विषयप्रवेश

वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईज्यूले डा. शंकरप्रसाद गैरेहस्ते पठाउनुभएको कोसेलीका रूपमा लोवाक कफी शीर्षकको नियात्रासङ्ग्रह पहिल्यै हात परेको हो । पढ्दै जाँदा कृतिले ध्यानाकृष्ट ग¥यो । दिङ्ला भोजपुर जन्मेका पोष चापागाईँ नेपाली नियात्रा लेखनमा सक्रिय रूपमा लागेको अनुभव हुन्छ । नवौँ नियात्रासङ्ग्रहका रूपमा रहेको ‘लोवाक कफी’ (२०७७) विभिन्न पाँच देशमा गरिएको भ्रमणमा आधारित रहेको छ । शब्दयात्रा अक्षरधाम प्रकाशक रहेको प्रस्तुत कृतिमा प्रह्लाद पोखरेलको भूमिका लेखन काव्यात्मक ढाँचामा रहेको छ । “साहित्य नभएको नियात्रा रस निचोरेको कागतीको बोक्रा हो” भन्ने मान्यता राख्ने चापागाईँको लेखनमा साहित्यिक कलात्मकता झल्किने कुरा स्पष्ट हुन्छ । प्रस्तुत लेखमा एकसरो पठनका क्रममा अनुभूति भएका कुरालाई पाठकीय प्रतिक्रियाका रूपमा प्रस्तुत गरिएको छ ।

लोवाक कफीमा अनुभूतिका टफी

‘लोवाक कफी’ नियात्राकार पोष चापागाईँद्वारा लिखित नियात्रासङ्ग्रह हो । यसमा लेखकद्वारा पाँच देशहरूमा गरिएको भ्रमणको अनुभूति प्रतिबिम्बत भएको छ । तीन भागमा बाँडिएको प्रस्तुत कृतिमा विभिन्न उपशीर्षकहरू रहेका छन् । यस सङ्ग्रहको भाग एकमा दुबई भ्रमणको प्रसङ्गलाई उठाइएको छ । आर्ययात्रा, दुबईमा पाइलैपिच्छे नेपाली, त्यो क्रुज, जुमेर ओपन वीच, मान्छे पुर्ने गहना, पानी महँगो तेल सस्तो, मस्जिदमा बिताएको साँझ, डेजर्ट सफारी, सिटी टुर, फाउन्टेन डान्स, वल्र्ड टलेस्ट बिल्डिङ, मर्जर वीच, मीना बजार, नेपाल फिर्दा गरी चौधवटा उपशीर्षकहरू रहेका छन् । विभिन्न सन्दर्भहरूलाई शीर्षकीकरण गरी प्रस्तुत गर्नु लेखकीय विशेषता रहेको छ । दुबईको भौतिक अवस्था, त्यहाँको विकासको गति, लवाइ–खवाइ, बन्दव्यापार, सामुद्रिक मनोरञ्जन, धार्मिक सम्पदा, पर्यटकीय दृष्टिले गरिएको व्यवस्थापन पक्ष, नेपालीहरूको उपस्थितिलगायतका सन्दर्भलाई यहाँ प्रकाश पारिएको छ । दुबईल विश्वका पर्यटकहरूलाई आकर्षित गरी उन्नति गरेको सन्दर्भबाट हामीले पनि केही गर्न सक्छौँ भन्ने मर्म यहाँ व्यक्त भएको छ । प्रस्तुतिका क्रममा आफूसँगै पाठकलाई हिँडाउन सक्ने कला अनि कल्पनाको गहिराइमा पुगेर अभिव्यक्त गर्ने कला र प्रस्तुति शैलीले पाठकलाई साँच्चै लोभ्याउँछ ।

