
एक राजसभामा होहल्ला मच्चिइरहेको थियो । विशेष गरेर हिन्दु धर्मका राजपुरोहितहरू बढी आक्रान्त देखिन्थे । अब धर्मकर्म नाश हुने भो । समाजमा नयाँ धर्म र धार्मिक अभियन्ता जन्मिए । हाम्रो सम्प्रदाय निसानामा पर्यो । यस्तै स्वरहरु राजसभामा गुन्जियका थिए । राजा हिन्दु धर्मका पर्याय भएकाले चिन्तित नै देखिन्थे । राजसभाका प्रमुख हर्ताकर्ता रहेका ब्राम्हणहरू आफनो प्रभुत्व समाप्त हुने भयले चिन्तित थिए । राजसभामा राजाको उच्च स्थान रहेता पनि सबै राजकाज भने मुट्ठीभर चतुर ब्राम्हणहरूको हातमा थियो । उनीहरू नै देशको नियम थिए, कानुन थिए । उनीहरूले दिएको राय, सल्लाह र निर्णय नै राज निर्णय हुन्थ्यो । पदमपानि राज्यको कुलगुरु थिए भने अन्य ब्राम्हणहरू राजशभाका मन्त्री थिए ।

सुरेन्द्र गौतम
“आजकाल समाजमा हाम्रोे महत्व घट्दै गएको छ । मानिसहरू हामीले यज्ञ अनुष्ठान गर्दा प्रश्न मात्र तेर्साउँछन । अर्थाउन लगाउँछन ।”, निधारको बीचमा ठाडो टीका र त्यसको छेउमा तेर्सो अविरको धर्को मिलाएर त्रिशूल आकार बनाएका पुरोहित मन्त्रीले ब्राम्हणहरूलाई प्रश्न गर्दै थिए ।
“हो ! अब हामीले आफनो परापुर्वकाल देखि चलि आएको कर्मलाई जोगाई राख्न अवश्य पनि कुनै रणनिती बनाउनै पर्छ । हामी आफनो नित्यपुजा र राजकर्म सकेपछि दिनहुँ यसबारे छलफल गरौँला ।”
“खै ! समाजमा आजकाल नयाँ धार्मिक अभियन्ताले हाम्रो परापुर्वकालदेखि अभ्यास गर्दै आएको कर्मलाई ठगीको व्यापार भन्दै मानिसहरूलाई उचाल्दै छन रे !” सभाको बीचबाट अनिरुद्र पण्डितले उठतै बोले । “सुनिन्छ, उनले आफना चेलाहरू पनि प्रसस्तै बनाउँदै छन् रे । आफ्ना राजकाज छाडेर त्यस्तो सन्यासी बनेको मान्छेले हाम्रा बिरुद्ध मानिसहरू भडकाउँदै छन् भन्ने सुनिन्छ ।”, दण्डपानीले अनिरुद्रको कुरामा सहि थाप्दै बोले । “योगदेखि मानव अशान्ति र दुःख हट्छ भन्दै युवाहरूलाई आफनो प्रभावमा पार्दै भिक्षाटन गर्दै उपदेश दिने अरू कोही होइनन्, उनै शाक्य कुमार हुन ।”, अब हामी अलिक संम्यम हुन जरुरी छ । नत्र हाम्रो परम्परा चौपट हुनेवाला छ । भीमप्रसादले प्रष्ट पार्दै हुलको ध्यान ताने । “हो ! अब हामीले आफनो परापुर्वकाल देखि चलि आएको कर्मलाई जोगाई राख्न अवश्य पनि कुनै रणनिती बनाउनै पर्छ । हामी आफनो नित्यपुजा र राजकर्म सकेपछि दिनहुँ यसबारे छलफल गरौँला ।”, पदमपानीले सबैलाई आस्वस्त पार्दै भने ।
“यो समस्याले म पनि चिन्तित छु । तपाईँहरू धर्मकर्मको राम्रो ज्ञान राख्नुहुन्छ । यो समस्यालाई ब्राम्हण समाजबाट सुल्झाएर ल्याउनुहोस् । तपार्इँहरूको निर्णय नै सर्वोपरि हुने छ ।”, राजाले सबैको तर्क सुनि सकेपछि आफनो कुरा राखे ।
राजाको आदेशमा ब्राम्हणहरू पनि राजी भए । आफनो दुनो सोझाउनलाई उनीहरू तयार देखिन्थे । राजसभाको आदेशलाई पालना हुनेछ भन्दै उनीहरू राजसभाबाट बाहिरिए । ब्राम्हणहरूको समाजमा पदमपानी उपाध्याय निकै अब्बल र जान्ने सुन्ने पुरोहित हुन् । ब्राम्हण समाजको अध्यक्ष पदमा समेत रहेका पदमपानी राजदरबारको हरेक पाठपुजा पनि गराउने र राजसभामा उपस्थित भएर राजनीतिमा पनि आफनो विचार राख्ने गर्थे । उनी लगायत अन्य पण्डितहरू पनि राजसभाको सदस्यहरू थिए । सनातन बैदिक धर्मको रक्षा गर्ने आडमा चरम अन्धविश्वासको व्यापार गरेर ब्राम्हण समाजले आफनो सदियाँै पूरानो आयआर्जनको धन्दालाई निरन्तरता दिइरहेका थिए । आफू अनुकुल राज नियमहरू निर्माण गरेर ब्राम्हणजनहरूको मुक्तिमा लागेका थिए । राजा पनि परापूर्वकालदेखि राजदरबारलाई सल्लाह र सुझाव दिदै आएका ब्राह्मणहरूलाई विश्वास गर्थे । उनीहरूकै मत पारित हुन्थ्यो । उनीहरूकै निर्णय नै अन्तिम निर्णय बनाउने परिपाटी इतिहासदेखि नै चलिआएको थियो । अहिले समाजमा देखिएको समस्यामा उनै ब्राम्हणहरूले नै निर्णय गर्नुपर्ने