सानु एक मध्यम वर्गीय परिवारकी छोरी थिइन् । कक्षा ८ मा पढ्ने सानु पढाइमा तेज, लेखनमा सशक्त, भाषण प्रतियोगितामा अब्बल र विद्यालयका सबै शिक्षकको प्रिय थिइन् । उनकी आमा गृहिणी र बुवा जागिरे थिए । मोबाइल भने उनीहरूको घरमा फोन गर्न, सूचना हेर्न, कहिलेकाहीँ फोटो खिच्नका लागि मात्र प्रयोग हुन्थ्यो ।
एकदिन स्कुलबाट फर्केर सानुले बुवासँग बिन्ती गरिन्, “बाबा, सबै साथीहरूले स्मार्टफोन ल्याएका छन्, मलाई पनि चाहिन्छ । अनलाइन क्लास गर्न सजिलो हुन्छ रे ।”
ज्ञानी छोरी भएकाले उसको बुवाले केही पनि नभनी उसलाई मोबाइल किनिदिनुभयो । त्यो दिन सानु खुशीले नाचिन् । शुरूमा त सानुले मोबाइल पढाइका लागि मात्र प्रयोग गरिन् तर केही दिनमै, उसले टिकटक हेर्न थालिन् । त्यसपछि इन्स्टाग्राम खोलिन् अनि युट्युब सर्ट्स, उनका अनुयायी बढ्न थाले । लाइक र कमेन्टले उनी रोमाञ्चित हुन थालिन् । दिन बित्दै जाँदा उसले पढ्ने समय कटौती गर्न थालिन् । बिहान पढ्ने समय मोबाइलमा बित्यो । बेलुकाको होमवर्क पछि सर्यो, अनि पछि होमवक गर्न नै बन्द भयो । स्कूल जाँदा पनि उनी थकित महसूस गर्थिन् ।
सानु पहिलेदेखि नै सबै विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी थिइन् । गणितका हिसाबकिताब उनलाई खेलजस्तै लाग्थ्यो, अंग्रेजी लेखनमा सधैँ प्रशंसा पाउँथिन्, र विज्ञानका जटिल कुराहरू पनि सजिलै बुझ्थिन् । तर मोबाइलमा समय बिताउन थालेपछि उनलाई पढाइमा ध्यान दिन कठिन हुन थाल्यो । गणितका सूत्रहरू सम्झन नसक्ने, अंग्रेजी लेख्दा अक्षरहरू बिग्रने र विज्ञानका अवधारणाहरू झनझन् गाह्रो लाग्न थाले । पढ्न बसेको बेला मन मोबाइलको झिलिमिली संसारमा भुलेर जान्थ्यो ।
शिक्षकले उनको रिपोर्ट कार्डमा टिप्पणी लेखे – “सानु एक असाधारण क्षमता भएको छात्रा हुन्, तर अहिले उनी धेरै विचलित छिन् । उनलाई सहारा र मार्गदर्शनको खाँचो छ ।”
सानु पहिले हाँस्ने, बोल्ने, रमाउने विद्यार्थी थिइन् । तर, आजकल उनी धेरैजसो समय उदास देखिन थालेकी थिइन् । उनी रातभर टिकटक हेर्दै बस्थिन् । हेर्दा–हेर्दै समय बित्थ्यो, निद्रा हराउँथ्यो । बिहान उठ्दा उसका आँखाहरू राता हुन्थे, शरीर थाकेको, मन कताकता अल्झिएको जस्तो हुन्थ्यो । उनका बुवाआमाले चिन्ता व्यक्त गरेर सोधे, “सानु, तिमीलाई के भएको छ ? तिमी अब पहिले जस्ती देख्दिनौ नि !”
तर सानु रिसाइन्, “तपाईंहरू बुझ्नुहुन्न ! मलाई कसैले बुझ्दैनन् !”
