
काव्य विमर्श (पोएट्री टक्स) बुधबारेले २०७८ माघको पहिलो साता मेरो “कोठेबारी, ढुंगा र माटो” पुस्तकमाथि छलफल चलायो । सहजकर्ता कवि तथा सञ्चारकर्मी लीला अनमोलले राखेका कैयौं प्रश्नहरु मध्ये एउटा प्रश्नले मलाई उठी सुख न बसी सुख बनायो । छलफलको एक चरणमा उनको जिज्ञासा थियो — “के तपाईं यति रुखो र सुख्खा हुनुहुन्छ कि एउटा प्रेम कविता लेख्नै नसकियोस् ? प्रेमबिना परिवार समाज चल्छ ? तपाईंको पुस्तकमा एउटा पनि प्रेमिल कविता किन छैन ?” मैले भाषासाहित्य प्रेम, जाति प्रेम, देश प्रेमका दृष्टान्त दिएर चोखिन खोजेँ, तर उनले अझ आक्रमक भएर विपरीत लिंगीय आकर्षणका प्रेम कविताको पक्षमा बहस गरिरहिन् । कार्यक्रमका प्रमुख अतिथि लीला साहित्यका वरिष्ठ अभियानकर्मी कृष्ण बरालले समेत खुलेरै “तपाईंले यौन साहित्य नलेखी पूर्णता पाउँदैन” भनेपछि चाहिँ मलाई रनाहा लागेको छ । सच्याउनै नसक्नेगरी गल्ती गरे जस्तो अपराधबोधले थिचेको छ ।
उमेर पुगेको केटाले केटी साथीको चाहना राख्नु प्राकृतिक कुरा हो । तरुनीले तन्देरी प्रेमीको खोजी गर्नु स्वाभाविक हो । यस मेसोमा मेरा विद्यार्थीजीवनदेखि शिक्षकजीवनसम्म अनेकौ केटीसाथी र महिलामित्रहरु बनिए । तिनीहरूमध्ये कतिजनासँग मेरा अव्यक्त चाहना र अप्रकट प्रेमका संस्मरण हुन सक्छन्, निबन्ध बन्न सक्छन् । तर, के कविता नै सिर्जना हुने गरी कुनैले पनि मेरा हृदयमा हलचल ल्याउन सकेनछन् त ? बैँसमा स्याल पनि घोर्ले हुन्छ भन्छन्, के कुनै रूपसीले पनि मलाई कविता लेखाउन प्रेरित गरेनछन् त ? आज फुर्सदमा गुनिरहेछु, सम्झिरहेछु ।
कक्षा आठमा पढ्थेँ म । स्कुल डे«स थिएन । दशैंमा गाम्चामा पोको पारेर मारवाडीका पसलबाट ल्याइएको थानको कपडा घरैमा आएर दर्जीदाजुले सिलाइदिएपछि स्कुल ड्रेसमा नयाँ आयाम थपिन्थ्यो । यस घरी हामी आफूलाई निकै समृद्ध ठान्थ्यौँ, तर हाम्रो समृद्धि लामो समय टिक्तैनथ्यो । धेरैजसो कमेज र हापिन (हाफपेन्ट ?) नै हाम्रा पोशाक थिए । जाडामा पप्लिनको सुरुवाल सम्म हुन्थे । दसैंमा बाले किनिदिएका एकजोर क्याम्पिस जुत्ता वा हात्तीछाप चप्पलले एक वर्ष पुर्याउनुपर्ने म कैयौं दिन खाली खुट्टै स्कूल जान्थेँ । यति भएर पनि म कक्षाको प्रथम विद्यार्थी (छ कक्षाबाहेक) भएकाले छात्रछात्रा दुवै साथी केही नजिकिन्थे मसँग अहिले सम्झिदा । त कक्षा आठको कोठामा म बस्ने बेन्चको ठिक अघिल्तिर हामीतिर फर्काएर एक जोडी डेस्कबेन्च राखिएको थियो । त्यसैमा कक्षाका सबै छात्रा साथीहरु बस्थे । बसाइ व्यवस्थापनले नचाहेरै पनि छात्रा साथीको मुखमण्डल हेर्न र तिनको ज्यामितीय रूपरेखा कोर्न सजिलो भएको थियो । सायद उनीहरुलाई पनि त्यस्तै भएको हुनुपर्छ । यस्तैमा एउटी छात्रा साथीसँग थाहै नपाई निरुद्देश्य आँखा जुध्न थालेछन् । आँखाले आँखासँग भेट गर्ने क्रमलाई ओठले स्वीकृति कहिलेदेखि दिए पत्तै भएन । मुस्कानले दुबै अनुहार नुहाएपछि आँखा आआफ्ना बाटा लाग्थे । यो क्रम बाक्लिन थाल्यो । कक्षामा बसाइ व्यवस्थापनले यसलाई सहज बनाइदिएको थियो । हुँदाहुँदा कक्षाकोठा बाहिर पनि आँखाले उनका आँखा खोज्न थालेछन् । परबाट उनलाई हेरेर मन नमान्ने । उनले पनि आफूलाई देखिन् र मजस्तै सन्तुष्ट भइन् भनेर ढुक्क हुनुपर्ने । अर्थात् आँखाले आँखैसित भेट गर्नुपर्ने र मुस्कानले साक्षी बस्नुपर्ने । यति नगरुन्जेल मनमा उकुसमुकुस भइरहने । बेचैनीले हुँडलिरहने ।

गणेश निरौला
