
उपन्यासकार भोजराज घिमिरेलिखित उपन्यास ‘इन्द्रमाया’ ख्यातिप्राप्त लेखक विश्वेश्वरप्रसाद कोइरालालिखित ‘तीन घुम्ती’ उपन्यासको उत्तरकथा हो । इन्द्रमायाको जिन्दगीको चौथो घुम्ती यो उपन्यासको सेरोफेरो हो । जसभित्र इन्द्रमायाका जिन्दगीको कथा, उसको मनोदशा र उसका मनका अन्तर्द्वन्द्वभित्र उपन्यास फनफनी घुमेको छ । कसैकसैले ‘इन्द्रमाया’ लाई ‘तीन घुम्ती’ को पुनःपठन (पुनःकथन) पनि भनेका छन् तर पूर्णतः पुनःपठन पक्कै होइन, आंशिक चाहिँ हो किनभने उपन्यासभरि धेरै ठाउँमा ‘तीन घुम्ती’का प्रसङ्गहरूलाई हुबहु प्रस्तुत गरिएका छन् । धेरैमा चाहिँ यो ‘तीन घुम्ती’ को उत्तरकथा नै हो ।
इन्द्रमायाले आफ्नो जीवनमा लिएका तीनओटा महत्त्वपूर्ण निर्णय नै तीन घुम्ती बनेर रह्यो इन्द्रमायाको जीवनमा । यी निर्णयहरूमा इन्द्रमायाले आफ्नो जीवनलाई नारीत्वको महासागरबाट जीवन सङ्घर्षलाई अलग्याएर अस्तित्वबोधतर्फ मोडेकी छे । आफ्नो जीवनमा आफ्नै निर्णय लागु गर्न इन्द्रमाया सक्षम भएकी छे । उसको ठम्याइमा नारीत्वको भूमिका भन्दा पनि अस्तित्वबोध अहम् रहेको छ । आफ्नै मनको आवाजलाई स्विकारेर इन्द्रमायाले जीवनको तीन घुम्तीमा तीन निर्णय गरेकी छे र सही वा गलत जे भए पनि आफ्नो निर्णयलाई स्विकारेर आफू हुनुको अस्तित्वबोध गरेकी छे ।
इन्द्रमायाले स्वविवेकको निर्णयले कठिन पारिवारिक बन्धन त तोडेकी छे, तर सम्बन्धको डोरीलाई भने चटक्क चुँडाल्न सकेकी छैन । उसकी छोरी रमा उसको एकलौटी जिम्मेवारी बनेकी छे । त्यसैले उसले पीताम्बरसँग गाँसिएको सम्बन्धको डोरीलाई उसको जिन्दगीको तेस्रो घुम्तीमा उसले चुँडाउन चाहेर पनि सकेकी छैन र आफ्नै जिन्दगीलाई त्यही घुम्तीमा अन्त्य गर्न चाहेर पनि गर्न पाएकी छैन । ऊभित्रको पत्नीतत्त्व र प्रियातत्त्वजस्तै मातृतत्त्व पनि जीवित थियो । त्यसैले उसले त्यो पत्नीतत्त्व र प्रियातत्त्वको अवसान चाहेर पनि त्यही मातृतत्त्वकै कारण उसको त्यो चाहना पूरा हुन सकेको छैन । बरु ऊ आफूभित्रको त्यो मातृतत्त्वलाई जीवित नै राखेर पीताम्बरको घर अनि संशयको फाटक एकैसाथ खोलेर बाहिर निस्केर जिन्दगीको चोथो घुम्तीमा उभिन आइपुगेकी छे, आफ्नै छुट्टै जिन्दगी जिउन ।
