हिजोआज दूध, दही, किरिम, पनिर यस गौशालामा पाइन्छ । आठदश वर्षदेखि यता यस गौशालामा धेरै राम्रो उत्पादन भएको छ अनि यो बेरोजगारहरूको एउटा आड भरोसको दह्रिलो संस्थान बनिसकेको छ ।दुई सम्धी प्रातः भ्रमण गरेका बेला बाटाबाट नजिक देखिएको गौशालातिर हेर्दै गफगाफ गर्छन् ।धेरै दिनसम्म बाँझिएको र त्यसै गौचरन खेलमैदानजस्तो भएर रहेको साइँला महाजनको यो बीस-पच्चीस बिघा जमिन गोपालले किनेको थियो । समयअनुसार अरूतिर जमिनको दाम धेरै भए पनि, यो माटो थुल हिसाबले एकै ठाउँमा परेको अनि बेस्याहार अवस्थामा रहेको हुँदा सजिलै केही सस्तो मूल्यमा लियो उसले । पहिले बेच्न मन गरेको तर नबिकेको हो थियो । साँच्चै भन्नुपर्दा साइँला महाजनका छोराहरू कुनैले यो बारीमा आफ्नोमा परेको भागसम्म लिन नरुचाएको, यहाँ घर बनाएर बस्न नचाहेको हुँदा, बुढाबुढीको जिउनी भागमा राखेको, मान्छेहरू उत्ताने डाँडो भन्थे र त्यसै बाँझो रहेको थियो । महाजन बुढा, बुढै भए अनि कसले स्याहार गर्ने यसको । धेरै वर्ष त्यत्तिकै थियो ।

पूर्णकुमार शर्मा (असम)

गाउँबाट दश वर्ष जति हराएर फुत्तै एकदिन आफ्नो गाउँ आफ्नो घर फर्केर आएको गोपालले एकदिन यता उता गरेपछि लौ ‘साइँला महाजनको बाँझो बारी गोपालले जम्मै किनो रे’ भनेको सुनियो । रमाइलो पनि लाग्यो त्यो मेरो बाल्यकालको साथी हो । नरमाइलो लाग्यो यस्तो बाँझो जमिनमा यत्रो ठुलो रकम खर्च गरेको देखेर, दुःख कष्ट गरेर कमाएको धन यस्तो माटामा गम्मै फाल्यो भनेर । यता छक्क पनि परेको थिएँ- टेक्ने न समाउने अवस्थाको रामचन्द्र सिलोकेको छोरो गोपालले कति औधी थामी नसक्नु पैसा कमाएछ गाँठे दश बर्से छोटो समयमा भनेर । गाउँघरमा हामीले यस्तै उस्तै कुरा मुखामुख गऱ्यौँ सकियो कुरा तर हेर्दै जाँदा, गर्दै जाँदा त्यही बाँझो बारी हरियोपरियो रसिलो गतिलो बन्दै गएर यस बेला रमाइलो भएको छ । तपाईँले बिहान देखेर मलाई सोध्नुभएको त्यो फारमको कुरा गरेको नि सम्धीज्यू । पाहुना सम्धीलाई घरभेटी सम्धीले गफगाफ गर्दै फेरि गौशालाको कुरा उक्काए ।
– अनि भित्रतिर चाँही के छ  होला हजुर त्यहाँ ?
– ए विचित्र छ नै – एकातिर गाई गोरुको गुहाली, लस्करै गाई बाँधेको, एकापट्टि दुहुनो, अर्कातिर छिटा र गाभिना, छेउमा बाच्छाको टाट्नो, परतिर दूध जम्मा गर्ने सरदामहरू राख्नेसमेत एउटा सानो-सानो कार्यालय छ । अलिकति ठाउँमा पोखरी खनिएको छ । डिलमा वरिपरि नाना थरीका केरा रोपिएको छ । एकातिर बिउ छरेर घाँस उमारिन्छ, काटेर तिनै गाईगोरुलाई खुवाउने गरिन्छ । अलिकति जग्गा मकै, कोदो, फापर जस्ता समयोचित खेतीका लागि राखेको छ । एकातिर रकम रकमका रूख र बिरुवाहरूको बगैँचा छ । एकाछेउमा खाली गुहाली घर छ, कुनै कारणवश गाई वा गोरु बिरामी परे भने त्यसलाई एक्का राखेर दवाई पानी गरिन्छ । अर्को टहरामा पराल खाँदेर राखिएको छ, धेरै पराल । चापडका बोराहरू पनि उत्तिकै छन् । बर्खामास उलाउपानीका बेला हरेक ठाउँमा आवश्यकअनुसार यहाँ बाटै पशुखाद्य बिक्रीवितरण हुन्छ । यो त नामको गौशाला हो, कामचाँहि साँच्चै भन्नुपर्दा ठुलो-ठुलो कम्पनीको जस्तो छ । यस्ता गोडा तीनेक कारबार छन उसैका ।
एकखाले रमित छ भनौँ न सम्धीज्यू ।
– निकै गजबको कारबार रहेछ हो कि !
