आज म रोएँ
भक्कानिएरै रोएँ
मलाई लाग्यो रूनुको अर्थ
हल्का हल्का हुनु हो
वाफजस्तै उड्नु हो
हिउँजस्तै पग्लिएर
मनलाई सललल्ल बग्न दिनु हो
शीतल शीतल जूनजस्तै
शान्त रहनु हो
जब म रून्छु जूनसँग
जुनेली रातमा
एक्लै एक्लै चमचमाएका ताराहरूसँग
अनि सोच्छु
जून पनि त रातमा एक्लो छ
ताराहरू पनि त एक्लै एक्लै
चम्चमाई रहेका छन्
दिनमा सूर्य पनि त एक्लो एक्लो छ
राप ताप दुवै छरेकै छ
एक्लो एक्लो र पनि आफ्नो धर्म छोडेका छैनन्
जून, तारा र सूर्यले
त्यसैले
आज भोलि म मान्छेहरूसँग रूनै छोडेँ
आफ्नासँग बोल्नै छोडेँ
जब बुझेँ
आफ्नासँग रूनु भनेकै आफ्ना गुमाउनु हो
नाता गुमाउनु हो
चाडपर्व सबै सबै हराउनु हो
त्यसैले
अब मलाई एक्लै एक्लै रूनु छ
साराका सारा पीडाहरू धुनु छ
अनि
हल्का हल्का भएर
सिमलको भुवासरी
उड्नु छ माथि माथि ।