
१. विषय प्रवेश
लामो समयदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा बस्दै आफ्नो कर्मसँगै साहित्यिक गतिविधिमा सक्रिय हुने प्रमिला शर्माले ‘पोल्ने हिउँ’ नामक कथासङ्ग्रह शिखा बुक्स बागबजारबाट प्रकाशन गराएकी छन्। ‘प्रेमको खोजी’ कथासङ्ग्रह, ‘सम्झनाको झरी अमेरिकामा घरिघरि’ नियात्रासङ्ग्रह एवं ‘भजन प्रभु-वन्दना’ गीतिएल्बम प्रकाशनमा ल्याई आफ्नो सिर्जनक्षमता देखाई साहित्यिक वृत्तमा चिनिँदै प्रसिद्धितर्फ अघि बढ्न खोजिरहेकी शर्मा मनोविज्ञान विषयकी विद्यार्थी पनि हुन्। नेपालको मध्यपूर्वी तराईको चेली प्रमिला शर्मा कोलोराडोको डेनवरमा बस्छिन्। डेनवरमै अत्यधिक समय बिताउने भएका कारण त्यहीँ नै आफ्ना साहित्यिक सिर्जनाका प्लट (कथानक) खोज्छिन्। यो स्तम्भकारले प्रमिला शर्मालाई एक साहित्यिक मात्र ठानेको थियो, तर यिनी त साहित्यिक स्रष्टा-सर्जक पो रहिछन्। शर्माका पुस्तकाकार कृति एवं एल्बमले समेत यो कुराको पुष्टि गर्छ।
‘पोल्ने हिउँ’ (वि.सं. २०७८) सहित तीन पुस्तकाकार कृतिकी धनी प्रमिला शर्मालाई जुन १६, सन् २०२२ का दिन एक उपनयन कार्यक्रममा यो स्तम्भकारले भेटेको हो। सरल, भद्र, शालीन एवं अग्रज व्यक्तित्व शर्माको ‘पोल्ने हिउँ’ कथासङ्ग्रहबारे समीक्षा गरिदिनुपर्यो भन्दै आदरणीय पदम विश्वकर्माको अनुरोध आइसकेको थियो। भेटको अवसर जुरेको थिएन। तर कृतिसर्जक शर्मासँग साक्षात्कार भइसकेपछि अर्थात् सन् २०२२, अगस्ट ७ आइतबारका दिन अनेसासले आयोजना गरेको मनुजयन्तीमा पदम विश्वकर्मामार्फत उनको पुस्तक हात पारियो । ‘मनु ब्राजाकीका रोज्जा गजलहरू’ (गैआनेसं, कोलोराडो च्याप्टर) को लोकार्पण पनि उक्त जयन्ती कार्यक्रममा रहेको थियो। ‘पोल्ने हिउँ’ पुस्तकबारे आफूले जाने-बुझेको लेखिदिन्छु भनी वचन दिइसकेकोले यो स्तम्भकारले उक्त कृति सरसरती पढेको हो। यो स्तम्भकारको उद्देश्य ‘पोल्ने हिउँ’ सङ्ग्रहको सटीक टिप्पणी गर्दै कथागत विशेषता केलाउने मात्र रहेको छ। कृतिबारे गम्भीर खोज-अनुसन्धान शोधार्थी एवं अग्रज समालोचक-समीक्षकले नै गरून्। प्रमिला शर्माको कथाकारिता र स्थानधर्मिताबारे समयले पनि मूल्याङ्कन गर्दै जाला।
२. ‘पोल्ने हिउँ’ कथासङ्ग्रहको टिप्पणी
प्रमिला शर्माकृत ‘पोल्ने हिउँ’ (कथासङ्ग्रहः वि.सं. २०७८) भित्र छोटा, मझौला र लामा गरी जम्मा १७ कथा सङ्ग्रहित छन्। ती कथाहरूको सटीक टिप्पणी गर्ने उद्देश्य भएकोले त्यसतर्फ केन्द्रित हुनु उपयुक्त होला –