छोरी रमालाई साथमा लिएर पीताम्बरको घर छोडेकी इन्द्रमाया गन्तव्यविहीन भएर हिँड्दाहिँड्दै अन्ततः भद्रकाली मन्दिरमा आइपुग्छे । त्यहाँ उसको टिठलाग्दो अवस्थामाथि विष्णु पाण्डेको आँखा पर्छ र उसैले इन्द्रमायाको उद्धार गर्छ । हो, यहीँबाट फेरि इन्द्रमायाको जिन्दगीको चौथो घुम्ती सुरु हुन्छ र उसको जिन्दगीमा थप अरू घुम्तीहरू आउँछन् । अनि त्यो इन्द्रमाया अहिलेकी इन्द्रमाया बन्छे । इन्द्रमायाको जिन्दगीको उहापोह कतै दुःखद छ भने कतै सुखद पनि छ । कतै पीडादायी छ भने कतै आनन्ददायी पनि छ । नियतिले उसलाई दुःखैदुःख मात्र पनि होइन, कतैकतै सुखको अनुभूति पनि दिएको छ । पीडैपीडा मात्रै होइन, क्षणिक नै भए पनि आनन्दको अनुभूति पनि दिएको छ । यही दुःख, सुख, पीडा र आनन्दले खारिएकी इन्द्रमायाको साँगोपाँग जिन्दगीको कथा हो ‘इन्द्रमाया’ । नियतिको खेल अचम्मको हुन्छ भन्ने कुरा घरै छोडेर हिँडेकी बेसहारा इन्द्रमाया वैधवी (विष्णु पाण्डेकी दिदी) अर्थात् सान्दिज्यूको सहारा पाएर सुरक्षित र सम्मानित जिन्दगी जिउन सफल भएको घटनाक्रमले पुष्टि गरेको छ ।
उपन्यासका बिच-बिचमा अरू धेरै कथा र उपकथाहरू जोडिएका छन् । इन्द्रमायाले जागिर खाएको प्रसङ्ग, जागिरका सिलसिलामा बाहिर गएको, विश्वेन्द्रसँगको भेट र त्यसले नजानिँदो किसिमले इन्द्रमायाको मनमा पलाएको प्रेमको सन्दर्भले उपन्यासमा महत्त्वपूर्ण स्थान पाएका छन् । इन्द्रमायाकी छोरी रमा अर्थात् विदुषी डाक्टर बनेको, विश्वेन्द्र र विनिशाको पुनर्मिलन गराउन इन्द्रमायाले सेतुको काम गरेको, पीताम्बर पुनः जेल परेको, पीताम्बरलाई खानेकुरा पुर्याउन इन्द्रमाया बेला-बेलामा जेलसम्म जाने गरेको, पीताम्बर जेलबाट छुटेर सहकर्मी विमलासँग अर्को बिहे गरेको, पीताम्बर शिक्षामन्त्री बनेको, विदुषीले शिक्षामन्त्री पीताम्बरको हातबाट पदक लिएको, पीताम्बरसँगै बसेर फोटो खिचेको जस्ता घटनाहरूले उपन्यासलाई निकै तन्काएको छ । बिचमा इन्द्रमायाले पीताम्बरलाई धेरै सम्झेको, उसका गुण र अवगुणका कुरालाई लिएर इन्द्रमायाले व्यक्त गरेका गुनासा र इन्द्रमायाले पीताम्बरलाई गरेका प्रेमका प्रसङ्गहरूले पनि उपन्यासका धेरै पाना ओगटेका छन् । अहिलेकी इन्द्रमायालाई इन्द्रमायाका रूपमा अस्तित्वमा रहिरहनका लागि विष्णु पाण्डे, बिनु आन्टी र सान्दिज्यू अर्थात् वैधवीले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यदि भद्रकालीमा बुढोमान्छेका रूपमा प्रकट भएको विष्णु पाण्डेसँग भेट नभएको भए इन्द्रमायाको जिन्दगीले कुन मोड लिन्थ्यो भन्न सकिँदैनथ्यो र यो रूपमा उपन्यास आउँथ्यो कि आउँथेन त्यो पनि भन्न सकिन्नथ्यो ।

रत्न प्रजापति