प्रस्तुत कृतिको भाग दुईअन्तर्गत तीनवटा खण्डहरू रहेका छन् । पहिलो खण्डमा भियतनाम, दोस्रो खण्डमा कम्बोडिया र तेस्रो खण्डमा थाइल्यान्ड भ्रमणको सिलसिलालाई समेटिएको छ । खण्ड ‘क’ अन्तर्गत चक्कर एक : देश तीन, युद्धकथा बोकेको चु ’ची टनेल, सानो प्वालमा अग्लो मान्छे, सुइरो रोपेर मान्छे मार्ने ठाउँमा, युद्धले स्वाहा बनाएको ठाउँ हेर्दै, पुलिस खेद्न् पसले भाग्ने, सडक, मनोरञ्जन र अन्डा कफी, हनोईबाट हालङबे, गोल्डेन क्रुज, गुफामा, अभक्ष खाने, मर्निङ वाक नाउमा, एक चिया – दुई बिहे, लासको चिन भ्रमण गरी चौधवटा उपशीर्षक रहेका छन् । युद्धको व्यथा भोगेको भियतनामले छोटौ अवधिमा गरेको प्रगति अनि युद्धलाई बिर्साउने खालका संरचना निर्माण गरिएको कुराले पाठकलाई छातीमा हात राखेर सोच्ने बनाउँछ । मनोरञ्जनको पाटोमा भियतनामले गरेको प्रगति अनि समृद्धिको मार्गमा बढ्दै गरेको अवस्थालाई यहाँ प्रकाश पारिएको छ ।

टङ्कप्रसाद पन्थ

होचिमिन्हको प्रसङ्गका साथै ठाउँठाउँको रोचक वर्णनले पाठकीय संवेदनालाई आकर्षित गर्दछ । सामुद्रिक यात्राका साथै पर्यटकहरूलाई लोभ्याउने किसिमले गरिएको व्यवस्थापनप्रति लेखक नतमस्तक भएको पाइन्छ । सुविधासम्पन्न होटल अनि टनेलरूको सन्दर्भ शत्रुसँग बच्नका लागि निर्माण गरिएका संरचनालाई नियाल्दै जाँदा लेखकसँगै पाठकहरूमा पनि भियतनामी जनताप्रति सम्मान जागृत हुन्छ ।

भाग दुईमा रहेको खण्ड ‘ख’मा कम्बोडिया भ्रमणको सिलसिला उठाइएको छ । तन्नेरी कम्बोडिया, टुकटुक दुर्घटना, बुद्ध सङ्ग्रहालय, ता…ता दुई थोपा आँसु, अप्सरा डान्स, सरिसृपको बार, पाताललोकबाट मत्र्यलोकमा, स्वर्ग पुगेर फर्किएँ, मन्दिर पनि गुम्बा पनि एउटै, पुस्तकविहीन पुस्तकालय गरी दशवटा उपशीर्षकमा कम्बोडियाको वास्तविकतालाई प्रकाशमा ल्याइएको छ । त्यहाँका प्राकृतिक, सांस्कृतिक सम्पदाहरूको वर्णनका साथै त्यहाँको भौगोलिक तथा सामाजिक आर्थिक अवस्थाको झलक पनि प्रस्तुत गरिएको छ ।

पर्यटकलाई आकर्षित गर्नका लागि गरिएका प्रयास अनि राष्ट्रिय पहिचान झल्किने कुराहरूले जोकोहीलाई पनि प्रभाव पार्छन् । नेपाली परिवेश र संस्कृतिभन्दा भिन्नै प्रकृतिका व्यवहार तथा संस्कारले केही नौल्याइँको अनुभूति भए पनि अतिथिहरूलाई आकर्षित गर्ने कुरामा कम्बोडिायालीहरूको तत्परता र विकासलाई पनि यहाँ महत्त्वका साथमा प्रकाश पारिएको छ । सम्बन्धित देशको भौगोलिक तथा सामाजिक सांस्कृतिक विषयमा साक्षात्कार गरउने काम पनि यहाँ भएको छ ।

दोस्रो भागकै खण्ड ‘ग’ अन्र्तगत थाइल्यान्ड भ्रमणको प्रसङ्गलाई उठाएको छ । बादलको पुल, हामी संसारलाई स्वच्छ पार्न सक्छौँ, बाघको राजधानीमा, अभिषेक, थाइल्यान्डमा दिङ्ला, चेन्मईको जङ्गलमा एक घन्टा एक्लै म, पाउडर ला’को पानी, बक्स टेलर, समुद्र सुन्दरी, पोखरा भेटियो, लासको पूजा, झन्डै ‘सु’ खुस्केको, खोलामा ट्राफिक जाम, गदगद मन गरी चौधवटा उपशीर्षकमा थाइल्यान्डको वर्णन गरिएको छ । स्थानीय वस्तुस्थितिको सजीव प्रस्तुतिका साथमा पृष्ठभूमिमा आफ्नो परिवेशलाई जोड्ने कलाले पनि थप पठनीय तुल्याएको मान्न सकिन्छ । लेखकीय अनुभूतिका सघन बिम्बहरू यहाँ प्रस्तुत भएका छन् । प्रकृतिप्रतिको मोहका साथै जीवनको यात्रामा हुने सिकाइको पाटोलाई पनि यहाँ सङ्केत गरिएको छ । स्थान र परिवेशको प्रस्तुतिका क्रममा लेखकमा निहित रहेको पूर्वीय संस्कृतिप्रतिको रुझान अनि अध्ययन र अनुभूतिको गहिरो छाप पनि यहाँ प्रस्तुत भएको पाइन्छ । जन्मस्थान र आफ्नो राष्ट्रको बिम्ब झल्किने क्रममा लेखकमा रहेको देशभक्तिको भावना सघन बनेर आएको देख्न सकिन्छ ।

