जीवन यात्राको क्रममा कहिलेकाहीँ यस्ता मानिस भेटिन्छन्, जसलाई जीवनभर बिर्सन सकिँदैन । उनीहरूसँग संयोगले भेट हुन्छ, क्षणभरमै परिचयको त्यान्द्रो गाँसिन्छ, मनका पाटाहरू खुल्छन् र कताकता उनीहरू युगौँदेखिका आफ्नै आफन्तजस्ता बनिदिन्छन् । अनि फेरि एकाएक आ–आफ्नो बाटो लागेर बिदा हुन्छन् । तिनले भौतिक रूपमा दिनु केही दिँदैनन्, लिन पनि केही लिँदैनन्; तर आत्मिक रूपमा सबै कुरा सुम्पिएर जान्छन् अनि हाम्रो पनि एउटा हिस्सा लिएर जान्छन् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यस्ता मानिसले जीवनमा काम लाग्ने गहिरो शिक्षा दिन्छन्, माया र प्रेमका सरल भाव दिन्छन्, मन जित्छन् र छोटै समयमा ती सबै कुराको पोको पारेर आफैँसँग लैजान्छन् । हामीसँग बाँकी रहन्छ त केवल एउटा सुन्दर तर शून्यताले भरिएको स्मृति ! त्यस्ता मानिससँग फेरि जीवनमा भेट हुन पनि सक्छ, नहुन पनि सक्छ; तर हाम्रो मन र मस्तिष्कले तिनलाई सधैँ सम्झिरहन्छ, हृदयको सबैभन्दा सुरक्षित कुनामा सजाएर राख्छ र स्मृतिका पत्रहरूमा सधैँ ताजा बनाइरहन्छ ।
त्यस्ता घटना प्रेमका हुन सक्छन्, वियोगका हुन सक्छन् या मित्रताका हुन सक्छन् भन्ने लाग्छ हामीलाई । यीबाहेक मानिसले के पो सम्झिएला र ? सोचिहेरौँ त, अनायासै भेट भएको कुनै अपरिचित मानिससँग तपाईंको सोच, चिन्तन र मानवीय संवेदना ठ्याक्कै मिल्यो, तिनको चेतनाको स्तरले तपाईंको आत्मालाई नै स्पर्श गर्यो र तपाईंसँग गहिरो संवाद भयो भने तपाईं के सोनुहोला ? मलाई लाग्छ, हामी त्यस्ता मानिसलाई घरीघरी सम्झिरहन्छौँ । उसले भनेका भनाइहरू, उसको आँखाको चमक र बोली मनमा तरोताजा भएर आइरहन्छन् ।
काठमाडौँदेखि रक्सौलसम्म
सन् २०२४ को फेब्रुअरी र मार्च महीनामा भारत र श्रीलंकाको एक महिने भ्रमणको योजना बनायौँ सुवर्णजी र मैले । त्यही योजनाअनुसार फेब्रुअरी १७ तारिखका दिन बिहानै हामी काठमाडौँबाट वीरगञ्ज पुग्यौँ र बेलुका त्यहीँ बास बस्यौँ । वीरगञ्जकै एक जना मित्र शिवजी सोनीले टिकटको व्यवस्था मिलाइदिनुभएको थियो । उहाँले आफ्नै घरमा बस्न निम्तो त दिनुभएको थियो, तर स्वतन्त्र घुमफिरको यात्रामा निस्केका फुक्काफाल यात्रीलाई पाहुनाको औपचारिकतामा बाँधेर किन पो दुःख दिनु र ! भन्ने लाग्यो । त्यसैले बसअडडानजिकै एउटा सामान्य होटलमा बासको टुङ्गो गरियो । बेलुकाको समय अलिकति बचेकाले परिवर्तित वीरगञ्ज नियाल्ने रहर जाग्यो ।
वीरगञ्ज पुरानो वीरगञ्ज जस्तो छैन हिजोआज । यसले आफ्नो स्वरूप निकै फेरेको छ । वृद्ध जस्तो लाग्ने पुरानो वीरगञ्ज अहिले समयसँगै नयाँ काँचुली फेर्दैछ । घण्टाघरको वरपर साँघुरिएको वीरगञ्ज अहिले विस्तार भएर उत्तरतिर सिमरा छुन हतारिएको छ भने दक्षिणतिर रक्सौलसँग पहिल्यैदेखि कुम जोडेकै छ । पूर्वतिर यसले कलैयासँग मितेरी गाँसिसक्यो भने पश्चिमतिर पनि आँखाले नभ्याउने गरी विस्तारिएको छ । बेलुकाको हाम्रो घुमफिर घण्टाघर, घडिअर्बा पोखरी र रानीसती मन्दिर आसपास भयो । भोलिपल्ट भारु साट्न आवश्यक पर्ने नेपाली मुद्रा स्वचालित मेशिनबाट झिकेर खल्तीमा सुरक्षित गर्नेलगायत काम गरियो । फर्केर होटल आइपुग्दा बेलुकाको खाना खाने समय भइसकेको थियो । खानापछिको आरामले रात राम्रैसँग कट्यो ।