– भन्नुपर्दा गाउँका सबै बेरोजगार यहीँ खटिएका छन् अनि सानो कुरा छ यो । हिजोआज दिल्ली र बेङ्लोर भनेर हिँड्छन् मान्छे ।
– हाम्रो यहाँ- बेङ्लोर न सेङ्लोर गाउँ र छेउछाउका प्रायः बेरोजगार मान्छे यहीँ कमाइ खाई जहान पालेका छन् । तीन हजारभन्दा बढी कर्मचारी खटेका छन् जताततै । अलिक पर एउटा ठुलो धान खेत छ । उता माथ्लो गाउँमा एउटा ठूलो बाँसघारी छ । त्यहाँ रकम रकमका देशी विदेशी बाँस छन् । त्यसमा टाँसिएको एउटा नाना प्रकारका रूखपातको बगैँचा छ । आआफ्नो क्षेत्रमा सबै काम चलिरहेको देखिन्छ । हाम्रो छेउको साइँला महाजनको यो चिहाने डाँडो कस्तो थियो यस्तो हुन्छ होला भन्ने कसले चिताएको थियो र । यो ता गोपालको हात परेकाले कति हो कति चाँढो एउटा प्राणचञ्चल र उपार्जनको स्रोत थलो बनियो, सम्झिएर ल्याउँदा अचम्मको कुराझैँ लाग्छ हामी देख्नेहरूलाई । आज बीस वर्षमा यो गौशाला- यो प्रान्त जिल्ला मात्रै नभएर राज्यभरिमै दामिलो दुग्ध उत्पादक केन्द्र भन्ने कुरा सरकारका खातामा पुगेको छ । यसमा कृषि विज्ञानका छात्रछात्रा खोज अनुसन्धान गर्न आउँछन्, वर्षको दुइटा छात्रछात्रालाई “मा द्रौपदी छात्रवृत्ति” भन्ने गौशाला मालिकतर्फबाट छात्रवृत्ति दिइन्छ । विदेश बसेर गवेषणा गर्न मौका पाउनेले विदेशमा पढाइमा हुने समस्त खर्चसमेत यस गौशालाले नै वहन गरेको हामी जान्दछौँ । कतिले पढेर ठुला ठुला अफिसर बने । अनि विचित्र होइन त सम्धीज्यू । यी हिजोआजका बीस-पच्चीस वर्षीय बाबुको होटलमा खाएर सरकारी स्कुलमा पढ्ने उर्लापात स्वभावका केटाकेटीहरूले जान्नु-सिक्नुपर्ने कुराहरू छन् यस कम्पनीबाट । सिके हुन्छ नि तर के गर्ने ! यिनले दुःखकष्ट पाएको भए पो छिटै घैँटामा घाम लागोस् । सोझो कुराले भन्दा यिनका निम्ति यो कथा नै हुन्छ कथा ।
– हो सम्धी हो । दिलकालमा समयको धेरै रङ्ग पोतिएको छ । अब हिजोआजका मेट्रिक पढने नानीहरूले हल गोरु जोतेर माटामा मोइ लगाएको देखेकै छ कि छैन सन्देह छ । पाटा र आहुधान गोड्न बिन्धा लगाउनुपर्थ्यो । हरियो घाँस देखेर सबै हल गोरुले ठुट्याँछ भनेर बिन्धा लगाउनुपहिले नै गोरुको मुखमा महला लगाएर हल नारिन्थ्यो । यिनले के महला के बिन्धा देखेको भएपो । देखे त देखे यिनले कोरोनाका बेला मान्छेको मुखमा लगाएको माक्स देखे तर गोरुको महला देखेनन् । हैन त ? उमेरदारी मान्छेले यो माक्स लाउनुपर्दा मनमनै पीरले भुतुक्क हुन्छन् भन्ने यिनीहरू जान्दैनन् पनि । कस्तो-कस्तो दिन फर्केर आएको, पहिले-पहिले यिनै हातले गोरुका मुखमा लगाएको जिनिस, आफैँले आफ्नै मुखमा लगाउनुपर्ने भयो भनेर कत्रो पीर परेको छ हामीजस्ता उमेरदारीलाई । त्यो कुरा यिनलाई के थाहा । जे होस् यो बाँच्नको स्वार्थमा प्रयोग गर्नुपरेको छ । दिनकालको, समयको, परिवेश परिस्थितिको दास हुनुपरेको कुरा सम्झेको हो । पाहुना सम्धी थामिए एकछिन ।
– यस्तै समय परिवेश परिस्थितिको चक्रवातमा परेर गोपाल अर्थात् यो द्रौपदी गौशालाको मालिक अठार उन्नाईस वर्ष जस्तो कलिलै उमेरमा एकदिन गाउँबाट एक्कासि भागेर हिँडेको थियो । त्यस बखतमा यस घटनाका बारेमा एकले जान्दछन्, धेरैले जान्दैनन् । सुनेर कसैले पत्याउँछन्, कसैले फटाहा कुरा भनेर उडाँउछन् तर सामान्य घटना र गरिबीको चेपमा चेप्टिएको गोपाल जसरी बेपत्ता भएथ्यो, एकदिन यसै गाउँमा गाउँको ठाउँको सुनको गहनामा जडान गरिएको अमूल्य हीरा भएर आउँछ, त्यो सोचेको थिएन् तर अहिले त्यही कुरा आँखा अघिल्तिर ठुलो सत्य साबित भएको छ । त्यतिबेर सबैको घैँटामा घाम लागे । यसलाई भन्छन् मान्छेका लागि गरिबी अभिशाप हैन बरु गरिबी मानिसको जीवनमा उसको जीवनको आशीर्वाद हुने एउटा सौगात हो, जीवनलाई जित्न सिकाउने एउटा प्रत्याह्वान हो ।
गोपालको जीवनमा घटेको त्यस रातको घटनाको प्रत्यक्ष्यदर्शी हुनुको कारण आज मेरो आँखासामु त्यो घटना त्यो अप्रत्याशित विकट परिस्थिति झलझली नाचेरहेको छ ।
भान्सा खाऐर दुई सम्धी यसो भान्साघरमा जोडिएको छहारीमुनि अँगेनामा आगो ताप्न बसे । घरकाहरू कल्याङमल्याङ गर्दागर्दै सबै सुते ।
जाडाको रात, अँगेनामा आगो तापेर दुई सम्धीका गफ जुधेपछि पछि रात बितेको के थाहा । त्यति भएन दुवै सम्धी गुवापानका भक्त हुँदा, दिउँसै गुवापान चुन सबै कुराको विशेष प्रबन्ध गरिएको थियो । छेउछाउका ठुटा मुढा जोतेर, आगो तापेर गुवापान मसक्क मस्काउँदै गफ हाँक्ने विचारले ।