२.१. माई बेबी
प्रेम विषयक मनोवैज्ञानिक कथा।

विमल अधिकारी
२.२. पत्नी
मनोविज्ञान, नारी मनोविज्ञान, स्वप्नशैली।
२.३. हन्टर डेभ
चरित्रप्रधान कथा, स्वार्थी पुरुष चरित्रको चित्रण एवं मनोविज्ञान।
२.४. सुनैना
मध्यपूर्वी तराईको जनकपुरलाई कार्यपीठिका बनाई त्यहाँको दहेजप्रथा, कुसंस्कार, विभेद, शिक्षा गरिबीबारे आवाज उठाइएको कथा। मनोविज्ञान एवं पूर्वदीप्ति शैलीको प्रयोग।
२.५. अमेरिकाले पातालमा खसाउँछ
अमेरिकी जीवनको समानता, स्वतन्त्रताको प्रशंसा; नारी अधिकारको पक्षमा बोलिएको कथा। अधिकारकर्मी भन्नेहरूको ढोँगी प्रवृत्तिप्रति व्यङ्ग्य।
२.६. सपना बोल्छ
पूर्वदीप्ति शैलीको प्रयोग। बालापनको सम्झना गर्दै तराईको पोखरीमा डुबुल्की मारेको र वर्तमान कोरोना त्राससँग पौठेजोरी खेल्नुपरेको तुलनात्मक कथा। आञ्चलिकता रङ्ग भएको कथा।
२.७. आँखाको गहिराइ
मनोवैज्ञानिक कथा। प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग। डेनवरको एक ‘ओल्ड केयर सेन्टर’को परिवेशमा भोगिएको घटनालाई कथानक बनाइएको।
२.८. अब मैले कसरी नेपाली केटासँग बिहे गर्ने ?
डायस्पोरिक जीवनको गथेसो। महिला दौँतरी पात्रहरूबीचको संवाद। नेपालबाट अमेरिका प्रवेश गरिसकेपछिका नौला अनौठा अनुभवको चित्रण। संवादात्मक शैली।
२.९. छोरी
नेपाल कार्यपीठिका रहेका यस कथामा रजस्वला र किशोरीपन मनोविज्ञानबारे शिक्षा दिनुपर्ने सन्देश। कथामा रजस्वला भएकी छोरी हराएपछिको आमाको मनोदशा देखाइएको।
२.१०. सरोज
चरित्रप्रधान कथा। किशोरावस्थाको मनोविज्ञानको चित्रण। नारी पात्रको अधिक प्रयोग। मान्छेमा बिहेपछि मात्र परिपक्वपन आउने व्यावहारिक हुने कुरालाई नै मूल कथ्य बनाइएको। भारतको बिहार राज्यको मुजफ्फरपुरको एक होस्टेलको परिवेशमा कथानक घुमी सम्पन्न भएको। हिन्दी पदपदावली संवादको भरमान प्रयोग।
२.११. केभिन
अमेरिकाको प्रवेश। चरित्रप्रधान कथा। एक मनोरोगी छोरा पात्रका कारण कथानक दुःखान्तमा टुङ्गिएको विषय उठाइएको। ‘म’ पात्रको पनि उपस्थिति। यस कथालाई प्रथम पुरुष दृष्टिबिन्दु शैलीमा संरचित कथा भन्न सकिने। संस्मरणात्मक शैलीको कथा।
२.१२. बद्रीको बाकस
मनोवैज्ञानिक एवं स्वैरकाल्पनिक कथावस्तु। चरित्रप्रधान कथा। बद्रीको लैलाप्रतिको आसक्ति। मनोरोग एवं विकृत मानसकिताको चित्रण। मान्छेले आफ्ना कमीकमजोरी र गल्तीलाई आत्मसमीक्षा गरी सुधारेर अघि बढनुपर्ने सन्देश भएको कथा।
