
सभ्यताका माली शिक्षकहरूमा समर्पित उपन्यास ‘उज्यालोतिर’ दुई बसाइमा पढेर सकेँ । पुस्तक पढिसक्दा कथाले उद्वेलित गरेको मन शब्दमा नउतारी अडिन मानेन । उज्यालो अर्थात् अँध्यारो नभएको अवस्था, उज्यालो शब्दमा तिर नामयोगी जोडिएर बनेको ‘उज्यालोतिर’ शब्दले शैक्षिक क्षेत्रमा रहेको अँध्यारो वातावरणलाई हटाएर उज्यालो दिशातर्फ लैजाने कुरा सङ्केत गरेको छ । शिक्षा नै समाज परिवर्तनको प्रमुख वाहक हो भन्ने मान्यता राखेको यस पुस्तकमा शैक्षिक विषयवस्तुका विविध आयाम समेटिका छन् । यस उपन्यासले वर्तमानको शैक्षिक वातावरणमा केही मात्र भए तापनि सकारात्मक परिवर्तन गर्न सकेमा यसैका माध्यमबाट समुच्च समाजलाई नै उज्यालोतर्फ डोऱ्याउन सकिन्छ भन्ने मान्यता राख्दछ । यही उज्यालो गन्तव्यप्राप्तिका निम्ति शिक्षाक्षेत्रमा गर्नुपर्ने सङ्घर्षको लामो बाटो अर्थात् प्रारूप हो यो पुस्तक ।
यसका निम्ति बालबालिकालाई परिधितिर धकेल्ने गरेको वर्तमान शिक्षण परिपाटिलाई परिवर्तन गर्न आवश्यक छ र यसको ठाउँमा बालबालिकाकेन्द्रित शिक्षण पद्धति कडाइका साथ लागु गर्नुपर्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेको छ । सरिता, प्रभा र प्रयासको प्रेमिल कुराकानीबाट सुरु गरिएको उपन्यासभित्र दोबाटोबाट किनारतिर, समय, कक्षाकोठा नै पुस्तक, उज्यालो संसारलगायत पचासओटा उपशीर्षकहरू रहेका छन् । उपन्यासको केन्द्रीय पात्र सरिता अर्थात् नमुना शिक्षकको भूमिकामा रहेकी छन् भने मुख्य सहायक पात्रको रूपमा भाष्कर सर र सहायक पात्रहरूमा हेड सर, प्रभा, प्रयास, ईश्वरलगायत थुप्रै पात्रहरू रहेका छन् । उपन्यासको कथा भास्कर सरको प्रेरणाबाट सफल बनेकी सरिताको जीवनसँग सम्बन्धित छ ।

सरस पाण्डे
कुनै पनि क्षेत्रमा सफलता हात लगाउनका निम्ति धेरै सङ्घर्ष गर्नुपर्ने र विद्यालय सफल बनाउने महत्त्वपूर्ण भूमिका प्रधानाध्यापकको नेतृत्वमा अन्य शिक्षकको रहेको हुन्छ भन्ने बलियो आग्रह पनि यस पुस्तकमा पाउन सकिन्छ । मेरो विचारमा ‘उज्यालोतिर’ उपन्यास सफल हुन चाहने शिक्षक, शिक्षक बन्न चाहने विद्यार्थी, विद्यालयलाई प्रगतिको मार्गमा नेतृत्व गर्दै बालबालिकालाई उज्यालो भविष्य प्रदान गर्ने जिम्मेवारी लिनुहुने प्रधानाध्यापक, शिक्षा प्रशासकहरू, शैक्षिक नीति निर्माता एवं आफ्ना छोराछोरीलाई योग्यतम नागरिक बनाउन चाहने हरेक अभिभावकले अनिवार्य रूपमा पढ्नुपर्ने पुस्तक हो भन्ने लाग्दछ ।
यस उपन्यासले कक्षाकोठामा विद्यार्थीलाई कसरी सिकाउने ? यसो गर्नुपर्ने कारण के हुन् ? वर्तमानका कमजोरी के हुन् ? विद्यार्थीको रुचि कसरी पत्ता लगाउने ? शिक्षक र विद्यार्थीको सम्बन्ध के हो ? शिक्षकको कर्तव्य के हो ? शिक्षाको उद्देश्य के हो ? हुनुपर्ने के हो ? हरेकलाई विधिमा चाउन गर्नैपर्ने के हो ? जस्ता थुप्रै प्रश्नहरू र तिनका उत्तर समेटेको छ । सरिताको १३ वर्षसम्मको अथक प्रयासले विद्यालयलाई आमूल परिवर्तनको अवस्थामा पुऱ्याउन सफल भएको यस उपन्यासको कथाले शिक्षा क्षेत्र परिवर्तन गर्नका लागि लामो समय योजनाबद्ध तरिकाले लाग्नैपर्ने कुरालाई पनि सङ्केत गरेको छ । शैक्षिक क्षेत्रमा परिवर्तन अपरिहार्य छ र परिवर्तन चुनौतीपूर्ण पनि छ । यसका निम्ति अत्यन्त त्यागी व्यक्तिहरूको नेतृत्वको आवश्यकता रहेको कुरा यस पुस्तकले दर्साउँछ । पुस्तकमा लेखकको आफ्नै धेरै वर्षको शिक्षण अनुभव पनि समेटिएको छ भन्ने कुरा प्रस्ट हुन्छ ।
