बागडोगोरा विमानस्थलमा पुग्दा पूर्वान्हको साढे नौ बजेको थियो । प्रस्थान कक्षको द्वारमा गरिने सुरक्षा जाँच सकेर म ईन्डिगो विमान सेवाको सूचना पाटी खोज्न थालेँ । अगाडि-पछाडि र दायाँ-बायाँ सबैतिर बाक्लो भीड थियो । मैले नजर घुमाएको देखेर एक सहयोगीले ध्यानाकर्षण गर्दै अङ्ग्रेजीमा सोधे, “मे आई हेल्प यु ?”

नेपालका सार्वजनिक सेवा दिने कतिपय कार्यालयको प्रवेश द्वारमा सुरक्षाकर्मी राखिएको हुन्छ । यस्ता कतिपय ठाउँमा मैले सेवाग्राहीलाई माथि उल्लेख गरिएको कर्णप्रिय सम्बोधनको सट्टा अर्कैथोक सुन्ने गरेको छु – “केका लागि?”

सुरक्षाकर्मीको स्वर ठाडो र कर्कश हुने नै भयो । सुनाउनेको हाउभाउ हेर्दा कहिलेकहीँ त यो प्रश्नको आशय – “किन मुन्टिनु परेको होला ?” भनेसम्मको हो कि भन्ने लाग्छ ।

सेवाभावको यो रुखो प्रश्न मलाई जस्तै अरुलाई पनि मन पर्दैन होला तर के गर्ने, आफूलाई जे मन पर्छ त्यो अरुले गर्दैनन् । सेवा प्रवेश गर्ने नयाँ कर्मचारीलाई पुरानाले सिकाउँदैनन् अथवा व्यवस्थापकले वा कार्यकारीले यस्तो चुरो कुरोको मर्म बुझेर सो अनुसारको संयन्त्र बनाउँदैनन् ।

ती युवा सहयोगीले भने मैले खोजेको सहायता गरे । जता हेर्‍यो त्यतै मान्छे । त्यो हुलमा भारी बिसाउने र बस्ने ठाउँ पाउन पनि सकस नै भयो ।

हिजो काठमान्डौँ-भद्रपुरको उडानमा पनि भाषिक कल्याङमल्याङ्को यस्तै विषयको एक प्रसङ्ग सिर्जना भयो । मैले आफूलाई विमानबाट ओर्लने अन्तिम यात्रु बनाएँ । एक हवाई सुन्दरीको ध्यानाकर्षण गर्दै भने –  “लोड ब्यालेन्सलाई तपाईँले नेपालीमा के भन्नु भयो रे ?”

उनले मेरो प्रश्न नै नबुझेको जस्तो गरिन् । म अर्थ्याउँदै निकासद्वारतिर बढेँ । त्यहाँ अर्की हवाई सुन्दरी बिदाई अभिवादन गर्दै थिइन् । मैले उनलाई पनि सुनाएँ, “लोड ब्यालेन्सलाई नेपालीमा भार सन्तुलन भने हुन्छ नि !“

तिनले त झन मुख अमिलो बनाइन् र भनिन्, “म विचार गर्नेछु ।”

नेपालको शिक्षाले सही दिशानिर्देश गर्न नसकी उत्पन्न भएको विपरितधर्मी संस्कार हो यो । मुर्धन्य लेखक धनुषचन्द्र गोतामेको भनाइलाई थोरै परिवर्तन गरी उल्लेख गर्न मन लाग्यो – “भै-परिआएको परिस्थितिलाई अस्वीकार गर्ने र त्यसमा अन्तर्निहित ज्ञान वा बुद्धिको फुर्को समात्न जमर्को नगर्ने ।”

म बसेको ठाउँमा केही नेपाली युवाहरू आइपुगे । उनीहरूको गन्तव्य रहेछ- खाडी मुलुक । नेपालबाट सिधै जाने टिकट महँगो भएकाले सस्तो टिकट लिएर नयाँ दिल्ली जान लागेका रहेछन् । म उनीहरूलाई सुटकेशको गोठालो लगाएर शौचालय खोज्न निस्किएँ ।