– सबै कुरा ठिक छ सम्धीज्यू, बिहान त्यो फलेकमा देखिएको “मा द्रौपदी गौशाला” भनेर लेखेको कुरा मलाई अलिक अनौठो लागेको छ । विष्णु, लक्ष्मी, शिव यस्तो नाम देखेको सुनेको भए पनि, यो खाले नामको कुनै पनि अनुष्ठान प्रतिष्ठान आजसम्म देखेको सुनेको सम्झना छैन । त्यो त्यसरी लेख्नुको केही माने छ कि, कि एउटा नाम राख्नुपर्ने हो राखिदिएको हो । अलिक कता-कता मेरो मनमा खेलाएको कुरा पोखेको मात्रै हो । हजुरलाई त जानकारी हुनुपर्ने हो ।
चम्लागाईँ बुढाको कुरा भुईँमा पर्नासाथ घरभेटी मैनाली सम्धीलाई झनै स्वाद पऱ्यो । यसरी सोधे पो मथिङ्गलमा कुरा आउँछन् कमिलीसलह हुरुर्र कुदेर । एकबुजो गुवापान मुखमा कोचारेर मैनालीले उस बेलाको कुरा सम्झिए । ठ्याक्कै लग्नमा कुरा राख्नुभयो हजुरले । यो कुरा पहिले-पहिले सत्य कुरो हो भने नठम्मिउन्जेलसम्म हामी धेरैले यो त त्यो नाटकमा द्रौपदीको भाउ लिएर भाग्नुपरेको हुँदा- यस्तो द्रौपदी नाम राख्यो होला नि भन्ने सोचियो । आमाको नाममा यो यस्तो लेख्यो भनौँ भने पनि उसकी आमाको नाउँ त पार्वती हो । त्यो पनि मिल्दैन तर पछि गएर पो भेद खुल्यो सम्धीज्यू ।
– अब आखिरी सुनौँ न त के रहेछ भेद ।
घरभेटी सम्धीले कुरा खोले ।
– गोपालको र मेरो उमेर प्रायः समान-समान हो । हामी सानैदेखि बिरिङ गुटी खेल्ने, टाङ्गुटी हान्ने अनि पछि-पछि उस्तै साथीको लहडमा परेर लुकीछिपी खैनी खाने यसरी मिलेका साथी थियौँ । अलिक पछि-पछि हामी स्कुल छुट्टी भएपछि बेलुकी पख गाई चराउन जाँदा तितेघारीमा लुकाएर राखेको बिँडी उतै सन्काएर आउँथ्यौँ । पक्राउ परेर स्कुलमा मास्टरको चड्कन पनि उत्तिकै खाएको हो हामीले । कसो कसो मैलेचाँहि खैनीमा लागेर बिँडी त्यागेँ तर गोपालले बिँडी खाने बानी छोड्न सकेको थिएन् । जाडामा लुकेर बाक्लै धुवाँ उडाउने गर्थ्यो मौका पारेर । त्यसताका मेट्रिक पास गर्दा हामी निकै डढाँक भैसकेका थियौँ । निकै छिप्पिएको उमेरमा स्कुलमा भर्ना भएकाले होला । जे होस त्यो वर्ष हामीले मेट्रिक पास गरेर स्कुल छोडेका । धेरै पढ्नुपर्छ र केही बन्नुपर्छ भन्ने त्यत्रो चाहना थिएन उस बेला । गाउँघरमा मेट्रिक पास गरेको मान्छे झन्डै निकै पढेको ठुलो मान्छे भन्ने धारणा राख्ने धेरै थिए । त्यस्तैमा त्यसवर्ष दसैँमा गाउँमै नाटक गर्ने सिद्धान्त भयो । एक दल सामाजिक नाटक गर्ने पक्षमा थिए । अर्को दल राजकीय पोसाकवाला दामी नाटक गर्नेमा । पछि रएल नाटक गर्ने पक्षमा सबैको सिद्धान्त टुङ्गियो । महाभारतको द्रौपदीको वस्त्रहरण नाटक खोजेर ल्याईकन त्यही नाटक दसैँमा खेल्ने तयारी चल्यो ।
भाउ वितरण गर्दा गोपालको भागमा द्रौपदीको भाउ पऱ्यौ । ऊ पुलुक्क हेर्दा  ऊ राम्रो देखिन्थ्यो । उस बेला स्त्री चरित्र पुरुषले गर्नुपर्थ्यो । हिजोआजजस्तो थिएन ।
म सधैँको पम्पटार माने स्मारक छँदै थिएँ । नाटकको यताउता गर्ने फुको मान्छे पनि चाहिने, त्यो नाटक स्पष्ट पढेर रिहासल गराउने मान्छे, त्यसैले सोझै म प्रम्पटार छाँनिए । राम्रैसँग चल्दै छ सबै कुरा । रिहासलहरू राम्रो भयो । महाअष्टमीको राति हामी बेलैमा खाएर साँझमै नाट्य मञ्च गएर ठिकठाक पाऱ्यौँ । समयमा नाटक मञ्चन सुरु भयो । हलमा ठेलमठेल मान्छे छन् । हुँदै जाँदा नाटकको दृश्यमा पासा खेल आयो, खेलमा सबै थोक जितेर दुर्योधनले द्रौपदीसम्म जित्यो, जितेपछि- भारी राजसभामा उसको काखमा बस्न द्रौपदीलाई बोलायो, द्रौपदी आउँदिनन्, दुर्योधनको हुकुम लिएर दुःशासनले भित्रबाट द्रौपदीलाई घिसारेर ल्याउनुपर्ने एउटा सुन्दर नाटकीय मुहूर्त आयो । जाडाको दिन द्रौपदीरूपी गोपाल मञ्चका छेउमा छेलिएर मज बिँडी तान्दै गरेका बेला दुःशासनले साँच्चैको दृश्य देखाउने विचारले द्रौपदीलाई च्याप समातेर तान्दै ल्याउने सुरमा गएर गोपालाई केही नभनीकन घिसार्दै मञ्चमा ल्यायो । एकसुरमा खाइरहेको गोपालको मुखको बिँडी फ्याँक्ने कुनै सुविधा परेन् । बिँडीतान्दै गरेकी द्रौपदी मञ्चमा सबैले देखे । अचम्मको कुरा । पहिले त मान्छे गलल्ल हाँसे । तद्मुहूर्तमा अर्को हल्ला भयो , बिँडी खाने द्रौपदी- ओहो बिँडी खाने द्रौपदी । पर्दा तान्, पर्दा तान् । एकैछिनमा पर्दा तानियो ।
यत्रो दसैँको नाटक देखाइएको अरे !