भएकोले पदमपानीले आफ्नो ब्राम्हण समाजमा कहलिएका र उच्च दर्जामा भएका पण्डितहरूलाई आमन्त्रणा पठाएका थिए । त्यस समाजमा तल्लो स्थानमाा बसेर ब्राम्हणवादको अभ्यास गर्ने अनगिन्ती व्यक्तिहरू सदस्य भएता पनि मुट्ठीभर नामी पुरोहितहरूले गरेको निर्णय नै सर्वमान्य हुन्थ्यो । पदमपानी उपाध्याय संङ्गै दण्डपानी, भीमप्रसाद, किसनपती तथा अनिरुद्र यही धार्मिक संगठनका नाइके थिए । छलफलमा अरु ब्राम्हणहरूको राय सुने पनि राज्यले यिनै पण्डितहरूलाई अन्तिम निर्णयको अधिकार दिएको थियो । पदमपानीको निमन्त्रणा पाएपछि राज सदस्य पण्डितहरूसङ्गै समाजका अन्य पण्डितहरु पनि ब्राम्हण समाजको निजी भवनमा उपस्थित हुने गर्थे । पदमपानीले कार्यक्रमलाई औपचारिक रुपमा उद्घाटन गर्दै अहिले समाजमा आइपरेको समस्याको निर्णय नहुन्जेल हरेक हप्ता उक्त समाजका सदस्यहरू त्यहाँ आइ विचार विमर्श गर्ने घोषणा गरे । सबैले उनको आदेशलाई स्वीकार गरे ।
राजसभाका अन्य सदस्य पण्डितहरूको र समाजका गन्यमान्य पण्डितहरूको बीचमा छलफल सुरु भयो ।
राजसभा सदस्य पण्डितहरू बाहेक समाजका अन्य सदस्यहरू पनि उक्त निर्णयसमितिमा उपस्थित भएका थिए । जन्म, मृत्यु, विवाह, चुडाकर्म, रुद्रीपाठ, जस्ता कैयन पुजाआजाको काममा समाजका यिनै पण्डितहरूको बोलवाला थियो । संस्कृत भाषाको सामान्य ज्ञान राख्ने र शब्द खुट्टाउन सक्ने यी पुरोहितहरूको आय आर्जनको माध्यम पुजापाठ, हेराइचराइ र अन्धविश्वास थियो । साधारण जनताहरूको संस्कृत भाषाको अज्ञानता नै यिनीहरुको सम्पत्ति कुम्ल्याउने अस्त्र बनेको थियो । हरेक हप्ता विचार विमर्श हुन लाग्यो । समाजका अन्य बाहुनहरू पनि त्यहीँ जम्मा हुने गर्थे । तिनीहरूलाई अहिले समाजमा आफनो कार्यमा आएको समस्याको हल जुटाउनु पर्ने थियो । उनीहरु आफना रितिथिती आफनो अनुकूल बनाउन उनीहरू अत्यन्तै माहिर थिए । आज पनि पदमपानीले राजदरबारको कार्यसिद्धि गरिसकेपछि हलमा छलफल सुरु भयो । राजसभाका अन्य सदस्य पण्डितहरूको र समाजका गन्यमान्य पण्डितहरूको बीचमा छलफल सुरु भयो ।
“जय श्रिकृष्ण, जय राम !” नारायणले हामी सबैको कल्याण गरुन् । पदमपानीले प्रार्थना गरे ।
“नारायण हरि, हरि !”
अँ ! “अब हामी छलफलमा लाग्नु पर्छ ।” सबैको स्वर एकैसाथ गुन्जियो ।
“ल तपाईँहरू नै सुरु गर्नुहोस् । कसरी जान सकिएला ?” पदमपानीले सबैलाई हेर्दे हल निकाल्ने यत्न खोज्न आग्रह गरे ।
“हाम्रो आर्य परम्परालाई जोगाई राख्ने हो भने सबैभन्दा पहिला समाजमा मानिसहरूले हामीलाई विश्वास गर्ने वातावरण यथावत नै राख्नुपर्छ । अब समय हिजो जस्तो रहेन । हामीले जे भन्छौ त्यो नमान्न सक्छन् मानिसहरू । यस्तोमा के गर्न सकिन्छ ?”, दण्डपानीले आफनो विचार राखे । भीमप्रसाद अलिक झोकी पण्डित थिए । उनले हलमा जम्मा भएका तमाम पण्डितहरूलाई संम्बोधन गर्दै कडकिदै बोल्न थाले । यदी हाम्रो विरासत जोगाई राख्ने हो भने सबैभन्दा पहिला त हामीले हाम्रा छोराहरूलाई संस्कृत भाषाको ज्ञान दिनुपर्छ । मानिसहरू अहिले उफ्रिए पनि श्राद्ध, विवाह, ब्रतवन्ध त गर्नै पर्ला । पूजापाठ गर्ने बेलामा हामीलाई नवोलाए को छ अरु समाजमा जानेको ? भीमप्रसादले बिना कुनै परिश्रम श्लोक कण्ठष्त पारेर मीठो आहार र यथेष्ट धन कमाउने यो चतुर पेसा अरु कसैको पेवा बनोस भन्ने नचाहुन भनेर पण्डितहरूलाई उत्साहित गराए । “त्यो त ठीक छ । तर, के यसरी शाक्यकुमार हाम्रो विरुद्ध लागेर युवाहरू आफनो पक्षमा पारेको बेलामा हामीले यो शिक्षा आफ्नै पेवा बनाउन कसरी सकिएला ? मानिसहरू पहिले ने रिसाएका छन् ।”, अनिरुद्रले अलिक सचेत बनाउँदै छलफललाई सोचमग्न बनाए । किसनपति र भीमप्रसाद कुनै पनि हालतमा संस्कृति भाष्यलार्ई बोलीचालीको सामान्य भाषामा रुपान्तरण हुनु हुँदैन भन्ने पक्षमा थिए । उनीहरूको विचार यो थियो कि यदि मानिसहरू आफैँले पूजापाठ गर्न सक्षम हुने भाषामा कर्मकाण्डका किताबहरू आउन लागे भने आफनो परिवार सडकमा आउन बेर लाग्दैन ।