तत्कालीन समाजमा छोरा र छोरीबीचको विभेद उल्लेखनीय थियो । यसको प्रमाण हाम्रो कक्षा आठको विद्यार्थी संख्या नै पनि थियो । हामी केटा तीनचारवटा बेन्चमा अटाइनहटाई थियौं, जब कि छात्राहरु एउटा बेन्चमा सीमित थिए । अहिले पनि तपाईं यसको अवशेष देख्न सक्नुहुन्छ — सामुदायिक विद्यालयमा छात्राको ठूलो संख्या र निजीमा छात्रको ठूलो संख्या । त्यतिमात्र होइन छोरी बाँच्नुपर्ने परिधि निकै सानो थियो । राज्यक्रान्ति भन्दा अगाडि फ्रान्सेली कानुनको जालो जस्तै थियो हाम्रो समाजमा महिलाले सास फेर्ने परिवेश । छात्रा साथी जिउने त्यो अत्यन्त साँघुरो घेराभित्र उनको नजिक पुग्नु असम्भव थियो । किनभने वरिपरिबाट हजारौं आँखाले जासुसी गरिरहेका हुन्थे । फेरि म त ब्राह्मण परिवारको अनुशासनमा कडा शिक्षकको छोरो । कक्षा प्रथम । थोरै विद्यार्थी संख्या भएको हाम्रो विद्यालयमा हामी दुईको हेराहेरको सुइँको पाइहालेछन् साथीहरुले । चियो गर्न थालेको फुम भयो मलाई । दोहोरो बोल्नै नपाई हाम्रा पाइला रोकिने छाँट देखियो । बोल्न पाएको भए के बोल्ने थिएँ होला, म अहिले पनि त्यस संवादको जोहो गर्न सक्तिनँ । तर राम्ररी टुसाउनै नपाई हावाले प्रेमको बादल उडाइदियो। सुपरइगोले म भित्रको इडलाई पछाडि तानेर थचारिहाल्यो । गुम्स्याएर, थुनेर राखेका मभित्रका प्रेमका भावनाहरूले निकास पाउनु भन्दा अगाडि नै तिनी झापातिर झरिन् र मेरो प्रणयको पहिलो झुल्को अस्तायो । कालान्तरमा पूरै पुरियो घटनाहरुका खातमुनि ।
मैले तिनको गोरो अनुहारमा मिलेका सेता दन्तलहरको कविता कोर्नुपथ्र्याे, मविवि शाहले जस्तै — मिलेका ती दाँतका पङ्क्ति ……… । अथवा सुलुत्त तिखो नाकका दुवैतिर ठूला गाजले आँखाको कविता कथ्न सक्नुपथ्र्यो — गाजलु ती ठुलाठुला आँखा……. । राता—सेता रिबन बाँधिएका तिनका लामा केशराशीको गीत गाउन सक्नुपथ्र्यो । नाम्सालिङका आम केटीहरूको भन्दा फरक विशिष्ट परिधानमा सजिएकी, परैबाट चिनिने तिनको अप्सरावत् रुपको मैले नयाँ काव्यिक भाष्य तयार पार्नु पथ्र्यो । तर हाईस्कुल पढुन्जेल बाले लेखिदिएका कृतिले पुरस्कार जितेको ममा त्यो बुता थिएन । पौराणिक पात्रको आदर्श अनि ऐतिहासिक पात्रको गौरवको बखान हुन्थ्यो बाले लेखिदिएका कवितामा । जतिबेला म आफैँले कविता लेख्न सुरु गरेँ, ती छात्रा साथी र तिनीसंगको मेरो अप्रकट सामीप्यभाव विस्मृतिको अँध्यारोमा विलीन भैसकेको थियो । मेरा अगाडि समाजको विसङ्गति, दिशाहीनता, नैतिक स्खलन जस्ता हुँडार दारा उद्याउँदै बसेका थिए । सामाजिक असन्तुष्टि, आर्थिक असमानता, जातीय विभेद जस्ता अजिङ्गरले फणा फैलाइरहेका थिए । पञ्चायती व्यवस्था र यसका विपक्षीबीचको द्वन्द्वले आकार लिइसकेको थियो । यस्तो स्थितिमा म प्रेमी र प्रेमिकाको मनभित्र कसरी पस्न सक्थेँ ? उनीहरूको आलिङ्गन र चुम्बनको चित्रण गरेर म मेरो सामाजिक दायित्वबाट कसरी विमुख हुन सक्थेँ ? म स्पष्ट देखिरहेको थिएँ — मेरो समाजको आवश्यकता शृङ्गारिक कविता भन्दा यथार्थ र प्रगतिशील सिर्जना हुन् । लुकीछिपी लेखिएका प्रेमपत्र भन्दा दिनभरि श्रम गरेर जहानको पेट भर्नेहरूको भोक र पसिनाको मूल्य छ ।
अब लीला अनमोललाई कसरी सम्झाऊँ कि जुन बाटामा हिड्न सुरु गरेको थिएँ मैले, त्यही बाटाले यहाँसम्म ल्याइपु¥याएको छ र म जहाँ छु, सन्तुष्ट छु । के गरी कृष्ण बराललाई प्रष्ट्याऊँ कि यौन साहित्य पनि लेखिनु राम्रै होला, तर यो नेपाली समाजको आधारभूत र अपरिहार्य विषय चाहिँ म ठान्दिनँ । यति हुँदाहुँदै पनि यो भित्री कुरा सुनाइहालूँ — पचास वर्षपछाडि ती मेरी छात्रा साथी मसँग फेसबुकमा जोडिएकी छिन् । अरूका आँखा छलेर हाम्रा आँखा जुधाउँदै मुस्कानले मुख धोएको सम्झना उनलाई पनि छ कि, कुन्नि ! ! !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 








