दशैँ मेरो घरमा नआऊ है
पारिलो घाम लाग्यो
गैरी खेतमा धान झुल्यो
केहीहरूको घरमा दशैँ आयो
मेरो घरमा बाढी आयो
पल्ला घरे काकाको घरमा पहिरो आयो
हाम्रो घरमा दशा आयो
अरुको घरमा फेरि दशैँ आयो
मेरो बगेको घरसँगै मेरो भाग्य बगायो
बाढीको धमिलो पानीले म र
मेरा सन्तानका भविष्य
धमिलो बनाउँदै मेरो सबथोक बगायो
मेरो खुसी बगायो, मेरो सपना र रहरहरू बगायो
प्रिय दशैँ, मेरो आँगनीमा तिमी भुलेर पनि नआउनु
यसपालि पाक्ने छैन्न मेरा चुलामा
मासु र मिठा मिठा परिकारहरू
हुने छैन्न मेरा सन्तानको आङमा नयाँ लुगाहरू
यदि तिमी आयौ भने
छोराले खोज्ने छ बत्ती बल्ने जुत्ता
छोरीले खोज्ने छे फूलबुट्टे घाँगर
तिमी आयौ भने देख्ने छौ मेरो गरिवी
देख्ने छौ एक लाचार श्रीमान् र एक लाचार पिता
अनि जिस्काउने छौ मलाई
मेरो पीडामा झन् पीडा थपिदिने छौ
त्यसैले बिन्ती दशैँ,
भुलेर पनि तिमी मेरो आँगनीमा नआउनू है !