मेरा अनन्य मित्र सूर्यमान शाक्यको स्मरण भयो । उनले भारतमा यात्रा गर्दा सही सूचना कसरी प्राप्त गर्ने भनेर एक बाङ्गो तरिका बताएका थिए ।

मानौँ तपाईँ नयाँ दिल्ली विमानस्थलमा हुनुहुन्छ र काठमान्डौं जाने उडानको सूचना चाहिएको छ । तपाईँ “अनुमति विना प्रवेश निषेध” भनिएको ठाउँतिर जानुहोस् । तपाईँ निषेधित क्षेत्रतिर जान लागेको देखेर कोही तपाईँतिर पक्कै आउनेछ । उसले तपाईँलाई यसरी सोध्ने  छ ।

“कहाँ जान लागेको तपाईँ ?”

“नेपाल जान लागेको ।”

“नेपाल जाने गेट कहाँ त्यता हो त ?”

“कता हो त ?”

“उः त्यता हो ।”

अब तपाईँ उसलाई धन्यवाद दिएर उसले देखाएतिर जानोस् ।

मेरो हकमा पनि त्यस्तै भयो । पर शौचालय देखियो । म त्यतै लागेँ । एक जना सुरक्षाकर्मीले रोके ।

“आई वुड लाइक टु युज ट्वाइलेट ।”

यसो हेरेँ, उनको नाम भएको ब्याजमा नेपाली थर पो छ । खुदो पल्टियो ।

“लौ ! तपाईँ त नेपाली नै हुनुहुँदो रहेछ ।”

उनी मुस्कुराए ।

“यो त आगमन कक्ष हो, त्यता जान मिल्दैन ।”

“उसो भए जान मिल्ने शौचालय कता छ त ?”

“उः त्यता छ ।”

म दङ्ग परेँ ।

समय प्रशस्त थियो । मेरो हातमा भएको मुकुन्द अर्याल लिखित “जिवाको चौतारी” पुस्तक पढेर बसेँ । नेपालीमा बोलेको सुन्यो कि मेरो एकाग्रता बिथोलिन्थ्यो । पुलुक्क त्यता हेर्थेँ । केहीसँग कुराकानी पनि गरेँ । कोही दार्जिलिङ्तिरका, कोही झापातिरका ।

मेरो सीट हिँडडुल गर्ने बाटोसँगै परेछ । अनि गजबको संयोग परेछ । म मेरो देब्रेतिर एक नेपाली नानी परिछन् । झ्यालको सीटतिर अर्को अधबैंसे नेपाली नै मूलको पुरुष ।

हामीभन्दा अगाडिको दायाँतिर तीन जना नै नेपाली । बायाँतिर भने दुई नेपाली । जब यो वास्तविकता सतहमा आयो । भीडतन्त्रको मनोविज्ञान प्रस्फुटन भयो ।

“नेपाली नै त हुन नि के फरक पर्छ र !”

अगाडिका एक सज्जनले मोलुवा सुर्ती निकालेछन् । दाहिनेतिर बस्नेले मागे । उनले सुर्तीमा चुना लगाएर मोलेको पछाडिबाट स्पष्ट देखियो ।

उता हवाई सुन्दरीले जानकारी फुकिन्, “यो उडानमा ध्रुमपान या अन्य सुर्तीजन्य पदार्थको सेवन गर्न मनाही छ ।”

नेपालीहरूले नेपालीको मानप्रतिष्ठाको कद घटाउँदा कसलाई रमाइलो लाग्छ र ! मैले ध्यान विकर्षण गरेँ । “जिवाको चौतारी”का पाना पल्टाउन लागेँ ।

