साहित्यिक नाम हरि गजुरेल । अफिसल रिकर्डमा हरिलाल उपाध्याय । गायत्री देवी र छविलाल गजुरेलको सुपुत्र । गोलिया, विश्वनाथ चाराली असमका सशक्त सक्रिय साहित्यिक चिन्तक पनि थिए । असम, मेगालय, सिक्किम र नेपालबाट प्रकाशित पत्रपत्रिकामा बेला-बेलामा कविता समीक्षात्मक लेख र निबन्ध आदि प्रकाशित भइरहेको थियो । धेरैचोटि आकाशवाणी गुवाहाटीबाट कविता र साहित्यिक वार्ता प्रसारित एवं भारतीय स्तर सम्पन्न गोष्ठी-सङ्गोष्ठीमा कविता वाचक एवं कार्यपत्रहरू प्रस्तुत गरेका थिए । असमिया भाषा र नेपाली भाषामा बराबरी कलम चलाउने उनी सफल सम्पादक हुन् भनी हामीमाझ उनीद्वारा सम्पादित साहित्यिक पत्रपत्रिकाहरू प्रभात, स्थार्गी, निकेतन, चियाउँदा प्रहरहरूमा धर्मानन्द (स्मारिका), जय रामजीकी (स्मृतिग्रन्थ), समाज प्रभाकर कमल पराजुली (स्मृतिग्रन्थ), आमा (स्मारिका), पल्लव (असमिया कविता सङ्कलन) र राज्यिक मादक द्रव्य निवारण परिषद् असमिया भाषामा प्रकाशित मुखपत्र जनकल्याण जस्ताले प्रमाणित गर्छ । असमबाट प्रकाशित महत्त्वपूर्ण कृति विष्णुलाल उपाध्याय : व्यक्तित्व र कृतित्वका उपदेष्टारही महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साहित्यमा पठनपाठनबाहेक व्यावहारिकरूपमा सक्रिय रहेका प्रमाणहरू सङ्घसंस्थामा खटेका समयकालले हामीमाझ प्रमाणित गरेका छन् । दरङ्ग नेपाली छात्रसङ्घ, असम नेपाली छात्रसङ्घ, असम गोर्खा सम्मेलन, अखिल भारतीय नेपाली भाषा समिति, नेपाली साहित्य परिषद्, असम, नेपाली साहित्य सभा, साहित्य परिषद् विश्वनाथ आदिका हर्ताकर्ता भएर खटेका थिए । पुस्ताका साहित्यकारहरूलाई प्रेरणा र उत्साह दिन्थे भने भाषासाहित्यको सेवामा आफैँलाई समर्पित गर्ने साहित्य साधक थिए गजुरेल । उनको जीवनकालमा साहित्यको सेवा गरेवापत अभिजमान स्मृति ट्रस्ट कुवेतबाट सन् २०११ मा स्पन्दन पुरस्कार सपरिवारबाट सर्वश्रेष्ठ पत्रकारिता पुरस्कार र असमको विभिन्न सङ्घसंस्थाबाट सम्मानित भइसकेका थिए । नेपालका विभिन्न सङ्घसंस्थाबाट पनि सम्मानित भएका थिए ।

उनी विशेष कविता सृजनासित रमाएका पाइन्छ । निबन्ध, समीक्षात्मक लेख आदिमा कलम चलाए पनि उनीभित्र कवि व्यक्तित्वको उचाइ धेरैमाथि उक्लिएको पाइन्छ । राम्रा कवि, राम्रा गीतकार हुन्छ भन्ने पक्षलाई उनको गीतलेखनहरूबाट प्राप्त गर्न सकिन्छ । अगमसिंह गिरी, हरिभक्त कटुवालझैँ कविता सँगैसँगै गीतहरूको लेखनमा पनि उत्तिकै सशक्त रूपमा पाइन्छ । उनको जीवनकालमा प्रकाशित कृतिहरू सन् २००१ मा प्रकाशित कवितासङ्ग्रह शब्द बटुल्दै, सन् २०१२ निबन्धसङ्ग्रह विचार विमर्श र सन् २०१६ मा प्रकाशित मान्छेको कथा खोज्दै । यी तीन ओटा महत्त्वपूर्ण साहित्यकृति भारतीय नेपाली साहित्यलाई दिएर कविता, समीक्षात्मक लेख वा निबन्ध साथै गीतको रसास्वादन पाठकलाई दिएका छन् ।