२.१३. पुतलीको ड्याडी
बालमनोवैज्ञानिक कथा। चरित्रप्रधान कथा।
२.१४. सही प्रहार
लामो आयामको ऐतिहासिक बिम्ब बोकेको कथा। राणाकालमा हुने यौनदुराचार, अनमेल विवाह, यौनशोषण आदिलाई कथ्य बनाइएको। धर्मपुत्रीलाई समेत कुत्सित भाव राख्ने, गिद्धे नजर लाउने, मुख्य पुरुष पात्र वीरशमशेरको वास्तविकता छर्लङ्ग पारिएको कथा। मीराबाई र धर्मछोरी मेलीबाट विद्रोह भएको। नारीलाई विजयी गराएको। बलात्कारीप्रति बदला लिएर नारीको विजय भएको मूल कथ्य। नारीवाद र मनोविज्ञानको चिन्तन प्रकट गर्नु नै कथाको मुल उद्देश्य। नेपालकै परिवेश भएकाले कथानक रोचक बनेको।
२.१५. पोल्ने हिउँ
कोलोराडो राज्यको डेनवर नै कथाको परिवेश। बीभत्सपूर्ण घटनालाई पोल्ने हिउँसँग तुलना गरिएको। प्रकृति आनन्दमय भएका बेला बीभत्स घटनाले परिवेश शोकपूर्ण बनेको कथ्य। प्रतीकात्मक कथा। विकृति-विसङ्गतिको चित्रण। आफ्नै कारण कथाको मुख्य पात्रले आत्महत्या गरेको घटनाले कथा दुःखान्तक।
२.१६. धारिलो तरबार
अमेरिकाको डेनवर परिवेश। हिमवर्षाको मौसमी परिवेश। एक ओल्ड केयर सेन्टरभित्रै कथा सम्पन्न। प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग। डायस्पोराको जीवन प्रस्तुत गर्ने कथाकारको उद्देश्य। अमेरिकी जीवनशैली मूलतः मिलन-पारपाचुके, पुनर्मिलन-पारपाचुकेकै कथ्यमा आधारित हुने कुरा बताइएको । नारीवाद, अस्तित्ववाद र स्वच्छन्दतावाद नै कथाको विचार पक्ष।
२.१७. पल्लिका
चरित्रप्रधान कथा। नारी पात्रलाई केन्द्रीय भूमिका। करण र पल्लिका पात्रबीचको सम्बन्ध, किशोरावस्थामा हुने संवेग देखाइएको। पात्रपात्रबीचको यौनाकर्षण। विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वाभाविक हो भन्ने मूल सन्देश कथामा पाइने।
३. पोल्ने हिउँको विषयगत चर्चा
नेपाली साहित्यको क्षेत्रमा प्रमिला शर्माको नाम ७० को दशकदेखि मात्र सुनिएको हो। साहित्यमा चासो राख्ने, साहित्यिक गतिविधिमा संलग्न हुने एवं बेलाबेला कवितामार्फत् सामाजिक सञ्जाल (जुम कार्यक्रम) मा मात्र देखिने शर्मा भन्ठानेको थियो यो स्तम्भकारले। उनको ‘पोल्ने हिउँ’ कथासङ्ग्रह हात परेपछि उनी विविध विधामा सक्रिय रहिछन्, विविध विधामा कलम चलाउँदिरहिछन्। शर्मा मध्यपूर्वी तराई महोत्तरीकी छोरी एवं कलैयाकी बुहारी भएको कुरा पनि बुझियो। जे होस्, पुस्तकाकार मार्फत् प्रमिला प्रमिला