खैनी महाशयको अर्को गतिविधिले पनि मेरो ध्यानाकर्षण गर्‍यो । उनले मोबाइल फोन अगाडिको सीटको पछाडिको भागको पत्रिका राख्ने खल्तीमा अड्याएर राखेका थिए । केहीबेर एक बालिका, शायद उनकै छोरी थिइन्, सँग कुरा गरे । त्यसपछि मोबाइलको स्क्रिनमा उनकी श्रीमती आइन् । उनले श्रीमतीलाई कुनै ईशारा गरे । प्रियतमाले प्रियतमलाई मोबाइल चुम्बन दिइन् ।

महाशायको दाहिनेतिर एक युवती बसेकी थिइन् । मायापिरतीको त्यो दृष्यले मलाई नै अप्ठेरो लाग्यो । शायद ती युवती र उनका दाहिनेतिर बसेको युवकलाई पनि केही असजिलो लाग्यो होला । मेरा देब्रेतिर बसेकी युवती र अधबैंसे युवक दुवै सारजाहँ जान लागेका रहेछन् ।

“म त अब पुग्यो भनेर बसेको, कम्पनीले आउनै पर्छ भनेर कर गरेकाले जान लागेको ।”, गुड्खा चबाउँदै युवकले भने ।

“गुड्खा झोलामा राखेको छ, यहाँसम्म त केही गरेन । उता फाल्दिने हो कि चिन्ता छ ।”, उनले आफ्नो भेद पनि खोले ।

युवती भने ब्युटीपार्लरमा काम गर्दिरहिछन् । उनी अलि बैचेन भएर बसेकी थिइन् । सोधेको प्रश्नको उत्तर दिन्थिन् । आफू अघि सरेर केही सोधिनन् ।

केही दिनअघि मैले खानेपानी र सरसफाई पेशाधर्मी चिरन्जीवी भट्टराईलाई भेटेँ । वहाँलाई केही समय अघिदेखि चिन्थें तर वहाँको व्यक्तित्वभित्र लुकेकी सरस्वतीको सानिध्यता पाएको थिइन् । उहाँले मलाई “सात मिनेटको नियम”का बारेमा बताउनुभयो । यो नियमको सिधा अर्थ यस्तो लाग्दो रहेछ – कुनै अपरिचित व्यक्तिसँग गरिएको पहिलो ७ मिनटको कुराकानीले त्यो मान्छेको व्यक्तित्व र आचरणका बारेमा धारणा बनाउन सकिन्छ ।

चमत्कार नै भयो । मैले चिरन्जीवीजीका बारेमा धारणा बनाउनलाई ७ मिनेट पनि लागेन । मेरो उमेर समूहका समकालीन साथीभाइमा उनी जत्तिको गहन अध्ययन गर्ने बानी भएको अरु शायदै होलान् ।

गुड्का सेवन गर्ने दाहिनेतिरका महाशाय र अघिल्तिरका खैनी महाशायका बारेमा उनीहरूको आचरणले नै धेरै कुरा बतायो । ७ मिनटको कुराकानी नै आवश्यक भएन ।

देब्रेतिरकी मैयाँको पनि एउटा हर्कतले भने मलाई हैरान बनायो । जहाजमा दुई सिटलाई छुट्याउने एउटा “हात राख्ने आसनी” राखिएको हुन्छ । बीचमा बस्ने यात्रीले दुवैतिरका आसनीलाई तल झार्यो भने त्यहाँ यात्रु बस्ने व्यक्तिगत स्थान निर्धारण हुन्छ । आफूलाई दुई आसनीको बीचमा अलिकति सावधानीपूर्वक राख्यो भने दुईतिरका सहयात्रीलाई नछोइकन बस्न सकिन्छ । तर यसको विपरित ती मैयाँ घरिघरि मेरो जीउमा अस्वभाविक रुपमा टाँसिन्थिन् । शायद अरुलाई नछोई बस्नु पर्छ भन्ने चेत उनीसँग थिएन ।

