फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झैँ छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे । जीवनमा सम्झनाका अनेक क्षणहरु आउँछन्,चाहे ती तिता हुन् या मिठा । खै रहस्यमय मानव जीवनलाई चर्चा गर्ने आ–आफ्नै तरिकाहरु भए पनि यात्राका रुपमा चर्चा गर्नेहरुप्रति सहभाव राख्न विवश तुल्याउँछ बेला बखत आउने यस्तै यात्राको सन्दर्भले । यात्राका सबै क्षणहरु सहज हुँदैनन् तर त्यही असहजताभित्र सहज परिस्थितिको सिर्जना गर्न सके लाग्छ जीवन यात्राका कुनै पनि क्षण निरस बन्दैनन् ।

गोपाल खनाल

सम्झनाका अनेक तरेलीहरुमा तरङ्गिएर प्रकृतिका मनमोहक, सुन्दर परिवेश नियाल्न गरिने यात्राहरु साँच्चै जीवन्त बनेर रहन्छन् । शिशिरको अन्त्यसँगै बसन्त ऋतुले दैलो अघार्ने प्रयत्न गर्दै गरेको समय । रुखहरुमा अङ्कुराउँदै गरेका पालुवाहरुसँगैको हरियाली दृश्य नियाल्दै डाँडापाखामा फुलेका लालीगुराँस र त्यसमा भुलेका भमराहरुसरि प्रकृतिको सुन्दर परिदृश्यमा लिप्त हुन चाहन्छ मान्छे । भौतिक सुख सुविधा जति नै भए पनि त्यसबाट प्राप्त हुने आनन्दको क्षणभन्दा प्रकृतिको विचरणबाट प्राप्त हुने आनन्द कम नहुने यथार्थलाई कहाँ नकार्न सकिन्छ र ? आजको मान्छे यो भीडभाड र सहरमुखी परिवेशबाट एकैछिन भए पनि प्रकृतिका सुन्दरतामा आफूलाई भुलाएर दुःख भुल्दै आनन्दको श्वास फेर्न चाहन्छ । हो, तिनै यात्रीय क्षणहरुमध्येको यात्रा हो पश्चिम नेपालको चार दिने हाम्रो यात्रा ।

पोखराको नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा फागुन २१ देखि २४ गतेसम्म भएको अवलोकन भ्रमणको सन्दर्भ जोड्दै छु म यतिबेला । ७० जना सेयर सदस्यको टोली हामी बिहान ७ः३० बजे पोखराबाट पश्चिम नेपालको महाकालीसम्मको यात्रामा निस्कियौँ । पूर्वी नेपालका विभिन्न ठाउँहरुको भ्रमण गरिसकेको भए पनि पश्चिम नेपालको यात्रा मेरा लागि पहिलोपटक भएकाले मनमा विशेष उल्लास थियो ।

कस्तो होला पश्चिम नेपालको चित्र ? विभिन्न कल्पनाले डेरा जमाएको थियो मनमा । थोरै मात्र परिचित अनुहार थिए समूहमा । अपरिचत अनुहारसँगै परिचित हुँदै एक साथ यात्रा गर्दा झन् छट्टुै आनन्दको अनुभूति हुँदो रहेछ । संस्थाको नाम जस्तै काम फरक परिवेशका मित्र मिलन । पृथ्वी राजमार्ग वरपरको सुन्दर परिवेश नियाल्दै तनहुँको गुणादी पुगेर खाजा खाएपछि हाम्रो बस सिधै नवलपुरमा रहेको सिजी धाममा गएर रोकियो । साँच्चै सुन्दर र मनमोहक सिजी धामले जो कोहीलाई पनि लोभ्याउँछ । टोलीमा पहिलोपटक सिजी धाम पुगेका सबै मख्ख थिए । नेपाली परिवेशमा रहेका धेरै धामको तत्स्थानमा गएर दर्शन गर्न नसक्नेहरुका लागि धेरै तीर्थस्थलको वस्तु र विषय सङ्कलन गरेर सहज दर्शनको मौका मिलाइदिएको छ, चौधरी ग्रुपद्वारा निर्मित यो धामले । व्यवस्थित यस धाममा हिन्दु र बुद्ध धर्मसँग सम्बन्धित विविध विषयवस्तुको सुन्दर संयोजन पाइन्छ ।

