पात हिस्सी परेका डाँठमा पानी लागेको
दियो सङ्केत बिरुवाले जवानी लागेको

खुट्टा नउचालेरै निधारमै चुम्ने रहेछौ
फोटो हेर्दा त कति धेरै सानी लागेको

तिमीले चुम्बन गरेपछि मात्रै त हो नि
मलाई ऐना हेरिरहने बानी लागेको

केवल टोकरी थियो, धन्न तिमी बस्यौ
त्यै दिनबाट हो दिल फूलदानी लागेको

केही त बद्नियत छ मेरो छाँयाको
त्यसैले मेरोपछि जानीजानी लागेको

यही मुटु हो पटकपटक उत्खनन हुने
यही मुटु छ सबैलाई खानी लागेको।