
युद्ध निकै चर्कियो । शाही सेना र जनमुक्ति सेनाको प्रायः दोहोरो भिडन्त भइरहन्थ्यो । रेडियोको कान समाति चिमोटेर घुमायो समाचार सुन्नलाई जहिल्यै मान्छे मरेको समाचार बोल्ने । रेडियो नेपालबाट प्रसारित बेलुका सात बजेको समाचार, कार्यक्रम ‘घटना र विचार’ र राति नौ बजेको समाचार गाँउघरमा निकै लोकप्रिय भएको थियो त्योताका । देश एउटा छुट्टै खेलमा मग्न थियो । दाइभाइ मार्ने, रगतको खोला बगाउने, यता राज्य पक्ष उता विद्रोही पक्ष । जनता भने डरत्रासको भूमरीमा परी चुपचाप मुखदर्शक ।
रामे काका सहिद भए । गाँउघरमा सबैले रामे भनेर बोलाएको अहिले पनि कानमा ताजै छ । उनी मेरो सहोदर काका नभए पनि गाउँले काका हुन् । हट्टाकट्टा, जवान, हेर्दा पनि चिटिक्क मिलेका, गोरो वर्णका, हँसिला र मिजासिला ।
रामे काका ०५३ सालातिर जङ्गल पसे । जनताको आमूल परिवर्तनका निम्ति युद्धमा होमिए । माओवादी भएको केही महिनामै छापामारको सह-कमान्डर चुनिए । अर्को छ महिनामा गण्डकी वटालियनको कमान्डरको जिम्मेवारी पाए । उनले गाँउघरका समस्या बुझ्न र सहयोग गर्न बिर्सिएर देश र जनताको निम्ति आफ्नो ज्यानलाई राइफलको नाल र खुकुरीको धारमा चढाए । निधारमा तारा अंकित रातो चिर्को बाँधेर दुई तीन सय जनमुक्ति सेनाको हुललाई सम्हालेर धेरै युद्ध लडे । कति सहयोद्धा गुमाए, धेरै घाइते भए ।
पार्टीभित्र जनवादी बिहे गर्नेको होडबाजी चल्यो । त्यसको अछुतो रहन सकेनन् रामे काका पनि । उनले आफ्नै बटालियन सह-कमान्डर कम्रेड शिखासँग पार्टीको ठूलो कार्यक्रमका बीच धुमधामका साथ अन्तरजातीय जनवादी बिहे गरे । उनको बिहेले गाउँघरमा निकै चर्चा पायो ।
– फलानोको छोराले त गाउँकै नाकै काट्यो कामिनीसँग बिहे गरेर ।
– गाउँमा कसरी मुख देखाउला त्यसले ?
– माओवादी भएँ भन्दैमा जेपनि गर्ने ! आफ्नै जातजोडीसँग बिहे गरे के हुन्थ्यो ?
– त्यो कामीनीलाई कसोगरी बुहारी भन्नू र यो घरमा बसाउनु । यस्तै यस्तै ।
तैपनि पार्टीमा रामे काकाको खुब मान थियो, निढर योद्धा र समाजमा दुई जात मात्र छ भन्ने कुरो बिहे गरेर देखाइदिएका । उनले बिहेको दिन भाषण दिएका थिए रे- यो विश्वमा हजार मान्छेका जातजाति भए पनि महिला र पुरुष गरी दुई जात मात्र छन् । अरू त मान्छेले आफैँ बनाएका हुन् ।

सुरेन्द्र शाही
युद्ध दैनिकी बनिसकेका रामे काका जुम्लाको युद्धबाट फर्किएनन् । सदाका लागि बिदा भए, संसारबाट । उनको जनवादी सत्ता आएको र निरंकुश राज्यसत्ता समाप्त भएको हेर्ने धोको अधुरै रह्यो । काकाकी अर्धाङ्गिनी शिखा युद्ध लड्दालड्दै विधुवा भइन् । गर्भमा चार महिनाको मायाको चिनो, हातमा एलएमजी राइफल । युद्ध लडिरहेकी शिखाले विजय जुलुसमा आफ्नै बटालियन कमान्डर पतिलाई सहिद भएको घोषणा सुन्दा बेहोस भइन् । रामे काका गुमाउनु पार्टीका लागि ठूलो क्षती महसुस गर्यो पार्टीले । सँगै उनलाई विजय जुलुसले सुदुरश्चिमबाट पहिलो सहिद घोषणा गर्यो ।
