कुनै कुनै यात्रा अलि बेग्लै, अविस्मरणीय, चीर प्रतिक्षित हुँदा रहेछन् । जुन दिनबाट मैले लेखनयात्रामा ‘भट्टराई’को सट्टा ‘गाम्नागे’ लेख्न थालेँ, त्यो दिनदेखि मेरो मनमा एउटा कौतूहल जाग्न थालेको थियो –त्यो गाम्नाङटार कहाँ होला, कस्तो होला, जहाँ हाम्रा जिजुच्याब्जुहरूले जीवन बिताएका थिए । कहिले पुग्ने होला त्यो माटोमा जहाँबाट मभन्दा सात पुस्ता अगाडिका पुर्खा पशुपति भट्टराई (भट्टराई वंश नम्बर १८) मलाई समेत उनीभित्रै लिएर बसाईँ हिँडेका थिए र तालेजुङ पुगेर जरा गाडेका थिए । सेन राजाबाट मेरा च्याब्जुबाजे देवहरि भट्टराई (पशुपतिका हजुरबा– नं. १६) ले विर्ता पाएको गाम्नाङको भूगोल कस्तो होला ! त्यो मोटोमा अझै पनि पुर्खाहरूको वासना आउला कि नआउला ! यस्तो भावुकताले मलाई बेलाबेला चिमोटिरहेकै हुन्थ्यो ।

धेरै वर्षदेखि म एउटा अप्ठ्यारोमा पनि परिरहेको थिएँ, बारम्बार प्रष्टीकरण दिनुपर्ने अवस्थामा थिएँ । ओखलढुङ्गा खासगरी गाम्नाङतिरका मानिससँग भेट हुँदा एउटा प्रश्न वा जिज्ञासा प्राप्त हुन्थ्यो, ‘गाम्नाङमा अहिले पनि खेतीपाती छ कि ? कहिले छाड्नुभएको गाम्नाङ ? गाम्नागे तपाईँको थर हो कि तपाईँ गाम्नाङकै गाम्नागे हो ?

प्रायः पूर्वेली भट्टराईहरूले गाम्नागेको अर्थ बुझ्थे र त्यस्ता प्रश्न गर्थे, तर पश्चिमका प्रायः भट्टराईहरूले म भट्टराई हुँ भन्ने मेसो पनि पाउँदैनथे । किनभने भट्टराईहरूको वंशावलीमा पश्चिमका धेरै भट्टराईहरू समावेश हुन बाँकी थियो, अझै छ ।

यस्तै भावुकतामा हराउँदै निस्कँदै गरिरहेका बखत २०८१ को मंसिरमा एउटा सदा अपेक्षित प्रस्ताव आइलाग्यो । मैले बेलाबेला गाम्नाङटार जाने इच्छा प्रकट गरिरहेको कुरा थाहा पाएका चर्चित युवा कलाकार भाइ सुवोध गौतमले गाम्नाङ जाने दाजु ? भनेर प्रश्न गर्दा प्रश्न भुईँमा खस्दा नखस्दै मैले जाने भनेँ । कुनै कार्यक्रम होओस् वा भ्रमण मात्र होस् मलाई फरक पर्ने थिएन । मैले सहमति जनाएपछि भाइले आयोजकसँग कुराकानी गरेर तुरुन्तै प्रस्ताव पास भएको खबर गर्नुभयो । मलाई त जाने बहाना मात्र चाहिएको थियो, बहाना प्राप्त भयो, गाम्नाङटार युवा क्लबले आयोजना गरेको तीनदिने प्रतियोगितात्मक फूटबल खेल तथा सांस्कृतिक कार्यक्रम । सांस्कृतिक कार्यक्रमका लागि हास्य कलाकारको जिम्मेवारीमा सुवोध गौतम, कविताका लागि लक्ष्मण गाम्नागेको चयन । अरु गायन क्षेत्रका कलाकारहरू हुनुहुन्थ्यो, मेरा लागि प्रायः अपरिचित ।