भाग तीनमा इन्डोनेसिया भ्रमणको वृतान्लाई झल्काइएको छ । परिव्राजक म, झपक्कै आमा, आकाशमा ज्योतिस्फुरण, रातु बोकोको घाम, सूर्योदय, कित्तामणि वरपर, कफी लोवाक, मसाज, जललीला, ढोकाचिन्तन, मानवफूल, टाँगा र आँसु, तान्जुङ्वानुवामा स्विमिङ, आगो डान्स, बालीका नौला कुरा गरी पन्ध्रवटा उपशीर्षकहरू समेटिएका छन् । प्रकृतिको संरक्षण चेतना यहाँ सशक्त रूपमा व्यक्त भएको छ । गरगहनामा छपक्कै छोपिएका आमाहरूको सन्दर्भ, रातुबोकोबाट सूर्यास्त हेर्ने उत्सुकताले उपस्थित मानिसहरूको घुइँचो, कफी लोवाकको रोचक प्रसङ्ग यहाँ पाइन्छ । लोवाक एक प्रकारको जीव, रातिमा त्यसलाई कफी बगानमा छाडिदिने गरेको र त्यसले दिसा गरेको सग्लो कफीका दानालाई पटक पटक पानीमा धोएर सुकाई कफीको धुलो बनाउने प्रक्रियाको उठानका साथमा उक्त कफी विशेष लोकप्रिय रहेको कुरा पनि यहाँ उल्लेख गरिएको छ । मसाजको अनुभूति, जललीलाका रोमाञ्चक दृश्यहरू, ढोकाको प्रसङ्गबाट दर्शनको प्रस्तुति, टाँगा चढ्दा छोरीका आँखामा बगेका आँसु, समुद्रमा स्विमिङ गर्दाका प्रसङ्ग, आगो डान्समा देखिएको नीरस अवस्थाका साथै बालीमा रहँदाका अविस्मरणीय कुराहरू यहाँ समेटिएका छन् । जलसँगको संवाद, जीवनका विविध रङ्गहरूको झलक, गाउँले जीवनका झाँकी, काठकोे व्यापार, जीवनको परिश्रम, व्यावसायिकता आदिले लेखकमा पारेको प्रभाव यहाँ अभिव्यक्त भएको छ । इन्डोनेसियाले गरेको विकास र पर्यटकीय क्षेत्रको आकर्षणलाई यहाँ प्रस्तुत गरिएको छ ।

पोष चापागाईँको लेखनमा विशिष्ट खालको शैली रहेको छ । एउटा शब्दलाई मात्र वाक्यात्मक तहमा प्रस्तुत गर्नु, विषयको उठानका साथमा विविध प्रसङ्गहरूलाई जोड्नु, भावनाको गहिराइमै पुगेर जीवनलाई चियाउनु, निजात्मकताको विशिष्ट प्रस्तुति आदि जस्ता कुरा लेखकीय प्रवृत्ति रहेको पाइन्छ । हावा, पानी, माटो, रूख, सूर्य प्रकाश, बालुवा, फलफूल, गाडी, आदिलाई मानवीकरण गरी तिनको अन्तर्यको मर्मलाई प्रकट रूपमा बाहिर ल्याउनुलाई विशेष प्रकारको कला मान्न सकिन्छ । यसै गरी यात्राका अनुभूति, खानपान, जीवनशैलीको झलक पनि रोचक रूपमा आएको पाइन्छ । लेखकले गरेका पाँच देशको भ्रमणको सन्दर्भबाट मूलतः ती देशले पर्यटनका क्षेत्रमा गरेको विकास, जल जङ्गल र जमिनको स्रोतका कारण राष्ट्रले विकास गर्ने यथार्थ सन्दर्भलाई पनि यहाँ जोडिएको छ । विभिन्न ठाउँहरूको अवलोकन गर्दा आफ्नो जन्मठाउँ दिङ्ला र समग्र नेपालको चित्रबिम्ब अङ्कित हुन पुगेको देखिन्छ जसले पाठकमा पनि एक प्रकारको उत्प्रेरणा जगाउँछ । कुनै विषय वा प्रसङ्गमा प्रवेश गर्दा त्यसको रोचक प्रस्तुतिका साथमा पाठकलाई तान्न सक्ने कला पनि विशिष्ट प्रकृतिको रहेको छ ।

