समृद्धिका हजार सपनाहरू
कागजमा कोरिँदैमा पूरा हुने भए
डाँडामा खुइया पसिना काड्दै
काँचोपातको सुर्ती माड्दै
हल गोरु जोतिरहेका
तीनबिसे दस पुगेका
बाइसमुजा परेको अनुहार लिएका
च्याङ्बा बाजेको सपना पूरा हुन्थ्यो कि !

केवल कोरा सपना
सपना त सपना नै हुँदोरहेछ
कहिल्यै पूरा हुँदोरहेनछ

महलमा बसेर
करोडौंको गाडीमा चढेर
अगुवा पछुवासँग साइरन बजाउँदै हिँड्नेले
सर्वहाराको परिभाषा दिन्छन्
बाँदर नझुन्डिने भीरमा घाँस काट्ने
नाङ्गो आङले भारी बोक्ने
फोहोरको थुप्रोमा जीवन खोज्नेलाई
समृद्धि र सुख के थाहा ?
च्यामे दाइलाई के चासो ?
उसलाई त भरे टार्ने छाकसँग सम्बन्ध छ
उसलाई त भोकसँग सम्बन्ध छ
ऊ बुझ्न सक्दैन
यस्ता गम्भीर कुरा

सुखका सूचकले मात्र सुखी बन्ने भए
एक छाक टार्न हात फैलाएका
कयौं सडकमा भोकै सुत्नेहरू
कति सुखी हुन्थे होलान्
विदेशी भूमिमा जीवन त्यागेका
मेरा दाजुभाइका आमाबाहरू
रित्तो काख लिएर रुनु पर्दैनथ्यो

ती त फगत कागजमा कोरिएका
दस्तावेज नै हुन्
अरूलाई माग्ने भाँडामात्र
सन्तोषम् परम् सुखम् के हो ?
खाडीमा बेल्चा हान्नेलाई स‍ोध्नु पर्छ
ऋणले थिचिएर त्राण पाउन
घर छाडेर हिँडेकालाई सोध्नुपर्छ

हामी तानातान गर्छौँ
हामी हानाहान गर्छौं
समृद्धिका कुरा गर्छौं
समृद्धिका संवाहकलाई बस्न दिदैनौँ
हामी काम गर्दैनौं
भएन भनी दोष दिन्छौं
हामी आफूलाई सुधार्दैनौँ
सुध्रिएन भनी दोष दिन्छौं
हामी नियम बनाउँछौँ
त्यसमा चल्दैनौँ
हामी काम गर्दैनौं
अरूले गरेनन् भनी दोष दिन्छौँ
हामी सुखका कुरा गर्छौँ
तर,
सुख कसरी दिने योजना बनाउँदैनौँ
टुल्केले पाएको दुःखमा
ताली पिटेर हाँस्छौँ
तिनैलाई देखाएर भोट जित्छौँ
अनि तिनैलाई फेरि बिर्सन्छौँ ।