महलको छतबाट उनी
तल जमिनमा बस्नेलाई हेर्छन्
जमिनमै बसेर खानेलाई हेर्छन्
जमिनमै सुत्नेलाई हेर्छन्
र उनीहरुलाई हेरेर मुसुक्क हाँस्छन्
अनि गौरव महसुस गर्छन्
आफ्नो ठुलो महल भएकोमा
उनी कहिल्यै महसुस गर्दैनन्-
उनको महल निर्माणमा
प्रयोग भएका सबै सामानका निर्माता
यिनै जमिनलाई अंगाल्नेहरूले बनाएका हुन् भनेर
“तिमी महलको छतबाट
मुसुक्क नहाँस
जमिनमा बसेर खानेलाई हेरेर
गौरव महसुस नगर
जमिनमै सुत्नेलाई हेरेर
बरू उनीहरूलाई माया गर
सक्छौ भने पूजा गर
किनभने तिमी प्रत्येक सिढीमा टेक्दै
जति माथि उक्लिँदै जान्छौ
तिनै जमिनमा सुत्नेहरूमाथि
तिमी टेक्दै उक्लिरहेका हुन्छौ
अनि तिमी फुस्रो घमण्ड पनि नगर
जमिनमा सुतेकालाई हेरेर
तिमी पनि एकदिन
जमिन्मै सुत्ने छौ
कहिल्यै नउठने गरी
त्यतिबेला तिमीलाई हेरेर
तिम्रो महल हाँसी रहेको हुनेछ ।”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










