उनको विरुद्धमा बोल्नेहरूलाई इङ्गित गर्दै
हिजो उनी आफ्नो भाषणमा भन्दै थिए –
‘ती सबै फलानाका झोले हुन्’
आफूलाई जनताको मसीहा प्रमाणित गर्दै
विरोधीलाई अमर्यादित शब्द प्रयोग गर्दै थिए –
‘समाज र राष्ट्रलाई हानी पुर्याउने यस्तै तत्त्व हुन्’
हुन त आफ्नो मतसँग भिन्न मत राख्नेलाई
झोले भन्ने चलन त छँदैछ यहाँ

के साँच्चै मान्छे झोले हुन्छन् त ?
अवश्य हुन्छन्, हजारमा एक दुई छाडेर
मानिस कुनै न कुनै रुपमा झोले भएकै हुन्छन्
किनकि झोले भएकै कारण
उसको घर चलेको हुन्छ
कतिको व्यापार चलेको हुन्छ
धेरैले अर्थ संचय गरेका हुन्छन्
धेरैले आफ्नो स्वार्थ सिद्ध गरेका हुन्छन्
कति विवशताले झोले भएका छन् भने
कति अवसर पाएर झोले भएका छन्

मैले आफूलाई गर्वका साथ
कसैको झोले न भएको प्रमाणित गर्दै भने –
‘म चाहिँ कसैको झोले हुइनँ
म इमानदारीका साथ आफ्नो काम गरिरहेको छु
आफ्नै मिहिनेत र पसिना खाइरहेको छु’

मुसुक्क हाँसेर मेरो मन मलाई भन्छ –
‘तँ पनि त झोले नै होस्’
मैले सोधेँ – ‘कसको र कसरी ?’
उसको जवाफ थियो –
‘तँ पनि झोले नै होस्
तँ झोले न भएको भए
अन्याय, अत्याचार र दमनविरुद्ध
अवश्य आवाज बुलन्द गर्थिस्
हक र अधिकारको निम्ति
अरूलाई अवगत गराउँदै हिँड्थिस्
तर तँ त अन्याय र दमनलाई देख्दादेख्दै पनि
मौन भएर बसेको छस्
तेरो मौनता नै झोले हुनुको प्रमाण हो
फरक यति मात्र हो कि
कुनै ठूला झोले हुन्छन् कुनै साना
तँ कस्तो खाले झोले होस्
आफैँ निर्क्योल गर
तँ आफ्नो स्वार्थका लागि
अरूमा भएको अत्याचारलाई
देखेर पनि नदेखे झैँ गरिबस्या छस्’

अनि म अवाक् भएँ ।