सुकराज दियाली (दार्जीलिङ)

मान्छेको कथा खोज्दै-कविता सङ्ग्रहको परिचय :

मान्छेको कथा खोज्दै कविताकृति हरि गजुरेलको दोस्रो काव्य कृति हो । जय-तुलसी ट्रस्ट, बरगुरी तिनसुकिया असमबाट सन् २०१६ मा प्रकाशित कृतिको अक्षर संयोजन कृष्णनीलले गरेका छन् । साहित्यिक गोष्ठी-सङ्गोष्ठीमा कविता पाठ गर्दा ताली बजाएर उत्साह प्रेरणा प्रदान गर्ने प्रिय पाठक श्रोतालाई समर्पित गरेका कविताहरू श्रोतागणका कर-कमलमा श्रद्धापूर्व चढाएका छन् । सत्तरका दशकदेखि उनको जीवनको अन्तिम समयसम्म सृजना गरेका कविताहरू फाइलमा यत्रतत्र चेप्टिएर बसेका थिए । ती कविताहरूलाई जीवनकालमा जय-तुलसी ट्रस्ट बरगुरी तिनसुकियाको पक्षमा नारायण शर्माले प्रकाशित गरिदिएका छन् । प्रकाशकीय शीर्षकमा यस सङ्ग्रहभित्र शर्माले लेखेका छन्- असमेली नेपाली साहित्य जगत्‌मा सर्जकहरूका पनि छुट्टै आत्मकथा छन् भन्न सकिन्छ । आफ्ना अनुभूति समेट्दै सर्जक सृजनामा मग्न हुँदा पुस्तकारमा परिणत हुन्छ । पुस्तक निकाल्छ तर पाठकहरू खोजेर भेट्दैनन् । उसको अनमोल रचनाको कुनै मोल नै रहँदैन, ऊ हतास हुन्छ । अब कसरी उसले अर्को कृति प्रकाशमा ल्याउनु? यो अभाव भनौँ अथवा परिस्थिति भनौँ हाम्रो असमेली साहित्य जगत्‌मा देखा परेको एकखाले रोग नै भन्न सकिन्छ । यो रोगलाई निवारण गर्न साहित्य सेवाको हात लिएर नारायण शर्माले हरि गजुरेलकृत मान्छेको कथा खोज्दै कवितासङ्ग्रह प्रकाशित गरेका छन् । कविले यो काव्यकृति छपाउनुको अर्थलाई खुलस्त पार्दै लेखेका छन्-

आजकल हाम्रो साहित्यमा दुई प्रकारले आफ्नो सृजनालाई पाठक सम्मुख पुऱ्याउने उद्देश्य लिएका कुरा उपर्युक्त भनाइबाट स्पष्ट हुन्छ । सङ्ख्यात्मककृति र गुणात्मक कृतिको सङ्ख्या । गुणात्मक कृति पाठकको खोजीमा रहिरहेको हामीले पाउँछौँ । अर्को सङ्ख्याको दृष्टिबाट प्रकाशित कृति पाठकबाट ओझेल भइरहेका तथ्य र गुनासो सुनिरहेका छौँ । साहित्यमा सचेत र पाठकको हितमा रहने कृतिहरू कुनाकाप्चाका पाठकले खोजी-खोजी पढछन् भन्ने चेत कविको भनाइबाट स्पष्ट झल्किएको पाउँछौँ । सृजनात्मक कुरालाई खेलआइँची गर्न हुँदैन भन्ने पक्षमा कविले मान्छेको कथा खोज्दै पाठकसम्म आइपुगेका छन् ।

कविता गीत लेखनको उत्प्रेरक :