विजय जुलुस सकियो । सबै बटालियन कम्पनीले आफ्नो टिमका घाइते र सहिदहरूलाई बाँसको काठमा बोकेर जङ्गल पसे । जङ्गलमा वीर सहिदहरूलाई एकै चिहानमा गाडेर अन्तिम सलामी दिएर घाइते कम्रेड बोकी आ-आफ्नो कार्य क्षेत्रमा लागे । रामे काकाको बटालियन कम्पनी शोकमा पर्यो । रानी मौरीबिनाको घार जस्तै भयो ।
पछि हट्ने सम्भव थिएन, लाचार शरीर लिएर पति सम्झिदै शिखालाई अघि बढिनु नै थियो । बढिन् । उनी बटालियनकी सह-कमान्डर थिइन, आफूलाई र पेटको बच्चालाई मात्र हैन, पूरा बटालियन उनैले सम्हाल्नु थियो ।
राजनीति जहाँ पनि छिरिहाल्ने, बटालियनमा नयाँ कमान्डरको लागि लामो बसह चल्यो । एकथरी शिखालाई निरन्तरता दिन चाहान्थे । उनीहरूको शिखाप्रित साहनुभूति थियो । अर्कोथरी कम्रेडहरूले नयाँ कमान्डर चाहान्थे । सायद, उनीहरूलाई महिला, त्यसमाथि पनि दुई जिउ, शिखाको नेतृत्व चाहादैन थिए । अन्ततः शिखाले नै यो बटालियनको जिम्मेवारी पाइन् ।
शिखालाई पार्टीको भन्दा पतिको बदलाको निम्ति लड्नु थियो । बटालियनमै रहँदा गण्डकी क्षेत्रमा उनले छोरोलाई जन्म दिइन् । छोरोको नाम ‘राम’ नै राखिदिइन् ।
अशिक्षित र युद्धकै कारण अशक्त भएकाले उनीसँग घर फर्किनुको विकल्प रहेन ।
रामे काका सहिद भएको एक वर्ष पुगिसकेको थियो । ०५८ सालमा वीरेन्द्र शाहको वंश नाश भएपछि ज्ञानेद्र सिंहासनमा बिराजमान भए । युद्ध झन चर्किदै गयो । शाही सरकारले संकटकाल घोषणा गर्यो । जब पाल्पाको तानसेनको ब्यारेकमा हमला भयो, बल्ल ज्ञानेन्द्रले वार्ताको आह्वान गरे । राजतन्त्रले घुडा टेक्यो, कहिल्यै नउठ्ने गरी । शान्ति सम्झौता भयो । दाजुभाइ र दिदीबहिनीबीचको काटमारको खेल स्थगित भयो । तैपनि सेना भने दुवै पक्षमा बाँडिएँ । शाही सेना र जनमुक्ति सेना । शिखाको बटालियन र भेरी-कर्णालीको कम्पनी एक डफ्फा भएर क्याममा बस्यो, सुर्खेतमा ।
सहिदको छोरो अर्थात् राम क्याम्पमा आमासँगै बस्यो, हुर्कियो । सरकारले नयाँ निति अनुसार सेना समायोजन हुने भयो । जनवादी सेना र शाही सेनाको समायोजन सुरु गरियो । सेना समायोजनले शिखाको बलिदानी देखेन । अशिक्षित र युद्धकै कारण अशक्त भएकाले उनीसँग घर फर्किनुको विकल्प रहेन ।
शिखाको भर भने पनि घर भने पनि उहाँ जनमुक्ति सेनाको बटालियन थियो । अब त्यो पनि रहेन । छोरोलाई लिएर माइती जानेबारे साच्ने कुरो थिएन, रामे काकाको घरले दलित बुहारीले स्वीकार्नेवाला थिएन । उनी घर न घाटकी भइन् । छोराको अनुहार हेरिन, अन्ततः जेजस्तो कठिनाइ भोग्नु परे पनि पोइको घर जाने निर्णय गरिन् ।