“हामीहरूलाई आजकाल समाजमा पूजापाठ गर्न पनि जटिल भएको छ । मानिसहरूले विश्वास गर्न छाडेका छन । यसको हल हुनै पर्छ ।”
हप्तैमा साकेत राज्यमा ब्राम्हणहरूको भेला हुन्थ्यो । राजसभा धर्मपुजारीहरू बाहेक अन्य पण्डितहरू पनि सभामा बिस्तारै उपस्थित हुन लागे । समाजभरी शाक्यकुमारको योगसाधना र भिक्षाटनले त्रासमा परेका व्यक्तिहरू पनि त्यस सभामा उपस्थित जनाउन थाले । छलफल र विचार विमर्श चलिरहेकै थियो । सभामा रहेका एकजना पण्डित उठेर बोल्न थाले, “हामीहरूलाई आजकाल समाजमा पूजापाठ गर्न पनि जटिल भएको छ । मानिसहरूले विश्वास गर्न छाडेका छन । यसको हल हुनै पर्छ ।” हलमा उपस्थित अरु सदस्यहरूले पनि यो समस्याको जटिलता चिरियोस् र आफनो धर्मधन्दा चालु नै रहोस् भन्ने भावना प्रस्तुत गरे । सबैका कुरा सुनिसकेपछि पदमपानीले आफनो विचार राख्दै भन्न थाले। “यदि तपार्इँ हामी आफ्नो सनातन पेसा र कर्म जोगाइराख्ने हो भने पहिले एउटा जुक्ति मान्नुपर्छ । नीति नियममा बाधिने जुक्ति । सबैजना उनको जुक्ति सुन्न उत्सुक थिए । उनले प्रष्ट पार्दै भन्न थाले , “यदि कुनै व्यक्तिलाई हिन्दु बेद, पुराण र कर्मकाण्डका बारेमा ज्ञान लिनु छ भने निश्चित कानुन अनुरुप लिनु पर्छ जसले हाम्रो पनि भलो हुने मानिसहरू पनि नभडकिने ।”
“कसरी धर्मगुरु ?”, सबैको एकैसाथ प्रश्न निस्कियो ।
“यदि हाम्रा ग्रन्थहरू बिना गुरु र बिना पुरोहित अध्ययन गरेमा त्यो पढाइ सार्थक नहुने नियम बनाउदा कस्तो होला ? गीता, पुराण र उपनिषदहरू अध्ययन गर्ने निश्चित समय तोक्ने, कुनै स्थान विशेष त कुनै समय विशेष । एक त अर्थ लगाउनै गाह्रो पर्छ यी दर्शनहरूको, अर्को जो कोहीले यी दर्शनहरू बिना चुडाकर्म पढ्दा भ्रमित भइन्छ, यहाँ सम्म कि पागल हुनेछन् भन्ने नियम पर्छ, बनाउनु पर्छ । “पापको डर नै सबैभन्दा अचुक अश्त्र बन्न सक्छ ।” पदमपानीले आफनो उपाए सबैलाई सुनाए । सभामा उपस्थित सबै पण्डितहरूलाई उनको विचार राम्रो लाग्यो । अनिरुद्रले समर्थन जनाए । अनि थपे, “हामी निर्णयसिन्धु र आचारसंहितामा यही कुरा उल्लेख गर्नु पर्छ ।” सभामा सबैको स्वीकृत भाव झल्किन्थ्यो । एउटा विषयमा केही उपर्युक्त समाधान निस्केर सबै जनालाई केही सन्तोष मिलेता पनि उनीहरु अगाडि समस्याका अनेक चाङ्गहरू थुप्रिदै गएका थिए । समाजमा नयाँ विचारको उदय भएको थियो । मानिसहरू पनि त्यसमा आकर्षित हुँदै गएका थिए । विशेष गरेर समाजका युवा वर्गहरू आजकाल योग अभ्यास गर्ने, ब्राम्हणहरूको पेसागत क्रियाकलापलाई अन्धविश्वासबाट उब्जिएको ठगीको उपज सम्झने । मानिसहरूले पनि ब्राम्हणहरूको ज्ञान र व्यवहारमा शंका गर्न थालेका थिए । प्राय जसो गाउँमा भिक्षुहरू भिक्षाटनको लागि आउने, धर्म र जीवन, सुख र दुःख अनि ईश्वर र अन्धविश्वासको बारेमा मानिसहरूलाई शिक्षा दिँदै हिन्थे । उदेक लाग्ने कुरा त अझ के थियो भने उनै ब्राम्हणहरूका वयस्क छोराछोरीहरू पनि शाक्यकुमारको शिक्षा र विपस्यनामा आकर्षित हुँदै गइरहेका थिए ।
सभामा उपस्थित केही पुरोहितहरूका छोराहरु त बाबुसँग बगावत नै गर्ने गर्थे । जुन हिन्दु समाजले महिलाहरूलाई सिमीतताको सिद्धान्तमा बाँधेर राखेको थियो, तिनै महिलाहरू आजकाल विपस्यनामा आकर्षित भएर भिक्षुणीको चिवर लगाउन आतुर थिए । त्यस सभामा एक लिलाधर नाम गरेका पण्डित पनि उपस्थित थिए । उनकै आफना छोराको परिवर्तित व्यवहारले उनी पनि चिन्तित थिए । उनले छोरालाई नियाल्थे । आफना बाबु आमाको मृत्यु र चुडाकर्म बाहेक अन्य समयमा हिन्दु धर्म अनुसार कपाल खौरिन वर्जित थियो, छोराले अहिले उसको कपाल पुरैै खोरिएको थियो । पहेलो चिवर