मानिसमा सबै प्रकारको प्रतिभा रहे पनि उक्त प्रतिभालाई अभिव्यक्ति गर्ने क्षमता सबैमा हुँदैन । विशेष साहित्यमा चासो राखेर साहित्यको पठनपाठन गरे पनि साहित्यिक सृजना गर्न गाह्रो पर्छ भन्ने पक्षलाई हामी पढेर देखेर जानिरहेका छौँ । यस्ता साहित्यिक सृजनाको अभिव्यक्तिलाई कलात्मक रूपमा प्रस्तुत गरी अक्षर शब्दद्वारा बाँध्नु अझ गाह्रो कुरा हो । साहित्यिक सृजना शक्तिलाई उत्केरा दिने सामाजिक, वातावरण एवं व्यक्ति प्रभावबाटै भई सम्भावना रहने हुनाले साहित्यिक सृजनाको उत्प्रेरकको महत्त्व त्यति नै रहेको हुन्छ । कवि कथाकार तथा समालोचक तथा साहित्यकारलाई अन्तर्वार्ता लिँदा पढिरहेका छौँ । तपाईँले कसरी कहाँबाट प्रेरणा पाउनुभयो ? यो प्रेरणा नै साहित्यिक सृजनाको उत्प्रेरक हुन् भनिरहँदा फरक नपर्ला ।

कवि हरि गजुरेलको कविता सृजनाको गीत, सृजनाको उत्प्रेरकको कारकको स्रोततिर लाग्दा हामीले पाउँछौँ उनकै समाज, परिवार र देशकाल । युगीन जीवन पद्धतिले आलोकित समयकालको लपेटमा परेका अवरोह प्रतिरोधात्मक कारकले जीवनलाई छोएका मनहरू नै कविता सृजनाका निम्ति उत्प्रेरक बनेका देखिन्छ । कविता शब्दहरूमा उनिएर माला बनेका छन् असमे जीवनशैलीका समाजभित्र । कविले भोगेका परिस्थितिहरू, प्रतिरोधात्मक समयका सूक्ष्मक्षणहरू पिरोलिएका समयको फलहरू कवितामा उतारेका प्रेरक भनिरहँदा फरक नपर्ला । समाजमा भोगेका देखेका जीवनशैलीबाट प्रभावित बनी रचेका कविताहरूले असममा नेपाली जीवनको सुगन्ध छोओस् भन्ने हेतुमा कविले मनमा लागेका कुराहरू कवितामा चित्रण गर्न खोजेका छन्- मेरा मनका अनुभूतिलाई हृदयको आसनमा अनुभव हत्यौराले समेटिएका शब्दहरूलाई कविताको रूपमा व्यक्त गर्न खोजेको छु । प्रतीकभन्दा पनि मानसिक चित्र धेरै भेटिएलान् कविताहरूमा कवि विवश बनेका युगसँगै भाषा साहित्य संस्कृतिको मान्यता र मौलिक प्रयोजनमा आएका परिवर्तनलाई समयसित मिलाउँदा समयसितै समानान्तर बन्न परेका समयको स्वरसित । सभ्यताको नाममा आएका परिवर्तनलाई काँधमा बोकेर मानवताको संसारदेखि टाढा रहन सकेको समाजचित्रलाई कविले आफ्नो कविता सृजनाका प्रेरकतत्त्व मानेर कविता सृजना गरेका छन् । आजका युगमा मान्छेहरूको रुचि चासो मनोरञ्जनप्रति रहेको हुनाले कविले भन्न र गर्न खोजेका कुराहरू कसरी हुन्छ यस्ता मान्छे र समाजले सुनिदिओस् । समाज र समाजभित्रका मान्छेमा परिमेयकरण छाओस् भन्ने उद्देश्य र सोचमा कविता सृजना गरेका छन् । उसरी नै कविको अर्को पाटा गीतकार पनि छन् । उनले गीत किन लेखे । गीत सृजनाको वास्तविक के थियो भन्ने पक्षलाई निहाल्दा पाउँछौँ आकाशवाणी गुवाहाटीको नेपाली विभागका गायकहरूको माग पूरा गर्ने उद्देश्यले उनको गीत लेखन अगाडि बढेको थाहा लाग्छ । पछिबाट धेरै ओटा गीतहरू सङ्गीतबद्ध पनि भएका थिए जसले गर्दा उनको शब्दहरूले उचित मूल्याङ्कन पाएका भानमा गीतकारको पक्षबाट जाति र भाषाको उत्थानमा टेवा पुगोस् भनी गीत कोर्न थाले । यसै सन्दर्भ गीत लेखनमाथि गीतकारको भनाइलाई यहाँ राख्न चाहन्छु- (क) सभ्यताको विकासको आदिम समयदेखि नै मनोरञ्जनप्रति मान्छेको रुचि रहेको हुँदा, आफूले भन्न खोजेका कुरा, समाजले सुनिदियोस् भन्ने धारणाले यी गीतहरू लेखेको हुँ । हुन त जीवनले भोगेका दुःख, सुख पनि कुनै गीतमा पाइएला तर पनि आफैँ जन्मिएका भूमि, भूमिप्रतिको कर्तव्य, जाति जागरण तथा समाजप्रतिको कर्तव्य विशेषताहरू नै अधिकांश गीतहरूमा पाइन्छ । यस सङ्ग्रहमा समिटिएको कविता र गीतहरूले आफैँ बोल्ने छन्-

