हाँसोमा साँचो
मजाकले हिँडायो
वनको बाटो !
“तँ राउटे !” साथीको त्यो ठट्टा मेरो कानमा गुन्जदा म रिसाएँ । तर त्यो रिसले मलाई एउटा अनौठो यात्रामा पुर्यायो । आफूभित्रको राउटेलाई भेट्टाउने यात्रा । त्यो गिज्याइले मलाई मेरो वास्तविक अनुहार देखायो । आज म त्यो अनुहारसँग संवाद गर्ने जमर्काे गर्दैछु ।
साथीहरूको बीचमा रमाइलो गर्दैगर्दा जब साथीले मलाई, “तँ राउटे जस्तो छस्” भनी गिज्यायो । त्यो हसिमजाकमा भनिएको शब्दले मेरो मन दुख्यो र पनि म आनन्दित भएँ । नोकरी शहरमा लागेकाले म शहरमा बस्थेँ तर म शहरीया जीवनसँग अभ्यस्त भएको थिइनँ । दारी नकाटिएको ख्याउटे अनुहार, धुलाम्मे बाटोमा बाइक चढेर आउँदा मैलो भएको पुरानो कपडा जस्ता कुराले साथीको मजाकमा सत्यको अंश समेटिएको महसूस गरेँ । गाउँघरमा बितेका ३० वर्ष मेरो व्यक्तित्वका परिचायक थिए । साथीको गिज्याइले मलाई मेरो वास्तविक अनुहार देखायो । जहाँ मैले सुविधाभोगी शहरको कफिसपमा भेटिनेहरूको जीवनशैलीबाट अलग तर गहिरो शान्ति र सन्तोष पाएँ । अनि सुरू भयो राउटे सम्बन्धि मेरो चासो र चिन्तनको यात्रा ।
त्यसपछि म राउटेहरूबारे जान्न थालेँ । पुस्तकालयमा बसेर, इन्टरनेटमा खोजेर, र राउटेहरूबारे लेखिएका लेखहरू पढेर मैले एउटा अनौठो संसार भेट्टाएँ । राउटेहरूसँग घर हुँदैन, जमिन हुँदैन, बैंक ब्यालेन्स हुँदैन । तर उनीहरूसँग हाँसो हुन्छ । प्रकृतिसँगको गहिरो सम्बन्ध हुन्छ । राउटेहरू सबैभन्दा असल मानिसहरू हुन् । उनीहरू राजनीतिमा संलग्न हुँदैनन् ।
घाम टाढा छ
तर मेरो मनले
ऊर्जा पाउँछ !
राउटेहरूसँग पैसा हुँदैन । उनीहरू वस्तु विनिमय प्रणालीमा विश्वास गर्छन् । तर पछिल्लो समय सरकारी भत्ता र बाह्य समाजको प्रभावले केही परिवर्तन आएको छ । राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनअनुसार परम्परागत प्रमुख मुखिया प्रणालीमा आधारित स्वशासन अभ्यास गर्ने राउटेहरूले जङ्गली काठबाट भाँडाकुँडा बनाउन र नजिकैको मानव बस्तीमा खानासँग साटासाट गर्न, जङ्गली जनावर, बाँदर आदिको शिकार गर्न र आवतजावत गर्न आफ्नै मौलिक सीप र कला प्रयोग गर्दछन् । बाह्य समाज र उनीहरूको सङ्गतको प्रभावले राउटेहरूको जीविकोपार्जन र व्यवहारमा क्रमशः परिवर्तन आउन थालेको छ । यो पढ्दा मैले आफूलाई सोधेँ— के मैले पनि बाह्य प्रभावले आफ्नो वास्तविक स्वरूप बिर्सिएको त होइन ?
साथिको गिज्याइले मलाई एउटा ऐना देखायो । त्यो ऐनामा मैले आफ्नो अनुहार देखेँ । एउटा लोभी अनुहार । म सधैँ बढी चाहन्थेँ । नयाँ मोबाइल आउँछ, पुरानो फ्याँक्छु । नयाँ जुत्ता किन्छु, पुरानो बिर्सन्छु । मैले कहिल्यै सोचिनँ— के मलाई यति धेरै चाहिन्छ ? कि म आवश्यकता भन्दा बढी सङ्ग्रह गरिरहेको छु ?
राउटेहरूसँग एउटा कुल्हाडी, एउटा बासिला र एउटा जाली मात्र हुन्छ तर उनीहरू तनावरहित जीवन बिताउँछन् । उनीहरूलाई बिल, कर र समाचारको कुनै चिन्ता हुँदैन । मसँग चाहिँ हरेक महिनाको बिल, किस्ताको चिन्ता, र अर्को महिना के किन्ने यति धेरै चिन्ता छ कि हाँस्नै बिर्सिएको छु ।
राउटेहरू प्रकृतिका सच्चा उपासक हुन् । उनीहरू सूर्य, नदी र वनजङ्गललाई पूज्छन् । मचाहिँ ? मैले प्रकृतिलाई मात्र होइन, आफूलाई पनि भुलिसकेको छु । म सधैँ स्क्रिनमा हेर्छु, आकाश हेर्न बिर्सन्छु । सधैँ हेडफोन लगाउँछु, चराको चिरबिर सुन्न बिर्सन्छु । सधैँ मोटरसाइकलमा यात्रा गर्छु , गोरेटोका ढुङ्गामाटोको स्पर्श महसुस गर्न बिर्सन्छु ।
सपना जस्तै
ऐनामा हनुहार
लोभी मुस्कान !
