जुलाई १ देखि ४ सम्म अफ्रिकाको भूमिमा केही समय बिताउने अवसर जीवनमा पहिलो पटक प्राप्त भयो । यो कुनै पूर्व योजनाअनुसार तय गरिएको यात्रा भने थिएन—एकदमै अप्रत्याशित रूपमा आएको मौका थियो, तर साँच्चिकै रोमाञ्चक र स्मरणीय बन्यो ।

बीस वर्ष पुगिसकेकी कान्छी छोरीले आफ्ना दुई साथीहरूसँग विदेश भ्रमण गर्ने योजना बनाएकी थिइन् । हामीले सहजै ‘हुन्छ’ भन्यौं । शुरूमा युरोपको कुनै देश जाने सोच थियो, पछि योजना बदलिएर मोरक्कोको मराकेश जान तय भयो । तर, साथीमध्ये एककी आमाले छोरीहरू मात्र अफ्रिका नपठाउने अडान राखिन् । उनले यदि कुरा नमानेमा विश्वविद्यालयबाट पाइने सहयोगका लागि निवेदनमा हस्ताक्षर नगर्ने चेतावनी दिइन् । यसले गर्दा अब तीनैजना नजाने वा तीमध्ये एक जना छुटाएर दुई जना मात्रै जाने स्थिति आयो ।

हाम्रो सल्लाह अनुसार मेरी श्रीमती मीनु उनीहरूका साथ जान तयार भइन् । छोरीले हामीसँग सोधिन्—‘ममी जानुहुन्छ भने पठाउँछु त?’ हामीले सहजै ‘हुन्छ’ भन्यौं । त्यसपछि मेरो जिम्मेवारी मीनुका लागि छोरीहरूसँगै हवाई टिकट र होटलको व्यवस्था मिलाउने बन्यो । टिकट काट्ने बेलामा मलाई पनि जाने रहर लाग्यो । म पनि फुर्सदमा नै थिएँ, त्यसैले आफ्ना लागि पनि टिकट काटें । यसबीच दुई हप्ताको लागि नेपाल जाँदै आएँ ।

हामी मोरक्कोको एक प्रमुख पर्यटकीय गन्तव्य मराकेश बेलुका करीब सात बजेतिर पुग्यौं । लन्डन ग्याटविक विमानस्थलबाट साढे तीन घण्टाको उडानपछि मराकेश पुगिन्छ । जहाज पूर्ण रूपमा भरिएको थियो । अघिल्लो वर्ष छोरी र ज्वाइँ मराकेश पुगेका बेला सम्पर्क भएको एक टुर गाइड विमानस्थलमै स्वागत गर्न आउँदा यात्रा सुरु गर्न सहज भयो ।

मोरोक्कोको मोलमोलाइ असाध्यै फरकफरक हुने भएकाले सबैलाई सचेत रहनु भनेर जानकारी दिइने रहेछ । कुनै निश्चित मूल्य नभएकाले मेनुमा बाहेक अन्यत्र जतिसुकै भन्दिन्थे । अन्यत्रभन्दा सस्तो मूल्य भएकाले मोलमोलाइ गर्न नजान्नेहरूबाट राम्रो कमाइ गर्ने चलन रहेछ । हामीलाई आफ्नै पुरानो बानी सम्झना भएर अलि सजिलो भयो । तर त्यहाँका मानिसको आतिथ्य, घुलमिल हुने र सहयोग गर्ने बानीका कारण हाम्रो ‘टिप्स’मा भने राम्रै खर्च भयो । बाटोमा मागिरहेका अशक्तहरू, बाटो देखाइदिनेहरू, टुरमा घुमाइदिने गाइडहरूलाई हातमा केही राखिदिन मन लाग्ने नै भयो ।