गाम्नाङटार गन्तव्यका लागि सुवोध भाइले बोलाएको नरेफाँटमा (के कारणले यो ठाउँको नाम ‘नरे’ भयो होला !) म ठीक समयमै हाजिर भएँ तर हिँड्ने समय भने ‘नेपाली पारा’कै रहेछ । उता जाने कलाकार, हामीलाई पठाउने व्यवस्थापक, हामीलाई लैजाने गाडी केहीको अत्तोपत्तो थिएन । भाइले कोठातिरै गएर पर्खौँ भनेपछि लागियो कोठातिर । पाल्मो बहिनीले पकाएको मीठो चिया खाइयो, सुवोध भाइको जन्मदिनको चकलेट खान पाइयो, शुभकामना पनि दिन पाइयो, मलाई के चाहियो ! नानीहरूसँग चिनजान गरियो । सानो बाबुको त समय आउन बाँकी नै छ, सुवोधको परिवारका तीनजनै सदस्य कलाकार, कति रमाइलो ।

सुवोध भाइले धेरैबेरसम्म धेरैपटक गाडीवाला र अरु साथीहरूलाई जम्मा हुने ठाउँ र समयबारे बताइरहनुभयो । निकैबेरमा बल्ल गाडी आइपुग्यो । हामी जडिबुटी छेउको पुलमुनि जम्मा भयौँ । अझै केही कलाकार यात्रुहरू आइपुगेका थिएनन् । गाडी धेरै ठाउँमा घुमेर आएको रहेछ, हाम्रो चालक भाइ जथाभावी बोलिरहेको थियो । हामीलाई समयमै भेला नभएको र ठाउँठाउँमा घुमाएको भन्दै गाली गर्दै थियो । एकछिनदेखि त गाडीसाडी यहीँ छाडेर, चाबी लिएर जान्छु भन्न थाल्यो । एकजना कलाकार बहिनीले तिम्रो काम हामीलाई पुर्याउने हो, चुप लागेर आफ्नो काम गर, सबै भेला भएपछि हिँड्ने हो, गाडी साहुको नम्बर लेऊ म कुरा गर्छु भनेपछि भाइ अलि ठण्डा भयो । पछि अलिअलि गर्दै ऊ पनि हाम्रा गफगाफमा रमाउन, हाँस्न थाल्यो । वास्तवमा हामी अलि असभ्य र गैर जिम्मेवार, गैर व्यावसायिक छौँ हगि ! हामी त उसका ग्राहक थियौँ, उसको व्यवसाय यात्रुकै कारण चल्ने हो, तर उसलाई त्यो चेतना पनि छैन । हाम्रो समाज कहिले सभ्य र सुसंस्कृत हुने होला नि !!

बिहान साढेदश बजेतिर हामीले उपत्यका छाड्यौँ । रोशी खोलाले तहसनहस पारेपछिको उब्ड्याङ्खब्ड्याङ सडक पहिलोपटक यात्रा गर्दा जोसुकैलाई महावैराग उत्पन्न हुने । जसोतसो पार गरेर मन्थलीलाई देब्रेतिर छाडेर उकालो लाग्नुपर्ने रहेछ । मन्थलीभन्दा केही अगाडिसम्म सडक राम्रै रहेछ । अलि उता पहाडतिर लागेपछि सडक भन्नु के भन्नु ! कच्ची बाटोको कठीन यात्रा । धन्य हाम्रो टाटासुमो, सुमोका क्याप्टेन र सडक सबैको संयोग मिलेकोले हामी कतै लडेनौँ । सडकमा कतै ढुङ्गा ओछ्याएको, कतै खाडल, कतै कुलेसो । ठाउँठाउँमा एक महीने, दुई महीने भैंसीका पाडा जत्रा काला ढुङ्गा लमतन्न परेर सुतेका सडकमा । अब गाडी अड्किन्छ झैं लाग्छ तर हाम्रो क्याप्टेन भाइ कहिले पाडालाई छलेर कहिले पाडाका डँडाल्नामाथि चक्का चडाएर सजिलै पार लगाउँछन् । जस्तो बाटो, उस्तै गाडी, जस्तो गाडी उस्तै चालक फेला परेकोले हामीले कुनै अप्ठ्यारो भोग्नु परेन ।

संघीयताले खूब डोजर चलाएको छ पहाडमा । जता हेर्यो त्यतै पहिरो । जता पहिरो त्यतै सडक । सधैं हिडिँरहने मान्छे पनि झुक्किने गरिका उस्तै उत्रै सडकहरू ठाउँठाउँबाट छुट्टिँदा रहेछन् । झुक्किएर गलत बाटोमा प्रवेश गरियो भने कताकता अन्तै पुगिएला भन्ने डर । कतै सोधखोज गर्दै कतै अनुमान गर्दै हिँड्नुपर्ने । स्थानीय निकायले नै भए पनि बाटो छुट्टिने ठाउँमा सङ्केत पाटीहरू राखिदिए यात्रुहरूलाई सहज हुने थियो ।