धारण गर्दै, भिक्षा माग्दै दिनरात जंगलमा गएर ध्यान साधना गथ्र्यो । लिलाधरसँङ्ग पनि कहिलेकाहीँ बहस गथ्र्यो । उसले भन्ने गथ्र्यो, “यो तपाईँहरूले अभ्यास गरेको पुरातन आर्य सभ्यतालाई सुधारको आवश्यकता छ । कर्मकाण्डका हतियार निकालेर, धर्म र पापको व्यापार गर्न छाड्नुस तपार्इँहरू ।” छोराको यस्तो भनाइले उनको मन पोल्थ्यो । लिलाधरले सम्झाउदै भन्ने गर्थे, “यो तैले संस्कारको दोहन गर्दैछस् । त्यहीबेलै राजकाज सम्हाल्न नसकेर भागेका भगौडाको दर्शनमा लागेर हाम्रो धर्म नै मेटाउने भइस ।” उनले युवाहरूलाई परनिर्भर हुने भिक्षु बनाउने भए । “जीवनको सुख त्याग मै छ बुवा । लोभमा होइन ।
साधना, ध्यान र विपस्यना नै जीवन सार्थक बनाउने मुल सिद्धान्त हो ।”, छोराले मुखमै जवाफ राख्ने गथ्र्यो । त्यस्तै समाजमा अन्य ब्राम्हणहरूका छोराछोरीहरू पनि उही साधानमा लागेका थिए । विस्तारै युवा र समाजका सबै मानिसहरू विपस्यना साधनाको आकर्षणमा परेको अवस्थामा साकेत लगाएत अन्य गाउँका तमाम पण्डितहरू साह्रै नै चिन्तित थिए । कसरी यसको हल गर्ने उनीहरुलाई दिनरात यही कुराले पिरोल्थ्यो । छलफलमा लागेका चिन्तित ब्राह्मणहरू पुनः समाधानको उपाय खोज्दै थिए । उनीहरूलाई यो राम्रै थाहा थियो कि आफू अन्धविश्वासको खेती नगरे परिवार भोकै मर्नेछ । कर्मकाण्डी पेसा, भ्रम, पाप, स्वर्ग र नर्क यही त यिनीहरूका धन आर्जनका अचुक अस्त्र थिए । आफनो सनातन पेसालाई जोगाउन उनीहरू हरेक प्रपञ्च रच्न आतुर देखिन्थे । “समाजमा व्याप्त स्वर्ग र नर्कको त्रास हराउँदै जाने हो भने त हामी पुरोहितहरू आर्कै धन्दा खोजे हुन्छ ।”, त्यहाँ उपस्थित अनेक ब्राम्हणहरूको चिन्ता थियो यो । हाम्रो धर्म र रोजिरोटी जोगाइराख्न पनि हामीले विभिन्न क्रियाकर्महरूको नयाँ नयाँ विधी र प्रक्रियाको व्यवस्था गर्नै पर्छ । यही स्थिती रहिरहने हो भने हामी इतिहास मात्र बन्नेछौँ । उपस्थित मध्ये फणिन्द्र नाम गरेका साकेतकै पण्डितले आफनो तर्क राखे ।
रोहितहरू आफनो धर्मधन्दाको क्रियाकर्म परम्परागत तरिकाले मात्रै सञ्चालन गर्न पाए पनि अरु केही चाहिएको थिएन ।
“तपार्इँहरूसँग म पनि सहमत छु । अहिलेलाई आफनो अनुकूलको आहारविहार र नित्यकर्म जुन हामीले अभ्यास गरिन्छ त्यो परिवर्तन गर्न ठीक छैन । यस्तै कठोर नित्यकर्म जो कोहीले अवलम्बन गर्न सक्दैनन् । यसलाई यथावत नै राखौँ । हामीले भविष्य पनि हेर्नुपर्छ । अहिलेको समस्या सधैँभर नरहला । केही उपाए त अवश्य निस्कन्छ ।”, भीमप्रसादले दुरदर्शी भएझैँ सदस्यहरूलाई सम्झाउँदै आफ्नो कुरा राखे । सभामा बहस चलिरहेकै हुन्थ्यो । लिलाधरले आफनो चिन्ता पोख्ने गर्थे । “आदरणीय राजगुरुहरू ! आजकाल हिन्दु कुल परम्परामा निकै ठूलो बज्रपात पर्ला जस्तो छ ।” मेरै छोरापनि आजकाल भिक्षाटनमा निस्कन्छ । उसको रबैया साधु सन्त जस्तो छ । दिनभरी अन्य सम्प्रदायका गुरुहरुसँग उठबस गर्छ । हाम्रो धर्मको विरोधमा उभिन्छ । यस्तै गरि सबै मानिसहरू शाक्यमुनिको दर्शनमा आकर्षित हुँदै गए भने हाम्रो कर्मकाण्डी परम्परा धारासायी हुने निश्चित छ ।”, लिलाधरले आफनो तिक्तता पोख्दै थिए । पदमपानीले सबैका कुरालाई ध्यानमा राखेर बोल्ने गर्थे । “समाजमा एक नयाँ सन्त, माहात्माहरूको उदय भयो । उनीहरू हाम्रो ब्राम्हणवादलाई टिकी खान नदिने ध्याउन्नमा छन् । हाम्रो धार्मिक अभ्यासमा कुरिती र कुप्रथा देखाउँछन ।
मानिसहरूलाई योग र साधनाबाट स्वस्थ र सकरात्मकताको शिक्षा दिँदैछन् । यस्तै हो भने शान्ति स्वस्तीको पाठ कसले गर्छ ? स्वास्थ्य सुधारको आसामा हुने पूजाहरू पनि रोकिदै छन् । आत्मा, ईश्वर, स्वर्ग र नर्कको डर घटदै छ । सम्पन्नता र पुत्रलाभका लागि गरिने यज्ञ, होमादीहरू हराउँदै छन । हाम्रो ब्राम्हण गुटबन्दि त नामेट हुने भो !”