मान्छेको कथा खोज्दै कवितासङ्ग्रहको संरचना :

मान्छेको कथा खोज्दै कविता सङ्ग्रहमा मोठ ४१ ओटा कविताहरू छन् । ती कविताहरूलाई लामो कविता र लगायत्मक कविता (गीत) दुई खण्डमा मिलाएर राखेका छन् । पहिलो कविता खण्डमा १८ ओटा कविताहरू भनेर राखे तापनि त्यहाँ २ ओटा गीतहरू परेका छन् किन? मेरो चाहनालाई गीत भए पनि कविता भनी समावेश गरेका छन् । ती दुई ओटा गीतहरूलाई १६ ओटा कविताहरूलाई लिन सकिन्छ । अर्को गीत खण्डमा मोठ २३ ओटा गीतहरूलाई समावेश गरेका छन् तर ती गीतहरू जम्मै गीतको परिभाषामा नपरे तापनि गीत भनी समावेश गरेका छन् । ती २३ ओटा गीतमा कविता खण्डबाट २ ओटा किन? मेरो चाहनालाई मिलाउँदा मोठ २५ ओटा गीतहरू यस कविता सङ्कलनमा पाइन्छ । कविता खण्डमा बरु हाँसौँ हलल्ल, यथार्थता : जीवनको गीत आशङ्कित अस्तित्व, हे आकाश, मलाई उज्यालो देऊ, कवि: नमन छ तिमीलाई, मायाँ रोइरहेको थियो, आमाले पराई भन्दिनन्, सत्यको खोजीमा, म जन्मिन पाऊँ यिनै झुप्राहरूमा, मान्छेको कथा खोज्दै, जाति बेचेका छैनौँ, हिउँदे ब्रह्मपुत्रलाई देख्दा, जोडौँ विश्वासलाई, शताब्दीले जलमग्नमा र धानको खेतमा उम्रिँदै सुन आदि कविताहरू २८ लाइनदेखि ४१ लाइनसम्मका फुटकर कविताहरू सन् १८७० देखि २००० सम्म रचिएका हुन् भने समयकाल कविको प्रस्ताव लेखनबाट स्पष्ट हुन्छ । उसरी नै गीत खण्डमा यो नेपाली नबिर्स स्वाभिमान, सम्झनामा मेरो गाउँ, गाइनेको पुकार, खै त के भयौ? मन लाग्यो, मायाँ फर्केन, मनको बह कसैले बुझ्दैन, नपर्खौँ भोलिलाई, रोएर बस्दिन, अतीत फेरिँदैन देउसी गीत, पिरतीको गाग्रीमा समुद्रको पानी, हेङदान खिएको छैन, मायाँ जलाउन जान्दैन, आमा हेर्छिन् तिमीलाई नबिसिर्नु है, स्वाभिमानी बनौँ, मुटुको सीमा छेकिँदैन, कस्तो होला त्यो पहाड, श्रद्धाञ्जलि, भानुलाई, स्मृतिमा मायाँलु, नबिर्सिदेऊ, कविता खण्डका किन? मेरो चाहना गीतहरू समावेश छन् । लयात्मक गीतहरू कतिपय गीतको फ्रेमभन्दा लामा-लामा पनि भएका छन् ।