हामीले बिँडी खाने द्रौपदी देखाउन भनेर नभएका पैसा चन्दा तिरेको हो कुमेटीलाई ? (नाटक परिचालना समिति)
सामाजिक नाटक गर्ने पक्षमा रहेका मान्छे के निहुँ पाउ भनेर निहुँ खोज्नेमा रहेछन् । त्यहीमाथि दसैँको बेला, कति मान्छे मासु र रक्सीको रमझममा पनि उत्तिकै थिए । एकैछिनमा एक भयङ्कर हल्ला र सानोतिनो मुक्कामुक्की तानातान हानाहान हुन थाल्यो । नाटक बन्द । आइमाई केटाकेटी चिहिलबिहिल भएर भागाभाग भए । एक समयमा सबै मान्छे दर्गादिशा लागे तर गोपाल कता गयो कसैले देखेनन् । त्यसैदिन हराएको गोपाल हराएको हरायै भयो कतै पत्तो लागेन् । तीन चार वर्षपछि कोही दिन झुक्याएर राति घर आएर राति नै फेरि कतै जान्थ्यो अरे भनेर सुने पनि देखिएन भेटिएन आफूले ।
दश वर्षपछि निकै रुपियाँ पैसा कमाएर गोपाल आयो र अनि यो गौशाला खोलेको । बिच-बिचमा मसँग झुकलपुकल भेट गर्न आउँछ । साथी भन्ने मायाँ र मान्यता राख्छ । उसको जीवन चिथोर्ने विगतका कुरा कहिलेकाहीँ भन्छ पनि ।
मान्छे एकदम साधारण जीवन धान्ने शैलीको छ । गाडी घोडा, तकझक छैन । झट्ट परको नयाँ र उसलाई नचिनेको मान्छेले देख्दा, थाहै हुँदैन कि यो एउटा विशाल सम्पत्ति र एक विभिन्न कारबारको मालिक हो भनेर । मौका परेछ भने म हजुरसँग पनि भेट गराइदिउँला न सम्धीज्यू ।
– बढी रोचक हाँसो र रोदन मिलेको अचम्मको कुरा गर्नुभयो हजुरले । अब उसो त्यो त्यसरी राति हुँदी नाट्य मञ्चबाट बेपत्ता भएको मान्छेले दश वर्षमा घर फर्केर आउँदा त्यत्रो माटोबारी किन्ने र गौशाला खोल्ने धनसम्पत्ति कसरी कमायो, यो पनि ता सोच्नुपर्ने कुरा हो नि सम्धी ।
– हो किन हैन । जसरी विचित्र पाराले गोपाल हरायो उसको पैसो कमाउने पारा पनि उत्तिकै नाटकीय र सर्वसाधारणको मथिङ्गल खलबलाउने विचित्र तरिकाको नै छ ।
– रात त निकै छिप्पिएको आभास हुन्छ । भोलि भनौँ कि रहल कुरा, कि सकेर सुतौँ कि कसो, तपाईँको इच्छा है । घरभेटी सम्धीले गफगाफमै भने ।
– हैन यस्तो कुरा मनमा लिएर सुत्दा काहाँ निद्रा पर्छ र सम्धीज्यू । बरु अझै एक-एक खन गुवापान खाऊँ । दन्काएर आगो ताप्तै कुरा टुङ्गाउनुपर्छ । भोलि घर फर्केर जाने कुरा पनि छ नि फेरि मेरो त ।
– लौ त । कुराहरू गोपालले मलाई जसरी भनेको थियो, यस बेला म हजुरलाई उसैगरी भन्छु । एकदिन गोपाल मेरोमा आएको थियो रात बस्दै, सायद उसको मनको वह पोख्ने विचार रहेछ होला । भान्सा खाएर हामी मेरो कोठामा बसेर गफिन लाग्यौँ । मौकामा मैले ऊ भागेर गएको कुरा छर्लङ्ग पार्न आग्रह गरेँ ।
– त्यो रात नाटकको पर्दा छोपिने साथै द्रौपदीको वेशभुषा फालेर मैले भित्र लगाएको पतलुनमाथि अर्को पतलुन घुसारेँ अनि धुसाको सर्ट र बाहिर ज्याकेट भिरेर अँध्यारोमा छेलिँदै धानबाली माझको आली आली हिँडेर प्रायः डेढ-दुई घण्टापछि रेल स्टेसन पुगे । मेरो विचार थियो जोनाई फुपूको घरमा गएर उतैबाट अरुणाचल पसेर काम खोज्ने । घर फर्किइसक्नु थिएन । दसैँ खर्च खल्तीमा पचास साठी रुपियाँ लगभग थियो । नाट्य मञ्चमा उत्पत्ति भएको आकस्मिक परिवेशले अत्यन्त भयानक रूप लिने भयो भनेर मेरो मुटु कलेजो कामेको थियो । बाहिर साइँला महाजनको माहिलो छोराले चिच्याएर कराएको सुने ‘त्यो कुन चैँ बजिया हो द्रौपदी हुने, त्यसलाई घिसारेर निकाल’ भन्ने आवाजले मेरो हंसले ठाउँ छोडेको थियो, त्यो भङ्ज्याहा र रक्सिया मान्छे नै हो । छेउमा मैले तँलाई देख्छु कि भनेर हेरे । त्यो हल्लामा कतै केही देखिएन् ।
– उसले मलाई भन्यो ।
– मैले नाटकको खाता समेटेर कता के भएछ भनेर खोजी गर्दा तैँले डाँडो काटेर राज मार्ग पुग्न लागेको हुँदो होस् अनि । यता भोलिपर्सिपल्ट गाउँमा मेल पञ्चायत बस्यो । तेरा बाबुले छोराको पक्षमा एकसय एकाउन्न रुपियाँ जरिमानासमेत हात जोडेर माफी मागे सकियो तर तँ हराइस्, गोपाल हरायो । हरायो हरायो । अनेक खोजीनीति गर्दा पनि कतै केही सिप लागेन । चुप लाग्न बाध्य थिए घरका ।
फेरि गोपाल भन्न लाग्यो-

– मेरो सोचाइ थियो उता जुनाईतिर जाने तर रेल जुनाईतिरबाट  यता रङ्गिया फर्किने रहेछ त्यसनबेला । अर्को मनले  जताबाट पहिलो रेल आउँछ त्यसैमा चढ्छु भन्ने सोच्थ्दै थियो । पुगेको मात्रै थिएँ रेल आयो चढेँ । रेलमा चढेर तल बसेर भित्तामा अडेस लागे हिँडाइले थाकेको बेलामा, त्यहीँ थेच्चिएँ, सिट खोज्न जाँगर चलेनन् । त्यसरी नभागे जोगिने अर्को उपाय थिएन मेरो मनमा । बिहान रङिया स्टेसन पुगेछु । रेल त्यहीँ टुङ्गियो । यात्रा कहाँ हो किन यहाँ आउनुपऱ्यो, कस्तो आपद् हो यो, मेरो मनमा यस्तै कुराको ठुलो हुन्डरी चलेको थियो । हिजै साँझमा हतार-हतार खाएर नाटकमा सिङ्गारिन हिँडेको । राति टिटिईले तीस रुपियाँ किराया लगिहाल्यो । केही पैसा छन् । सहारा त्यही हो । चिनेजानेको कोही छैन । पराईको ठाउँ । टाउन जग्गा । यस बेला असम आन्दोलन तीव्र गतिमा बढिरहेको समय, आफू नेपाली भाषी परियो । झनै त्रास छ मनमा । स्टेसनबाट निक्लेर फुटपाथमा एउटी आइमाई मान्छे चिया बेच्दै देखेर त्यतै लागेँ । एक रुपियाँको डेक्ची बाबर एउटा र एकपेला चिया मागेर खाएपछि आँतमा केही साहस बढेको अनुभव भयो । अब, अब कता जानु, के गर्नु । उदालगुडीमा सानिमाको घर छ तर…!