“अब चिन्ता भन्दा पनि उपाए खोज्नु पर्यो कुलगुरु ज्यू ।” सभाबाट एकै साथ स्वर गुञ्जियो ।
उनीहरूलाई थाहा थियो । गौतम सिद्धार्थ सामान्य व्यक्ति थिएनन । आफ्नो पक्षपोषण गर्न उनका नकरात्मक प्रचारवाजी गरे पनि उनको दर्शन अभेद्य थियो भन्ने उनीहरू ज्ञात थिए । उनको विपस्यनाको साधनाको अभ्यासलाई उनीहरू कुनै दोषारोपण गर्ने स्थान थिएन । उनीहरूको चिन्ताको कुरा त यो थियो कि उनको दर्शन र अभ्यासले आफनो धन्दामा धक्का दिएको थियो । मानिसहरूलाई सचेत बनाएको थियो । असत्य र सत्यताको पर्दाफास गराएको थियो । पुरोहितहरू आफनो धर्मधन्दाको क्रियाकर्म परम्परागत तरिकाले मात्रै सञ्चालन गर्न पाए पनि अरु केही चाहिएको थिएन । तर बढ्दै्र गएको मानिसहरूको चेतनास्तरले उनीहरूलाई आफनो स्वर्ग र नर्कको भय र त्रासको धन्दालाई निरन्तरता दिनु थियो । तर कसरी ? किसनपति अलिक अनुभवि र बुज्रूक पण्डित थिए । उनले आफना अनुज पण्डितहरू र सदस्यहरूलाई हेर्दै भन्ने गर्थे, “यो कस्तो अचम्म ! शाक्यमुनिले त अनात्मालाई प्रश्रय दिइरहेका छन् । आत्माको अनन्तताको खण्डन गर्दै हिँड्छन । इश्वरको भत्सर्ना गर्छन् । मानिसहरूको मनबाट पितृ, श्रद्धा र मुक्तिको भावलाई हटाउँदै छन् । के उनी सनातन परम्परालाई तथानाम गालीगलौज गर्ने, अनिश्वरवादी भएर हिँडदा आफैँलाई मात्र महान ठान्छन् त ? आफैँलाई ईश्वर ठान्छन त ? “यदि त्यस्तो हो भने त ईश्वरको अपमान र असहिष्ण्ुता फैलाउँदै गरेको आरोपमा उनलाई दण्ड दिनुपर्छ ।” अन्धभक्त भीमप्रसादले आफनो मनको तिक्तता पोख्थे ।
सदस्यहरू सभामा चिच्याउँदै गरेको सुनिन्थ्यो । कुनै जुक्ति निकालियोस् । हामीलाई न्याय गरियोस । सभामा यस्तै आवाज गुजिन्थ्यो । दण्डपानी सबैलाई सचेत बनाउँदै आफ्नो राय राख्ने गर्थे । “यो असम्भव छ । एक त उनको अनुयायी र शिष्यहरू दिनप्रति दिन बढिरहेका छन । अर्को उनलाई सजाय सुनाउँदा झन् हाम्रो विस्वसनियता घट्छ । भविष्यमा हिन्दु धर्मलाई कंलकको इतिहास झेल्नु पर्छ एक योगका प्रवर्तक सन्तलाई अन्याय गरेको आरोपमा । अब अरु कुनै विकल्प खोज्नुपर्छ ।“ आफनो अनुकूल हुने उपाए पहिल्याउन बसेका पण्डितहरूको विचार विमर्श चलिरहेको हुन्थ्यो । सभामा उपस्थित सबै ब्राम्हणहरू आफनो फाइदालाई प्रश्रय गर्ने देखिए पनि एकदुई जना ब्राम्हण भने फरक मत राख्ने खालका थिय । उनीहरू वास्तवमा सभामा निम्ताइएका नभए पनि त्यो निर्णायक सभामा आफनो विचार राख्न उपस्थित भएका थिए । ती मध्य एकको नाम कृष्णध्वज थियो । उनी अलिक अग्रगामी विचार राख्ने पण्डित थिए । उनी पण्डित भए पनि लोभ, इष्र्या र कुप्रथाबाट ग्रसित थिएनन् । उनी आफैँ दानी थिए । समाजमा परिआएको बेला पीडित र अपहेलितलाई साथ दिन्थे । धर्मशास्त्रमा पनि कम थिएनन । उनले समाजमा आफनो ज्ञान बाढदा अरु पण्डितहरूको अर्गेलो भएका थिए । उनले आश्रम खोलेर शिक्षा दिने गर्थे । तर हिन्दु धर्मग्रन्थ, बेद, पुराण, गीता इत्यादिको ज्ञान बाढ्दै हिँडदा गाँउका अन्य पण्डितहरूले उनलाई पापीको संज्ञा दिँदै अपमान गर्न कुनै कसर बाँकी राख्दैनथे । कृष्णध्वजले पण्डितहरूको चिन्तालाई पहिल्यै बुझिसकेका थिए । उनीहरूले उनको कुरा सुन्न नचाहे पनि उनले उनीहरूलाई आफूलाई लागेको राम्रो नराम्रो कुराको बारेमा बताउन भने डराउँदैनथे । “आर्यहरू ! तपाईँहरूको चिन्ताको विषयसँग म राम्रै अवगत छु । मेरो विचारमा अव हामीले कुप्रथा र कुरिती त्यागेर हिँड्ने बेला आएको छ । समाज सचेत बन्दै छ । धर्मको नाममा हामीले सोझा जनताहरूलाई नानाथरी डर देखाएर धन कमाउने धन्दा त्याग्नुपर्छ । यदि उनीहरूकै चाहाना भयो भने र मन शान्तिको लागि कुनै पुजाआज गर्दा बोलाउँछन भने छुट्टै कुरा छ ।
