देश बनाउन हिँडेका सासंदहरू
संसद्मा निद्रा पुर्‍याइरहेका भेटिन्छन्
एकजुट बनाउन देशलाई, पद लिएकाहरू
आफूलाई ऐनामा व्यक्ति मात्र देख्दछन्

भट्टीमा कविता सुनाइरहेको कविझैँ
कोही एकोहोरो बोलीरहन्छ रोस्टमबाट
शिर गाडेर मोबाइलको स्क्रिनमा कोही
देशभन्दा महत्त्वपूर्ण कुरा खोजिरहन्छ

गम्भीरता कहाँ छ ?
आँशू कहिल्यै छल्किनन् आँखाबाट
लाजले थिचिँदा पनि त्यहाँ
बोली किन कसैको काप्दैनन् ?

कुनै साधारण कार्यक्रम जस्तो
साथीभाइ मिलेर पिकनिक गए जस्तो
खै कस्तो कस्तो
मन्टेस्वरी स्कूलको कक्षा जस्तो
कोलाहल मात्र छ, गनगन मात्र छ

यो सब हेरेर अब अघाएको छ
रोस्टम छेउ खडा, देशको झण्डा

गोडा भएको भए
चुपचाप कुनै रात
कसैलाई थाहै नदिई
भागिदिन्थ्यो होला ऊ

संसद्मा लाज भएको
आखिर उही मात्र त छ ।