घान्द्रुकको सिरसिरे चिसो बतास, अन्नपूर्ण र माछापुच्छ्रेको उचाइ अनि गुरुङ गाउँको आत्मीयता मनभरि भरेर जब हामी पोखरा फर्कियौं, साँझले शहरलाई आफूमा बिलाइसकेको थियो । सडकमा मान्छेहरू गन्तव्यतिर लम्किरहेका थिए । लग बजार र पसलहरू सुनसान बन्दै गर्दा लेकसाइड भने बिस्तारै जीवन्त बन्दै थियो । फेवातालको मौन सौन्दर्यले बेग्लै मिठास बाँडिरहेको थियो ।
फेवातालको छेउमा उभिँदा, पानीमाथि बत्तीको परावर्तित उज्यालोले ताललाई झन् रहस्यमय बनाएको थियो । फेवातालमा चमचम उज्यालोसँगै तालबाराही मन्दिर मौन बसेको थियो । मानौं यो समयभन्दा परको कुनै आध्यात्मिक अनुभूति हो ।
डुङ्गाहरू चूपचाप पानीमा तैरिरहेका थिए, मानौं उनीहरूलाई गन्तव्यको हतार थिएन । वरपरको शीतल हावाले थकित आत्मालाई स्पर्श गरिरह्यो । साँझको त्यो न्यानोपन, पानीको गहिराइ । शहरको हल्का कोलाहल यी सबै मिलेर पोखराको रातलाई अझ रोमाञ्चक बनाइरहेका थिए ।
फेवातालको किनारमा जीवनका लयहरू कहिल्यै स्थिर हुँदैनन् । किनार छेउछाउका बिसौनीहरूमा प्रणय–मिलनका खुशी साट्नेहरू प्रशस्तै हुन्छन् । संगीत मिसिएको बियर र चियाको बासना पनि एकसाथ फैलिन्छ । यहाँ रातको सौन्दर्य चञ्चल छ– चलायमान र संगीतजस्तै प्रवाहमान । व्यस्त जीवनको अलिकति एकान्त, बेफुर्सद मनलाई थोरै आरामको औषधि यिनै ऐकान्तिक वातावरणका संघारहरूमा आइपुग्दा महसूस गर्न पाइन्छ ।
यद्यपि रात पर्नासाथ फेवातालको लय फेरिन्छ । पर्यटकहरू होटलका झ्यालभित्र हराउँछन्, बजारको कोलाहल सेलाएर एउटा गहिरो मौनता छाउँछ । पानीको छाल हल्का हल्लिन्छ, चन्द्रमाको उज्यालो तलको सतहमा चिप्लिन्छ, अनि वरिपरिका पहाडहरू कालो छायाजस्तै अडिग देखिन्छन् । यो मौन सौन्दर्यको शब्दविहीन तर गहिरा आफ्नै भाकाहरू छन् ।
हामी समूह–समूहमा बाँडिएर ताल किनारमा हिंड्दै थियौं । हल्का बतासले पानी छुन खोजेझैं गर्थ्यो । कतै टाढा डुङ्गाको समूह पानीसँग संवाद गरिरहेको जस्तै लाग्थ्यो । रातको सन्नाटामा यो ताल जीवनका असंख्य कथा बोकेर निदाइरहेको थियो । तर मौनताभित्र कुनै अदृश्य गीत पनि गुन्जिरहेको झल्को आउँथ्यो । उकाली–ओराली घान्द्रुक घुमाइको थकाइले खुट्टा निकै थाकिसकेको थियो । तर हाम्रो समूहका दिदीबहिनीको हिंड्ने जाँगर, रमाउने मन देखेर यो लेखक मन पनि उनीहरूकै साथ पाइला पछ्याइरहेको हुन्थ्यो ।
जीवन पनि यही तालजस्तै हो – कहिले चञ्चल लयमा, कहिले मौन सौन्दर्यमा । शायद, हाम्रा दौडधुपका भोका पाइलाहरूले फेवातालको रातको यो लय बुझ्न सक्ने हो भने जीवनका असली लयहरू पनि आफैँ प्रकट हुने थिए । मौनतामा बस्नु, रमाउनु र त्यसमा आफूलाई भेट्नुको पल यही फेवातालको मौन सौन्दर्यमा मिल्थ्यो ।
त्यसैले साँझको पोखरा एउटा जिउँदो कविता हो । लेकसाइट र फेवा किनारका मधुर आवाजहरू, खानपान र नाचगानका क्षणहरू मिलनको उत्सव पनि हो । आपसी सम्बन्धहरू सुध्रिने र बिग्रिनेका तानाबाना यिनै उत्सवहरूले निर्धारण गर्छन् । तथापि मनका मझेरीहरूमा अलिकति खुशीको बाछिटाले उल्लासमय आभासको सिँचाइ गर्न सक्षम थियो ।