मान्छेको कथा खोज्दै कवितासङ्ग्रहका कविताहरू :

हरि गजुरेलका कविताहरूमा जीवनका विभिन्न आयाममा परेका थोक जीवनका चित्रणहरू पाइन्छ । कवितामा असमका नेपाली जनजीवनले भोगेका जीवनका घाम पानीलाई विषयवस्तु बनाएका छन् । चेप्टिएर बाँच्नको अनुकूलता प्रतिकुलताको पक्षविपक्षका अचेतमा परेका व्यवस्थतालाई कवितामा उभ्याएका छन् । त्यतिमात्रै नभेर जीवनका आत्मिक पक्षलाई ईश्वरदर्शनमा पुऱ्याउने ईश्वरवादका घेरामा कविताहरू बोलेका छन् । समय चेतनामा कविताले शङ्खघोष गरेका छन् । आत्मविलाप गरेका छन् । जीवनका पोजिटिप धारणामा कविताले भाव रेटेका छन् । कवि आफूले भोगेका जीवनका रङ्गहरू कवितामा पोत्न खोजेका छन् । खुट्टाले टेकेका भूमिलाई कवितामा उतारेका छन् । कविका व्यक्तिगत जीवनका रङ्गहरू मान्छेको कथा खोज्दै हिँडेका छन् । मान्छेभित्रको मान्छेलाई नपाउँदा उनीहरूका कथाहरूलाई खोजेका सोधेका छन् ।

जीवनभोगाइका अनुभव, अनुभूतिहरू कवितामा सलबलाएका छन् । जीवनले भोग गरेका विरह, कुण्ठा घातप्रतिघात जीवन अस्तित्व खोजिरहेका छन् । कर्मवादी, धर्मवादी, जीवनवादी धारणलाई कवितामा स्थापना गर्न खोजेका छन्- उनको कवितालाई आँखाको दृष्टिबाट हेर्न र बुझ्नेक्रममा जीवनका रङ्गलाई यसरी दर्साएका छन्-

“तिमी नहेर बिहानका आँखालाई

विक्षिप्त भएका छन् यहाँ गुरासका फूलहरू

टिपिँदैनन् सपनाहरू अब

अनुहारका वासन्तिक घेराइमा ।” (बरु हाँसौँ हलल्लबाट)

“तिम्रा आँखामा पोखिएका रङ्गीबिरङ्गी सपनाले

विहावको कमलोपनलाई ।” (यथार्थ जीवनको गीतबाट)

असमेली नेपाली जीवनमा परेका विभिन्न स्थिति र व्यवस्थाहरू कवितामा पोखेका छन्-

“हाँस्न बिर्सिएर हाँस्दैनौ

हाँस्न नसकेर हाँस्दैनौ’’ । (आशङ्कित अस्तित्व-बाट)

अन्य जातिको चापमा रापमा आफ्नो अस्तित्व बचाएर बाँच्नुको पीडा छ, उनको कवितामा-

“लखेटिएर मृगजस्तै, हाम्रा आँट लखेटिएका छन्

हामीले आफैँलाई सम्झी-सम्झी बिर्सेका छौँ

रुँदै-रुँदै हाँस्न खोजेका छौँ ।” (आशङ्कित अस्तित्वबाट)

हेपिएर थिचिएर बाँच्नुपरेको बाध्यताको जीवनले आजको युगमा स्वार्थ छोपिएका सङ्कोचपनाले अमानवताको परिवेश छाएको मान्छेको बस्तीमा जीवन खोज्ने कविले घामको चाहना राख्छन् । मानवताको बस्ती बसाल्न चाहन्छन् यसै सन्दर्भ कविले- हे आकाश मलाई उज्यालो देऊ- कवितामा आफ्नो भाव पोख्छन्-

“मलाई एकझर पानी बर्साइदेऊ

मान्छेले मान्छेलाई मन पराएको हेर्न

मान्छेको मुखमा मृदुमुस्कान छर्न

आनन्दमा नाचेका आँखाका परेली हेर्न

मलाई अलिकित उज्यालो हेर्न देऊ ।

मान्छेलाई देवताको होइन

मान्छेलाई बोली चाहिन्छ भन्दै

अज्ञानतामा अलमलिएकालाई

ज्ञानको प्रकाश देऊ ।

म आएको थिएँ

मान्छेको कथा खोज्दै

एक्कासि म तर्सिएँ

मानव मनका बुझ्न नसकिने प्रहेलिका सुनेर ।” ( मान्छेको कथा खोज्दैबाट)