भनिन्छ सुन्दरता पदार्थमा होइन नजरमा हुन्छ । जुन वस्तुप्रति जस्तो दृष्टिकोण राख्यो उस्तै लाग्छ । वास्तविकता त त्यही हो तर सबै नजरका लागि यो परिवेश रोचक र आकर्षक नै लाग्छ भन्न मन लाग्यो नियालेपछि । डन्डा नजिक पुगेर खाना खाएपछि बसमा दोहोरी खेल्दै नाच्दै यात्रा अगाडि बढ्यो । बर्दियाको बाँसगढीमा रहेको होटल अतिथि पुग्दा रातको एक बजिसकेको थियो । एक बजे खाना खाएर सुतेपछि भोलिपल्ट तत्स्थानमा रहेको केदारेश्वर महादेव मन्दिर अवलोकन गरियो । मन्दिर परिवेशसँगै त्यहाँ रहेको दृश्यावलोकन टावर अनि ठूलो डमरुमाथि ठड्याइएको विसाल शिवलिङ्ग त्यहाँको विशेष आकर्षण रहेछ । नयाँ परिवेश धेरैको मनमा कुतूहलता थियो, कस्तो होला पश्चिम नेपाल ? मनको खुल्दुली मेटाउनका लागि पर्खाइको घडी अब लामो थिएन । यात्रामा दुबै बसका यात्री अगाडि बढ्यौँ ।

बर्दिया राष्ट्रिय निकुञ्ज परिवेश, मृग जरायो मयूर जस्ता पशुपक्षीहरु अवलोकन गर्दै बबई ड्राइभर्सन, बगरमा पसारिएका घडियाल गोही, कछुवा नियाल्दै चिसापानीस्थित कर्णाली नदीमाथि बनेको आकर्षक पुलवारि पुगेर हामी रोकियौँ । सबै जना झरेर सामूहिक तस्बिर लिएसँगै पैदल तर्यौँ कर्णाली पुल । कोरोना कहरले सीमिततामा खुम्चिएको तन, मन नवीन परिवेशमा पुग्दा आह्लादित बनिसकेको थियो । चिसापानीस्थित सिद्धबाबा गेस्ट हाउसमा स्वादिष्ट भोजन ग्रहण गरियो दिउँसो १ बजे । साथीहरुले कर्णालीको माछाले स्वाद फेरे । त्यसपछि २ बजे टोली अगाडि बढ्यो । कैलालीको टीकापुर बृहत् उद्यानसँगै घोडाघोडी ताल नियाल्दै हामी भुल्यौ केहीबेर यही परिवेशमा । सीमसार क्षेत्र घोडाघोडी ताल परिवेश साँच्चै सुन्दर र मोहक रहेछ । त्यसपछि हामी बासका लागि पुग्यौँ कञ्चनपुरस्थित होटल चेतनमा ।

बेलुकी ८ बजे त्यहाँ पुगेर विश्राम लिएका हामी सबै होटलको आतिथ्यता र सुविधा देखेर चकित भयौँ । भोलिपल्ट बिहान ८ बजे हामी यात्राको मुख्य गन्तव्य महाकाली नदीमाथि बनेको आकर्षक पुल र नदीपारि रहेको दोधारा चाँदनी नगरपालिका क्षेत्र अवलोकनका लागि त्यसतर्फ लाग्यौँ । आँखाले हेरेर नभ्याउने महाकाली नदी माथिको १.५ किलोमिटरको झलुङ्गे पुल विशेष लाग्यो । आधा घण्टा लगाएर पुल तरेपछि हामीले रिक्सामा दोधारा चाँदनी परिवेश घुम्यौँ । इमानदार, सोझा स्थानीयको बोलीवचनसँगै त्यहाँको परिवेश साँच्चै लोभलाग्दो लाग्यो । देशको पश्चिमी सीमा घुमेर फर्कियौँ हामी मनभरि नेपाल सजाउँदै । चिसापानीमै आएर दिनको तीन बजे खाना खाएपछि हाम्रो टोली बर्दिया राष्ट्रिय निकुञ्ज परिसरमा रहेको ठाकुरद्वारा नगरपालिकास्थित खाता जैविक मार्ग होमस्टे डल्लागाउँमा बासका लागि पुग्यौँ ।

साँस्कृतिक कार्यक्रम भएको सामुदायिक भवनको सभाहलको भित्तामा विभिन्न जीवजन्तुका तस्बिरसहित लेखिएको थियोः

‘‘ बाँच्न देऊ सृष्टि थाम्छु मारे एक छाक
जीवित रहे पाहुना डाक्छु डलर दिन्छु लाख ।।
लोप हुँदै छु संसारबाटै कसले बचाइ देला
पछुताउँछौ मानव तिमी भयो सोच्ने बेला ।।’’