बेलुकीपख हामी पुग्यौँ मेरो सपनाको एउटा गन्तव्य गाम्नाङ । थकाइ चैट भयो, शरीर एकदम हलुका भयो । पितृभूमि पुग्दा त्यसै त्यसै मन फुरुङ्ग भयो । मलाई मेरो पुर्ख्यौली थलो गाम्नाङटार भन्ने लाग्थ्यो तर कुरो अलि बेग्लै रहेछ । गाम्नाङ र गाम्नाङटार फरकफरक ठाउँ रहेछन् । हाम्रो पुर्ख्यौली गाम्नाङ रहेछ पाखो परेको ठाउँ, गाम्नाङटार अलि तल रहेछ एकदम भव्य रमाइलो फाँट ।

हामीलाई न्यानो स्वागत गरे कार्यक्रम आयोजक संस्थाका पदाधिकारी मित्रहरूले, वडाध्यक्षहरू, स्कूलका प्रधानाध्यापक र गुरुहरूले । मेरो ध्यान भने नीलकमल भट्टराईतिर थियो । उनी पक्कै त्यहाँ हुनुपर्छ भन्ने मलाई लागेको थियो । म भीडमा उनलाई चिन्ने प्रयत्न गर्दै थिएँ । एकजना मोटाघाटा खाइलाग्दा व्यक्तिसँग आँखा जुधे, उनी मुसुक्क मुस्काए । मैले तपाईँ नीलकमल हो भनेर सोधेँ, उनले हो भने । कताकता आफ्ना दाजुभाइको अनुहारको कट थाहा पाइँदो रहेछ कि क्या हो ! म गाम्नाङ आउन लागेको कुरा थाहा पाएर मलाई अँगालो मार्न उद्यत भएर बसेका भाइ (भट्टराई नम्बर २४) नीलकमलसँग भेट भएपछि मलाई घर पुगेजस्तो अनुभूति भयो । म र भाइ सुवोध गौतम आयोजकले व्यवस्था गरेको सामूहिक बासस्थान छाडेर लाग्यौँ नीलकमल भाइका पछिपछि । नीलकमलले पुर्याए काका लालप्रसाद भट्टराई (नं. २३) का घरमा । पहाडको त्यो सानो सानो गाउँमा लालप्रसाद काकाको आधुनिक सुविधासम्पन्न घरमा हामी दुईभाइ दुई रात बस्यौँ । दाउराको चुलोमा पकाएको बाक्लो कालो दाल, भातभन्दा बढी बकुलाको तरकारी, दूध, दही रोजीछाडी । काका पूर्व शिक्षक, सबैका सम्मानित समाजसेवी व्यक्तित्व । उहाँको घर गाम्नाङ आउने धेरैको बासस्थान । पाहुनको सत्कार गर्न पाउँदा रमाउने काकाकाकी र बुहारी । हुन त हाम्रो पुस्ता वि.सं. १८५५ अघि नै छुट्टिएको । आठ पुस्ताको हाँगो तर मलाई एकदमै नजिकका आफन्तको घरमा भएको अनुभूति भइरह्यो ।

औपचारिक कार्यक्रमहरू छँदै थिए । फूटबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम । हाइस्कूलका शिक्षक शिक्षिकाहरूसँगको भेटघाट, स्वागत कार्यक्रम, भट्टराई बन्धुहरूद्वारा सम्मान आदि । औपचारिकभन्दा अनौपचारिकतामा बढी रमाइलो । धेरै हेर्नुपर्ने, घुम्नुपर्ने ठाउँ थिएनन् । गाम्नाङ एउटा सानो गाउँ । आधुनिक भवन भनेको माध्यमिक विद्यालयको भवन । श्री ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय । स्कूल वरपर केही साना चिया र खुद्रा दोका । स्वास्थ्य चौकी, प्रहरी चौकी आदि । ठूलो बजारका लागि मन्थली नै आइपुग्नुपर्ने बाध्यता । सबैले जानै पर्ने भनेको प्रशिद्ध पोकली झर्ना यातायात साधनको अभावका कारण सम्भव भएन ।