बेलायतमा २५ डिग्री तापक्रम पुग्दा गारो हुनेहरूलाई मोरोक्कोमा ४८ डिग्री तापले स्वागत गर्दा उसिनिएको जस्तो भयो । केही हप्ता पछाडि त अझै ५५  सम्म पनि पुग्छ रे । जहाजबाट तल हेर्दा यस्तो मरुभूमिमा मान्छेहरू कसरी बाँचेका होलान् ? भनेर अड्कल काटियो । विशाल उजाड फाँटहरूका बीच एक–दुई बस्तीहरू, हरियाली कतै देखिएन । जसै मराकेश देखिन थाल्यो, घना बस्तीबीच केही रूखहरू पनि देखिए । हामी मुख्य शहरभन्दा थोरै परको होटलमा बसेका थियौँ । हिँडेर मुख्य चोकमा पुग्न करीब पन्ध्र मिनेट जति लाग्थ्यो । त्यहाँको विशेषता चाहिं प्रायः होटल साना भए पनि पतंगिनी जस्तै र त्यहाँ सानो स्विमिङ पुल हुने रहेछ । माथि छतमा ब्रेकफास्ट खुवाउने व्यवस्था थियो । हेर्दा पनि अति मनमोहक खालको वातावरण । नुहाएर केही बेर आराम गरेपछि बेलुकीको खाना खान होटलकै मेनेजरले पुर्‍याइदिए । मैले गुगल गर्दा पनि त्यही रेष्टुराँ सबैभन्दा चल्ने जस्तो देखिन्थ्यो । दश बज्न लागिसकेको थियो अबेला हुने त होइन ? भन्ने मेरो प्रश्नको जवाफ अचम्मको थियो। त्यहाँ त बिहान ३ बजेसम्म बजार सबै खुला ! चिया नास्ताका लागि फेरि बिहान ६ बजेदेखि शुरू हुने । तीन सिफ्टमा काम हुने भएकाले सबै तयारी गर्नुपर्ने, चौबीसै घण्टा व्यस्त हुने रहेछ ।

केही समय अघि एन्डोरा जाँदा एउटा तरकारी पसलमा अचम्मको दृश्य देखेको थिएँ — हरिया सागसब्जीलाई दुरुस्त राख्न पाइपबाट पानीको बाफ समय समयमा स्वचालित रूपमा छरिइरहने । हामी खाना खान गएको रेस्टुराँमा बाहिर नै बसेको केही मिनेटमै पानीको ओसिलो बाफले पूरा शरीर चिस्याइदियो । प्रायः जसो गर्मी हुने भएकाले पङ्खाबाट समेत पानीको मसिनो फोहोराहरू चलाउने चलन रहेछ । प्रायः जसो चल्ने रेस्टुराँहरूमा यस प्रकारको व्यवस्था गरिएको रहेछ ।

खाना खाएपछि होटल जानुपर्ला भन्ठानेको त मुख्य चोकमा विभिन्न प्रकारका क्रियाकलापहरू हुने भएकाले त्यहाँ जाने सुझाव आयो । खाना खाएपछि एकछिन घुम्न पाउनु पनि राम्रो लाग्यो । अलिकति हिँडेको त हाम्रो पहिलाको रत्नपार्कतिर साँझको समय जस्तै — जताततै सामानहरू बिक्री गर्न ठूलो स्वरमा भाउ भनेर आकर्षित गरेको देखियो । सडकभरि पसल, भीडभाड । कति धेरै पर्यटकहरू आएका होलान् भन्ने लाग्यो । तर वास्तविकता के रहेछ भने घरका केही लोग्ने मान्छेहरू मात्रै काममा जाने, गर्मी हुने भएकाले सबै जना दिनभरि घरमै बस्ने रहेछन् । बेलुकी अलि शीतल भएपछि घरका सबै जना नजिकको पार्कमा गएर खाना खाने, गफगाफ गर्ने, गाना बजाउने, नाच्ने, बच्चाहरू खेलाउने अनि राति अबेलासम्म बस्ने, किनमेल गरेर घर फर्किने रहेछन् हाम्रो गाउँघरमा बेला बखत हुने जात्रा जस्तो यहाँ भने दैनिक रूपमा हुने रहेछ । घर फर्केर पनि आआफ्नो टोलमा जम्मा हुने । हामी बसेको गल्लीमा ३/४ वर्षका बच्चाहरू समेत बिहान १-२ बजे सम्म खेलिरहेको सुनिन्थ्यो ।