हाम्रो यात्रा गन्तव्य श्रीलङ्का भए पनि हामी कलकत्ता, चेन्नई हुँदै कोलम्बो पुग्ने गरी भ्रमणतालिका बनेको थियो । सोही तालिकाअनुसार हामी रेलबाट कलकत्ता जान २०२४ फेब्रुअरी १८ का दिन बिहान वीरगञ्जबाट रक्सौलतिर लाग्यौँ । वीरगञ्ज बसपार्कबाट एउटा बिजुली रिक्साले बिजुलीकै गतिमा हामीलाई रक्सौलको रेल अड्डानजिकै पुर्याएर छाडिदियो । रेल आउन लागेकाले सडकबाट गुड्ने सवारी रोक्न रेलपथको दुवैतर्फ तगारो तेस्र्याएर सवारी आवागमन अवरुद्ध गरिएको थियो । रिक्सावालाले भन्यो– ‘हजुरहरू यहीँ उत्रिनुस् हिँडेरै जाँदा पनि नजिकै छ, रिक्सा नै लिनुहुन्छ भने पनि तगारो कटेर पारी पुगेपछि भारतीय रिक्साले भारु १० लिन्छ, पुर्याइदिन्छ ।’ तोकिएको भाडा प्रतिव्यक्ति ३० रुपैयाँ उसलाई दियौँ र हामी ओर्लियौँ । साथमा भएको झोला खासै गह्रौँ नभएकाले हामी हिँडेरै रेलअड्डा पुग्यौँ ।
रेल छुट्ने समय भइसकेको थिएन, अझै दुई घण्टा बाँकी थियो । कलकत्ताबाट चेन्नई जाने रेलको टिकट र चेन्नई–कोलम्बो हवाइ उडानको तालिका आपसमा नमिलेकाले मनमा एकप्रकारको ’कुचकुच’ (छटपटी) भइरहेको थियो— कलकत्ता–चेन्नईको रेलको टिकट रद्द गरेर हवाइजहाजबाट जाने कि रेलकै अर्को टिकट लिने ? अलि लामो अवधिको किफायती यात्राको सोच बनाएर घरबाट निस्केकाले सकभर रेलबाटै यात्रा गर्ने हाम्रो इच्छा थियो । पैसा पनि किफायती हुने अनि भारत दर्शन पनि अलि नजिकबाट गर्न पाइने ठानेर हामीले त्यो निर्णय लिएका थियौँ । यात्रै गरेपछि किन पो हतारो गर्नु ? हाम्रो मनले भनिरहेको थियो ।
समय घर्किसकेको भए पनि प्रयास गर्दा के बिग्रेला र ! भन्दै हामी टिकट काउन्टरतिर लाग्यौँ, कलकत्तादेखि चेन्नईको टिकट परिवर्तन गर्न । भारतीय रेल सेवाको टिकट यति लामो यात्राका लागि यति छोटो अवधिमा पाउनु भनेको चिठ्ठा पर्नुसरह नै हो । हामीले आश नलागीनलागी काउन्टरमा गएर सोधपुछ गर्यौँ । तर प्रतीक्षा सूचीमा ६० नम्बरभन्दा माथिको टिकट मात्र मिल्ने जानकारी पाएपछि हामीले रेल टिकटको आश मार्यौँ । त्यहीँबाटै मैँले छोरीलाई फोन गरेर कलकत्ता–चेन्नईको हवाइ टिकट लिइदिन र रेलको टिकट रद्द गरिदिन भनेँ ।
क्याबिनभित्रका सहयात्री र कौतूहल
यति गर्दा बिहानको करीब १० बज्यो । रेलले शहरै थर्किने गरी प्रस्थानको लामो हर्न बजायो, मानौँ उसले कयौँ सम्बन्धलाई जोड्न र तोड्न हतार गरिरहेको थियो । हामी टिकटमा तोकिएको डब्बा र सिट नम्बर खोज्न प्लेटफर्मतिर बढ्यौँ । सिट खोज्दै गर्दा हामीसँगै यात्रा गर्ने केही बङ्गाली युवायुवतीहरूसँग भेट भयो । उनीहरू ६–७ जनाको समूहमा थिए । कुरा सुन्दा बुझियो— उनीहरू अघिल्लो दिन कलकत्ताबाट काठमाडौँ पुगेर, घुमफिर सिध्याएर रात्री बसबाट फर्किएका रहेछन् । उनीहरूको संवाद सुन्दा उनीहरू एउटै कक्षामा पढ्ने विद्यार्थी वा एउटै अफिसका सहकर्मी होलान् भन्ने अनुमान लगाउन सकिन्थ्यो । मैले सोचेँ— अरूको मामिलामा किन ज्यादा चासो लिनु, जेसुकै होस् !