एउटा रमाइलो लागेको कुरा, गाम्नाङले ‘ग’लाई गजबसँग गाँसेको रहेछ । गाउँको नाम गाम्नाङ, गाम्नाङमा रहेका अनेकौँ संघ, संस्था, संगठनका नाम पनि ‘ग’ बाटै उठेका । यो संयोग हो ? भनेर मैले भाइ नीलकमललाई सोधेँ । उनले भने, “होइन यो सुनियोजित हो, हाम्रो गाम्नाङको पहिचान हो । जस्तैः ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पस, ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, ग्रामोन्नति आधारभूत विद्यालय, ग्रामज्योति आधारभूत विद्यालय, ग्रामीण विकास राम्चे आधारभूत विद्यालय, ग्रामोदय वचत तथा ऋण सहकारी संस्था, गाम्नाङटार बहुउद्देश्यीय सहकारी संस्था, लि., ग्रामोदय सेवा समाज इत्यादि ।”

थुप्रै भट्टराई बन्धुहरूसँग भेटघाट भयो । साँझमा अनौपचारिक चिया वैठक, छलफल भए । उहाँहरूका अनुसार गाम्नाङ कुनै बेला भट्टराईहरूको मात्रै बस्ती थियो । बिस्तारै बिस्तारै अरु अरु थरहरू पनि मिसिँदै गए । भट्टराईहरू बसाइँ सर्दै गए । काठमाण्डौतिर, सर्लाहीतिर र अन्यत्र पनि । केही राष्ट्रिय परिचय बनाएका भट्टराईहरू पनि जन्माएको रहेछ गाम्नाङले, तर गाउँमा कोही छैन । अब धेरै घर भट्टराई बाँकी पनि छैनन् । थुप्रै भट्टराईहरूका र अरुका पनि भोटे ताल्चा ठोकिएका, घरको छानोदेखि आँगन सबैतिर झार र झाडीले ढाकिएका पनि देखिए । बाँकी रहेका घरपरिवारमा पनि दुईजना चारजना भन्दा बढी सदस्य छैनन् । सुनसान छ गाउँ । अघिल्लो पुस्ताले बनाएका गोरेटाहरू, ढुङ्गाका पैदल मार्ग र पर्खालहरू, कुवा, चौताराहरू सबै झाडीले छोपिसकेको छ । गाउँको तल गहिरोमा एक देवीस्थान रहेछ । देवीस्थानसँगै प्राचीन कुवाहरू रहेछन् । कुनै बेला यी कुवामा पानी थाप्न भट्टराई चेलीबेटीहरूको भीड लाग्थ्यो अरे । अब ती अवशेषका रूपमा मात्र विद्यमान् छन् । त्यो देवीस्थानमा भने अझै पनि भट्टराईहरूले मात्र प्रवेश गरेर पूजाआजा गर्ने चलन रहेछ ।

हाइस्कूल नजिकै ठूलो र प्राचीन पीपलको रुख र चौतारो रहेछ । भट्टराईहरू यसलाई आफ्नो पवित्र स्थल मान्दा रहेछन् । गाम्नाङमा यो रुख रहुन्जेल मात्रै भट्टराईहरूको बसोबास हुन्छ, पीपल मासियो भने भट्टराई पनि यहाँ मासिन्छन् भन्ने किंवदन्ती पनि सुन्नमा आयो । तर त्यो बूढो पीपलको तलबाट नयाँ पीपल उम्रिएर त्यसले बूढो पीपललाई थेग्न थालेकोले भट्टराईहरूको भनाइ के रहेछ भने बसाइँ हिँडेका वा काममा बाहिर गएका भट्टराईहरू कालान्तरमा गाउँ फर्किनेछन् । यो आशा विश्वासमा परिणत होओस् भन्ने शुभकामना दिएँ मैले बन्धुहरूलाई । आशा गरौँ, देशले यस्तरी विकास गरोस् कि एकदिन पहाड छाडेर, गाउँ छाडेर हिँडेका भट्टराईहरू, राईहरू, अधिकारीहरू, पहारीहरू, पौडेल, बस्नेत, सुनुवारहरू सबै सबै पितृभूमि, मातृभूमिमा फर्केर आउनेछन् ।