समय अलि छोटो भएको कारण हामीले त्यति धेरै ठाउँ हेर्न सकेनौँ तर जति ठाउँमा पुगियो त्यहाँ भने भरपूर रमाइलो भयो । त्यहाँ पुगेको अर्को दिन दिउँसो चार बजेदेखि ११ बजेसम्म दुई साना गाउँहरू हेर्ने, मरुभूमिमा ऊँट चढ्ने, चारपाङ्ग्रे क्वाड बाइक कुदाउने अनि बेलुकी स्थानीय खाना खाएपछि नाचगान र विशेष गरी आगोसँगको नाच साँच्चिकै रमाइलो थियो ।

सन् २०२३ को भूकम्पले गाउँका कच्ची घरहरू सबै भत्केको कारण सरकारी सहयोगमा नयाँ पक्की घरहरू अझै बनिरहेका छन् । हरियाली त्यति नदेखिने कारण रातो छारो उडेका गाउँ बस्तीहरूमा हिँड्दा पनि स्थानीय रहनसहनले हाम्रा गाउँघरहरू सम्झाउने गर्दछ । गजबको कुरा के हो भने जहाँ हामीलाई बेलाबेलामा रोक्ने गर्दथे, त्यहाँका स्थानीय उत्पादनलाई महिलाहरूको समूहले प्रत्यक्ष रूपमा देखाउने गर्दारहेछन् । ऊनबाट बनाइने गलैँचा तथा कपडाहरू, अर्गन फलको तेल बनाउने प्रक्रिया शुरूदेखि अन्त्यसम्म देखाइने रहेछ । एक ठाउँमा त गाउँभरिका ४५ जना महिला बिहानदेखि बेलुकीसम्म एउटै ठाउँमा जम्मा भएर विभिन्न प्रकारका उत्पादन बेचबिखन गर्दै रहेछन् ।

अर्को रमाइलो पक्ष भनेको त्यहाँको चिया संस्कृति हो । जहाँ पुगे पनि स्थानीय चियाद्वारा स्वागत गरिने रहेछ ।

मोरक्कोको चिया संस्कृति संसारकै अनौठो र गहिरो संस्कृति मध्ये पर्छ । यहाँ चिया केवल पिउने बस्तु होइन, यो आतिथ्य, आदर र आत्मीयताको प्रतीक हो । मोरक्कोमा प्रायः चिनियाँ गनपाउडर हरियो चियामा प्रशस्त पुदिना र धेरै चिनी मिसाएर बनाइने चिया ‘अताय’ सबैभन्दा प्रसिद्ध छ । बनाउने शैली फरक छ । विशेष धातुको भाँडा ‘बेर्राद’ मा पकाएर साना सुन्दर गिलासमा राखिन्छन् र नेवारी अन्टीबाट रक्सी खनाए जस्तो सके जति माथि टाढाबाट खन्याइन्छ, जसले गर्दा फिंज आउने र यसले बनाउने व्यक्तिको सीप पनि देखाउँछ । पाहुनालाई यहाँ नेपालमा नेवारी संस्कार अनुसार रक्सी सगुन दिए जस्तो तीन चोटि चिया थप्ने चलन रहेछ । जसको मतलब पहिलो जीवन जस्तै कोमल, दोस्रो प्रेम जस्तै गाढा र तेस्रो मृत्यु जस्तै तीतो भन्ने भनाइ रहेछ ।

मोरक्केलीहरू दिनभर पटक–पटक घर, बजार, क्याफेमा वा साथीभाइसँग चिया पिउँछन् । चियाले मानिसलाई जोड्छ र संवादलाई लामो बनाउँछ । १९ औँ शताब्दीमा युरोपसँगको व्यापारमार्फत चिया मोरक्को पुगेको भए पनि अहिले यो यति गहिरो संस्कृतिमा बसिसकेको छ कि यसलाई ‘मोरक्केली ह्विस्की’ भनेर मजाकमा पनि भन्ने गरिन्छ । यस भनाइलाई स्थानीय महिला पर्यटकले प्रमाणित गरेकी थिइन् । उनी भन्छिन्, “चिया बिना ज्युन नै नसक्ने बिहान उठेदेखि नसुतेसम्म पिएन भने टाउको दुख्ने अल्छी लाग्ने गर्छ ।”