पोखराको साँझ, कुनै कुशल कविले लेखेको जीवन्त कविता जस्तै, जसका प्रत्येक हरफ पानीमा पखालिएर सङ्लिन्छ । अनि हराउँदै जान्छ फेवातालको छालमा । रातको अँध्यारोमा डुङ्गाका छाया र बत्तीका चम्किला किरणहरूले तर्सिंदै पुनः तालको किनारमा फर्किएर कवितालाई सच्याउन थाल्छ । त्यसपछि ती काव्य–भावहरू कस्तै डरमा पनि नतर्सिने बरु कालजयी सिर्जनाका शाश्वत वाणी भएर रहन्छन् ।
साँझ पर्दै जाँदा, रात भित्रिंदै गर्दा तालको किनारमा हिंड्ने पाइला आफैं कविता जस्तै अनुभूति हुन्छ । त्यसमा कुनै व्याकरण, कुनै छन्द हुँदैन । तापनि त्यहाँ एउटा सजीव लय निर्माण हुन्छ । पहाडका काखबाट ओर्लिएको छाया तालको सतहमा आफूलाई हराउँछ । आकाश घुर्मैलो रङहरूमा रङ्गिन्छ । मानौं, प्रकृतिको कूचीले एकपछि अर्को भरिएका गाढा र हल्का छायाचित्र कोर्दैछ ।
यसबेला पोखरा कुनै सपना जस्तै देखिन्छ– हल्का हावाले बजाउने बाँसुरी जस्तो, बोटबिरुवाका पत्रमा झर्ने शीत बिन्दु जस्तो । सडक छेउका बत्तीहरू बिस्तारै बल्न थाल्छन् । अनि फेवातालको छालहरूमा तैरिन थाल्छन् सिमसिमे उज्यालोका फूलबुट्टा । माथि पुम्दिकोटमा शिवजी, अलि तल शान्तिस्तुपा र पारि साराङकोटको अग्लो पहाड र अझ पर माछापुच्छ्रेले अझै केही उज्यालो समातेको जस्तो लाग्छ– एक अन्तिम स्पर्श, अस्ताइसकेको सूर्यको । किनभने अहिले चाँदनी रातको उपस्थितिले दिनको उज्यालो मस्त निद्राको प्रथम प्रहरमा घुर्न थालिसकेको हुनसक्छ ।
यति बेला पोखरा न कुनै गन्तव्य लाग्छ, न कुनै शहर । यो त केवल अनुभूति लाग्छ– एक गीति लय, जसले मनभित्र मीठो गुञ्जन ल्याउँछ । पोखरा आइपुगेका पाहुनाहरूलाई स्वागत गर्न तम्तयार भएर उपस्थित हुन्छ ।
जुनेली रातको फेवा आफैंमा मौन सौन्दर्यको विम्ब हो । फेवा तालको छेउ उभिंदा रातको गहिराइ झन् गाढा भइरहेको थियो । तालको पानी स्थिर थियो, मानौं कुनै कलाकारले क्यानभासमा चन्द्रमाको अन्धकारको प्रतिविम्ब कोरिदिएको हो । जुनेली उज्यालोमा पानीमाथि तैरिरहेका डुङ्गाहरू शान्त थिए– दिनभरि यात्रु ओसार्ने दौडधुपपछि थकित अनि मौन ।
यी डुङ्गाहरूले कति कथा सुनेका होलान् ? दिनभरि रमाएका पर्यटकका हाँसो, प्रेमीहरूका कुराकानी, डुङ्गामा बसेर आ–आफ्ना सपना बुन्ने यायावरहरूका शब्द– कति इतिहास बोकेर हिंड्छन् यी काठका डुङ्गाहरू ! शायद यतिबेला रातको सन्नाटामा आपसमा मौन संवाद गरिरहेका होलान् । रातदिन तालकै माथि पानीमा तैरिएर बाँच्नुपर्ने आफ्नो जीवन–नियति सम्झेर आफैंलाई धिक्कार्लान् । किनभने आफू जस्तै अरू काठहरू मूर्ति स्वरूपमा सजिएका छन् । फर्निचरका अनेक रूपहरूमा फैलिएका छन् । तर डुङ्गा बनेर आफूहरू भने सधैं पानीमै बसेर पनि प्यासी आत्मा बनिरहनुपरेको पिरलो पनि होला !

बिहान उज्यालो भुइँमा खसेदेखि जून धर्तीमा ओर्लिसक्दासम्म यी डुङ्गाले फुर्सद पाउँदैनन् । राति भने उनीहरूलाई गन्तव्यको हतार हुँदैन । पानीमाथि हल्का हल्लिंदै, निद्रा पर्खिरहेका थिए । पानीमा तैरिएका जूनका छाया तिनकै आरामको सहयात्री बनेका थिए । ती पनि कहिलेकाहीं विश्राम चाहन्छन्– जसरी हामी भागदौडपछि शान्ति खोज्छौं ।
फेवा किनारको चिसो हावाको मन्द स्पर्शले गालालाई चुम्दै अँध्यारोमा बिलाउँदै जान्थ्यो । ताल छेउमा उभिएर लाग्यो– मान्छेको जीवन पनि यस्तै पो रहेछ ! हतारमा यात्रा गर्ने, थाक्ने अनि अन्ततः कुनै जुनेली रातमा शान्त तालझैं स्थिर भएर बस्ने …!
