
गणेश तामाङ
दिउसो चार बजेतिर घर आउँदै गर्दा पोडे दाइको आँगनमा मानिसको भीड देखेँ । मनमा चीसो पस्यो । पोडे दाइलाई त केही भएन ? मन त्रस्त भयो । आँगनमा मानिसहरू केके भनिरहेका थिए, मैले त्यता ध्यानै दिइनँ । सरासर भित्र पसेँ, निष्प्राण पोडे दाइका आँखाहरू अनन्त क्षितिज नियालिरहेका थिए । म जडवत् भएर हेरिरहेँ, बोल्न सकिनँ । मैले सुनेको थिएँ मानिसका इच्छा अपुरो भयो भने प्राण जाँदा आँखा खुला हुन्छन् रे । सत्यता कति छ मलाई थाहा छैन, उनका आँखा बन्द गरेर अनुहार ढाकिदिएँ ।
घरपरिवार नभएको पोडे दाइ तीनपटक विदेश गएर पनि पैसा कमाउन नसकेको मान्छे, साहुको ऋणले थिचेको र बिहानदेखि रक्सीको नशामा रहने मान्छे हो । कहिलेकाहीँ भने मसँग सुखदुःखका कुरा गर्थे । म उनको दुखेसो सुनिदिन्थेँ । त्यसैले ऊ मसँग खुलेर मनका कुरा भन्थे ।
आज ऊ निष्प्राण छ । उसका धेरै इच्छा पूरा भएन । साहुहरूले पनि यो त मरे हुन्थ्यो भन्न परेन । उसले कसैको ऋण तिर्न पनि परेन । कसैको गाली सुन्न परेन ।
निस्तब्ध म गहभरि आँसु लिर्इ हेरिरहेँ निष्प्राण पोडे दाइलाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 