अर्गन तेल मोरक्कोको एक विशेष र बहुमूल्य प्राकृतिक सम्पदा हो । मोरक्कोको दक्षिण पश्चिम भाग माराकाश नजिकै  पाइने अर्गन रूखका बियाँबाट यो तेल निकालिन्छ । अर्गन तेल पोषण, सौन्दर्य र औषधीय गुणका कारण प्रसिद्ध छ । यसलाई छाला, कपाल र खानामा प्रयोग गरिन्छ । मोरक्केली महिलाहरू परम्परागत रूपमा जाँतोमा हातैले अर्गन तेल निकाल्छन्, जसले धेरै ग्रामीण समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउँछ । आज अर्गन तेललाई ‘लिक्विड गोल्ड’ पनि भनिन्छ र यो मोरक्कोको संस्कृति, परम्परा र निर्यातको महत्त्वपूर्ण हिस्सा बनेको छ ।

त्यस्तै मोरक्कोको संस्कृतिमा रोटीको भूमिका निकै महत्त्वपूर्ण छ । यहाँ रोटीलाई ‘खुब्ज’ भनिन्छ र प्रायः गोलाकार, बाक्लो र तन्दुर वा ओभनमा पकाइने गरिन्छ । बिहानदेखि रातिसम्मको खानामा रोटी अनिवार्य जस्तै हुन्छ र पाहुना सत्कारमा पनि यसको ठूलो भूमिका हुन्छ । रोटीहरू जस्तै म्सेमेन, बघीर, हर्शा आदिले चिया नास्तालाई अझ स्वादिलो बनाउँछन् । गाउँघरमा अझै पुराना सामूहिक चुह्लोहरूमा महिलाहरूले सँगै रोटी पकाउने परम्परा जीवितै छ, जसले सामूहिकता र सद्भाव बढाउँछ । केही रेस्टुरेन्टहरूमा टेबलमा अन्यत्र काँटा चम्चा प्लेट सजाए जस्तो यहाँ त रोटी नै राखिएको देख्दा अचम्म नै लाग्यो ।

मोरक्कोमा रोटीलाई अल्लाहको आशीर्वाद मानिने हुँदा फोहोरमा नफाल्ने र बाँकी रोटीलाई पशुपन्छीलाई दिने चलन छ । पुदिना चियासँग म्सेमेन वा बघीर खाने परम्परा मोरक्केली आतिथ्य संस्कृतिको प्रतीक बनेको छ । यसरी हेर्दा मोरक्कोमा रोटी केवल पेट भर्ने साधन होइन, परिवार, धर्म र सांस्कृतिक एकताको चिह्न पनि हो ।

मोरक्कोको ऐतिहासिक शहर म्याराकेश संसारभर आफ्नो पुराना बजार (सुक), साँघुरा गल्ली, दरबारहरू र रङ्गीन संस्कृतिका लागि चर्चित छ । तर यो शहरको अर्को विशेषता भनेको यहाँका स्वतन्त्र रूपमा घुम्ने हजारौँ बिरालाहरू हुन्, जसले म्याराकेशलाई अझै आकर्षक र आत्मीय बनाइदिन्छन् ।

इस्लाम धर्ममा बिरालोलाई सफा र सम्मान गर्नुपर्ने जनावर मानिन्छ र पैगम्बर मोहम्मदले बिरालोलाई अति नै माया गर्ने मान्यता छ ।  त्यसैले म्याराकेशमा बिरालोलाई सडकका जनावरको रूपमा होइन, समुदायका साथीको रूपमा हेर्ने गरिन्छ । पसलेहरू, घरधनीहरू र पर्यटकहरूले पनि बिरालाहरूलाई खानेकुरा दिने गर्छन् । बजार, गल्ली र आँगन आदि ठाउँ उनीहरूका लागि सुरक्षित बासस्थान हुन् र मुसा नियन्त्रण गर्ने प्राकृतिक उपाय पनि यही बिराला हुन् ।