शर्मा बन्ने दौडमा देखिन्छिन्। अमेरिका जस्तो व्यस्त संसारमा रहेर साहित्यिक चिन्तनमनन गर्नु ठूलो कुरा हो। साहित्यलेखनका विविध उद्देश्य हुन्छन्। तर प्रमिला शर्माले सोखका लागि साहित्य लेखेको महसुस हुन्छ। सिर्जना एक अभिव्यक्ति पनि हो। आफ्ना विचारहरू प्रस्फुटन गर्नु पनि साहित्य हो। साहित्य उत्कृष्ट कला हो। कलाको पनि कला हो। कलाले सम्पन्न भएपछि मात्र त्यसलाई कलापूर्ण साहित्य मानिन्छ। शर्माकृत १७ मझौला र लामा कथाहरूको सङ्कलन ‘पोल्ने हिउँ’ पढिसकेपछि निम्नलिखित विशेषता भेटिन्छ। ती विशेषताबारे यसरी चर्चा गरिन्छ –
३.१. मनोविज्ञान
‘पोल्ने हिउँ’ सङ्ग्रहभित्रका कथाहरू प्रायः मनोविज्ञानको विषयमा केन्द्रित देखिन्छन्। मनोरोगी, विचलित, निराश एवं मानसिक द्वन्दमा रहने पात्रहरू प्रायः यिनका कथाहरूमा भेटिन्छन्। माई बेबी, पत्नी, आँखाको गहिराइ, केभिन, सही प्रहार, आदि कथा मनोविज्ञानमा आधारित छन्। खासमा भन्ने हो भने प्रमिला शर्मा एक मनोविज्ञानकी स्नातकोत्तर होल्डर पनि हुन्। उनले आफ्ना कथाहरूमा मानवमनको अन्तरकुन्तर केलाउने प्रयास गरेकी हुन्। मनोविज्ञानवाद यिनको मूल चिन्तन देखिन्छ। शर्माका कथाहरू अपराध मनोविज्ञानका पनि छन्। बालमनोविज्ञान भएको ‘पुतलीको ड्याडी’ हो भने अपराध मनोविज्ञानको कथा ‘केभिन’ हो। यी कथाहरू चरित्रप्रधान हुन्। प्रमिला शर्माको चिन्तन मनोविज्ञान विषयमा नै केन्द्रित रहेको पाइन्छ।
३.२. डायस्पोरिक चिन्तन
कथाकार प्रमिला शर्मा लामो समयदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा बस्छिन्। परदेशी हुँदा माटोको मायाले सताउँछ। विरानो मुलुकमा मान्छेलाई हरेक दिन नौलो-अनौठो लाग्छ। विदेशमा रहेर त्यसको सुख-दुःख, पिर-व्यथा एवं सङ्घर्ष व्यक्तिनु नै डायस्पोरा हो। शर्माले आफ्नो मात्र होइन; अन्य मुलुकका गैरआवासीयका पीडासमेत कतिपय कथामार्फत प्रकट गरेकी छन्। डायस्पोरिक चिन्तन बोकेका कथाहरूमा ‘सपना बोल्छ’, ‘अमेरिकाले पातालमा खसाउँछ’, ‘अब मैले कसरी नेपाली केटासँग बिहा गर्ने, ‘धारिलो संसार’, आदि पर्छन्।
३.३. आञ्चलिकता