ब्राम्हणहरूको अन्धविस्वासको मलजलले मानिसहरूमा बैदिक सनातन धर्म प्रतिको मोह घट्दै गएको छ । भगवान्को नाममा गोरखधन्दा गर्न छाडिदिनुहोस् । सत्कर्म र निष्पक्ष धर्मको अभ्यास नगरि आफनो रोजीरोटीको लागि बनाउने पूजापाठका अनेकन षडयन्त्रहरूले भगवानको आराधना र उपासनामा मानिसहरूको चाह गिरेको छ । हिन्दू धर्मको स्वत्व नाँसिदै छ । सिद्धार्थ गौतमले पनि यस्तै कुराको विरोध गर्नु भएको हो । उहाँको स्वतन्त्रता र मानव दुःख मुक्तिको दर्शन हामीहरूकै कुरिती र कुप्रथाको उपज वा परिणाम हो ।”, उनको कुराले सबै ब्राम्हणहरूको मुटु पोलिरहेको थियो । त्यही बीचमा लिलाधर आक्रोशित हुँदै प्रश्न गर्थे, “तपाईँलाई के थाहा छ ? यदि गौतम सिद्धार्थ हाम्रो कुरिती र कुप्रथा प्रति क्रुद्ध छन भने किन हामीलाई मात्र खण्डन गर्दैनन् त ? किन अनात्माको जप लिई हाम्रो ईश्वरको अस्तित्वलाई नकार्दै हिँडछन् ? के यो हाम्रो सम्प्रदाय प्रतिको प्रहार होइन ? तपाईँ कुरै नबुझी त्यसै उनको पक्षपोषण गर्ने व्यक्तिहरूले नै समाजमा मानिसहरूको हिन्दु धर्म प्रतिको विस्वास कम हुँदै गइरहेको छ ।” कृष्णध्वज जी ! तपाईँले हामीहरूलाई सल्लाह दिन आवश्यक छैन । लिलाधर आफनो तिक्तता पोख्थे । कृष्णध्वजलाई राम्रै थाहा थियो । उनको कुरा उनीहरूलाई पच्दैन । तैपनि मुस्कुराउँदै आफनो विचार राख्थे, “ठीकै छ । तपाईँहरू को जो विचार ! तर हिन्दु धर्मको ठेकेदार बन्नुभएका तपाईँहरूलाई मेरो एउटा सल्लाह छ । आफनो अनुकूलका परम्पराहरूलाई मलजल गर्दै गर्दा हिन्दु धर्मको स्वत्वमा कलंक लाग्ने काम चाहिँ गर्नु हुँदैन । यो पवित्र धर्मको भविष्यलाई कलंकित बनाउन हुदैन ।” बहस चर्किन्थ्यो । गाउँ सहरमा पनि विभिन्न तर्क राख्ने मानिसहरू देखिन्थे । कोही पण्डितहरूको खण्डन गर्थे भने कोही पक्षमा बोलेको सुनिन्थ्यो । सभामा भएका कुराहरु गाइँगुइँ गाउँ सहरतिर पनि फैलिइरहन्थे । दिनहरु बित्दै गएका थिए । सभाले भने कुनै निक्र्योल निकाल्न सकेको थिएन ।
राजसभामा पनि मन्त्रीहरू, कुलगुरु र धर्मगुुरु लागाएतले राजालाई आ–आप्mनो राय सुझाव दिने गर्थे । अनेक उपाय सुझाउँथे । बहसमा झन् झगडाको स्थिती सृर्जना हुन्थ्यो । राजसभा पनि पुन सामेल हुने दिन तोक्दै बिसर्जन हुन्थ्यो । उता ब्राम्हणसभामा बहस चल्दै गर्दा पदमपानीले आफ्नो मनमा लागेको कुरा साथीहरूको ध्यान खिच्दै भन्ने गर्थे, “गौतम सिद्धार्थ अनात्मावादी र अनिश्वरवादी हुन् । यसको मतलब उनी शुन्यवादी हुन । शुन्यवादलाई प्रश्रय गर्दै हिँडने दर्शनले समाजमा मानव मुक्ति सम्भव छैन भन्दै उनको विरुद्ध प्रचार गरेर उनको ख्याति घटाउने उपाए कस्तो लाग्छ ? तपार्इँहरूलाई ?” अनि अनिरुद्र पण्डितले हलका सदस्यहरूलाई नियाल्दै बोल्थे । “घर गृहस्थी त्यागेर, कर्मलाई लत्याएर, भीख माग्दै जीवन चलाउन खोज्ने शुन्यवादी नै हुन । उनको दर्शन नै खोक्रो छ । शिर मुण्डन गरेर चिवर भिरेर भिक्षा लिँदै साधना गर्दा सांसारिक दुःखबाट मुक्ति मिल्छ भन्दै हिँडने भगौडा हुन । हामी आफनो कर्म त गरेका छौ, तर उनि मुक्तिको नाममा युवाहरूलाई भडकाएर भिख माग्दै जीवन चलाउने अकर्मण्यतालाई प्रश्रय दिइरहेका छन । यदि सारा जगत उनकै अनुसरण गरे अन्न उत्पादन कसले गर्छ ? प्रकृतिको नियम कसरि चल्छ ? भिक्षा र साधना मात्रै कर्म हो भन्ने हो भने सबै मानव जाति आफनो काममा नलागे यो संसार चल्ला ? आफुलाई साधनामा मात्र लगाएर प्रकृतिमा खनजोत नगरी विहार र गुम्वाका आरामदायि शयनकक्षमा शान्तसँग जीवन व्यतित गर्ने कार्य कसरी प्रकृतीप्रद्धत छ ? कर्म नै त्याग्ने हो भने जीवन कसरी चल्छ ? त्यसैले उनले शून्यवादको प्रश्रय दिएको अभियोगमा र युवाहरूलाई भडकाएको अभियोग लगाउनु पर्छ । यसरी हामी जनताको नजरमा उत्तम सावित हुन सकिन्छ ।” सबै सदस्यहरू उनको वाकचातुर्यलाई साथ दिन्थे । पदमपानी र दण्डपानीको अभिव्यक्ति ठिकै लागे पनि पण्डितहरू सिद्धार्थ गौतमको मार्गमा मानिसहरूको आकर्षण अझै बढेको देख्दा असमञ्जसमा परेका थिय । उनी शुन्यवादी नै हुन भन्ने आधारहरू जति नै तय गरे पनि उनले अनुशरण गरेको विपश्यना साधनामा कुनै खोट भेट्न सकेका थिएनन । उनीहरू अचम्ममा थिए । गौतम सिद्धार्थको अनुयायीहरूको सागर देख्दा । सोच्ने गर्थे, आखिर उनमा के शक्ति छ ? यो प्रश्नको जवाफ आफैँले विश्लेषण गर्न सक्ने भएता पनि त्यसको वकालत गर्न उनीहरू कतै तयार थिएनन् ।
कृष्ण जन्माष्टमीको दिन थियो । पूरै देश सिगाँरिएको थियो । सबै राज पण्डितहरू र अन्य सदस्यहरू सभाहलमा उपस्थित हुँदै थिए ।