त्यही चिया पसलको छेउमा अल्याङटल्याङ गरेको देखेर होला- एक्कासि, ओइ केटा के नाम हो, कहाँ हो घर ? कहाँ हिँडेको ? खोइ यता आइजा भनेर अलिक अप्ठेरो असमिया भाषामा आइमाई मान्छेले बोलाइ । मान्छे बोलीमा बङ्गाली भाषी हो भन्ने मैले पहिले ठहर गरिसकेको थिएँ किनभने त्योअघि मलाई डेक्ची बाबर बेच्ने मान्छेनै हो । म खुरुक्क ऊतिर लागेँ ।
– म गोपाल, विश्वनाथ चारालीबाट रेलमा आएको ओदालगुडी उत्रिनुपर्ने, निधाएर यहाँ आइपुगेछु थाहै भएन ।
– हो कि घरबाट भागेर हिँडेको होस् । कसले जान्दछ, केही काम गर्छस् ?
काम गर्छस् भन्दा मेरो मनमा ठुलो आँट पस्यो ।
गर्दछु । के काम ।
– यो ला खा, भोकाएजस्तो लाग्यो । खा खा, पैसा तिर्नु पर्दैन खा । यसो भनेर अर्को एउटा डेक्ची बाबर र एकपेला चिया दिई त्यसैले । एकछिन बसिराख यहीँ । घरमा को-को छन् । यस्तो टाउनको ठाउँमा एक्लै नयाँ मान्छे घुमफिर गर्न हुँदैन, जान्दैनस् । पुलिस आर्मी लाग्छन् थाहा छैन ?
– ऊ…त्यो पिठो भिजा भिजा । अघिको पिठाले अर्को रेल आउँन्जेल पुग्दैन होला । डेक्ची बाबरको अड्कल गरेर भनी ।
धान राख्नेजस्तो टिनमा भएको पिठो आरीजस्तोमा निकालेर कति भनेर उसको मुखमा हेरेको, सबै भिजा भनेर हात हल्लाएर देखाई । ऊ आफ्नो ग्राहक पनि हेर्दै छ, मलाई पनि नजर लगाउँदै छ ।
लुरुलुरु उसले भनेको गर्दै गएँ । निकै बेरपछि साढे एघारको रेल गयो । सर समान थन्काइमुन्काइ पारेर, ती सामान त्यो ठेलाजस्तोमा छोपी । एउटा डालामा केही फलमूल र खाने वस्तु र खज्यार मुजुर हाली ।
– ओइ केटा हिँड् । पहिली यो डाली उचालिदे दे मलाई । तँ यो खाली टिन र बोरा बोक् । हिँड् घर गएर नुहाएर भात खानुपर्छ ।
धेरै दिन घरमा राखेर रतिएको, एकदमै आत्मीय कर्मचारीजस्तो व्यवहार गरेरै त्यसले मलाई घर पुऱ्याई । उसले मलाई साँच्चै सहारा दिई । बेलाबखतमा हकारपकार पनि पार्ने मायाँ पनि गर्ने ।
म उसैसँग त्यस्तै पाराको काम गर्न थालेँ । विचार गर्दै जाँदा, उसको पसलका छेउछाउ र चिनेजानेको सबैले उसलाई सम्मानपूर्वक “मा द्रौपदी” भन्दा रहेछन् । पहिले-पहिले द्रौपदी शब्दचाहिँ उच्चारण हुँदै एकखेप मेरो सातै जान्थ्यो, त्यो शब्द सुन्दा मलाई जिउभरि अरिङ्गालले टोकेजस्तो हुन्थ्यो मनमा, गाउँको त्यो राति भएको नाटकको घटना सम्झिएर तर दिनदिनैमा द्रौपदीको सहारामा मैले नयाँ जुनी फेरिसकेको थिएँ । केही महिनामा सबै सामान्य भयो । द्रौपदीको हाइप्रेसर स्ट्रोकले पेरालाइसिस भएको लोग्ने घरमा बस्थ्यो । त्यो दिनभरि रातभरि खाटमा सुतेर,के के भुतभुताइरहन्थ्यो । त्यहाँ पनि मिलियो । आफ्नो ज्यानको खतरा रहेन । एकदिन त्यहाँ द्रौपदीको भाइ आयो । उसले काम गर्ने मान्छे भेटियो भने राख्नुभनेको रहेछ ।
– एक जना काम गर्ने मान्छे भेटियो भनेर खबर गरेकी थियौ दिदी, खोइ मान्छे भन्यो । म आफ्नो ठाउँमा के गर्दै थिएँ,सुने । मैले बुझ्न बाँकी रहेन द्रौपदीले उसको भाइकोमा काम गर्न पर्छ भनेर यत्रो दिन मलाई राखेको रहिछ । जे होस् राम्रो भयो । मैले खान बस्न र सुरक्षा पाएँ, दैव दाहिना रहेछन् भन्ने लाग्यो मनमा ।
– गोपाल यता आइजा । अब तँ यो मेरो भाइकोमा जा आजदेखि । कहिलेकाहीँ आउने गर्नु । मेरो माइती घरमा पठाएको, अन्त होइन बुझिस् । धक मान्नु पर्दैन । ऊ दुई मैल पर छ घर, तँ उतै जा ल ।
– हुन्छ ।
– यो ला । यहाँ नयाँ कपडा छन् पूजामा कसैलाई दिने गरेको थियो बर्सेनि , यसपालि तैँ लगा, ठिकै हुनुपर्छ जिउमा ।
– यी डेढ सय रुपियाँ छन् राख । मौका पाउँदा घरमा पठाउनु ।
– ओइ मानिक यो केटालाई राम्रो व्यवहार गर्नु, नेपाली केटो रहेछ, विश्वासी र इमानदार छ । मान्छे चिनेस् । भात खाएर जानु है तिमीहरू । म स्टेसन जानुपर्ने अबेर भइरहेको छ ।
त्यसदिन म स्टेसनको साटो मानिकको पछि लागेर उसको घरमा गएँ ।