नेपाली सेनाका लागि असक्षम ठानिएका र सेना समायोजनमा जान नचाहानेलाई सरकाले जनही दश लाख दिएर घर पठाउने घोषणा गर्यो । युद्धमा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारले जनही पाँच लाख पाउने भए । शिखाले आफ्नो सहिद श्रीमानको पाँच लाख र आफ्नो दश लाख बुझिन्, किस्ता-किस्तामा । सुर्खेतमै पाँच लाखमा आफ्नो छोराको भविष्यका लागि एक कठ्ठा जग्गा लिइन् । जग्गा आफ्नो नाउँमा पास गरेर छोरा लिएर बाजुराको यात्रा तय गरिन् ।
शिखा पहिलोपटक, श्रीमानबिना छोरालाई लिएर पोइली घर (श्रीमानको घर) जाँदैछिन् । पाँच दिनमा आमाछोरा सुर्खेतबाट बाजुरा पुगे । उनलाई आफ्नै घर थाहा थिएन । न रामे काकाले ल्याउने हिम्मत नै गरे । अन्तर्जातीय विवाहलाई बटालियन स्वीकारे पनि परिवार र समाजले अपनाउने कुरा पनि त थिएन ल्याउन ।
छोरो पनि काटीकुटी रामे जस्तै । अब छोरी जसकी भए पनि वंश त त राखी यसले ।
शिखा आफ्नो पोइली घर रामे काकाको नामले सोध्दै-सोध्दै पुगिन् । घरमा आफ्नो र सहिद रामेकाकाको बारेमा जानकारी दिइन्, काखको छोरा रामकै भएको बताइन् । गाउँभरि हल्ला फैलियो- रामेका श्रीमती र छोरो आएका छन् । गाउँलेहरूको ओइरो लाग्यो । घरमा छुट्टै रौनक छायो । एकातिर आफ्नो सन्तानको वंश रहेकोमा खुशीले गदगद थिए परिवार भने अर्कोतिर कामिनीलाई बुहारी स्वीकार गर्न निकै मुस्किल ! गाउँलेहरू जम्मा भएर छलफल गरे, बुढापाकाहरूले आमाछोरालाई गोठमा राख्नुपर्ने मत राखे । जनमुक्ति सेनाका पक्षधर युवाहरूले सबैसँग घरमै बस्नु पाउनु पर्ने कुरामा जोड दिए । अन्ततः पानी नचल्ले जातिकी बुहारीलाई छुट्टै गोठमा राख्नुपर्ने बुढापाकाको निर्णयकै जित भयो । रामे काकाका आमाबाको मुहारमा खुशीको किरण छाएको प्रष्ट देखियो ।
– कामिनी भएर के गर्नु ? केटी त राम्री रैछे, रामेको आँखा किन नफुटून् त !
– छोरो पनि काटीकुटी रामे जस्तै । अब छोरी जसकी भए पनि वंश त त राखी यसले ।
यस्तै-यस्तै कुरो गर्नमा पछि हटेन समाज । शिखालाई विषपान गरेर जिउँदै पलपल मरेको भान भइरह्यो । तैपनि आफ्नो छोराको निम्ति समाजमा हरेक बाधालाई स्वीकार गरेर बसिन् । छोरोलाई गाउँकै स्कुलमा पढ्न पठाइन् । तर स्कुलले जन्मदर्ता नभएकै कारण भर्ना हुन दिइएन । गाँउमा रामलाई त्यसका उमेरका बच्चाबच्चीले साथी बनाउन मानेनन् । उल्टै ‘सहिदको छोरो, कामिनीको छोरो, बाको नाम जे छ त्यो छोराको नाम भएको अभागी रहेछ’, भन्दै छि:छि र दूर:दूर गरे ।
गाँउघरमा शिखालाई राम्रो नजरले कसैले हेरेनन् । ‘पोइ टोकुई कामिनी, कुन ठाउँकी कामिनी हो ? ठकुरानी हुन पाइछ !, रामे मर्नुभन्दा यो कामिनी मरेको भए हुन्थ्यो नि बरू ।’, यस्तै कुरा काट्न थाल्यो समाजले । सहनुको बिकल्प थिएन शिखासँग ।