कथाकार प्रमिला शर्माले प्रायः कथाहरूमा पूर्वी तराई र कोलोराडोको ओल्ड केयर सेन्टरलाई केन्द्रीय परिवेश बनाएको पाइन्छ। परिवेशगत दृष्टिले हेर्दा उनका कथाहरू राम्रै लाग्छन्। घुमिफिरी आफू (कथाकार) काम गर्ने ठाउँ (ओल्ड केयर सेन्टर) आउँछन्, त्यसका घटना परिवेशलाई ‘प्लट’ बनाउँछन्। त्यही परिवेशमा कथा अघि बढाउँछिन्। मध्यपूर्वी तराईको कुरा गर्दा ‘सुनैना’ कथामार्फत कथाकार शर्माले आञ्चलिकताको रङ भरेकी छन्। गाउँ, पोखरी, गाउँले जनजीवन, देहाती परिवेश, स्थानीयताका नमुना हुन्। ‘सरोज’ कथा पनि आञ्चलिकताको नमुना रचना हो, जुन बिहारको मुजफ्फरपुरको परिवेशमा केन्द्रित छ।
३.४. दृष्टिबिन्दु
कथातत्वको महत्त्वपूर्ण पक्ष दृष्टिबिन्दु हो। कथयिता रहने ठाउँलाई दृष्टिबिन्दु भनिन्छ। कथाकार शर्मा ‘म’ पात्रमार्फत कतिपय कथामा प्रस्तुत भएकी छन्। अतः यिनलाई प्रथम पुरुष दृष्टिबिन्दुमा बढी कथा लेख्न रुचाउने कथाकार भन्न सकिन्छ। कतिपय कथाहरू प्रमिलाकै जीवनभोगाइजस्तो पनि लाग्छन्।
३.५. सन्देशमूलक
बिना उद्देश्य कथा रचिँदैन। प्रमिला शर्माका कथाहरू कहीँ न कहीँ सन्देश बोकेर आएकै हुन्छन्। किशोरीलाई दिइने यौनशिक्षा भएको ‘छोरी’ कथा होस् या ‘सरोज’ कथा या ‘पल्लिका’, प्रायः कथाहरू केही न केही सन्देश दिन सफल नै छन्।
३.६. विकृति-विसङ्गतिको चित्रण
प्रमिला शर्माका केही कथाहरूमा सामाजिक विकृति-विसङ्गतिप्रति तीव्र आक्रोश देखिन्छ। उनी ‘पोल्ने हिउँ’, ‘अमेरिकाले पातालमा खसाउँछ’, ‘सुनैना’, ‘धारिलो तरवार’, आदिमार्फत समाजमा देखिएका विकृत पक्षलाई उजागर गर्न खोज्छिन्। ‘धारिलो तरवार’ कथाले अमेरिकी जनजीवनमा देखिएका विचलन-विग्रहको समस्या देखाएको छ। पारिवारिक विचलनले समाज विकृत बन्ने गम्भीर कुरा उक्त कथामा उठाइएको देखिन्छ।
३.७. पूर्वदीप्ति शैली
कथाकार प्रमिला शर्मा आफ्ना ‘सुनैना’, ‘सपना बोल्छ’, आदि कथामार्फत पूर्वदीप्ति शैलीको प्रयोग गर्न सफल छिन्। ‘सुनैना’ कथा उच्चकोटीको बनेको छ पूर्वदीप्ति शैलीकै कारण। यी कथाहरू आत्मसंस्मरणजस्ता पनि छन्।
३.८. संवादात्मक
कथाकार प्रमिला शर्माले आफ्ना केही कथाहरूमा संवादको राम्रो प्रयोग गरेकी छन्। ‘सरोज’ कथा जुन मुजफ्फरपुरको परिवेश छ, त्यस ठाउँको एक होस्टेलमा अध्ययन गर्ने केटीहरूको संवाद रोचक लाग्छ। संवादात्मक शैलीको अधिक प्रयोग भएको कथा ‘अब मैले कसरी नेपाली केटासँग बिहा गर्ने’ पनि हो। ‘सरोज’ कथामा हिन्दी भाषा-संवाद-पदपदावली भेटिन्छ। स्थानीय लवज-भाषा-भाषिकाका कारण कतिपय पाठकलाई दुरूह र जटिल पनि लाग्न सक्छ। बिहारमा बोलिने भाषा हिन्दी हो। प्रायः पाठकले हिन्दी बुझ्छन् नै। त्यस्तै डायस्पोरिक जीवनका ओल्ड केयर सेन्टरका र अङ्ग्रेजी बोल्ने पात्रहरूका अङ्ग्रेजी शब्द-वाक्य-पदावलीले पनि कतिपय पाठक दुरूह, कठिन ठान्न सक्छन्। ती अङ्ग्रेजी संवाद पनि विदेशी परिवेश भएका विशेषता हुन्। जस्तैः केभिन, धारिलो तरवार।