तर मसँगै यात्रा गर्ने साथी सुवर्णजीलाई भने उनीहरूसँग कुरा नगरी चित्तै बुझेन । उहाँले कुराकानी सुरु गरिहाल्नुभयो । कुरा गर्दै जाँदा थाहा भयो— उनीहरू आपसी साथीहरूको समूह बनाएर काठमाडौँ घुम्न गएका रहेछन् । बिहान काठमाडौँ उत्रिएर दिनभर घुमेर फेरि रात्री बसबाट सिधै रेल चढ्न आएका रहेछन् । उनीहरूको गन्तव्य पश्चिम बंगालको इस्लामपुर स्टेसन थियो ।
यति भएपछि सँगै यात्रा गर्नेहरूको सामान्य जानकारी हामीलाई भयो । हाम्रो क्याबिनमा चार जना पसे, अरू अर्को क्याबिनमा परे । रात्री बसको यात्राका कारण उनीहरूको निद्रा पुगेको थिएन होला, खाजा खाइसकेपछि उनीहरू सुत्न लागे । खासगरी केटीहरू पल्टिए, केटाहरू भने केही बेर गफिए । हाम्रो क्याबिनका छ वटा सिटमध्ये चार वटा भरिएका थिए, दुई वटा भने खाली नै थिए । हामीलाई लाग्यो— शायद अरू कुनै स्टेसनबाट चढ्ने यात्रु होलान् । हाम्रो समूहमा कहिले यात्राको बारेमा, कहिले हेर्ने ठाउँको बारेमा त कहिले कलकत्ताको भेटघाटका बारेमा गफ चलिरह्यो ।
मुजफ्फरपुरबाट रहमतिनको प्रवेश
हाम्रो रेल मुजफ्फरपुर पुग्यो । त्यहाँ एउटी महिला आफ्ना दुई साना छोरीसहित गह्रौँ सामान सम्हाल्दै, थकित र हस्याङफस्याङ गर्दै हामी बसेकै कम्पार्टमेन्टमा आइपुगिन् । सिट खाली थियो, उनले टिकट हेरेर सिट यकिन गरिन् र लामो सास फेर्दै बसिन् । पहिरन हेर्दा नै उनी इस्लाम धर्म मान्ने महिला हुन् भन्ने प्रस्टै हुन्थ्यो । कालो हिजाब र खैरो रङ्गको गाउनमा सजिएकी उनलाई देख्नासाथ हामीले ठम्याइहाल्यौँ । सिटमा बस्नासाथ उनले सबैसँग बडो आत्मीयताका साथ परिचय गरिन् र गन्तव्य सोधिन् । सबै जना कलकत्ता जाने थाहा पाएपछि उनको अनुहारमा एउटा ढुक्कताको भाव देखियो । केही बेरमा उनी आफ्ना सामान थन्क्याएर, छोरीहरूलाई तल्लो सिटमा राखेर आफू चाहिँ माथिल्लो सिटमा उक्लिइन् र आरामसाथ पल्टिइन् ।
ती महिला सामान्यतः देखिने अन्य मुसलमान महिलाजस्ती गम्भीर, लजालु वा संसारदेखि तर्सिएकी जस्ती थिइनन् । कुनै पुरुष पनि उनको साथ लागेर आएको देखिएन । उनको अनुहार हेर्दा लाग्थ्यो— उनी चिन्तारहित, तनावरहित, खुला हृदयकी र जीवनका हन्डरलाई हाँसीहाँसी स्वीकार्न सक्ने बोलैया महिला हुन् । उनले आफ्नो बोलाउने नाम ’रोजी’ बताइन्, तर खास नाम ’रहमतिन खातुन’ रहेछ । उनको घर उडिसाको बालेश्वरमा थियो ।