अरपरिचित व्यक्तिलाई छुनुहुन्न भन्ने चेतना मैले आजभन्दा ३० वर्षअघि नै प्राप्त गरेको थिएँ । त्यसबेला म बैंककको एशियन ईन्स्टिच्युट अफ टेक्नोलोजीमा स्नातकोत्तर तहको अध्ययन गर्थेँ । एक दिन क्याफ्टेरियामा खाना लिन लागेको बेलामा मेरो समीपमा एक गोरो अग्लो भीमकाय शरीर भएको उभिएको व्यक्ति रहेछ । म के धूनमा थिएँ कुन्नि ? उसको कुमलाई मेरो कुमले छोएछ । उसले मतिर हेर्दै भनेको थियो, “तिमी मलाई छोइरहेका छौ ।”

उसको अतिशय गम्भीर मुद्रा देखेर मेरो सातो गएको थियो । मैले माफी मागेँ कि मागिनँ ? त्यो पनि अहिले सम्झना छैन । किनभने, मेरो बाल्यकालमा मेरो जिब्रोको टुप्पोमा “माफ गर्नु होला, मैले गल्ती गरेँ” भन्ने वाक्यांश कसैले राखिदिएन । मान्छेबाट गल्ती हुन्छ । आफ्नो गल्तीले अरुको भावनामा ठेस लाग्ने नतिजा निकाले माफी माग्नुपर्छ भन्ने मैले तमोर नदीमा धेरै पानी बगेपछि मात्र थाहा पाएँ । मलाई लाग्छ – नेपालका अधिकांश बालबालिकालाई यो ज्ञान हामीले बाँडेका छैनौं ।

मेरी छिमेकी जिउटाँस मैयाँको अस्वभाविक शारीरिक मुद्राले मेरो मष्तिष्कमा दुई विचार उत्पन्न भए । पहिलो, मेरो ठाउँमा अर्को विदेशी हुन्थ्यो भने उसको प्रतिक्रिया के हुन्थ्यो होला ? दोस्रो, यदि म ती मैयाँको ठाउँमा हुन्थें र सहयात्री कुनै विदेशी युवती हुन्थिन् भने उनले मलाई कस्तो प्रतिक्रिया दिन्थिन् होला ?

यी दुवै अवस्थाको प्रतिक्रिया मेरो जस्तो सहनशील प्रकृतिको पक्कै हुने थिएन । कुनै तन्नेरी भएको भए तरुनीको न्यानो मानेर आनन्द लिन्थे होलान् । अब मेरो त्यो उमेर पनि रहेन । फेरि, म वासनाको शिकार गर्ने कित्ताको मान्छे पनि परिनँ ।

“सीटमा बस्दा होशपूर्वक बस्नुपर्छ ।”

एक मनले मैले उनलाई यस्तो सल्लाह दिनुपर्ने पनि सोचें तर विचार गरेँ – अरुका अघि यसो गर्दा उनलाई हिनताबोध हुन सक्छ । यसैले मैले सल्लाह नदिने निर्णय गरेँ ।

गुड्का महाशयले अर्को चाल चले । आजभोलि ‘ईन्डिगो’ लगायतका अधिकांश विमानसेवाको नीति फेरिएको छ । उडानमा पानी मात्र नि:शुल्क दिइन्छ । अरु थोक खानु परे खरिद गर्नुपर्छ । हवाई सुन्दरीहरू खानाका परिकार बेच्दै आए ।

“तपाईँ कफी खाने हो ?”, महाशायले मलाई र मैयाँलाई पालैपालो सोधे ।

हामी दुवैले “नखाने” भन्यौं ।

उनको यो हस्तक्षेप काम लागेन तर उनको अभियान रोकिएन । पाशाको अर्को जकडमा हामीलाई पारी छाडे ।

आफूलाई कफी किने र त्योसँगै प्राप्त भएको काजुको पोको हामीतिर बढाए । मैले पनि केही खाएँ ।

खैनी महाशायको अर्को चर्तिकला पनि स्पष्ट देखियो । उनी मोबाइलमा चर्को गालीगलौजको भाषा प्रयोग गर्दै बोल्दै थिए ।

“मेरो श्रीमतीलाई लुकीलुकी फोन गर्ने के पारा हो तेरो ? अर्काको श्रीमतीलाई किन फोन गर्नु पर्‍य? । के हो तेरो उदेश्य ? तँलाई म हदसम्मको कारबाही गर्छु । के सम्झेको छस् तैँले ?”