त्यसपछि उनी झन् झन् झर्किन थालिन् । स-सानो कुरामा चित्त दुखाउने, कसैसँग बोल्न मन नलाग्ने र अझै भित्रभित्रै धेरै चिसोपन महसूस गर्न थालिन् । कहिलेकाहीँ त ऊ चुपचाप कोठामा बसिरहन्थी । अब उनमा रिस बढ्दै गयो । स्कूल जाँदा र साथीहरू भेट्दा, हाँस्दा उसलाई रमाइलो लाग्दैनथ्यो । कक्षामा शिक्षकको कुरा सुन्न मन लाग्दैनथ्यो । उनी एक्लिएको महसूस गर्न थालिन् । सानुको मन विभिन्न सोच, चिन्ता, र मोबाइलका झिलिमिली कुराले छोपिन थाल्यो ।
एकदिन विद्यालयमा डिजिटल डिभाइसको असर भन्ने शीर्षकमा एक परामर्शदाता कार्यक्रम चलाउन आए । उनको नजर सानुमा पर्यो र उनमा केही समस्या छ भन्ने लागेपछि बोलाएर कुरा गर्न थाले । उनले सानुको आँखामा हेरेर सोधे, “सानु, के तिमी खुशी छ्यौ ?” सानुले मौन भएर टाउको झुकाइन् ।
त्यसपछि उनले भने, “कहिलेकाहीँ हामी अनलाइनको झिलिमिली संसारमा यति हराउँछौँ कि आफ्नो मनलाई सुन्न नै बिर्सन्छौँ । तर याद गर, डिजिटल डिभाइस साथी हो, मालिक होइन ।”
स्कूलबाट फर्केर सानु धेरै बेर रोइन् । उनले सबै कुरा आमालाई भनिन् । बुबाआमाले उनलाई मनोपरामर्श केन्द्र लैजान निर्णय गरे ।
…
परामर्शदाताले सोधे, “नानु, तिमी दिनको कति समय मोबाइल प्रयोग गर्छौ ?”
सानुले भनिन्, “कहिलेकाहीँ ८ घण्टासम्म ।”
परामर्शदाताले गम्भीर मुद्रामा भने, “सानु, तिमी ‘डिजीटल लत’ को शुरुवातमा छौ । तर यो ठीक गर्न सकिन्छ । तिमी ठीक हुन् चाहन्छौ ?”
सानुले आँशु पुछ्दै टाउको हल्लाइन् । काउन्सिलरले उनलाई सम्झाइबुझाई गरेर राम्रो सल्लाह दिए । सोही आधारमा घर आएर सानुले सुधारका लागि योजना बनाइन् ।
मोबाइल डिटक्स ! बिहान १ घण्टा मात्र मोबाइल चलाउने, साँझमा मात्रै ३० मिनेट चलाउने । जर्नल लेख्ने, हरेक दिन पढेका, मनमा लागेका कुराहरू नोटबुकमा लेख्ने । हिँड्दै संवाद गर्ने, हप्तामा तीनपटक स्कुलबाट हिँडेर फर्कने र साथीहरूसँग संवाद गर्ने, रातको खाने बेला मोबाइल बन्द गरी आमाबुबासँग कुराकानी गर्ने जस्ता काममा ध्यान दिन थालिन् ।
शुरूका दिनहरूमा उनलाई धेरै गाह्रो भयो । उनको हात आफैँ मोबाइलतिर जान्थ्यो । तर उनले आत्मनियन्त्रण गर्ने दृढ संकल्प लिएकी थिइन् । बेला बेला एकपटक टिकटक खोल्ने धोको बलियो भएर आउँथ्यो । कहिलेकाहीँ मोबाइल हेर्ने मन बुझाउन गाह्रो हुन्थ्यो । तर उनले डायरी लेख्ने बानी बसाएकी थिइन् र यस्तो बेला डायरीमा लेख्थिन्, “आज फेरि टिकटक खोल्न मन लाग्यो तर त्यसको सट्टा मैले भाइसँग चेस खेलेँ । जितेँ पनि ।”
यस्ता स-साना सफलताले सानुलाई आत्मबल दिन थाल्यो ।
उनले सोचिन्— “यदि म मोबाइलको लतलाई जित्न सक्छु भने, जोकोहीले पनि जित्न सम्भव छ !”