त्यो पूजाहरूमा चाहिने मूर्तिहरू बनाउने कारिगर भनूँ मूर्ति शिल्पकार रहेछ । त्यसकोमा ता जताततै धानको पराल, बाँसको टुक्रा, भाटा र सुत्ली, काठको टुक्रा, साना ठुला तार गाजल, नाना थरी रङ्गका ट्यामीहरू, त्यस्तै सामान बग्रेल्ती देखिन्छन् । मैले बनिएको दुर्गा, विश्वकर्मा सरस्वती मूर्ति देखे पनि, मूर्ति बनाउने यस्तो कारबार नदेखेको कुरा थियो । जे भए पनि मलाई वास्ता थिएन । काम गरेर पेट भर्नु मुख्य कुरा थियो त्यस बेला मेरा निम्ति । त्यहाँ तिनै पराल, भाटा, सुत्ली जोगाड दिने मानिकलाई सघाउने काममा मलाई खटाइयो । एउटा भाटामा कति सावधानी र हिसाव गरेर पराल सित्तैमा खेर नफाली, एउटा एउटा त्यान्द्रो पराल धेरथोर मिलाएर कसेर बाँध्नुपर्छ भन्ने एकखाले ज्ञान मलाई थाह हुन लागेको थियो । अनुमानिक एउटा भाटामा बाँधिएको पराल मूर्तिको आकारमा खडा गरेर, त्यसमाथि बाहिरबाट विशेष माटोले लिपेर सुक्छ अनि सिपालु मानिसले रङ्गहरू मिलाएर पोतेपछि मात्र एउटा मूर्ति तयार हुन्थ्यो । मेरो मनमा मूर्ति बनाउने प्रति जस्तो सजिलो कमलो धारणा थियो, यो काम देखेपछि मात्र अनुभव भएको हो यो कठिन काम हो । कति मसिनो र लगनशीलताले मात्रै एउटा सुन्दर मूर्ति बनिन्छ त्यस बेला थाहा भयो । यसरी गर्दागर्दै एकमहिना जति बितेपछि एकदिन राति एकहुल केटा यो मूर्ति बनाउने घरमा आए । सुतेको मानिकलाई उठाएर के के मागे । उसले पराल हाल्ने पुरानो बोरामा एक बोरा पराल खाँदो र त्यो सँगै एकमुठो सुत्ली र एक बिटो भाटा दिएर पठाएको मैले देखेँ तर नदेखेझैँ सुतिरहेँ । डर पनि लागेको थियो । भोलि पनि उत्तिकै काम गरियो, मानिकले हिजोको कुरा गरेन । म पनि नयाँ-नयाँ मान्छे सोधीखोजी गर्नु उचित ठानिनँ । अर्को एकदिन राति धेरै केटा आएर फेरि पराल र भाटा मागेर दिग्दार गरे । उसले दियो पनि । यो क्रममा पछि मालिक मानिकसँग ती केटाहरूको झगडा भयो । मागेको सामान नपाउँदा ती रिसाएर के-के भन्दै गए । त्यस बेला गए पनि, पछिल्लो दिन बिहानी पख परालको थुप्रोमा आगो दन्किएर सबै सरदाम खरानी भए । यो कसले गरेको हो, कोही जान्दैन । मानिक बिचरा बङ्गाली भाषी मान्छे । धाती न गुहारी । उसको भएर बोल्ने कोही निक्लेन । स्वाभाविक थियो तर मेरो आफ्नो मनले अङ्क गर्दा ती आन्दोलकारीमध्येमा बदमास खेमाका केटा थिए । आन्दोलनकारीमध्येका भद्र र शिक्षित केटाहरू धेरै थिए । तीमध्येका धेरैले मा द्रौपदीको पसलमा चिया पिउने गर्दथे । उनीहरू द्रौपदीको बढी सम्मान आदर गर्दथे । त्यो मैले धेरै दिनदेखि लक्ष्य काटेको थिएँ तर तिनैमध्ये उदण्ड स्वभाव भएका केटा मौका छोपेर बदमासी पनि गरिहाल्थे । राम्रो विचार भएका केटाहरू द्रौपदीको पसलमा चिया खाँदै त्यस बारेमा दुखमनाउ पनि गर्दथे ।
परालको गोदाममा आगलागी भएपछि मानिकको बेपार त्यसपालि ठप्प भयो । मेरो पनि बिचल्ली हुँदा मा द्रौपदीले मलाई फेरि उसको घरमा बोलाई, गएँ । उसको घरमा अर्को मजस्तै रेल स्टेसनमा बिथान्को परेको नयाँ केटो आएको रहेछ । झुस्स परेर बसिरहेको थियो । यस्ता रेलमा, बसमा असहाय परेका धेरै मान्छेको टुङ्गो लगाए कि द्रौपदीकहाँ यो पनि आएछ भन्ने लाग्यो । केही भनिनँ मैले ।
म पुग्ने साथै-
– गोपाल एउटा कुरो भन्न बोलाएकी ।
– कस्तो कुरो होला ।
– म तँलाई केही पैसा दिन्छु – तँ एउटा नयाँ बेपार गर् । मज्जा चल्छ यहाँ । साहस चाहिन्छ तर ।
मैले हुन्छमा टाउको हल्लाएँ तर के बेपार गर्नुपर्छ त्यो मलाई थाह छैन ।
– यता हुँदी धेरै धान खेती गर्ने नेपाली बस्ती छन् । त्यहाँबाट धानको समयमा जतिसक्दो पराल किनिराख । टाढा पऱ्यो भने, जहाँ किन्छस् त्यतै विश्वासी मान्छेकोमा उतै थन्काएर आउन पनि सकिन्छ । पैसा दिएर छाड्नुपर्छ । बुझिस् ।
– गर्न त सकिन्छ तर त्यत्रो औधी पराल के गर्नु र ।
– बेपार गर्नु के गर्नु ! यी दश हजार रुपियाँ छन् ला । यिनलाई बेपारमा खटा, पछि सकिस् भने मूलधन फर्काउनू, सकिनस् भने पनि मलाई गुनासो छैन, बुझिस् ?