उनले यही आशयका तीन चारवटा सन्देश भकाभक ह्वाट्स अपमा पठाए । अनि गर्वका साथ उनकी छिमेकी युवती र युवकलाई उनले फोनमा भनेको गालीगलौजको पृष्टभूमि सुनाए । युवक भारतीय थिए । उनीसँग भने हिन्दीमा बोले ।

चिरन्जीवीजीले सुनाएको “सात मिनट” नियमको सिद्धान्त मज्जैले चरितार्थ भएको थियो ।

जहाजबाट ओर्लने लाइनमा लाग्दै गर्दा मैया बोलिन्, “अब के गर्ने होला ? यत्रो लामो समय कसरी बिताउने हो ?”

मैले अर्तीउपदेश दिने साइतको मुहुर्त निस्किएको ठानें । हातको पुस्तक देखाएँ र भनें, “यी यस्तो किताब लिएर हिँड्ने । अहिले मोबाइलमा नै पढ्ने सामाग्री प्रशस्त पाइन्छन् ।”

तिलोत्तमा वा मेनका कित्ताकी सौन्दर्य सुन्दरीलाई सरस्वती कित्ताको उपदेश कति पाच्य भयो, थाहा भएन । मैले भने मेरी सरस्वती अझै अग्लिएकी महशुस गरेँ ।

भारतबाट फर्किँदा काकडभिट्टामा एक साहुनी दिदीले अहिलेका तन्नेरी पुस्ताको चालमाला अर्कै छ भन्ने कुरा सुनाइन् । तामाङ समुदायकी ती साहुनीका तीन छोरा छन् रे ! उनका कान्छा छोराको विवाह गोर्खाकी गुरुङ्सेनीसँग भएको रहेछ।

मागी र भागी विवाहको कुरा चल्यो ।

“पहिले बाउआमाले केटी वा केटो खोज्थे अनि मागी विवाह हुन्थ्यो । त्यसपछि मायापिरती जोडेर भागी विवाह हुन थाल्यो । अहिले त मोबाइलमा केटी पनि भेटिन्छ रे, केटा पनि भेटिन्छ रे !”

मलाई भने मोबाइल महात्म्यको अर्को अध्याय सुनेको अनुभूति भयो । मैले उनलाई थप उक्साएँ ।

“कहाँ भेट्यौ त यो केटो भनेर सोध्यो भने मोबाइलमा भन्छे । अनि पाल्न सक्ला त यसले भनेर सोध्यो भने रनभुल्लमा पर्छे ।”

“जरोकिलो बिनाको पानीको फोको कुन बेला फुट्ने हो थाहा हुँदैन । अनि पानी बाराबार र फेरि उस्ताको उस्तै । हाम्रो पालामा जस्तो जूनीभर एउटैको मायापिरती भन्ने दिन गए भाइ ! मोबाइलले संस्कार सिकाउँदो रहेनछ । सबै युवायुवती आलाकाँचै ओइलाउने भए ।”

दिदीको कुरो सुन्दै थिएँ, उनको नाति स्कूलबाट आइपुग्यो । मेरो मष्तिष्कमा भने केही प्रश्नहरू पहाड बनेर उभिए ।

“मोबाइलमा माया गाँस्ने पुस्तालाई संस्कार कसरी, कुन साइतमा दिने होला ? यी पुस्ताको भाग्यमा नातिनातिनासँग रमाउने वार्द्धक्य जीवनको रमाइलो लेखेको होला कि नहोला ?”