यी चार हरफले मेरो ध्यान खिच्यो । यथार्थ बोलेको प्रस्तुत कवितांशले मन छोयो । पञ्चकन्यासहितको विशेष आतिथ्यता ग्रहण गरी बेलुका हामी थारु नृत्यमा झुम्यौँ । त्यहाँको संस्कृति, परिवेशसँगै होमस्टे सञ्चालन, व्यवस्थापन समितिका सचिव शालिकराम चौधरीले ओझेलमा परेको डल्ला क्षेत्र होमस्टे सञ्चालनसँगै महानायक, मिस नेपालसमेतको आगमनले चर्चामा रहेकोमा खुसी प्रकट गरे । साँच्चै होमस्टे सांस्कृतिक आदानप्रदानको उत्कृष्ट थलो मात्र नभई दुःख बिसाउने चौतारी बन्दो रहेछ । स्थानीय स्तरको आर्थिक समृद्धिका लागि पनि यसले सघाउनेमा विश्वस्त बनेँ म । फिँजारिएको क्षेत्र,सरल स्थानीय र तिनको सक्रियता साँच्चै गज्जबको थियो । मेरा लागि होमस्टेको बसाई पहिलोपटक भएकाले पनि विशेष लाग्यो, स्मरणीय बन्यो ।

फागुन २४ गते हामी डल्लाबासीको न्यानो आतिथ्यता मनभरि सँगाल्दै फर्कियौँ । फर्कदा कार्यतालिकाबमोजिम हामीले ठाकुरबाबा नपा–१ भुरीगाउँ, बर्दियामा रहेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीको अवलोकन पनि गर्यौँ । दुईपटक उत्कृष्ट सहकारी अवार्ड जितिसकेको यस सहकारीले मुख्य कार्यालयसँगै नौवटा सेवा केन्द्र मार्फत् सेवा दिँदै आएको संस्थाका कार्यकारी अधिकृत गणेश थापाले जनाउनुभयो । संस्थाको सेयर सदस्य बीमा, ऋणी बीमालगायत कोखदेखि शोकसम्म कार्यक्रम प्रभावकारी लाग्यो । करिब ९ हजार सदस्य रहेको यो सहकारीले साँच्चै सदस्य मैत्री कामसँगै सामाजिक सेवाका काममा समेत अग्रसरता देखाउँदै आएको दृश्य सामग्री हेरेपछि अनुभूत भयो । करिब ३९ करोड चुक्ता पूँजी रहेको नेफ्स्कुनमा आबद्ध यस संस्था उदाहरणीय लाग्यो हामीलाई । दिउँसो दुई बजे नेपालगञ्ज बसपार्कमा खाना खाएपछि हामीहरु जोगबनी नाका पार गरी भारतको रुपडिया गयौँ । नेपाली सीमाको चेकजाँच र भारततर्फको चेकजाँच निकै फरक लाग्यो । नेपालतर्फको फितलो चेकजाँचकै कारण पनि नेपाली चेलीहरु सहजै बेचिन पुग्दा रहेछन् भन्ने अनुभूत भयो । साथीहरुले आवश्यक किनमेल गरेपछि बेलुकी ६ बजे हाम्रो समूह पोखरा फर्कने तरखरमा लाग्यो ।

सिद्धार्थ राजमार्ग हुँदै १४ घण्टाको रात्रिकालीन सफरपछि बिहान हामी सकुशल पोखरा आइपुग्यौँ । केही साथीहरुको नयाँ ठाउँ घुम्ने भन्दा पनि खानपानमै भुल्ने बानीले घुम्नैपर्ने केही ठाउँ छुटेको गुनासो केही सहयात्रीहरुले गरे । समय व्यवस्थापन उचित तवरले नहुँदा कहीकतै असहज महसुस भए पनि अवलोकन भ्रमण फलदायी र अविस्मरणीय नै बन्यो । संस्थाका सल्लाहकार हँसिला, रसिला दण्डपानी बरालको हस्यौली, ठट्यौली मिठा गफ, निवर्तमान अध्यक्ष भरत भट्टराई र सहचालक दाजुको नृत्य, संस्थाका प्रमुख, मित्र किरण अधिकारीसहितका साथीहरुको टिकटक डान्स, साथी प्रतीकको मादल ताल, अपरिचित– दोहोरीमा बाटुली उपनाम पाएकी सङ्गिनीसँगको दोहोरी, मायालु आमाहरु, केही लजालु केही चञ्चल मुहार आदि सबै सम्झनलायक किस्सा हुन् यात्राका । आयोजना र व्यवस्थापनको भूमिका निभाउनु हुने साकोसका अध्यक्ष मित्र रमण पौडेल, कार्यसमितिका साथीहरुसँगै साथ दिएर भ्रमण सभ्य र भव्य बनाउनुहुने सम्पूर्ण सेयर सदस्यप्रति पङ्क्तिकार आभारी छ ।