देश निर्माणको अभिभारा बोक्नुपर्ने युवा
संसार उलटपुलट पार्ने शक्ति
भविष्यको गन्तव्य खोज्दै
परदेश हान्निएर जान्छन्
कयौँ भविष्य निर्माण खातिर
धरौटी राखी जग्गा
ऋण खोजेर साहुसँग
विद्यार्थी बनेर देश छाडे
कति मजदुर बनेर
स्वर्णिम भविष्य खोज्दै
जब स्वदेश छाड्नेको युवाको लर्को देखेँ
तब मैले कविता लेख्न छाडेँ
कति युवा विदेशमा हराए
घर बनाउने सपना देख्नेहरूका
सुन्दर घरहरू भत्किए
बा आमाको मन भत्किए
पारिवारिक बन्धन
काँचो धागोझैँ टुटे
आफ्नो सपना सबै सिसाझैँ फुटे
टाढा बसेर विवशताका आँसु पिउने
युवावर्ग जब देखेँ
तब मैले कविता लेख्न छोडेँ
देशमा एकता, भाइचारा र बन्धुत्वको सट्टा
फैलाउँदै द्वेष र घृणा
साम्प्रदायिकताको हिंस्रक मादल ठोक्नेको एक जमात
मिलेर बसेका दाजुभाइ टुटाउन खोज्नेहरू
लडाउन उक्साउने भीडहरू जब देखेँ
तब मैले कविता लेख्न छोडेँ
मौलाएको भ्रष्टाचार
बौलाएको शासक
मनोमानी बढेको छ
रोग, भोक र गरिबीको विरुद्धमा
लड्न छाडेर
स्वार्थको लडाइँ लड्ने र लडाउने
अराजक झुन्डका नायकहरू
जनताको रगत पसिनामा होली खेल्ने
आफू चोखिन अरूलाई लान्छना लगाउने
जब यस्तै यस्तै देखेँ
तब मैले कविता लेख्न छोडेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