सानुले आफ्ना अनुभव साथीहरूसँग बाँड्न थालिन् । कक्षा शुरू हुनुअघि उनी भन्थिन्— “आज मैले आफैँलाई मोबाइल नछुने चुनौती दिएकी छु । तिमीहरू पनि यस्तै गर न !”
साथीहरू उनको कुरा सुन्न थाले । सानुको विचारले विद्यालयमा नयाँ उत्साह ल्यायो । उनले शिक्षकसँग सल्लाह गरेर विद्यालयमै एउटा सानो समूह शुरू गरिन्, “डिजिटल ब्यालेन्स क्लब ।” यस क्लबमा सबै मिलेर मोबाइलको सदुपयोग र समय व्यवस्थापनका बारेमा कुरा गर्न थाले । कसैले कविता लेख्थे, कसैले पोस्टर बनाउँथे, कसैले आफ्नो अनुभव सुनाउँथे । शिक्षकहरूले साथ दिनुभयो । प्रिन्सिपलले स्याबस दिँदै भन्नुभयो, “सानु, तिमीले त डिजिटल युगमा साँचो नेतृत्व देखाइरहेकी छ्यौ ।”
अब सानुको मन फेरि पढाइतिर लाग्न थाल्यो । उनले सारा विषयमा मिहिनेत गर्न थालिन् । समय तालिका बनाएर अभ्यास गरिन् । कहिलेकाहीँ पढाइपछि संगीत सुन्थिन्, कविता लेख्थिन्, र आमालाई काममा सघाउँथिन् ।
फेरि त्यो दिन आयो, परीक्षाको परिणाम घोषणा भयो । सानुले उत्कृष्ट अंक ल्याइन् । सारा विद्यालयले ताली बजायो ।
त्यसै हप्ता भाषण प्रतियोगिता भयो । उनको विषय थियो, “डिजिटल संसारमा सन्तुलन कसरी कायम गर्ने ?”
सानुले आत्मविश्वासका साथ भाषण दिइन् । उनले भनेको शब्दहरूले सबैलाई छोयो, “मोबाइल हाम्रो साथी हो, तर यदि हामी सजग भएनौं भने, त्यो हाम्रो सपना चोर्ने चोर पनि बन्न सक्छ, हामी यसको मालिक हुनुपर्छ, यसको गुलाम भएर फस्नु हुँदैन ।”
सानुले प्रतियोगिता जितिन्, शिक्षकहरूले बधाई दिए, साथीहरूले ब्यानर बनाए, “सानु तिम्रो सहासलाई सम्मान छ !”
घर फर्किँदा बुबाले मुस्कुराउँदै भन्नुभयो, “तिमी त झन् राम्री भइछ्यौ, सानु !”
सानुले पनि आत्मविश्वासका साथ भनिन्, “हो बाबा, म फेरि पुरानै सानु बनेकी छु तर यस पटक अझ बलियो, अझ सचेत हुनेछु ।”
सानुको कथा कुनै काल्पनिक पात्रको मात्र होइन, यो आजका हजारौं विद्यार्थीहरूको यथार्थ हो । डिजिटल उपकरणको उपयोग राम्रो कुरा हो तर दुरुपयोगले हाम्रो सामाजिक, भावनात्मक, संज्ञानात्मक, र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । तर यदि चाहना, प्रयास, र समर्थन छ भने यो लतलाई जित्न सकिन्छ । आफूलाई पुनः प्राप्त गर्न सकिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 