साँझको फेवा किनार ! कस्तो रहस्यमय, कस्तो मोहक ! रक्सीको मातले बेसुर लर्बरिंदै हिंडिरहे जस्तै । पाइला सार्न नसकेर चूपचाप लेकसाइटको रात्रिकालीन चहलपहलमा हराए जस्तै । बाटोबाटै खानपिउन निम्त्याउने युवती मुस्कानको आग्रह पोखिने । ‘लाइभ कन्सर्ट’ हेर्न, ‘गजल गायन’ सुन्न आमन्त्रण गर्ने सुन्दरीहरूको विनम्र बोली कानमा गुञ्जिने । तर यी सबैमा मन भुलिन चाहँदैन । बरु फेवातालको किनारमा बसेर मौन सौन्दर्यका तरङ्गहरूमा तैरिंदै रमाउन चाहन्छ ।
फेवातालको शीतल रात साँच्चै हाम्रा लागि प्रेमिल अनुभूतिको अध्यायमा रूपान्तरित हुँदै थियो । क्षणभर म त्यहीं उभिएर रहन चाहन्थें । समयलाई स्थिर पार्न चाहन्थें । पोखराको यो सौन्दर्य केवल आँखाले मात्र होइन, हृदयले अनुभूत गर्ने कुरा थियो ।
शहरको उत्तेजना विस्तारै सेलाउँदै जान्छ । फेवातालको छेउमा हल्का बतास चल्छ, पानीको सतहमा क्षीण छालहरू उठ्छन् । टाढा हिमालहरू अब आकाशमै हराएका छन् । सराङकोट र शान्तिस्तुपाका पहाडहरू पनि मानौं प्रकृतिले आफ्नो चित्रकला त्यहीं समाप्त गर्दैछ । त्यहाँ ताराजस्तै चम्किला केही मृदु किरणहरूले मात्र स्थानको अनुमान पहिचान गराउँछ । अन्यथा फेवातालको मौन सौन्दर्यको आस्वादनबाहेक अब अरू देख्नु र हेर्नु बाँकी थिएन ।
तालबाराही मन्दिरमा बज्ने घण्टीको आवाजले पनि यतिबेला विश्राम लिइसकेको थियो । पूजापाठको आध्यात्मिक कर्म पनि थिएन । यस्तो निस्तब्ध वातावरण कि चूपचाप प्रकृतिमा डुब्न पाहुना–पर्यटकहरू लेकसाइड हुँदै फेवातालको मौन सौन्दर्यमा टोलाइरहेका थिए । डुङ्गाहरू लहरै किनारामा बाँधिएका थिए । चोकहरूमा बत्तीहरू बल्न थालिसकेका र रेस्टुरेन्टहरूमा गितारका धुनहरू गुञ्जिन थालिसकेका थिए । विश्वभरका पर्यटकहरू पोखराको मायामा हराइरहेका देखिन्थे । कतिले आकाशे छानोमुनि बसेर मदिराको चुस्की लिंदै, कतिले बाटोमा हिंड्दै हिमालको सुन्दरता खोजिरहेका थिए । कतिले पहाडका गोरेटा नियाल्दै थिए । कोही भने सराङकोटबाट प्याराग्लाइडिङ गरेको दृश्य देख्न खोजिरहेथे । तर यी दृश्य सबै रातको शून्यतामा हराइसकेका थिए ।
फेवाताल किनारमा अवस्थित लेकसाइडका क्याफेहरूका कुर्सी भरिभराउ थिए । टेबुलमा खानाका अनेकथरि परिकारको थाकसँगै ठोस र पेय पदार्थको पनि कमी थिएन । गीत गाउने र सुन्नेहरूको उस्तै भीड देखिन्थ्यो । बिस्तारै लहराइरहेको ताल र वरिपरिका पहाड ! यिनैसँगको साक्षात्कारमा हराइरहेका हामी ।
साँझ गहिरिंदै गइरहेको थियो । रात छिप्पिने तरखरमा पुगिसकेको थियो । रातका रङहरू बिलाउँदै जाँदै थिए । पोखराले आफ्नै सुन्दर सपना देख्न थालिसकेको थियो ।
साँझको पोखरा, एउटा जिउँदो कविता ! फेवातालको मौन सौन्दर्य अर्को काव्यिक पलहरूका स्वप्निल विम्ब !




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