छोरीहरू अलि भोकाएजस्ता देखिएपछि रहमतिनले आफ्नो झोलाबाट खानेकुरा निकालेर दिइन् । एउटी छोरीले आमाको ममतालाई बुझेझैँ मन लगाएर खाई, अर्कीले भने अलि झर्को मानेजस्तो गरिन् । यात्राको थकानले होला, केही बेरमा ती अबोध नानीहरू एकअर्कामाथि टाउको राखेर सुते । आमा पनि केही बेर सुतिन् । हामी घरी गफमा व्यस्त हुन्थ्यौँ त घरी बाहिरको दृश्य हेर्नमा ।
रेल आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेकै थियो । म चाहिँ काठमाडौँदेखि रक्सौलसम्मको यात्रा संस्मरण डायरीमा कोर्न थालेँ । रक्सौल नाकामा भारु बिक्रेताले गरेको व्यवहार र चिसापानी गढीमा सुमो चालक र होटल मालिकको सम्बन्धले मेरो मनमा केही नलेखी नहुने हुटहुटी जगाएको थियो, त्यसैले डायरी निकालेर भावनाहरू पोख्न थालेँ । दुई वटा संस्मरण लेखिसकेपछि म पनि डायरी बन्द गरेर आराम गर्न पल्टिएँ ।
क्याबिनभित्रको वैचारिक झटारो र शब्दको मर्यादा
मैले डायरीमा लेखेको देखेपछि बङ्गाली यात्री समूहको एक जना युवा जुर्मुराए र मतिर हेर्दै भने– ‘तपाईं लेखक हुनुहुँदो रहेछ, म पनि अलिअलि शायरी र मुक्तक लेख्छु, सुनाऊँ ?’
म लेखककै अन्तर्मनमा भएकाले सहयात्रीको यो कलात्मक अनुरोध टार्न सकिनँ । म उनीतिर फर्केँ र स्नेहपूर्वक भनेँ– ‘सुनाउनुस् न त, सुनौँ ।’
उनले हिन्दी भाषामा लेखेका केही शायरी र मुक्तक सुनाउन थाले । शृङ्गार रसका ती शायरी र मुक्तकहरू प्रेम, बैँस र मायाप्रीतिका भावनाले भरिएका थिए । लेखक युवा भएकाले भावना पनि प्रेमिल र शृङ्गारप्रधान हुनु स्वाभाविकै थियो । तर, माथिल्लो सिटबाट चियाइरहेकी रोजीको अनुहारको रङ्ग बदलिँदै गइरहेको थियो; उनलाई ती सतही शायरीहरू पटक्कै मन परिरहेका थिएनन् ।
शायरी सुनाउने भन्दा माथिल्लो सिटमा अर्का एक युवा थिए । उनी अर्कोपट्टि गोडा पसारेर बडो बेसोमती पाराले बसेका थिए, जसले गर्दा तल बस्ने र हिँड्नेहरू उनको टाँगमुनिबाट निहुरिएर छिर्नुपर्ने अवस्था थियो । सार्वजनिक ठाउँको त्यो अनुशासनहीनता र मानवीय संवेदनशून्यता देखेपछि रहमतिनलाई झोँक चलेछ । उनले बडो दृढ स्वरमा भनिन्– ‘सार्वजनिक ठाउँमा बस्ने तरिका यही हो ? अलि सम्हालिएर बस्नुस्, अरूलाई कति असजिलो भइरहेको छ !’ त्यो युवा लजायो र आफ्नो गोडा खुम्च्याएर सम्हालियो ।
त्यसपछि फेरि कविता सुनाउने क्रम चल्यो । बंगाली युवाले वाचन गरेको मुक्तक यस्तो थियोः
म तिम्रो दरबारमा प्रेमको भीख माग्दैछु,
थाहा छैन म ठीक गर्दैछु कि बेठीक गर्दैछु,
म त दिवाना हुँ प्रेमको, सही के गलत के ?