– हुन्छ । पैसा थापेँ । दश हजार रुपियाँ । यत्रो ठुलो रकम एकै ठाउँमा देखेको आजै,आजै आफ्नो जिम्मामा रहेको अनुभव, साँच्चै भन्नुपर्दा ठुलो अनुभव थियो । त्यस दिन माले राति भात खाएपछि, के गर्ने कसरी गर्ने सबै कुरा बुझाई मलाई ।
रङियाको वरपर धेरै कृषकले धानबाली उत्पादन गरेको कुरा यस बेलासम्ममा मलाई पनि थाह भइसकेको थियो । मा द्रौपदीले मलाई तँ नेपाली गाउँको पराल ल्याएर जमा गर् । बाँस यतै किन्न पाइन्छ, पराल र भाटाको बेपार गर राम्रो पैसा कमाउन सकिन्छ । यसरी दश हजार रुपियाँले मैले नयाँ कारबार थालेँ । पराल र बाँसका भाटा सुत्लीको डङ्गुर थुप्रियो ।
यी सामान विभिन्न प्रान्तमा मूर्ति बनाउने शिल्पालयले खरिद गर्न लागे । विभिन्न अर्डारअनुसार माल रेडी पार्ने मान्छे पनि द्रौपदीको सहारामा मैले नियुक्त गर्न थालेँ ।
पहिले-पहिले दिन हाजिरामा, पछि गर्दै जाँदा महिनावारी दर्माहामा । खुबै चल्यो । विश्वकर्मा पूजा, दुर्गापूजा, सरस्वती पूजा कति हुन पूजा सबैमा माल लान थाले । आफ्नो गाडी लिएर आयो लग्यो । यस लहडमा कसो-कसो त्यस बेला चर्किएर चलिरहेको आन्दोलनमा व्यवहार हुने सय सय राँका, विभिन्न प्रकारका पुल्ठा ,बाटामा प्रतिवाद थलामा डढाउने मान्छेका पुतलाहरू बनिने सरदामहरू पनि यिनै बेपारी हरूबाट कसरी नेतृत्वसम्म पुगेको सुनियो । मैले सोझै पुल्ठो बनाउने सरदामहरू नदिए पनि मेरै गोदामबाट गएको सामग्री त्यसरी व्यवहार हुँदा नै सायद दिनदिनै पराल र बाँसका भाटाको बिक्री बेस्सरी बढेको अनुभव भयो । जे होस् मेरो असत् उदेश्य थिएन् । मेरो पराल लगेर गाईगोठ लगेर खुवाओस् कि जे दर्कारले लग्यो त्यही गरोस् । भाटा धानमा बेरा लगाओस् कि राँका बनाओस्, म के गर्न सक्छु र । पैसा लिएर मागअनुसार सामान दिने मेरो काम हो । लाने पुऱ्याउने के-के बनाउने उनेरको काम । बस । यस्तो कामका लागि मेरो सामान, चुपचाप बिक्रीवितरण हुन थाल्यो । विभिन्न ठाउँमा राँके जुलुस, नेताको पुतला इत्यादि भएर पनि मेरो पराल र भाटा जतैततै कुद्न थालेँ । पहिले-पहिले दुई-चार ओटा गर्दै, पछि-पछि यसको चाहना बढ्दै गयो । तिनै सामग्री लिएर जाने मान्छेले, फलाना ठाउँमा सजिलो र सस्तो, जहिल्यै खोजे यस्तो सामग्री पाइन्छ भनेर विज्ञापन फिँजाइसकेका रहेछन् । मेरो माल गोदाम-गोदाम बिक्री हुन लाग्यो । अलिक दिनमै हातमा भुर्कुट पैसा भए । पैसा भएपछि मानिकलाई पछिल्लो वर्ष मूर्ति बनाउने पराल र चाहिने सरदाम मैले किनिदिएँ । एकदिन दश हजार रुपियाँ एकै खेप द्रौपदीले हातमा हालिदिँदा के-के न भएर छाती फुलेको अनुभव गर्ने मान्छे, यस बेला, मानिकलाई सामान किनिदिएको त्यो मुला पचास हजार रुपियाँ के हो र जस्तो लाग्न थाल्यो मेरो मनमा ।
एक वर्षपछि त समग्र असम राज्यको विभिन्न क्षेत्रमा मेरा सामग्री किनबेच हुन थाल्यो । प्रत्येक वर्ष गोदामको ठाउँ फेरि रहन्थे म । अनि त्यो बेपार गर्ने मान्छे म हो भन्ने कुरा प्रायः मान्छेलाई थाह थिएन किनकि म दिनभरि मा द्रौपदीको चिया पसलको वरपर हुन्थे । मेरो सामान आँखा-आँखाले बोलेर बन्दोबस्त हुन्थ्यो । पैसा थाप्यो गोदामको केटो सँगै पठाइदियो, बस । एकातिर आन्दोलनकारीलाई पुलिसको भूतले सताएको हुन्थ्यो । उता माथिका नेताहरूले तत्काल पठाएको हुकुम तामिल गरिनुपर्ने बाध्यता रहेको बुझिन्थ्यो केटाहरूको अनुहारमा । कति बेला कुन ठाउँमा कस्तो जुलुस हुन्छ त्यहाँ परिकल्पनाअनुसार कति र कस्तो सामान ठिक पार्नुपर्ने हो, कसरी जोगाड गरेर कहिले कहाँ पुऱ्याउने हो त्यो सबै यी केटा र नेताको ठेकामा हुन्थ्यो । उनरले सामग्रीको दाम हुकुम दिने उपरवालाबाट पाउथे सायद । मेरो तोकिएको रकममा कहिल्यै घटीबढी गरेनन किनभने समयमा यस्तो सामग्री पाउनु नै ठुलो कुरा थियो । तीन चार बर्से कारोबारमा वर्षको छ सात लाखको दरमा पैसा आर्जन भयो ।  मा द्रौपदीले मलाई दिएको दश हजार रुपियाँविना ब्याज लिई अरू पैसा तँ कारोबारमा खटा तैँ कमा तैँ जमा गर् भनेर मलाई छाडिदिइन् । बिचमा मौका पारेर घर आएँ । सानोतिनो रिन तिरेँ । आमाबाबुको चिकित्सा गरेँ, मैले धेरै पैसा कमाएको कुरा कसैलाई भनिनँ, थाहा दिइनँ । मेरो उद्देश्य अर्कै थियो ।