“मान्छेले मान्छेलाई मारेको कथा सुनेर

मान्छेले मान्छेलाई हेपेको देखेर

मान्छेको काँचो रगतको देखेर

टोलाउन थालिसकेछ यो ब्रह्मपुत्र ।” (हिउँदै ब्रह्मपुत्रलाई देख्दाबाट)

कवि गजुरेलको कवितामा राष्ट्रप्रेमको भाव पाइन्छ । आफ्नो जन्मथलो आफ्नो माटोलाई जुन मायाँ गरेका छन् त्यो प्रशंसनीय छ । राष्ट्रवादी कवितामा अन्तर्मनबाटै जागृत भएका पक्षहरू कविता-आमाले पराई भन्दिनन्, सत्यको खोजीमा, म जन्मिन पाऊँ यिनै झुप्राहरूमा, जाति बेचेका छैनौ, हिउँदे ब्रह्मपुत्रलाई देख्दा, जोडौँ विश्वासलाई र धानको खेतमा उम्रिँदैन सुनजस्ता कवितामा कविले देशप्रेमको भावलाई विकसित गरेका छन् । देशप्रेम, नीति, स्वधर्म राष्ट्रियतालाई सर्वोपरि दिँदै असमेली नेपाली जनजीवनको स्वत्वरक्षाका लागि प्रतिरोधात्मक परिस्थितिलाई चुनौती दिँदै राष्ट्रको विकास र उन्नत विचारलाई गतिशील तुल्याएका छन् ।

“एकोहोरो तिमीलाई हेर्दै छ

माटाले यहाँ सम्झना गर्छ

सीमामा तिमी लडेको

लद्दाखको हिउँमा गएर खोज

भेट्ने छौ हड्डी पुर्खाको

कसैले पराई भनेछ तिमीलाई

माटाले कहिल्यै भन्दैन ।” (आमाले पराई भन्दिनन्-बाट)

“वेदको ध्वनि गुन्जिन्छ ओम् खम्-ब्रह्म

संहिता सिकाउन पुग्छ आचार ।” (सत्यको खोजीमा-बाट)

“यहाँका ससाना झुप्राहरूमा

हेर, यहाँ त लुकेको छ मेरो आफ्नो स्वाभिमान

अस्मिताको सिङ्गो इतिहास

त्यसैले म त भन्दछु,  हे अभ्यागत

युग-युग म जन्मिन पाऊँ, यिनै झुप्राहरूमा

नाच्न-गाउन र रमाउन सकौँ ।” (म जन्मिन पाऊँ यिनै झुप्राहरू-बाट)

प्रकृतिलाई जीवनजगत्‌सित नङ र मासु जोड्ने भावहरू कवितामा सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । गाउँको मनमा भिर पाखामा, फुलेको फूलहरूमा रमाएका मनहरू कोठेबारी र थुम्के बुट्टाहरूमा झुमेको मनहरूलाई कविले व्यक्त गरेका छन् । ऋतु फेरिएको आनन्दानुभूति लिएको समयकाललाई कवितामा सुन्दर तरिकामा वर्णन गरेका छन् । कोइलीको गीत र ढुकुरको कुर्लाइहरूमा छाएको सुखमय जीवनको आनन्दलाई वासन्तिक न्यानो बिहानमा दर्साएका छन् कवितामा । शरच्चन्द्रको उज्यालोमा रमाउँदै वैशाखी फूलहरूझैँ हाँसेका बेला कविले जीवनवोध गरेका छन् ।

कवि गजुरेलको कवितामा जीवनका मूल्यवान् समयहरू टिपेर यथार्थ अनुभूतिलाई दर्साएर पाइन्छ । जीवन बाँच्नु मात्रै होइन जीवनले कर्मवादी भएर भोग गर्नुपर्छ भन्ने जीवनवादी धारणालाई स्थापित गरेका छन् ।