३.९. दुःखान्तक
कथाकार प्रमिला शर्मा मूलतः मनोवैज्ञानिक र चरित्रप्रधान कथालेखनमा बढी रुचि राख्छिन्। पात्रको चारित्रिक कमजोरीका कारण दुःखान्तमा कथानक टुङ्गिएको पाइन्छ। ‘पोल्ने हिउँ’, ‘केभिन’ आदि यसका उदाहरण हुन्।
३.१०. नारीवादी चिन्तन
कथाकार प्रमिला शर्मा एक विद्वान लेखक हुन्। उनले मनोविज्ञानमा स्नातकोत्तर पुरा गरेकी छन्। एक सचेत नारी स्रष्टाले नारीप्रति आवाज उठाउनु स्वाभाविक लाग्छ। यिनका प्रायः कथाहरूमा नारी पात्रको भूमिका बढी देखिन्छ। धेरै नारी पात्रको प्रयोग गर्छिन्। स्रष्टासर्जक शर्मा नारीपीडा बुझ्छिन्, नारीको मर्मलाई मनन गर्न सक्छिन्। नारी दयाको भीख माग्ने होइन; एक दुर्गा पनि हो। सरस्वती पनि हो। सृष्टिकर्ता पनि हो। जननी पनि हो भन्ने भाव प्रकट गर्न खोज्छिन्। आधा आकाश ढाक्ने नारीले नारीहिंसा विरुद्ध डटेर लड्न पनि आह्वान गर्छिन्। नारीवादी चिन्तन बोकेका ‘अमेरिकाले पातालमा खसाउँछ’, ‘सुनैना’, ‘सही प्रहार’ आदि कथा पर्दछन्। घुमिफिरी नारी पक्षमा आवाज उठाइरहनु प्रमिला शर्माको विशेषता मानिन्छ।
४. निष्कर्ष
नेपाली साहित्यको क्षेत्रमा ७० को दशकको उत्तरार्द्धतिर पुस्तकाकार कृतिमार्फत देखिने कोलोराडो, डेनवर निवासी प्रमिला शर्माको ‘पोल्ने हिउँ’ (वि.सं. २०७८ माघ) बजारमा आएको छ। उक्त कृतिको सरसरती अध्ययन गरिसकेपछि साहित्यकार शर्मालाई चिन्न सजिलो भएको छ। उनको कथाकारिता जान्न पनि मदत पुगेको छ। स्वयं शर्मालाई प्रमिला शर्मा भनेर चिनाएको पनि छ। प्रमिला शर्माको एक कृति मात्र पढी उनको साहित्यिक मूल्याङ्कन गर्नु हतारो मात्र होला। समयले पनि मूल्याङ्कन र टीकाटिप्पणी गर्दै जाला।
प्रमिला शर्माको कथासङ्ग्रह पढिसकेपछि यिनमा विषयचयनमा विविधता, थोरै पात्र, परिवेशमा नेपाल र अमेरिका (आञ्चलिकताको रङ), दृष्टिबिन्दुमा प्रथम पुरुष, आत्मसंस्मरणात्मक-संवादात्मक शैली, मनोविज्ञानवाद, नारीवाद, सन्देशमूलक एवं अङ्ग्रेजी-हिन्दी-नेपाली-मैथिली आदि शब्द पदपदावलीको प्रयोग आदि विशेषता भेटिन्छ। कथातत्वमै केन्द्रित भएका कारण सङ्ग्रहलाई खोट लाउने ठाउँ छैन। यिनका कथाको आयाममा विविधता पनि भेटिन्छ। जे होस् समग्रमा यिनका सत्कार्यलाई सलाम भन्नै पर्छ।
