
“श्रीमान्, म यो मान्छेसँग सम्बन्ध अगाडि बढाउन सक्दिनँ !”, रमाले रमेशलाई औल्याउँदै न्यायाधीशसमक्ष आफ्नो कुरा सुनाई ।
“महोदय, उसले तपाईँलाई पनि श्रीमान् भनी ! सबै बिग्रिनुको कारण यही हो । ऊ सबैलाई आफ्नो श्रीमान् सम्झिन्छे ।”, रमेश आत्तिँदै बोल्यो ।
ऊतर्फका वकिलले चुप रहनका लागि आग्रह गरे ।
ऊ चुप भयो । गरिब परिवारमा जन्मिएको रमेश, पढ्न पाएन ।

माधव काफ्ले
सानैदेखि उसले पैसा कमाउन सिकेको थियो । अदालत के हो ?
कस्तो हुन्छ ? के हुन्छ ?
यी यथावत् कुराहरूको जानकारी उसलाई छैन ।
कठघरामा एकातर्फ रमा र अर्कातर्फ रमेश उभिएका छन् ।
परिवार, समाजका एक-दुई जना बुद्धिजीवी र महिला अधिकारकर्मीले अदालत भरिएको छ ।
रमेशको कुरा सुनेर सबै गललल्ल हाँसे….!
“उसले मेरो स्वतन्त्रतामाथि प्रहार गरिरहेको छ श्रीमान् ! ऊसँग हुँदा म आफूलाई एक कैदीजस्तै महसुस गरिरहेकी हुन्छु । कसैसँग बोल्नु हुँदैन, शङ्का-शङ्कामा विभिन्न आरोप लगाउन थाल्छ ।”
रमेशले पुलुक्क रमातर्फ हेर्दै भन्छ, “यो सबै झुट हो सर । योजस्तो झुट बोल्ने मान्छे यो दुनियाँमा अरू कोही छैन होला ।” वकिलले पुनः चुप रहन भन्छन् ।
कर्के नजर लगाएर वकिलमाथि शङ्का गर्न थाल्छ । मेरो तर्फको वकिलले मलाई बोल्नदेखि रोकिरहेको छ ।
कतै….।
“रक्सी खाएर आउँछ अनि मलाई सधैँ कुट्छ ।” रमा पुनः आफ्नो वेदना सुनाउनतर्फ लाग्छे ।
ऊतर्फका वकिलले कुरा थप्न लाग्छ, “श्रीमान् ? तपाईँलाई त उसलाई भन्दा पनि धेरै समस्या रहेछ । अधबैँसे युवा भएर सरलाई श्रीमान् भनिरहनुभएको छ ।”
रमेशको कुरा सुनेर फेरि सबै गललल्ल हाँस्छन् ।
वकिलले रमेशलाई पुलुक्क हेर्दै कुरा अगाडि बढाउँछ ।
“यो एक मानसिक रोगी हो । झुट बोलेर यिनीहरूको विवाह गराइयो । बिचरा नारीहरू जन्मौँदेखि पीडित छन् । आखिर नारिले कहिले न्याय पाउँछन् ?”, वकिलको कुरा सुनेपछि महिला अधिकारकर्मीहरूले ताली बजाउँछन् । अदालत गुञ्जायमान हुन्छ ।
“मैले परदेशमा बसेर कमाएको सम्पत्ति सबै हडप्ने चाल गर्दै छे यो । मलाई अब ऊ हैन उसको नाममा रहेको मेरो खुन पसिना चाहियो सर ।”, रमेशले न्यायाधीशका अगाडि अनुरोध गर्छ ।
एकछिन सोचेर न्यायाधीशले दुवै जनालाई प्रश्न गर्छन्, “दुवै जनाले चाहेको ‘डिभोर्स’ हो त ?”