म्याराकेश प्रवेश गर्ने बित्तिकै एयर पोर्टको टर्मिनलदेखि शहर घुम्दा कुनै पनि पसलमा सुतिरहेको, गल्लीको कुनामा घाम तापिरहेको वा बच्चासँग खेलिरहेको बिराला सजिलै देख्न सकिन्छ । त्यति मात्र हैन खाना खाइरहँदा रेस्टुरेन्टको टेबल वरिपरि समेत झुम्मिने गर्दछन् । छोरीहरू बिराला मैत्री भएका कारण उनीहरूको काम नै जहाँ पनि बिरालो सुमसुम्याउने, बोक्ने, खाना खुवाउने अनि फोटो खिच्ने भयो । यहाँका मानिसहरू जस्तै बिरालाहरू पनि प्राय पातला अनि छरितो प्रकारका हुँदा रहेछन् भनेर हामीले धेरै पटक कुरा पनि गर्यौं ।

मोरक्को अफ्रिकाको फुटबल क्षेत्रका सफल र चर्चित राष्ट्रहरूमध्ये एक हो । विशेषतः सन् २०२२ को फीफा विश्वकपमा राष्ट्रिय टिमले सेमिफाइनलसम्म पुगेर इतिहास रच्न सफल भएपछि मोरक्कोको फुटबल लोकप्रियता र विकासको नयाँ चरणमा प्रवेश गरेको छ । अफ्रिकाबाट विश्वकप सेमिफाइनलसम्म पुग्ने यो पहिलो देश हो ।

मोरक्कोको शीर्ष घरेलु लिग बोटोला प्रो मा वायडाद कासाब्लांका र राजा कासाब्लांका जस्ता प्रमुख क्लबहरूले महादेशीय प्रतियोगितामा सशक्त उपस्थिति जनाइरहेका छन् । युवा खेलाडी विकासमा मोहम्मद छैठौं फुटबल एकेडेमी लगायतका संस्थाहरूले उल्लेखनीय योगदान दिएका छन् । साथै, प्रशिक्षक स्तर उकास्ने काम र आधुनिक रङ्गशालाहरूको निर्माण पनि तीव्र रूपमा अघि बढिरहेको छ ।

आगामी पाँच वर्षको योजनाअनुसार मोरक्कोले युवा फुटबलको विस्तार, महिला फुटबलको प्रवर्द्धन, पूर्वाधार सुधार, घरेलु लिगलाई अझ प्रतिस्पर्धात्मक बनाउने र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिने लक्ष्य राखेको छ ।

सन् २०२५ मा अफ्रिका कप अफ नेशन्सको सह-आयोजनपछि अब मोरक्कोले सन् २०३० को विश्वकप तयारीमा ध्यान केन्द्रित गरेको छ। यस पटकको विश्वकप इतिहासमै पहिलो पटक तीन महादेश र छ देशमा आयोजना हुँदैछ। स्पेन, पोर्चुगल र मोरक्को यसका मुख्य आयोजक हुन् भने उरुग्वे, अर्जेन्टिना र प्याराग्वेले एक–एक खेल आयोजना गर्नेछन् । यसको उद्देश्य सन् १९३० मा पहिलो विश्वकप आयोजित उरुग्वेको सम्झनामा विश्वकपको शतवार्षिकी मनाउनु हो ।

यो आयोजनाको तयारीसँगै मोरक्कोमा भइरहेको भौतिक संरचना निर्माणका कामहरू सम्पन्न भएपछि, त्यो देशको चौतर्फी विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।

मोरोक्कोको म्याराकेश एक जीवन्त सहर हो, जहाँ हस्तकला र स्थानीय उत्पादनहरू शताब्दीयौँ पुरानो सांस्कृतिक सम्पदा र प्राकृतिक समृद्धिको ऐना जस्तै देखिन्छन् । यहाँ हातले बुनेका बर्बर कार्पेटहरू (जस्तै बेनी उराइन, अजिलाल, बुचेरुइट, किलिम) प्रसिद्ध छन्, जुन ऊन, प्राकृतिक रङ तथा कहिलेकाहीँ पुनःप्रयोग गरिएका कपडाबाट बनाइन्छन् । यस्तै, हाण्डीरा (ओढ्ने), क्याक्टस-सिल्क स्कार्फ, स्थानीय रूपमा बुनेका ड्जेल्लाबा र कफ्तानजस्ता पहिरनहरू पनि अत्यन्त लोकप्रिय छन् ।