म त सिर्फ तिम्रो अँगालोको प्रीत माग्दै छु ।
उसले यस्तै भावका मुक्तक र शायरीहरू सुनाइरह्यो । तीन–चार वटा सुनिसकेपछि भने रहमतिनको धैर्यको बाँध टुट्यो । उनले त्यो लेखक भाइलाई सीधा वैचारिक झटारो हानिन्– ‘यति पाको उमेरको अङ्कलजस्तो मानिस र यी स–साना नानीहरूका अगाडि यस्ता सतही शायरी सुनाउने हो त ? अरे भाइ, लेखक भएपछि अलिकति त विवेक र संवेदनशीलता पुर्याऊ !’
उनको त्यो तिखो र व्यावहारिक प्रहारले कवि हृदयमा राम्रै चोट पुर्याएछ, उनी डायरी बन्द गरेर अक्क न बक्क भए । युवा लेखक निरास नहोस् भनेर मैले बीचमा सान्त्वना दिँदै भनेँ– ‘लेखनमा उमेरअनुसारको भावना हुन्छ नानी । उसको उमेरका हिसाबले ठिकै त लेखेको छ नि ।’
तर, मेरो सान्त्वनाले रहमतिनको विवेक शान्त भएन । उनले थपिन्– ‘लेख्नु त ठीक छ अङ्कल, तर कस्तो मानिस र कुन परिवेशमा सुनाउँदै छु भनेर ख्याल गर्नु पर्दैन ? जे पायो त्यही, जहाँ पायो त्यहीँ सुनाउने ?’
उनको कुरा सुनेपछि मैले महसुस गरेँ— यी महिला केवल यात्री मात्र होइनन्, बरु जीवन र कलाको गहिरो मर्म बुझेकी विदुषी हुन् । शब्दको मर्यादा र स्थानको ज्ञान लेखकमा हुनुपर्छ भन्ने उनको सन्देश निकै मार्मिक थियो ।
धार्मिक सहिष्णुता र ईश्वरको खोजी
रहमतिनको यो प्रतिक्रियापछि बङ्गाली भाइ असजिलो मान्दै चुप भयो । तर केही बेरपछि उसले आफ्नो गल्ती सुधार्न खोजेझैँ अर्को रचना खोज्यो र मतिर फर्कँदै भन्यो– ‘अन्तिम यो एउटा सुनाउँछु है त अङ्कल !’ त्यो मुक्तक भने ईश्वर, मन्दिर र साँचो भक्तिको बारेमा थियोः
राम हो या रहिम हो, बिज हो या ईश्वर हो,
हरेकभित्र बास गर्ने ऊ त सर्जक हो संसारको,
खोज्छौ तिमी मन्दिरमा, मस्जिदमा अनि मूर्तिमा,
अब खोज आफैँमा— फूल, आकाश अनि धर्तीमा ।
यो सुन्नासाथ रहमतिनको अनुहार एकाएक दैवी उज्यालोले चम्कियो । उनलाई त्यो मुक्तकले आत्मामै छोएछ । उनले भनिन्– ‘राम होस् कि रहिम, श्रद्धा आफ्नो, विश्वास आफ्नो । यो ठीक र त्यो बेठीक भनेर मान्छे–मान्छेबीच पर्खाल खडा गर्नु सब बेकार हो ।’
उनको कुरा सुन्दा म निशब्द भएँ । मलाई रहमतिन अब एक रहस्यमयी र आदरणीय पात्र लाग्न थालिन् । यस्तो उदार कुरा कि त कुनै उच्च आध्यात्मिक चेतना भएको सुफी सन्तले गर्न सक्छ, कि त चरम मानवीय संवेदना भएको विद्वानले । मैले आजसम्म समाजमा व्याप्त कट्टरता मात्र देखेको थिएँ, तर यो गुडिरहेको रेलभित्र एउटी मुसलमान महिलाबाट यति सुन्दर मानवीय दृष्टिकोण सुन्दा मेरो हृदय कृतज्ञताले भरियो ।
‘सत्य कुरा गर्नुभयो तपाईंले, तर समाजमा…’ मैले भन्न मात्र के खोजेको थिएँ, उनले मेरो भावना बुझेर बीचैमा रोकिन् ।
उनले भावुक हुँदै भनिन्– ‘केही उग्र मान्छेहरूले आफ्नो स्वार्थका लागि धर्मको नाममा मान्छे सङ्कटमा पारे अङ्कल । इस्लामले त कसैलाई घृणा गर्न सिकाउँदैन । यसले त सबैलाई प्रेम, दया र मानवताको सेवा सिकाउँछ ।’