परिबन्दमा परेर एउटा लोग्नेमान्छेकी स्वास्नी भएर पनि अर्कै लोग्नेमान्छेको गर्भ बोकेर एउटी सन्तानकी आमा बनेकी इन्द्रमायाले जिन्दगीमा थुप्रै भूमिकाहरू निर्वाह गरेकी छे । कतै छोरी, कतै प्रेमिका, कतै स्वास्नी, कतै आमा हुँदै जागिरे जीवनमा प्रवेश गरेर देश र समाजका लागि आवश्यक उत्तरदायी भूमिकासमेत निर्वाह गरेकी छे तर उल्लेख्य भूमिका चाहिँ प्रेमिकाको भूमिका नै हो । ‘प्रेम हृदयमा हुन्छ र प्रेम लिएर हिँड्ने हृदय कहिल्यै अपवित्र हुँदैन’ भन्ने इन्द्रमायाले जिन्दगीमा तीन जना पुरुषसँग प्रेमिकाको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी छे – पीताम्बरसँग, रमेशसँग र विश्वेन्द्रसँग तर उसको प्रेमले उसको आफ्नै जिन्दगीलाई गन्तव्यसम्म भने डोर्याउन सकेन । बिचैमा छुटेर गए उसका प्रेमका सारथिहरू । पीताम्बरको अहङ्कार र रमेशको स्वार्थले उसको पहिलो र दोस्रो प्रेम छुट्यो तर तेस्रो प्रेमलाई उसले आफ्नै स्वविवेकको निर्णयले छुटाई र आजपर्यन्त ऊ त्यही प्रेमको तितामिठा अनुभूतिहरू साँचेर बाँचेकी छे, त्यागी इन्द्रमाया बनेर । उसलाई पीताम्बर र रमेशलाई त्याग्न जति गाह्रो भयो, त्यति गाह्रो विश्वेन्द्रलाई त्याग्दा भएन । किनभने ऊ त उसै भेट भएको थियो परियोजनाको स्थलगत भ्रमणको सिलसिलामा । इन्द्रमायाले सम्बन्धलाई त्यागी । घरपरिवार त्यागी । प्रेम त्यागी । सुख र सुविधा त्यागी । यौवनका सुकुमार सपनाहरू त्यागी । जीवनका अमूल्य अवसरहरूलाई पनि त्यागी अरूकै लागि र केवल सम्झना गरेर बाँचिरही इन्द्रमाया । मनमा साँचेर केही मिठा अनि केही तिता सम्झनाहरू ।
विद्रोहको प्रतिनिधि पात्र हो इन्द्रमाया । उसले उन्नाइस वर्षकै उमेरमा बाबुआमा र आफू बाँचेको समाजको सोच, व्यवहार, अपेक्षा आदि इत्यादि सबैलाई एकसाथ चुनौती दिँदै विद्रोह गरेकी छे । अन्तर्मनको आवाज सुनेर आफ्नो प्रेमको सान र मान खातिर पीताम्बरको आँगनमा टेक्न पुगेकी छे । पीताम्बरको उपेक्षा र तिरस्कार सहन नसकेर दासत्वविरुद्ध विद्रोह गरेकी छे, पीताम्बरको घरै त्यागेर तर उसको विद्रोहको अवतरण चाहिँ झन्डै-झन्डै दासकै रूपमा भएको छ वैधवी अर्थात् सान्दिज्यूको घरमा । सान्दिज्यूको सहयोगीको भूमिकामा बस्नु भनेको दासत्वकै रूप होइन र ? त्यो दासत्वलाई त्यागेर उसले अर्को विद्रोह गर्न सकेकी छैन । किनभने उसलाई फेरि सडकमै पुगिएला भन्ने डर छ, जहाँ सुरक्षा छैन र संरक्षकत्व पनि छैन । ऊ जहाँ छे, त्यहाँ उसले सुरक्षा र संरक्षकत्व दुवै पाएकी छे । यति मात्रै होइन, छोरीको हकै पनि पाएकी छे । उसले मुमा हजुर भन्ने गरेकी सान्दिज्यूबाट घर र जग्गा नै पाएकी छे । यो इन्द्रमायाको मिहिनेत, विश्वास र भाग्यको फल नै हो ।
