यतिबेला लियोनार्दो दा भिन्सीको एउटा खेस्रा चित्रले फ्रान्समा तहल्का मच्चाइरहेको छ ।

घटना विवरणअनुसार, सन् १९५९ ताका जिन बि नामक एक विद्यार्थी चिकित्सा विज्ञानको परीक्षाफलको प्रतीक्षामा थिए । उनका बुवाले जिनलाई डाक्टर भइस् भने एउटा मूल्यवान् चिज दिन्छु भनी बताएका थिए ।

नभन्दै त्यस वर्ष चिकित्सक बने । उनका बाले खुसी भएर उनलाई एउटा स्केच उपहार दिए र भनेका थिए, ‘यसलाई अप्ठेरो नपरी नबेच्नू ।’

एउटा बाकसमा यो चित्र राखेर निस्केका उनी जीवनमा लामो समय चिकित्सा कार्यमा रमाए । सन् २०१६ ताका उनी चिकित्सा कार्यबाट बिदा लिने मूडमा थिए तर बाँकीको जीवनका लागि खर्च कसरी जोगाउने होला भन्ने सोचमा थिए ।

त्यसपछि नै उनका बुवाले दिएको उपहारका बारेमा याद आयो । त्यसपछि उनी पेरिसस्थित डाक बढाबढ कम्पनीमा गई आफ्नो चित्र दिखाए । त्यहाँ यसको मूल्य २० देखि ३० हजार पाउन्डसम्म दिन सकिने भनियो ।

कला समीक्षकले यो चित्र कुनै देब्रे हात चल्ने कलाकारले बनाएको र प्वाँखले कोरेको जस्ता अनेकन् कुरा बताए । यी सबै कुराले लियोनार्दो दा भिन्सीतर्फ औँला सोझ्याइरहेको थियो ।

पछि यसको मूल्य अझ बढ्ने मौका देखेपछि चिकित्सक जिन बि.ले कार्मेन सि. बम्बाकलाई भेटे । कार्मेन संसारकै नामी दा भिन्सी विज्ञमध्ये पर्छन् । उनले कम्तीमा पनि यसको मूल्य एक करोड युरो पर्ने जानकारी दिएपछि उनी झन्नै बौलाए । ७.५ इन्चको यो चित्रलाई अहिले देशबाहिर नलैजानका लागि फ्रान्सेली सरकारले जिन बि.लाई एक करोड युरो दिने बताइसकेको छ तर उनले यसलाई कम्तीमा पनि डेढ करोड नदिए सरकारलाई नबेच्ने धम्की दिइसकेका छन् ।

सन् २०१८ सम्म आइपुग्दा यसको डाक बढाबढ गराउने तयारीमा केही अंकुश लागेको थियो । त्यो बेला नै लियोनार्दो दा भिन्सीको साल्भाटर मुन्डीको रंगीन चित्र डाक बढाबढ हुँदा ४५० मिलियन डलरमा बिक्री भएको थियो ।

यतिबेला भने फ्रान्सेली संस्कृति मन्त्रालयले यो चित्र किन्न चाहेको खण्डमा जिन बि.ले देशलाई नै बेच्न इच्छुक रहेको बताएका छन् । यसबारेमा मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

लियोनार्दो दा भिन्सीको डिएनए खोजी

यस्तै अर्को खबर पनि लियोनार्दो दा भिन्सीकै बारेमा छ ।

इटालीको पुनर्जागरण कालका चर्चित कलाकार तथा वैज्ञानिक दा भिन्सीको डिएनए अध्ययनमा लागिपरेका अध्येताहरुले अहिले पनि उनका दरसन्तानहरु जीवित रहेको बताएका छन् ।

दा भिन्सीका सन्तानहरु पत्ता लगाउने एक दशक लामो अभियानमा सहभागी भएका वैज्ञानिक तथा इतिहासकारहरुको एउटा समूहले जीवनमा कहिल्यै बिहे नगरेका दा भिन्सीका आफन्त कोही छन् कि भन्ने खोजी गरेका थिए । यस खोजीको मुख्य कारण चाहिँ उनको जस्तो जिनियस आखिर कसरी जन्म लिन्छ भन्ने पत्ता लगाउनु रहेको बताइएको छ ।

अध्येताहरुका अनुसार हालसम्म दा भिन्सीको डिएनएसँग मिल्दोजुल्दो डिएनए २२ जनामा फेला परेको छ । ती मध्ये एक वर्षीय बालकसँग पनि भिन्सीको डिएनएसँग मेल खाएको बताइएको छ ।

जर्नल अफ ह्युमन इभोल्युसनमा प्रकाशित एक आलेखअनुसार खोज समूहका सदस्यहरुले सन् १३३१ मा जन्मिएका दा भिन्सीका हजुरबा माइकलदेखि २१ औँ पुस्तासम्मका पाइए जति सबै परिवारको डिएनए अध्ययन गरिएको थियो । हाल दा भिन्सीको परिवारमा १४ सदस्य भने जीवितै रहेको पाइएको छ ।

दा भिन्सी चित्रकार, वैज्ञानिक, इन्जिनियर, वास्तुविद थिए । उनी हालको इटालीको टक्सनी शहरको भिन्सी भन्ने ठाउँमा १४५२ मा जन्मिएका थिए । उनको निधन भने सन् १५१९ मा फ्रान्सको एम्बोइसीमा भएको थियो ।

अध्येताहरुले पिताबाट छोराहरुमा सर्ने वाई क्रोमोजोमको अध्ययन गरेका थिए । यो क्रोमोजोम २५ पुस्तासम्म प्रायः परिवर्तन नहुने वैज्ञानिकहरुको विश्वास छ ।

सन् २०१६ मा लियोनार्दोका आमातर्फका ३५ जना जीवित आफन्त फेला पारिएको थियो तर तीमध्ये अधिकांश उनका सिधा आफन्त भने थिएनन् । नातामा पर्ने तर सिधा पुस्तामा नरहेका भनी दाबी गर्नेमध्ये एक जना इटालेली फिल्म निर्देशक फ्रान्को जोफिरेली पनि थिए ।

तर वैज्ञानिकहरुले उनको दाबीलाई गम्भीरतापूर्वक लिएनन् किनभने उनको क्रोमोजोम अध्ययनबाट दा भिन्सीबारे अध्ययन गर्न सघाउ पुग्ने किसिमको देखिएको थिएन ।

हाल डिएनए मिलेकामध्ये एक वर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म देखिएका छन् । उनीहरु सिधासिधा भिन्सी शहरमा भने बस्दैनन् । उनीहरु छेउछाउका नगरहरुमा बस्ने गरेका छन् भने केही चाहिँ भर्सिलियासम्म पुगेका छन् । तीमध्ये केहीको काम भने पिउनदेखि लिएर सर्भेयर अनि केही चाहिँ कपडाको बुट्टा बनाउनेसम्मका छन् ।

आउँदो महिना यिनको डिएनए अझ गहिरिएर अध्ययन गरिने भएको छ । यसो गर्दा र यत्तिका खर्चपछि निस्कने अध्ययन निष्कर्षले के फाइदा हुन्छ भन्नेबारेमा भने कसैले टिप्पणी गरेको छैन ।