दुःखको भट्टीबाट जन्मिएको भरोसा
हाम्रो संवाद अझ गम्भीर र भावुक मोडमा पुग्यो । केही बेरमा उनी बाथरुम गएर फर्किइन् र आफ्नो सिटतिर चढ्न खोज्दै थिइन् । मैले उनलाई हामीसँगै तल बस्न सङ्केत गरेँ । उनी बिनासङ्कोच मेरो सिटको अर्को छेउमा बसिन् र आफ्ना आँखा अलि रसाउँदै भनिन्– ‘अङ्कलजी, संसारमा यस्ता रहस्यमय ठाउँहरू पनि छन्, जहाँ पुगेपछि मानिसको पूरै जीवन बदलियो रहेछ । म पहिले यस्ती हाँस्ने–बोल्ने थिइनँ, म त आँसुको महासागरमा डुबेकी थिएँ । तर जब म एउटा दरगाहमा पुगेँ, मेरो जीवनले अर्कै जुनी पायो ।’
मैले निकै संवेदनशील हुँदै सोधेँ– ‘के कुराले तपाईंलाई यस्तो बनायो त नानी ?’
उनले लामो सुस्केरा हाल्दै भनिन्ः‘अङ्कलजी, मलाई करीब पाँच वर्षअगाडि एउटा यस्तो बज्रपात आइलाग्यो, जसले मेरो संसार नै अँध्यारो बनायो । बजारमा हाम्रो राम्रो पसल थियो, श्रीमान्ले चलाउनुहुन्थ्यो । हामी निकै खुसी थियौँ । तर एकाएक उहाँको मानसिक सन्तुलन बिग्रियो । उहाँ बहुलाजस्तै हुनुभयो । म घरबाहिरको संसार नदेखेकी मुसलमान महिला, घरधन्दामै सीमित थिएँ । पसल बन्द भयो, आम्दानी रोकियो । यी साना छोरीहरूको स्कुलको फी तिर्ने पैसा समेत भएन । आफ्ना भनिनेहरूले पनि कति नै सहयोग गर्थे र ! म घरको एउटा कुनामा बसेर रातभर रुन्थेँ र सोध्थेँ— हे ईश्वर, मैले के पाप गरेकी थिएँ ?’
उनका आँखाबाट एक थोपा आँसु खस्यो, तर उनले तुरुन्तै सम्हालिँदै मुस्कुराउने प्रयास गरिन् र भनिन्ः‘अनि एक जना हितैषीले मलाई उत्तर प्रदेशको करमाते मखदुम असरफ सिमनाई दरगाहमा जान सल्लाह दिए । म श्रीमान् र यी नानीहरूलाई लिएर त्यहाँ गएँ । अस्पताल धाउँदा–धाउँदा थाकिसकेकी म, जब त्यहाँ सुफी सन्तको समाधिअगाडि रोएँ, मभित्र एउटा अद्भुत शान्ति र आँट पलायो । त्यहाँबाट फर्केपछि मेरो जीवनमा चमत्कार त भएन, तर मलाई दुःखसँग लड्ने ’साहस’ मिल्यो । अहिले मेरो स्थायी आम्दानी छैन, श्रीमान् अझै पूर्ण स्वस्थ हुनुहुन्न, तर मलाई अचम्म लाग्छ— मभित्र अब कुनै डर छैन, कुनै चिन्ता छैन । मलाई लाग्छ, त्यो असीम शक्तिले मलाई हरेक पल सुरक्षा दिइरहेको छ । जीवन चलाउन धेरै सम्पत्ति होइन अङ्कल, हिम्मत र भरोसा चाहिँदो रहेछ । सहयोगी हातहरू त ईश्वरले आफैँ पठाइदिँदो रहेछ ।’
एउटी आमाको यो भोगाइ र दर्शन सुन्दा मेरो र सुवर्णजीको आँखा पनि रसायो । दुःखको भट्टीमा पिल्सिएर निस्किएको उनको यो सुनौलो आत्मविश्वास कुनै महाज्ञानीको भन्दा कम थिएन ।
निश्छल बाल–प्रेम र बिदाइको शून्यता
हामी गफमै थियौँ, सानी छोरीले आमाको झोलाबाट चकलेट निकालेर बडो प्रेमपूर्वक एउटा मलाई र एउटा सुवर्णजीलाई दिई । उसको त्यो सानो र कोमल हातबाट चकलेट थाप्दा लाग्यो— मानवताको सबैभन्दा ठूलो मन्दिर यही रेलको क्याबिन हो ।
उसले आफ्ना ठूला र निश्छल आँखाहरू मतिर सोझाउँदै सोधी– ‘अङ्कल तपाईंहरू कहाँ जान लाग्नुभएको ?’