यहाँ छालाबाट बनेका बबुश (चप्पल), झोला, पेटी, ज्याकेट र पाउफहरू उच्च गुणस्तरका र टिकाउ हुन्छन् । साथै, रङ्गीचङ्गी जिल्लिज टायल, हातले रंगाइएका टजिन भाँडाहरू, परम्परागत ढाँचामा सजाइएका थाल, चियाका केतलीहरू, पितल वा फलामका ल्याटर्न र लेम्पहरू यहाँका विशेषता हुन् । बजारभरि पाइने रस एल हनुत मसला, केसर, जीरा, बेसार, अचार लगायत सामग्रीहरूले यहाँको पाक संस्कृतिलाई झल्काउँछन् ।

प्राकृतिक अर्गन, सुन्तला फूल, गुलाफ तेल र जडीबुटी मिसाइएका साबुन, स्नान तेल र सुगन्धित पानीहरू पनि पर्यटकहरूका लागि आकर्षणका विषय हुन् । मोरोक्काली चियाको परम्परालाई दर्शाउने सिल्भर वा पितलका मिन्ट चिया सेटहरू, साना गिलास, सुगर कोन र ट्रेहरूले यहाँको सांस्कृतिक सौन्दर्य उजागर गर्छन् ।

बर्बर टोकरा, छालाले सजिएका स्ट्र टोट झोला र रङ्गीचङ्गी धागाले सिँगारिएका भण्डारण सामग्रीहरू बजारमा निकै लोकप्रिय छन् । यस्तै, काठका बाकस, ऐनाका फ्रेम, काठका चम्चा र साना फर्निचरहरू यहाँको हस्तकलाको अर्को उदाहरण हुन्, जसमा टिकाउपना र सुगन्ध विशेषता मानिन्छ ।

म्याराकेशमा सन् १९१० मा स्थापना भएको बाचा कफी ब्रान्डले २०० भन्दा बढी अरेबिका कफीका प्रकार र ब्लेन्डहरू उपलब्ध गराउँछ ।

चाँदीका गहना र चाँदीका वस्तुहरू पनि यहाँको विशेषता हुन् । तर यहाँको चाँदी नेपालको तुलनामा झन्डै दोब्बर महँगो पर्ने हुँदा, अहिले केही होलसेल व्यापारीहरू नेपाल पुगेर त्यहीँबाट चाँदी र अन्य सामग्री ल्याउने गरेका छन् भन्ने सुनियो ।

हामीलाई धेरैले ‘कोलोम्बियन हो ?’ भनेर अड्कल काट्थे । ‘हैन’ भन्दा पेरु, ब्राजिल, मेक्सिको, फिलिपिन्स हुँदै पाकिस्तानसम्मको नाम आउँथ्यो । नेपाली भन्ने बित्तिकै धेरैलाई नचिनिए पनि ‘सगरमाथा’ भनिएको सुनेपछि ‘अँ ! त्यहाँ !’ भन्ने प्रतिक्रिया दिने रहेछन् । एक जना स्थानीयले त चाँदीको व्यवसायमा काम गरेकाले नेपालबारे थोरै सुनाएका थिए ।

यूरोपसँग भौगोलिक दूरी कम भए पनि अफ्रिकाको अनुभूति लिन मोरोक्को उपयुक्त गन्तव्य हो । तर मौसमको ख्याल राख्नुपर्ने रहेछ । गर्मीको मौसममा लामो बिदा हुने भएकाले धेरै पर्यटक यही बेला जान्छन्, तर जाडोको मौसममा यात्रा गर्न सकियो भने घुम्न सजिलो हुने र मौसमको मिठास पनि थप अनुभूत हुने गर्छ ।

अन्यत्र हराउँदै गएका पारिवारिक र सामाजिक सम्बन्ध यहाँ अझै पनि जीवन्त देखिन्छन् । आधुनिकताको दौडमा दौडिरहेका हामीलाई मराकेशले थोरै समयका लागि भए पनि रोकिएर जीवनलाई फेरि हेर्ने अवसर दिएको जस्तो लाग्यो ।