“रहरैरहरका पोका बोकेर

हाँसेरै बाँच्न खोज्ने एउटा जिन्दगी

निर्वाणको बाटो खोजेको देख्दा

समाधि बनिदिन्छ निर्माणको

मेरो हृदयभरि

शरच्चन्द्रझैँ

एक पसारो उज्यालो देऊ

बाँच्नुपर्ने बाध्यताभित्र

सपना फुलाउने विश्वास बोलेका छन्

चम्के चुलामाथि ।”

आदि भाव र प्रस्तुतबाट कविको मनलाई कवि कविभित्र भएको एउटा सुन्दर मानवलाई बुझ्न कुनै गाह्रो नपर्ला । कर्मधर्ममा समर्पित कविले जीवनलाई कर्मसितै फुलाउनुपर्छ, सुगन्धमय बनाउनुपर्छ भन्ने आह्वान पनि गरेका छन् ।

मान्छेको कथा खोज्दै- कवितामा कविले मानवीय सत्यको खोजी गरेका छन् । मानवीयताको महत्त्वलाई दर्साउँदै कविले कथालाई खोजेका छन्-

“त्यही क्रूरतालाई

त्यही तिरस्कारलाई

गल्लीको झुम्रे मगन्तेजस्तै

हिँडिरहन्छ मान्छे फगत हिँडिरहन्छ।” (सत्यको खोजी-बाट)

गजुरेलका कविताहरूमा असमे गोर्खाका अस्तित्वमाथि प्रगाडमा उभिएको अनुकूलताहरू पाइन्छ । जातिले गर्नुपरेको सङ्घर्ष, यातना पीडालाई फूलरूपी सुन्दर भाषामा सम्प्रेषण गर्न खोजेका छन् । उनका कविताले असम भूमिमा गोर्खा जातिले आफ्नो भाषा, आफ्नो संस्कृतिलाई कसरी संरक्षण गरी बाँचेका छन् भन्ने पक्षमा कविताले ठाउँ-ठाउँमा उग्र स्वरले बोलेका छन् । यी जम्मै कविता पढिसक्दा असमे गोर्खाहरूका जीवनशैलीलाई सोधिरहनु खोजिरहनु नपर्ला । उनको कविता उनैको जीवनभोगाइ र समाजका रीतितिथि सामाजिक व्यवस्था, शैक्षिक, आर्थिक अवस्थामा बाँचेको समयका सुगन्ध पाइन्छ ।

मान्छेको कथा खोज्दै- भित्रका गीतहरू :

गीत गाइने प्रवृत्तिमा लयात्मक कविता हो । कतिपय कविताहरू गीत हुन्छ, लय सुर, तालमा सहजै बाँधिएर । कतिपय गीतहरू बेसुर र बेतालमा रहेर छोटो कविता बन्छ । लयदेखि अन्तर्लय बनेर गीत कविता बनेर पाठकसम्म पुगिरहन्छ । पाठकको हृदयमा छाउँछ, ओठमा झुन्डिरहन्छ त्यति बेला कविताहरू गीत बनिसकेका हुन्छन् । राम्रो सङ्गीतकार, सिपालु सङ्गीतकर्मीले कवितालाई जनप्रिय गीत बनाएर जनसाधरणको ओठमा झुन्डाइदिएका छन् । यस्ता कवितालाई हामीले गीत भनेर गाइरहन्छौँ । गीत बनेर लेखेका गीतहरू कविता भएका हामीले पढिरहेका छौँ ।

मान्छेको कथा खोज्दै- किताबभित्रका २५ ओटा गीतहरू आआफ्नै सुरताल र रूपरङ्गमा छन् । प्रत्येक गीतलाई शीर्षक दिएका छन् । गीतको विषयवस्तु भाव र रङ्गलाई शीर्षकले धेरथोर बुझाएका छन् । जातिप्रतिको असीमित प्रेमभाव, जन्मभूमि तथा राष्ट्रियभाव, देशप्रेम, संस्कार, सांस्कृतिक चेतना, प्रणयभावमय प्रेमिल गीतहरूले मान्छेको कथा खोज्ने क्रममा जुटेका छन् । भाषा, संस्कृतिको मायाँमोह श्रद्धाप्रेमलाई गीतमा दर्साएका छन् । गीतकार हरि गजुरेललाई गीतकार भनेर चिनाउने गीतहरू यस किताबभित्र रहेको कुरालाई नकार्न सकिँदैन । गीतले असममा रहेका गोर्खाहरूका रमाइलो, घमाइलो जीवनलाई बोध गराएका छन् ।