मैले यो उपन्यास पढेर विद्यालय सिकाइमा सुधार गर्नका लागि आवश्यक निम्नानुसारका बुँदाहरू टिपेकी छु :
- शिक्षकले विद्यार्थीलाई आफ्नै छोराछोरी र भाइबहिनीको व्यवहार गर्नुपर्ने,
- पेसागत धर्म निभाउनका लागि आफैँले गोरेटो निर्माण गर्नुपर्ने,
- मैले कति पढाएँ होइन, विद्यार्थीलाई कति रमाउन दिएँ कति सम्मान गरेँ र स्वाभाविक सिकाइको वातावरण दिएँ भन्ने कुराको ख्याल गर्नुपर्ने,
- आफूले पढाएको कक्षाबाट सन्तुष्ट भए नभएको स्वमूल्याङ्कन गर्नुपर्ने,
- कक्षा शान्त भएपछि मात्र राम्रो पढाइ हुन्छ भन्ने धारणा हटाउनुपर्ने,
- एउटा गन्धमा बानी परेका शिक्षकले अर्को सुगन्धलाई दुर्गन्ध ठान्ने परम्परा हटाउनुपर्ने,
- खेल्दै पढाउने विधि अपनाउनुपर्ने,
- परम्परागत रटाउने सिकाइपद्दति हटाउनुपर्ने,
- विद्यार्थीका आन्तरिक क्षमतालाई उजागर गर्नसक्ने वातावरण तयार गर्नुपर्ने,
- शिक्षा परिवर्तनशील भएको कुरा शिक्षकले मनन गर्नुपर्ने,
- शिक्षकले प्रत्येक विद्यार्थीको चासो राख्नुपर्ने,
- सिकाइ अभिलेख राख्नुपर्ने,
- बालबालिकाको मनोविज्ञान बुझेर सिकाइ अघि बढाउनुपर्ने,
- शिक्षक आफूले के सिकाउने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्ने,
- शिक्षकले कक्षाकोठामा प्रवेश गरेपछि विद्यार्थीले भन्दा मैले बढी जानेको छु भन्ने घमन्ड त्याग्नुपर्ने,
- विद्यार्थीलाई लेखिदिएर कण्ठ पार्न लगाउने नभई उनीहरूलाई आफैँले खोजेर लेख्नसक्ने बनाउनुपर्ने,
- प्रधानाध्यापकले शिक्षकसँग सहकार्य गर्ने र शिक्षकको एकता बनाउनुपर्ने,
- शिक्षकले विद्यार्थीको मनमा आत्मविश्वास बढाइदिनुपर्ने र सपनाको बिउ रोपिदिनुपर्ने,
- शिक्षकले आफूलाई कर्तव्यबोध र सत्कर्मले पूज्य बनाउनुपर्ने तर पुख्यौली दौलतको घमन्डले धुन्धुकारी बनाउन नहुने,
- विद्यालयले उत्कृष्ट कार्य गर्ने शिक्षकलाई पुरस्कृत गर्नुपर्ने ।
चाहे नहुने कुरा केही छैन । विद्यालयको समग्र पक्षको सुधारका लागि शिक्षकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । शिक्षा क्षेत्रमा रहनुभएका र यस क्षेत्रमा आउन चाहने हरेक पक्षका सबैलाई यो पुस्तक पढिदिन अनुरोध गर्दछु किनकि यो पुस्तक अध्ययन, अनुसन्धान र लामो अनुभवपश्चात् लेखिएको हुनाले लाभदायक रहेको छ । आफ्नो उद्देश्यप्रति आफूलाई अविचलित राखी हतोत्साहित बनाउन खेज्नेहरूले जतिसुकै दवावमा राख्न खोजे पनि, आफ्नै गुरु वा प्रधानाध्यापक समेत आफ्ना विपक्षमा रहँदा समेत सचेतनापूर्वक पाइला चालेकी यस पुस्तककी प्रमुख पात्र सरितालाई सलाम गर्दै प्रेम, मानिसको आचरण र शिक्षणकला समेटिएको उत्कृष्ट पुस्तक पढ्ने अवसर दिनुभएकोमा लेखकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सरस पाण्डे
शिक्षक – श्री डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीबेसी – ९, धादिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 