एक दिन एक्लै बसेर आफैसँग कुरा गरेँ । “हे राउटे, तँ कहाँ छस् ?” मैले आफ्नै मनसँग सोधेँ र एउटा आवाज सुनेँ—“म तँभित्रै छु तर तैँले मलाई धेरै वर्षअघि नै बिर्सिस् ।” हो, मभित्र पनि एउटा राउटे बाँचिरहेको थियो । बाल्यकालमा म पनि राउटे जस्तै थिएँ । दक्षिण ललितपुरको पहाडी पाखामा दगुर्थेँ । मलाई माटोमा खेल्न मन पर्थ्यो । पानीमा नुहाउन मन पर्थ्यो । रूख चढ्न मन पर्थ्यो । तर उमेर बढ्दै जाँदा मैले त्यो राउटेलाई मार्दै लगेँ । स्कूलले, सोसल मिडियाले, सोसाइटीले, र मेरो आफ्नै लोभले मलाई मभित्रको राउटे मार्न सघाए ।
राउटेहरूको जीवनशैलीबाट मैले धेरै पाठ सिकेँ । आवश्यकताभन्दा बढी सङ्ग्रह नगर्ने । मैले आफ्नो कोठा हेरेँ । कति सामान थियो जुन मैले वर्षौंदेखि प्रयोग गरेको थिइनँ । कपडा, जुत्ता, किताब, ग्याजेट सबै धूलो खाइरहेका थिए । प्रकृतिसँग जोडिन म हरेक बिहान पार्कमा हिँड्न थालेँ । चराको आवाज सुन्न थालेँ । रूखहरू हेर्न थालेँ । आकाशमा बादल हेर्न थालेँ । यी सबै निःशुल्क थिए । तर मैले यतिका वर्षसम्म पनि यसको मूल्य बुझिनँ । सामूहिक जीवन ! राउटेहरू सधैँ सँगै हुन्छन् । उनीहरूमा एक्लोपनको अनुभव हुँदैन । मचाहिँ ? सयौँ साथी सोसल मिडियामा भए पनि, वास्तविक जीवनमा एक्लो जस्तै थिएँ । गाउँका साथी आफैँले बिर्सेको थिएँ । शहरमा मलाई साथी भन्दा बढी हाँसोको पात्र अनि पाखे देख्दथे ।
राउटेहरूको जनसंख्या घट्दो छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार राउटेको कुल जनसंख्या ५६६ मात्र छ । यी घुमन्ते आदिवासीको अस्तित्व नै संकटमा छ । तर उनीहरूले हामीलाई प्रकृतिसँग मिलेर बाँच्ने, लोभरहित जीवन बिताउने, र साँच्चै खुशी हुने पाठ सिकाउँदै आएका छन् । सिक्ने नसिक्ने त हाम्रो मर्जी ।
मूलको पानी
स्वच्छ जीवनदायी
प्रकृति प्रेम !
रोमान्टिक दृष्टिले आदिवासी जीवनलाई मात्र आदर्श मान्नु पनि गलत हुनेछ । राउटे जीवन जटिल चुनौतीहरूबाट मुक्त छैन । स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र राज्यबाट प्राप्त हुनुपर्ने न्यूनतम सेवाको कमीले उनीहरूको जीवनलाई अस्थिर बनाइरहेछ । वास्तवमा, म चाहन्छु कि राउटेका परम्परागत ज्ञान र आधुनिक सुविधाबीच सन्तुलन खोज्नुपर्छ । आधुनिक प्रविधि र संस्थागत सहायतासँगै तिनीहरूको पारम्परिक ज्ञान र प्राकृतिक विवेकको सदुपयोग गर्नुपर्छ ।
व्यक्तिगत स्तरमा, मैले एउटा योजना बनाएको छु । उपभोग र व्यवहारमा सचेत परिवर्तन ल्याउने । स्थानीय र मौसमी खानालाई प्राथमिकता दिने । पुनःप्रयोग गर्ने र कम फोहोर उत्पादन गर्ने । प्राकृतिक स्रोतहरू प्रयोग गर्दा सीमा निर्धारण गर्ने । यी सबै मैले सिकेका पाठहरू लागू गर्ने आरम्भ हुन् ।
म साथीलाई धन्यवाद दिन्छु जसले मलाई ठट्टा गरेर “राउटे” भन्यो । मेरो भित्री प्रवृत्तिलाई उजागर गरायो । त्यो मजाकले मलाई आत्मनिरीक्षण गर्न र व्यवहारिक परिवर्तन गर्ने प्रेरणा दियो । मजाकले यदि चेतना जगाउँछ भने त्यो समाजका लागि उपयोगी हुनसक्छ । साथीको त्यो गिज्याइले मलाई मेरो वास्तविक अनुहार देखायो । र त्यो अनुहार देखेपछि मैले आफूलाई बदल्ने निर्णय गरेँ । हो, मभित्र एउटा राउटे छ र त्यो राउटेले मलाई साँच्चै खुशी हुन सघाइरहेको छ । राउटेको जीवनशैलीबाट हामीले प्रकृतिसँग लड्न होइन, मिलेर बाँच्न सिक्नुपर्छ ।
अझै बाँकी छ
सपनाको गोरेटो
अनि मौनता !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