देश शान्तिमय भयो । जङ्गलियाहरू शहरिया भए । चप्पल नपाउनेले चिल्ला जुत्ता लाए । आटो नपाउनेले चौरासी ब्यञ्जन खाए । तर त्यही जनयुद्धकी योद्धा शिखालाई कहिल्यै शान्तिले साथ दिएन । कहिल्यै ओठमा मुस्कान छाएन । आँखा कहिल्यै ओभानो रहेनन् । शिखाले जनताको लागि भन्दा आफ्नै जीवनको लागि युद्ध लड्न कठिनाइ भयो ।
सहिदका छोराछोरीलाई पढाउने स्कुल खुल्यो डोटीको दिपायलमा । शिखाले रामलाई त्यहीँ पठाइन्, पढाउनकै लागि । आफू गाँउ एक्लै बसिन्, संघर्ष गरिन् । आमाबुबालाई सघाइन्, गोठमै बसेर भए पनि । छोराको सम्झनाले ओतप्रोत मन, आमाबाबा मरिचजस्तै चाउरीएका मुहार र सेतै फुलेका केस, किन किन शिखालाई यिनै बूढाबूढीको सेवा गर्ने रहर जागेर आउँछ ।
समाजले स्वीकार नगरे पनि रामेका आमाबाबाले शिखालाई बुहारी स्वीकारे । नातिलाई मायाको लेपनले बेरे । नयाँ संविधानले आमाको नामबाट नागरिकता पाउनुपर्ने नीतिलाई अङ्गिकार गर्यो । शिखालाई पहिलो पटक आफूले लडेको युद्धप्रति गर्व महसुस भयो । समय बदलिँदै गयो । रामले आमाको नामबाट नागरिकता पायो । तर, शिखाले आफ्नै घरमा बस्न अझै पाइनन् ।
ऊ काटीकुटी बाबु जस्तै छ; अनुहारमा, लवाइखवाइमा र सहयोगी भावनामा पनि ।
छोरो राम डाक्टरी लाइनमा लाग्ने बताउँछ । थाहा छैन, गाउँघरमा कोही बिरामी परे भने कामिनीबाट जन्मिएको रामले उपचार गर्न पाँउछ कि पाउँदैन !
रामले डाक्टरी गर्यो, छात्रवृत्तिबाट । ऊ काटीकुटी बाबु जस्तै छ; अनुहारमा, लवाइखवाइमा र सहयोगी भावनामा पनि । बाजे बिरामी परे । डुब्न लागेको घामलाई बादलले नछेके पनि डुब्छ भने झैँ रामको उपचारले पार लागेन । उनी अस्ताए, सधैंका लागि । छोराको हातबाट सुनपानी नखाए पनि आफ्नै श्रीमती, कामिनी बुहारी र नातिको हातबाट सुनपानी पिएर परान त्यागे ।
शिखा गोठ छोडेर घरमा पसिन्, बूढी सासुसँग । गाउँमा बिरामी भएका मुखिया बादेखि स-साना बालबच्चासम्मलाई रामले उपचार गरे । पासा पल्टियो, रामको परिवार सबैको प्यारो भयो । शिखा अब कामिनी रहिनन्, डाक्टरकी आमा बनिन् । महिला अगुवा भइन् ।
शिखाका सपना एकपछि अर्को पूरा हुँदै गए पनि एउटा सपना पूरा हुन बाँकी नै थियो । श्रीमानलाई नेपाल सरकारले नै आधिकारिक रूपमा सहिद घोषणा गरोस् भन्ने । पहुँच र पावर हुनेका कैयौँ सन्तान गाउँघरमा हैजाले मरेर पनि सहिद घोषणा भए । रामे गाउँघरका मात्रै सहिद बने । पार्टीका ठूला नेतालाई सरकारमा पुर्याउनका निम्ति आफ्नो ज्यानलाई समर्पित गर्ने कैयौँ रामेहरु सहिदको लिस्टमा अटाइएनन् ।
आस गरौँ, सबै दु:खी र पीडितहरूले कुनै दिन न्याय पाउनेछन् । कुनै दिन शिखा पनि शान्तिको सास फेर्दै आरामले निदाउनेछिन् । छोरोलाई सरकारले नै सहिद रामका छोरा भनेर सम्बोधन गर्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 