सङ्ग्रह सर्वगुणसम्पन्न छ भन्ने पक्षमा यो स्तम्भकार छैन। काव्य दोषरहित हुन्न भन्ने पूर्व शास्त्रीय मान्यता पनि छ। प्रमिला शर्माको कथाकारिताबारे केही टिप्पणी गर्नै पर्छ। गुणस्तरका हिसाबले पनि यिनका कथाहरूमा एकनासेपन छैन। पाठकले कहीँकतै जटिल, दुरूह भन्ने ठान्न पुग्छन् होला। सबै कथामा होइन, कुनै कुनैमा। कुनै कुनै कथामा पाठक/समीक्षकले बोधगम्यता, रोचकताको कमी पनि महसुस गर्न सक्लान्। कतिपय कथा कथाकारकै जीवनभोगाइ वरिपरि घुमेझैँ लाग्छन्। उनी काम गर्ने ओल्ड केयर सेन्टरबाहेक अन्य जनजीवनलाई पनि उनले ‘प्लट’ बनाउने प्रयास गर्नु उत्तम हुनेछ। मूलतः शर्माको मनोवैज्ञानिक चिन्तन नै देखिन्छ। मनोवैज्ञानिक कथाहरू सामान्य, अपराध, बालमनोविज्ञानमा आधारित छन्। ती शिष्ट ढङ्गले प्रस्तुत भएका छन्। नेपाल परिवेशमा संरचित कथाहरू पाठकलाई गहिरो प्रभाव पार्न सफल छन्, डायस्पोराका कथाभन्दा। अमेरिकी जनजीवनका कथाहरू पाठकलाई दुरूह, दुर्बोध्य, जटिल पनि लाग्न सक्छन्।
सङ्क्षेपमा भन्नुपर्दा, कथाकार प्रमिला शर्माले कथाको स्तरीयतामा अझ एकरूपता ल्याउने र कथालाई सरल, सरस, रोचक, बोधगम्य बनाउन जोड दिनुपर्ने देखिन्छ । नेपाली पात्र र परिवेशमा जोड दिए र मनोविज्ञान विषयका कथाहरूमा मानसिक द्वन्द्वको पक्षलाई अझ सशक्त रूपमा ल्याउन सके कथाहरू अझ सबल हुन्थे कि ? विविध विधामा कलम चलाइरहने प्रमिला शर्माका कविता, नियात्रा/संस्मरणतर्फ पनि कलम चल्नुपर्छ। डायस्पोरामा बस्ने भएकाले डायस्पोरिक नियात्रा/संस्मरणतर्फ आफ्नो कलम मोड्नुपर्छ। साहित्य कलाको पनि कला हो। एक से एक कथाकार स्रष्टासर्जक अहिले देखिइरहेका छन्। तुलनात्मक अध्ययन पनि आवश्यक देखिन्छ। यो सङ्ग्रह पढिसकेपछि पाठक/समीक्षकले यसरी टिप्पणी गर्न सक्छन् –
प्रमिला शर्माको ‘पोल्ने हिउँ’ले सोचे जति पोल्न सकेको छैन। कथातत्त्वमा आधारित कथाहरू भए पनि कथाकलाको अलि अभाव महसुस हुन्छ। जे होस् उनको सत्कार्यलाई सलाम छ। साहित्यको चिन्तनमनन गर्दै पुस्तकाकार कृति प्रकाशित गराउनु ठूलो उपलब्धि हो। शर्माले आगामी दिनहरूमा आफूलाई अझ परिमार्जन/परिष्कार गर्दै जानुहुने विश्वास छ। ‘पोल्ने हिउँ’ले पनि प्रमिलालाई प्रमिला शर्मा भनी चिनाउने कुरामा द्विविधा छैन।
निःस्वार्थ साहित्यकर्ममा लाग्ने शर्मालाई सलाम। शुभकामना पनि।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 