सत्य, अहिंसा र शान्तिको आवहनलाई पुजारीहरू रामै्रसँग बुझेका थिए । जीवनको दर्शन सिकाउन कुनै न कुनै व्यक्ति त सन्त बन्नै पर्छ वा नयाँ अवतार लिनै पर्छ भन्ने कुरा उनीहरूले विष्णुको विभिन्न अवतारबाट ज्ञात नै थिए । गृहत्याग, परिवारत्याग गरेर नै कृष्ण भगवानले जीवनको दर्शन फैलाउँदै हिँडे भन्ने पनि उनीहरूलाई थाहा नभएको होइन । वास्तवमा उनीहरूलाई आफनो परम्परा देखि चल्दै आएको जीवन धान्ने पेसा नै पो फुत्किन्छ कि भन्ने डर मात्र थियो । भिक्षुहरू उनीहरूको खण्डन गर्दै हिँडने गरेको कारण पनि यो समय कै माग हो भन्ने कुरामा पनि जानकार थिए । किनकि धर्मका नाममा समाजमा ब्रम्हलुट यथार्थमै बढेको थियो । विचार र वहस प्रत्येक हप्ता चलिनै रहन्थ्यो । सिद्धार्थ गौतमको महा परिनिर्वाण भयो भन्ने खबर जताततै फैलिइसकेको थियो । तर विस्तारै समाजमा सिद्धार्थ गौतमको जीवन दर्शनले प्रभाव देखाउन लागेको थियो । मानिसहरू पुरोहितहरुसँग प्रतिप्रश्न गर्न सुरु गरिसकेका थिए । महिलाहरू भिक्षुणी हुन पाउने नियम बनाएपछि त झन समाजमा पुरोहितहरूको धर्मधन्दा वास्तवमै ओरालो लाग्दै थियो । समाजका हरेक ब्राम्हणहरू मन्दिरमा भेला भएर पनि यही चिन्ताको बारेमा बहस गरेको दृश्य जताततै देखिन्थ्यो । अब के उपाय निस्केला र स्थिति सामान्य होला भन्ने आशामा उनीहरू दिनहुँ खबर बुझन खोज्थे ।
कृष्ण जन्माष्टमीको दिन थियो । पूरै देश सिगाँरिएको थियो । सबै राज पण्डितहरू र अन्य सदस्यहरू सभाहलमा उपस्थित हुँदै थिए । दिनहुँ मन्दिर र राजसभामा जम्मा भएर विचार विमर्श गर्दा पनि समस्याको हल निस्केको थिएन । पण्डितहरू चिन्तित थिए । भेलामा पदमपानि पण्डित बाहेक अरु सबै उपस्थित भैसकेका थिए । आज कृष्ण जन्माष्टमीको दिन भएकोले पदमपानीलाई राजदरवारको पुजाकक्षमा पुजाकर्म पनि गर्नुपर्ने भएकोले ढिला भएको थियो । राजदरवारको कर्म भ्याएर राजपरिवारसँग विदा लिएर उनी सभाहलमा आइपुगे । पहिले कृष्ण भगवानको जन्मोत्सव मनाउने कार्यक्रम थियो । हल्का भएपनि खुसियाली छाएको देखिन्थ्यो । कृष्ण स्मरण कार्यक्रम सकिएपछि पण्डितहरू उही पुरानै चर्चामा लागे ।
उपस्थित अरु सदस्यहरू आफनो आफनो धारणा राख्न थाले । जति अभ्यास गर्दा पनि समाधानको उपाय निस्केको थिएन । आज पदमपानी अलिक हँसिलो मुद्रामा देखिएका थिए । यसैबीचमा दण्डपानीले उनीसँग कारण सोधे । सभाहलमा भएका पण्डितहरू उत्सुक देखिएका थिए । पदमपानी हँसिलो देखिनुको कारण उनले एउटा जुक्ति पहिल्याएको कारण थियो । उनले यसबारेमा राजासँग पनि छलफल गरिसकेका थिए । उनले सभामा उपस्थित सबैको ध्यान खिच्दै भन्न थाले । “प्रिय मित्रहरू ! प्रिय बन्धुहरू ! तपाईँ हामी अहिले जुन समस्यामा दिनरात विचार र बहस गरिरहेका छौँ, त्यसले हामीहरूको निद्रा हराएको छ । म पनि तपार्इँहरूको बेचैनीलाई महसुस गर्न सक्छु । तर आज म एउटा विचार बोकेर आएको छु जस्ले हाम्रो रिती, परम्परालाई धारासायी हुनबाट जोगाउने मद्दत पुग्न सक्छ । यदि तपाईँहरूलाई कुनै आपत्ति हुँदैन र स्वीकार गर्नुहुन्छ भने म एउटा अलिक जटिल उपाए बताउँछु ।” सबै ब्राम्हणहरूका कान ठडिए । अनि अनिरुद्रले प्रश्न गरे । “के उपाए हो ? आदरणिय कुलगुरु ज्यू ! यदि त्यो उपाएले काम गर्छ भने हामि नमान्ने कुरै हुँदैन ।”, अरु सबै उपस्थित पण्डितहरूले पनि अनिरुद्रको कुरामा सहमत जनाए । “अवश्य बन्धुहरु ! यो उपायले पक्का पनि रङ्ग ल्याउनेछ ।” पदमपानीले आस्वस्त पार्दै भन्न थाले । हामी हिन्दु धर्मावलम्बीहरूलाई थाहै छ । परम्पुज्य भगवान विष्णु हरेक युगमा धरतीमा विभिन्न स्वरुपमा जन्म लिनुहुन्छ । अब हामीले फेरि पनि भगवान् विष्णुको नयाँ अवतार पाउने बेला भएको छ बन्धुहरू ! हाम्रो उन्नति र प्रगतिको लागि भगवान विष्णुले पुनः यो धरतीमा अवतार लिनुभएको छ । सभाहलमा खैलाबैला मच्चियो । यस्तो अप्रत्यासित कुराले पण्डितहरू अलमलमा परेका थिए । सभाबाटै प्रश्न उठयो । “यो कसरी सम्भव छ आदरणीय राजपुरोहित ज्यू ?” भगवान् विष्णुको फेरि कसरी अवतार भयो ? को हुनुन्छ वहाँ ? सभाबाट आएको प्रश्नलाई उत्तर दिँदै पदमपानी बोल्न थाले, “प्यारा बन्धुहरू ! सिद्धार्थ गौतम नै विष्णु भगवानको दशौँ अबतारको रुपमा जन्म लिएर आएको कुरालाई हामीले समाजलाई विस्वस्त पार्न सक्यौँ भने हाम्रो परम्परा र रिती संस्कार जोगाउन मद्दत मिल्छ । हाम्रो पुरोहित अभ्यास र हाम्रा परम्परागत संस्कारहरू यथावतै राख्ने यो भन्दा उत्तम उपाए हामीले भेट्न सकेनौ । अब तपार्इँहरूको स्वीकृत नै यस समस्याको केही हद सम्मको हल हुन सक्छ ।” पदमपानीको कुरा सुनेर पण्डितहरू मुखामुख गर्न थाले । उनीहरूको मुखाकृत बिग्रियो । भीमप्रसाद उठेर विरोध गर्न कस्सिए , “यो कसरी सम्भव हुन सक्छ बन्धुहरू ? जो अनिश्वरवादी छ, अनात्मावादि छ, उसलाई भगवान् बनाउने ? यो हुन सक्दैन ।” किसनपती पनी असन्तुष्ट देखिए । अनिरुद्र र दण्डपानीलाई पनि यो विचार खासै मन परेको थिएन किनकि सिद्धार्थ गौतमलाई भगवानको दशौँ अबतार बनाइदिने हो भने मानिसहरू आत्मा, स्वर्ग, नर्कमा विश्वास नगर्लान भन्ने त्रास थियो । तैपनि यो भन्दा उत्तम उपाय उनीहरूले सोच्न सकेका थिएनन् । सभामा उपस्थित अन्य ब्राम्हण सदस्यहरू आपसमा खासखुस गर्न थाले । पदमपानीको प्रस्तावको विकल्प उनीहरूले पनि खोज्न सकेनन् । पदमपानीले उनीहरूलाई पुनःसम्झाउदै भन्न थाले, “प्रिय ब्राम्हण बन्धुहरू ! हामीले यो बुझन जरुरी छ कि सिद्धार्थ गौतम चानचुने माहात्मा होइनन् भनेर । उनले विपश्यना योग साधनाबाट नै जीवनको रहस्य बुझे जुन हाम्रै बैदिक सभ्यतामा रहेको योगको पुनरावृत्ती हो । उनका अनुयायीहरू दिनप्रतिदिन बढिरहेको यो अबस्थामा उनलाई भगवानकै किताब दिँदा पनि उनीहरू विस्मित हुने छैनन । अर्को धार्मिक सहिष्णुताको अवलम्बन गरे जस्तोे पनि हुन्छ । यदि उनलाई भगवानकै उपमा दिइयो भने उनकै मन्दिरहरू बन्ने छन्, पुजा अर्चना फष्टाउने छ । जुन हाम्रो अनुकूल हुन्छ । हाम्रो विरोध पनि घटदै जानेछ । उनलाई हिन्दु धर्मकै एक अंश बनाउँदा म त कुनै समस्या देख्दिन । अब तपाईँहरू नै भन्नुहोस उनको दर्शन कालजयी नै छ कि छैन ? यसले हिन्दु धर्ममा पनि नयाँ अध्याय थप्ने छ । ब्राम्हणहरू सोचमग्न भए । उनीहरूले पनि मनमनै सोच्ने गर्थे वास्तवमै सिद्धार्थ गौतम पुज्न लाएकै छन । उनलाई विष्णुको दशौँ अवतार मान्ने कुरालाई पनि सौभाग्य नै ठाने । धेरै बेर यस्तै चिन्तनमा डुबेपछि चतुर पण्डितहरू पदमपानीको प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गर्ने पक्षमा देखिए । अन्य राज सदस्य पण्डितहरूले पनि आर्को विकल्प नदेखेपछि पदमपानीको प्रस्तावलाई समर्थन गरे । समर्थन जुटेको भोलिपल्ट आफनो प्रस्ताव लिएर राजसभामा पेस गर्ने निर्णय भयो । भोलिपल्ट राजसभामा राजा, पण्डित र मन्त्रीहरूको उपस्थितीमा उक्त निर्णय पेस गरियो । राजाले राजपुरोहित पदमपानी र अन्य ब्राम्हणहरूले गरेको निर्णयलाई पुन बहसमा ल्याउन चाहेनन । तै पनि उक्त निर्णयमा उपस्थित सबै राजसभा सदस्यहरू बिरोध गर्ने अवस्था थिएन किनकि राजसभाको सबै कर्ताधर्ता पण्डितहरू नै थिए ।
सबै राजसभा सदस्यहरू राजी भएपछि त्यसलाई मुर्त रुप दिन राजाले उक्त निर्णलाई पारित घोषणा गरिदिए । राजाले उपस्थित सबै पण्डित र राजसभा सदस्यहरूको रोहबरमा नयाँ प्रस्तावलाई मोहोर पनि लगाइदिए । सबै ब्राम्हणहरू भगवानको नयाँ अवतार पाएकोमा खुसी देखिए जस्तो भान पारेका थिए । त्यस दिन राजाले उक्त निर्णयलाई मोहोर लगाइदिए पछि विस्तारै यो समाचार राज्य भर फैलियो । कोही खुसी भए । कोहीले चाहि खण्डन गरे । तर ब्राम्हण समाजले गरेको यो निर्णयले उनीहरूलाई आफनो धर्मधन्दा गर्न बाटो खुलाइदिएको भए पनि तत्कालै त्यो अवस्था थिएन । गौतम सिद्धार्थको जीवन दर्शन विस्तार भैरहेको त्यो समयमा पण्डितहरूले भावि समयमा पनि आफनो वर्चश्व कायम गर्न उक्त निर्णय गरेका हुन भन्ने गाइँगुइँ सुनिन्थ्यो । कालान्तरमा यस निर्णयले उनीहरूको संस्कार र कर्ममा भने केही लचकता ल्याइदिने छ भन्ने कुरा पनि समाजमा बहसको विषय बन्यो । समाजलाई पुन भ्रमित गरि आफनो प्रभुत्व स्थापना गर्न केही हद सम्म सफल भएकोमा पण्डितहरू खुसी देखिन्थे । राज्यमा कहीँ कतै उक्त निर्णयको खण्डन गरेता पनि ब्राम्हण समाजले धार्मिक सहिष्णुताको व्याख्या गर्ने उपर्युक्त अवसर पाएको थियो । तापनि यो अध्याय हिन्दुधर्मका नेतृत्व गरिरहेका पुरोहितहरूको चातुर्यताको कारणले समाजमा यदाकदा अझै पनि विद्यमान जस्तै देखिन्छ । यसलाई अझै पुष्टि गर्ने कार्य बौद्धलामाहरूको जनैपुर्णिमाको दिन रक्षाबन्धन र टिका प्रसाद गर्दै विभिन्न हिन्दु मन्दिरहरूमा आफनो दौलत कमाउने चेष्टाको अभ्यासलाई हेर्न सकिन्छ ।
नोटः सन् १९९९ नोभेम्बर १२ मा विपस्सनाका प्रधान शिक्षक श्रि एस.एन. गोएनका (S.N. Goyanka) र काञ्चि कामकोटि पिठका शंकराचार्य जयेन्द्र सरस्वतीले सारनाथमा संयुक्त रुपमा बुद्ध विष्णुका अवतार थिएनन भन्ने घोषणा गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










