्यौँ देहकै प्राण हाली
अतिशय किन सस्तो मान्दछन् राष्ट्र आज
शुभ परिचय कल्ले जान्दछन् राष्ट्र आज ?

नयन विरह जल्दा देख्दछन् तत्त्वज्ञानी
करुण समय उस्तै भोग्दछन् क्यै नमानी
समझ किन भएनौ सुस्त बढ्दै छ घाउ
प्रगति थिति भयो के शून्य बन्दै छ ठाउँ !!

अब छ उदय बेला भन्दछन् जागजाग
नबन विषय खेला भन्दछन् राग त्याग
विचलित जन कोही शत्रुता मोड्न थाल्छन्
विमति मतिकाले मित्रता तोड्न थाल्छन् ।।

अवसर कति लिन्छौ देश नै दाउ राखी
भन अब कति दिन्छौ मूल्यको भाउ राखी
वचन छल हुँदामा सक्कियो प्राप्य सारा
विकल कल हुँदामा मक्कियो न्याय सारा ।।

अभिनय कति गर्छौ छल्नुको हुन्छ पारा
अविरल कति दल्छौ दल्नुको हुन्छ पारा
जगत जय हुँदा नै खुल्छ आभा सुनौलो
इलम लय लिँदा नै लिन्छ आधार नौलो ।।

अनुपम गिरि चढ्दा बन्छ को भाग्यमानी
विनय अमरतामा बन्छ जो स्वाभिमानी
सुमधुर महिमा यो साँच्न को सक्छ आज ?
सुजन सकल गुम्दा बाँच्न को सक्छ आज ?
छन्दः मालिनी