उपन्यासमा धेरैओटा संयोगहरू सन्दर्भवश आएका छन् । लोग्नेलाई त्यागेर हिँडेकी इन्द्रमाया र स्वास्नीद्वारा त्यागिएका विश्वेन्द्रको भेट एउटा संयोग नै हो । एकले अर्कालाई प्रेम गर्न थालेका इन्द्रमाया र विश्वेन्द्रमा इन्द्रमाया कवि हुनु र विश्वेन्द्र कथाकार हुनु त्यो पनि अर्को एउटा संयोग नै हो । विश्वेन्द्रकी पत्नी विनिशा इन्द्रमायाको कलेजकी एकै कक्षाकी सहपाठी हुनु पनि संयोग नै हो । अर्को अचम्मको संयोग पनि छ । त्यो हो विनायक अर्थात् रमेशका छोरा । इन्द्रमायाले जीवनमा पीताम्बरलाई जस्तै लोग्नेकै रूपमा नभए पनि प्रेमीको रूपमा स्विकारेर जोसँगको सम्भोगबाट छोरी रमालाई जन्म दिएकी थिई, हो उही स्वार्थी र अवसरवादी रमेशको छोरा हो विनायक तर यो कुरा उपन्यासको अन्त्यमा आएको भए पनि प्रस्ट रूपमा आएको छैन र यसको अनुमान गर्ने जिम्मा पाठकमै छोडेका छन् उपन्यासकारले । यहाँछेउ उपन्यासकारको कल्पनाशीलताको पनि तारिफ गर्नुपर्ने हुन्छ । काल्पनिक नै भए पनि यथार्थजस्तो अनुभूति दिने भावना र संयोगहरूको मिश्रणले उपन्यासको पठनलाई सुरुचिपूर्ण बनाएको छ । यद्यपि आकारका हिसाबले निकै पातलो उपन्यासको उत्तरकथा चाहिँ यति मोटो भइदिँदा पठनमा हठात् बिचैमा विश्राम लिने हुन् कि पाठकले भन्ने आशङ्का पनि उब्जिन्छ तर उपन्यासमा पाठकलाई आद्योपान्त डोर्याउनसक्ने सामर्थ्य भएकाले त्यो अवस्था आउलाजस्तो लाग्दैन ।
उपन्यासमा यौनसंवेगका सन्दर्भहरू ठाउँ-ठाउँमा आएका छन्, जुन इन्द्रमायाको मनमा छाल बनेर उठ्ने गरेको र बाफ बनेर उड्ने गरेको छ । ‘पीताम्बरसँग अलग भएपछि दोस्रोचोटि कुनै लोग्नेमान्छेको त्यति नजिक बसेर म पुरुष गन्ध लिइरहेकी थिएँ । हात्ती चढ्दा पनि त्यो दुर्गन्ध लागेको थिएन र अहिले पनि पुरुष गन्ध अप्रिय र नमिठो लागेन… ।’ (पृष्ठ २७६)
आफ्नो जिन्दगी एकल महिला भएर बिताउनुपर्दा पनि अरूको जिन्दगी जोड्नमा इन्द्रमायाले तत्परता देखाएकी छे । कलेजकी सहपाठी विनिशा र आफूले मन पराएका विश्वेन्द्रबिचको पुनर्मिलनका लागि उसले धेरै प्रयत्न गरेकी छे । विश्वेन्द्र र विनिशाको पुनर्मिलनको सेतु बनेकी छे इन्द्रमाया ।
आफ्नै लोग्ने पीताम्बरले सहकर्मी विमलासँग अर्को बिहे गरेको कुरा सुन्दा इन्द्रमायाको मनमा के भयो होला ? पाठकले अनुमान मात्रै गर्न सक्छन् । तैपनि इन्द्रमाया संयमित भएर भन्छे, ‘पीताम्बरले अर्को बिहे गरोस् भन्ने त मेरो चाहना नै थियो तर त्यो खबर सुन्दा खुसी हुनुपर्ने म, खुसी हुन सकिनँ । खबरले सायद मेरो अनुहारको रङ फेरिएको थियो ।’ (पृष्ठ ३७२) साँच्चै भन्नुपर्दा उसको अनुहारको रङमात्रै होइन, जीवनको रङ नै फेरिइसकेको थियो ।