मैंने उसको गाला सुमसुम्याउँदै भनेँ– ‘हामी कलकत्ता हुँदै श्रीलंका जान लागेका नानी ।’
‘त्यसो भए उताबाट फर्किँदा हाम्रो घर आउनुस् न है ! म बसपार्कमा लिन आउँछु,’ उसले बडो आत्मीयताका साथ निम्तो दिई, मानौँ हामी उसका आफ्नै हजुरबुवा हौँ ।
‘तिमीलाई खानेकुरा बनाउन आउँछ त नानी ?’ सुवर्णजीले सोध्नुभयो ।
उसले खुसी हुँदै भनिन्– ‘म तपाईंहरूलाई केराको पकौडा, बैगनको तरुवा र पनिरको तरकारी बनाएर खुवाउँछु । ममीले तातोतो रोटी बनाउनुहुन्छ । हाम्रो माथिल्लो तलामा राम्रो कोठा छ, तपाईंहरू त्यहीँ बस्नुपर्छ, म ममीको फोन नम्बर लेखिदिन्छु, फोन गरेर आउनुस् है !’
त्यो अबोध नानीको आत्मीयता र निश्छल निमन्त्रणाले हाम्रो छाती गल्र्याङ्ग भएर आयो । कुराकानी गर्दागर्दै रात छिप्पिसकेको थियो । हामीले भावुक हुँदै ’शुभरात्री’ भन्यौँ र सुत्ने तरखर गर्यौँ ।
बिहानको ठीक ४ बजे रेल कलकत्ताको हाबडा स्टेसनमा रोकियो । बाहिर चिसो र कुहिरो थियो, स्टेसनमा मानिसहरूको भागदौड थियो । रहमतिनको सुटकेस निकै भारी भएकाले हामीले ओराल्न सहयोग गर्यौँ । अब छुट्टिने बेला भएको थियो । रहमतिन छोरीहरूलाई क्षणभरका लागि हामीसँगै छाडेर भुवनेश्वर जाने अर्को टिकट लिन काउन्टरतिर लागिन् ।
ती दुई नानीहरू चिसोले कलेजो कमाउँदै मेरा दुईवटै हात समातेर उभिएका थिए । भीडभाडको त्यो नौलो शहरमा उनीहरूलाई हामीमाथि कति ठूलो विश्वास थियो ! केही बेरमा रहमतिन फर्किइन् र भनिन्न्– ‘अङ्कलजी, जीवनमा फेरि भेट होला या नहोला, तर भुवनेश्वर आउनुभयो भने यो छोरीलाई अवश्य सम्झनुहोला ।’
उनीहरू भीडमा अगाडि बढे । ती दुई साना नानीहरूले हिँड्दा–हिँड्दै पछाडि फर्केर हात हल्लाए । हाबडा स्टेसनको त्यो निष्ठुरी भीड र कुहिरोमा बिस्तारै ती तीनवटा आकृति ओझेल परे ।
उनीहरू त गए, तर मेरो मनमा एउटा गहिरो शून्यता र आँखाहरूमा हल्का चिसोपन छोडेर गए । कति मायालु थिए ती कलिला नानीहरू अनि कति दृढ र अनुकरणीय थियो ती रहमतिनको एउटा अदृश्य शक्तिप्रतिको विश्वास ! त्यही विश्वासले नै त एउटी असहाय आमाको अनुहारमा कतैकतै ईश्वरको जस्तै सुन्दर मुस्कान र निडरपन लहराएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