– पैसा कमाएर राम्रो काम गर्नु, सुनिसके । फुर्मास गरेर पैसा उडाउनु अपराध हो बुझिस् । पैसा भनेको लक्ष्मी हुन् लक्ष्मी । आदर सम्मान गर्ने वस्तु हो पैसा । पैसा मान्छेको सेवामा खटाउनुपर्छ । अनि यो धरती आमा हुन्, यिनको सेवा संरक्षण गर्नुपर्छ, रूख पात, पशु चौपायाको माध्यमबाट पनि जनसेवा गर्न सकिन्छ । तँभित्र एउटा राम्रो मान्छे छ भन्ने लाग्छ मलाई र यी कुरा मैले भनेको हो । यसको विपरीत गरिस भने यिनै लक्ष्मीले सराप्छिन् र भएको बुद्धि पनि नष्ट हुन्छ ।
– भात थपिदिऊँ कि ?
खुला र ठुलो हृदय भएकी मा द्रौपदीको उच्चभावना मैले छेउबाट अनुभव गरेको थिएँ । द्रौपदी चिया पसले थिई तर उसको नारीमनभित्र देवीदेवताको बास थियो । प्रायः दश वर्ष बितेपछि एकदिन राति मेरो गोदामको परालमा आगो सल्किएछ । आगाले सबै सखाप पारिदियो । मेरो मनले यो साह्रै राम्रो इङ्गित हो जस्तो लागेन् । बैङकमा प्रायः सत्तरी-असी लाख जति रकम जम्मा भएका थिए । त्यस्तैमा पेरेलाइसिस भएको द्रौपदीको लोग्नेको आकस्मिक मृत्यु भयो । द्रौपदीसँग त्यो नयाँ राजवंशी केटो मिलेर काम गर्दथ्यो । हामी बेलुका एकैठाउँ भेला हुन्थ्यौँ । यी दुई ओटा घटनापछि मैले अब घर फर्केर उतै केही उद्योग गर्नु र सकेसम्म जनसेवा गर्ने विचार गरिसकेको थिएँ । द्रौपदीहरूका आफ्ना सन्तान थिएनन् । यस्तो स्थितिमा मैले उनलाई मेरो मनको कुरा भनेर अनुमति लिनुपऱ्यो भन्ने ठानेँ । मेरा कुरा सुनेर खुसी हुँदै सहर्ष अनुमति दिइन् । अनुमति पाएपछि म मेरो घरमा आएर यो माटो किनेर मा द्रौपदीको नाममा यो गौशाला खोलेको हो । द्रौपदीको नाममा यस ठाउँबाट विस्थापित भएको हुँ म तर द्रौपदी नामकै गरियसी नारीद्वारा पुनःस्थापना भएको पनि उत्तिकै साँचो हुँदा, कृतज्ञता र प्रेरणाको स्मृतिस्वरूप यो नाम मेरो पसन्द छ । पैसा कमाउन भन्दा पनि मैले द्रौपदीबाट बढीभन्दा बढी व्यावहारिक शिक्षा धेरै कमाएको थिएँ । द्रौपदी मरेर गइन् तर एकदमै अचम्म लाग्छ आज पनिकि – रेल स्टेसनको फुटपाथमा बसेर सामान्य डेक्ची बाबर बेचेर जीवन धान्ने द्रौपदीको हृदयमा मानवसेवा व्रती रहेको ठुलो र प्रकृतिप्रेममा मुछिएर हरियो रहने उसको हृदयावेग सम्झेर । त्यसैले त द्रौपदीको सम्मानमा मैले यो गौशालाको नाउँ, “मा द्रौपदी गौशाला” राखेको हो । यसबाट उब्जनी भएको दूध दही घिउ किरिम पनिर खाएर मानिस स्वस्थ सवल र बुद्धिमानी बनोस् । रूखपात बढून् हुर्किऊन् पर्यावरण स्वस्थ हुन्छ, बाँस हाम्रो जन्मदेखि मृत्युसम्म काम लाग्ने मरेपछि सम्म मान्छे बोक्ने कत्रो परममित्र हो, यसको जगेर्ना गर्ने र उचित व्यवहारमा खटाउने, यो मा द्रौपदी गौशाला यस्तै उदेश्यले उन्मुख भएर मेरो गाउँ मेरो ठाउँ मेरो जन्मथलो मेरो पवित्र देशको सेवामा समर्पित भावनाले स्थापना गरेको हो ।
– गोपालले यति भनिसकेपछि पो म त छाँगाबाट खसेजस्तै भएको थिएँ ।
अब त चित्त बुझ्यो नि सम्धीज्यू । मा द्रौपदी गौशाला यसरी चक्रवातमा परेर जन्मिएको थियो ।
दुई सम्धी गफगाफ गर्दागर्दै पूर्वमा घाम झुल्किसकेर आँगनसम्म घाम झलमल्ल भएकाले झसङ्ग परेर बसेँ, ठाउँबाट उठेर हात मुख धुने तरखरमा लागेँ ।