इन्द्रमायामा विद्रोह सँगसँगै सचेतता पनि छ, जसले उसको जीवनमा अस्तित्वबोध गरी बाँच्न ऊ सफल भएकी छे । उपन्यासमा यौन स्वतन्त्रता, नारी विमुक्ति र लैङ्गिक समानताको वकालत गरिएको छ तर त्यसले सार्थकता भने पाउन सकेको छैन । इन्द्रमाया अझै अस्तित्वबोधका लागि सङ्घर्षरत नै देखिन्छे ।
उपन्यासमा एकल महिलाको जीवनसङ्घर्षको कथा छ । जटिलतम मानवीय सम्बन्ध, कर्तव्य र अधिकार, असन्तुलित लैङ्गिक समानता, सामाजिक आदर्श र मूल्यमान्यता, प्रेमपीडा, यौनसंवेग र मनोदशालाई उपन्यासमा केलाइएको छ । मुख्य पात्र इन्द्रमायाको मनोदशा र अन्तर्द्वन्द्वले उपन्यासभरि विशेष स्थान पाएको छ । यति हुँदाहुँदै पनि ‘तीन घुम्ती’ को उत्तरकथाका रूपमा यो ‘इन्द्रमाया’ मा आएका नयाँ अर्थात् उत्तरकथा भने त्यति सशक्त बन्न सकेको छैन, जति यसको पूर्वकथा थियो । बरु उत्तरकथामा जोडिएका पूर्वकथाका अंशहरूले नै उपन्यासलाई ओजपूर्ण बनाएको आभास हुन्छ ।
उपन्यासको भाषा, शिल्प र कलापक्ष प्रशंसायोग्य छ । सरल भाषा र सहज प्रवाहले पठन सुरुचिपूर्ण बनेको छ । यद्यपि पछिको सन्दर्भ अघि र अघिको सन्दर्भ पछि राखिएकाले पठनमा अलिकति अलमलको अवस्था सिर्जना हुने सम्भावना छ । जस्तो इन्द्रमायाकी छोरी रमा अर्थात् विदुषी डाक्टर बनेर फर्केको सन्दर्भ अध्याय १४ मै आएको छ भने, त्योभन्दा अघिका सन्दर्भ भने पछि आएका छन् ।
इन्द्रमायाले विश्वेन्द्रसँग विकसित हुँदै गरेको सम्बन्धलाई निरन्तरता दिएकी भए अर्थात् विश्वेन्द्रसँगै बिहे गरेकी भए उपन्यासले कुन मोड लिन्थ्यो होला, अर्थात् इन्द्रमायाको जीवनले कुन मोड लिन्थ्यो होला ? अनि इन्द्रमायाको अस्तित्वको लडाइँ के हुन्थ्यो होला ? यी जिज्ञासाहरूलाई छोडेर उपन्यास टुङ्गिएको छ । ठुलै विद्रोह गरेर घरबाट निस्केकी इन्द्रमायालाई कुनै महत्त्वपूर्ण गन्तव्यमा पुर्याउन भने सकेका छैनन् उपन्यासकारले । अस्तित्वबोध त गरेकी छ इन्द्रमायाले तर स्वाभिमानरहित । घुम्तीहरूमा अलमलिएझैँ देखिन्छे इन्द्रमाया । निश्चित गन्तव्यको पर्खाइ छ इन्द्रमायालाई । इन्द्रमायालाई स्वाभिमानसहित्को अस्तित्वबोध गराउने गन्तव्य कहिले प्राप्त होला ?
पुस्तक – इन्द्रमाया
विधा – उपन्यास
लेखक – भोजराज घिमिरे
प्रकाशक – शिखा बुक्स
संस्करण – प्रथम, २०७८
पृष्ठ – ३९२
मूल्य – रु. ४९९/-



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