भ्रमणका सिलसिलामा देखेको व्यवस्थापकीय पक्ष र मानिसहरूको अपनत्वका पृष्ठभूमिमा आफ्नो देश नेपालको समृद्धिको चिन्ता प्रकट भएको देख्न सकिन्छ । योजना अनि सङ्कल्पका साथमा व्यवस्थापन र कार्यान्वयन सशक्त भएमा हाम्रो देशका धेरै गाउँ, पाखापखेरा, जङ्गल, हिमाल अनि विचित्रमय दृश्यावलोकनबाट मनग्गे आर्जन गर्न सकिने हुटहुटी पनि लेखकमा जागेको पाइन्छ । सभ्यतागत प्रभावको अवस्थालाई पनि यहाँ सङ्केत गरिएको छ । पश्चिमाहरूले जीवनलाई उपयोग गर्ने शैली र पूर्वीयहरू त्यसमा पनि नेपालीहरूमा विद्यमान सामाजिक, सांस्कृतिक मनोवृत्तिगत सङ्कुचनको छाया पनि यहाँ पाइन्छ । संस्कृतका सूक्तिमय पंक्तिहरूको प्रयोगका साथै पूर्वीय दर्शनको गहिराइमा रहेका मर्महरूलाई पनि यहाँ उठान गरिएको छ । लेखकको भावात्मक चेतनाको प्रष्फुटन हुँदा अभिव्यक्ति रागात्मक बन्न गएको पाइन्छ ।

निष्कर्ष

लगभग दर्जनको सङ्ख्यामा नियात्रासङ्गहहरू प्रकाशनमा ल्याएका पोष चापागाईँको प्रस्तुतिकला लोभलाग्दो प्रकृतिको रहेको छ । प्रस्तुत सङ्ग्रहमा आफूले भ्रमण गरेका पाँच देशहरूको परिवेशगत झलकका साथमा हामीले आफ्नो देशलाई समृद्ध बनाउनका लागि प्रकृति, हिमाल र विचित्रमय हाम्रो भूगोल नै वरदानका रूपमा रहेको छ भन्ने मर्म यहाँ सम्प्रेषण गरिएकाले पनि कृति महत्त्वपूर्ण रहेको छ । वाक्यलाई भाँचेर शब्दको तहमा लैजाने शैली अनि आलङ्कारिक पदक्रमको प्रयोगले गर्दा गद्यभित्र पद्यात्मकताको छनक पाउन सकिन्छ । तत्समपूर्ण भाषाको प्रयोगले पनि अभिव्यक्तिलाई ओजपूर्ण बनाएको छ । कतै कतै झर्रा र ठेट पदावलीको प्रयोगले शैलीमा रोचकता थपिएको पाइन्छ । ठाउँहरूको वर्णन तथा यात्राका क्रममा पाठकलाई सँगसँगै डुलाउन सक्ने कला लेखकमा रहेको छ । भ्रमणबाट प्राप्त अनुभूतिगत प्रभावलाई नियात्रामा ढालेर प्रस्तुत गर्नुले स्थान तथा परिवेशको सजीव प्रस्तुति भएको पाइन्छ । सौन्दर्यको वर्णन पनि कलात्मक रूपमा भएको पाइन्छ । ठाउँठाउँमा जीवनदर्शनका साथै रहस्यमय जीवनको प्रस्तुति पनि भएको पाइन्छ । कृति पठनीय र सङ्ग्रहणीय रहेको छ । पाठकमा उत्सुकता जगाउन सक्नु अनि विदेशले गरेको प्रगतिका पृष्ठभूमिमा हाम्रो देशमा प्रचुर सम्भावना रहेको देखाउनु लेखकीय उद्देश्य रहेको छ ।