रमाले टाउको हल्लाउँदै भनी, “हो, श्रीमान् मलाई डिभोर्स चाहियो । यस्तासँग कसरी जिन्दगी कटाउनु ? अब बाँकी जीवन यही एउटा छोराको मुख हेरेर बिताउन चाहन्छु । मलाई उसको आधा सम्पत्ति चाहिन्छ ।”
“सबै सम्पत्ति उसकै नाममा छ, मेरो खुन पसिना मलाई नै चाहिन्छ । म उसलाई एक चुट्की सम्पत्ति पनि दिन्न सर । सबै मेरो मेहनतको कमाइ हो । छोराको पालनपोषण म नै गर्छु । कुन दिन मेरो छोरालाई पनि दोबाटामा लगेर छोडिदिन्छे यसले ।”, भावुक हुँदै रमेश आफ्ना मनका व्यथाहरू पोख्न थाल्छ ।
“नारीअधिकार भन्दै मैले ऊबाट धेरै पीडा सहेको छु सर । आफ्नो श्रीमान् हुँदाहुँदै अर्कैसँग सम्बन्ध बनाउनु नारी अधिकार हो र सर ? मैले आफ्नो मेहनतले कमाएको सम्पत्ति उसलाई दिनुपर्ने ? के यही न्याय हो ? के नारीको मात्र अधिकार हुन्छ ?पुरुषअधिकार हुँदैन ? नारीले अधिकार खोजिरहँदा आफ्नो कर्तव्य बिर्सनु कत्तिको जायज छ ?”
उसका प्रश्नहरूले पूरै अदालतमै शून्यता ल्याउँछ ।
सबै चुप छन् ।
ऊ थप प्रश्न गर्छ, “म अनपढ गवार हुँ भनेर मेरो सम्पत्ति कुम्ल्याउन खोज्ने ! यो नारी, कस्ती नारी ? आफ्नै श्रीमती परपुरुषको अँगालामा बेरिएको थाहा पाउँदा एउटा श्रीमान्लाई कस्तो हुन्छ ? यदि पुरुषले चर्को बोलिहाल्यो भने महिलाहिंसा हुन्छ ।न्याय अन्धो हुन्छ भन्दैमा सर त अन्धो हुनु हुन्न नि ! मलाई केही चाहिँदैन । मेरो छोरो भए पनि मलाई पुग्छ । सम्पत्ति नै चाहिएको हो भने उसैले लगोस् ।”
अचानक रमाको मुखबाट सत्यको फोहोरा फुट्छ, “के रे ? छोरा चाहियो । तँ आफैँलाई थाहा छ कि छैन ? तँ तेल नभएको दियो होस् । तैले अँध्यारो हेर्दै चित्त बुझाउन सक्छस् । उज्यालो बनाउने कल्पना नगर्दा हुन्छ । यो छोरा तेरो हैन । यसलाई छोरा भन्ने अधिकार तँलाई छैन ।”
उसको कुराले पूरै अदालत नै आश्चर्यचकित बनाउँछ ।
रमेशले मुसुक्क मुस्कुराउँदै भन्छ, “आगो पिएर पानी ओकल्न गाह्रो हुँदो रहेछ । सर मैले प्रमाणित गर्न चाहेको कुरा यही हो । मलाई कानुनका धारा र उपधारा थाहा छैन तर सत्य र असत्यको पहिचान गर्न सक्छु । मलाई थाहा छ सत्य नै न्याय हो । जसलाई मैले आफ्नो जिन्दगी सम्झेँ उसैले नै आफ्नो जीवन अरूसमक्ष समर्पण गरेपछि मैले जिन्दगीलाई आफू सम्झिने कि आफूलाई जिन्दगी ! जुन फूललाई मैले मलजल गरेर हुर्काएँ, त्यही फूलको काँडा मेरो यात्राको बाधक बन्दै छ ।”
ऊतर्फको वकिल चुपचाप आफ्नो कुर्चीमा गएर बस्छ, “न्यायको जिम्मा हजुरमाथि छ श्रीमान्”, भन्दै रमेशको वकिल पनि कुर्चीमा बस्यो ।
फैसला रमेशको पक्षमा आयो तर ऊ खुसी थिएन । ऊ जितेर पनि हारेजस्तै भयो ।
“श्रीमान् आज म आफूबिरुद्ध आफैँ लडेर आफैँलाई हराएको महसुस गर्दै छु । जितेको आभास गर्दै छु ।”, यति भनेर रमेश बाहिर निस्कियो ।
अदालतभित्र चलिरहेको नाटक पाँच वर्षको सानो बालकले हेरिरहेको थियो ।
उसले के बुझ्यो होला ?
रमेशले सम्पत्ति फिर्ता पायो, रमाले छोरो ।
बिचरा त्यो छोरोले बा गुमायो, एउटा सुन्दर भविष्य गुमायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 