भट्टराईहरूको अधिकारिक वंशावलीका अनुसार वि. सं. १८५५ मा पुस्ता नम्बर १८ का जिजुबाजेले गाम्नाङ (हाल लिखु गाउँपालिका बडा नं. ६) छाडेर ताप्लेजुङतिर लागेको इतिहास छ । गाम्नाङ छाड्ने जिजुबाजे पशुपति भट्टराईका पिताजी रत्नेश्वरको घडेरी भनेर मानिएको ‘धामीबारी’मा म दुईपटक गएँ । पहिलापहिला त्यहाँ भट्टराई बन्धुहरूको देवाली हुन्थ्यो रे । अहिले त्यहाँभन्दा अलि तल देवाली घर निर्माण गरिएको रहेछ । धामीबारीमा म धेरैबेरसम्म भावुक भएर बसेँ । खेताबारीमा रहेका ढुङ्गाको गाह्रो छामेँ । माटो सुमसुम्याएँ ।

बिहानको कलिलो घाम ताप्दै आलीमा बसेर म निकै घोरिएँ । कस्ता थिए होलान् मेरा ती च्याब्जु बाजेहरू ? जातले बाहुन परिवारका तिनीहरू कोही पुरेत थिए होलान्, पण्डित थिए होलान् । बाहुनले हलो जोत्नु हुँदैन भन्ने युगका मेरा पूर्खाहरू जमिन्दार अवश्य थिएनन्, साधारण खेतीपाती, गोठ, मेला पर्मबाट जीवन गुजारा गर्थे होलान् भन्ने म अनुमान गर्छु । भोटो र कछाड अझ लगौँटीमै दैनिकी चलाउँथे होलान् । राडी पाखी, बर्कोहरूले जाडो छल्थे होलान् । गाम्नाङका पाखा पखेरामा गाईबस्तु, भेडाबाख्रा चराएर, गोठ सार्दै, बाँस र डाले घाँस काटेर, खेतीपाती गरेर ढिँडोरोटो, गिठ्ठा भ्याकुर, वनतरुल जे पाइन्छ खाएर जीवन बिताउँथे होलान् । खरानीपानीमा लुगा उसिनेर मुङ्ग्राले चुटेर लुगा धुन्थे होलान् । खरानी, माटो वा रिट्ठाले साबुनको काम चलाउँथे होलान् । बिमारी हुँदा अच्छेता फुकेर, झुम्रो सुँघाएर, खरानी पानी फुकेर, झारपात, सिरुका जरा, धामी, झाँक्री, अण्डा, कुखुरा वा बोकाको बली यस्तैले काम चलाउँथे होला । कति अकालमै मर्थे, कति अन्धा अपाङ्ग भएर जीवन बिताउँथे होला । आश्चर्य, मेरा तिनै पुर्खामध्ये एक पुर्खा अकालमा मरेका भए म हुने थिइनँ आज । सम्झ्यो भने उदेक लाग्दैन त ? बाजे बराजुहरू बाँच्दै बाँच्दै बाँच्दै आएर म आइपुगेँ । कति हो कति त यो धर्तीमा जन्मिनै पाएनन् नि ! अनि आमातिरका सन्ततीहरू अर्कै अर्कै थरतिर गए, गएको गई भए, सम्बन्ध हरायो, बिलायो । पितृ सत्ताको लाभ मैले लिएँ र पुर्खाहरू पत्ता लाग्यो, खोजी भयो र म त्यहाँ पुगेँ । मेरा ती १८ नम्बरे बाजेसँग बजै पनि त सँगै जानुभएको हो, तिनको नाम निशाना रहेन । ती बाजेका छोरीहरू कति थिए, कता कता पुगे तिनको कसैले खोजी गरेन । छनलाई त तिनीहरूका पनि त सन्तान यो धर्तीमा छन् नि, तर परिचय छैन ।

नीलकमल भाइले ‘घरमा खाना पाक्यो होला, कार्यक्रममा जान ढिला हुन्छ, जाउँ दाजु’ भनेपछि म उठेँ र हामी काकाघरतिर लाग्यौँ ।

गाम्नाङभन्दा पुरानो भन्दा पुरानो भन्दा पनि पुरानो थलो सिँजा उपत्यका पनि पुग्ने मेसो मिल्न लाग्दैछ । अब एकपटक पिताजी जन्मेको हुर्केको ठाउँ ‘ओसे’ जान मन छ र एकपटक आफू जन्मेको ‘मेनाटार’ पुगेर रुन मन छ । ती दिनहरू पर्खिरहेको छु ।