संस्कृतिबोध गीतहरू :

मानिसको जीवनमा सजिलोसित जस्ता-जस्ता कुराहरू ग्रहण गर्छन्, जुन प्रकार जीवन उपयोगितामा फेर पर्दछन् त्यही कुरालाई लिएर सहजशैलीमा जीवन मूल्य ठान्दै उपभोग गर्छ । त्यस्ता कुराहरू नै संस्कृति अन्तर्गत पर्दछ । गीतकार जुन समय र परिवेशमा बाँचेका छन्, जुन धर्म र आस्थामा विश्वास गर्छन् त्यही धर्म र आस्थामा विकशित संस्कृति चेतनालाई गीतमा उतारेका छन् ।

“संस्कार मरेजति जाति मर्छ, आफैँभित्र गुन

गाओ-गाओ दौँतरी हो, छाती फुकाई गाओ

वर्ष दिनको चाढ हाम्रो, देउसीतिर राम गाओ

झ्याउरे गीत गुन्जिँदै होला देउराली डाँडामा

डम्फु र च्याब्रुङ घन्केकै होलान् पहाडी पाखामा

देउसी भैलो गाउँदै होला मादल घन्काई

दिदी-भाइको मायाँको चिनो निधारमा टल्काई ।”

जातीय मोह गीतमा सलबलाएका छन् । यो नेपाली नबिर्स स्वाभिमान, खै त के भयौ, देउसी गीत, आमा हेर्छिन् तिमीलाई, मुटुको सीमा छेकिँदैन, कस्तो होला यो पहाड, श्रद्धाञ्जलि : भानुलाई जस्ता गीतमा आफ्नो जाति भाषा, संस्कारप्रति गहिरो मोह देखिन्छ । त्यसरी प्रणयमय गीतहरूमा मायाँ फक्रेन, मनको बह कसैले बुझ्दैन, अतीत फर्कँदैन, पिरतीको गाग्रीमा समुद्रको पानी, मायाँ लजाउन जान्दैन- जस्ता गीतमा मायाँ पिरतीको भाका भेटिन्छ ।

विशेष आफ्नो जातिले देशप्रति गरेको बलिदान त्याग एवं जन्मभूमिको श्रद्धाप्रेम गीतमा केन्द्रस्वर रहेको पाइन्छ । गोर्खा जातिले देश सुरक्षामा होमिएको त्याग र बलिदानको भावलाई गीतमा प्रस्तुत गरेका छन् । जे होस् गीतकारमा जुन प्रकारको राष्ट्रभाव प्रेम देखिन्छ भारतीय गोर्खाको देश, राष्ट्रप्रतिको असीमित प्रेम र श्रद्धाको भाव हो भनिरहँदा कुनै फरक नपर्ला ।

जातिप्रति उद्बोधन, देशप्रेम, जन्मभूमिको मोह आदि गीत प्रस्तुत गर्ने गीतकार गजुरेलले गीतलेखनमाथि आफ्नो विचार यसरी पोखेका छन् –

मनोरञ्जनप्रति मान्छेको रुचिहुँदा आफूले भन्न खोजेका कुराहरू समाजले सुनिदियोस् भन्ने धारणाले यी गीतहरू लेखेको हुँ । हुन त जीवनले भोगेको दुःखसुख पनि कुनै-कुनै गीतमा पाइएला तर पनि आफू जन्मेको भूमि…..बोल्ने नै छन् । यी २५ ओटा गीतहरूले खाटी गीतकारका रूपमा चिनाएको छ । भारतीय नेपाली गीतलेखनमा गीतकार गजुरेलको योगदानलाई सधैँ सम्झिरहन्छौँ ।

असमको भूमिबाट पाएका अर्को गीतकार हरि गजुरेल हाम्रो गीति साहित्यमा अर्को हरिभक्त कटुवाल भनिरहँदा फरक नपर्ला ।