
प्रवेश:
आजका कविता, सूक्ष्म वा बृहत् कुनै पनि विषयगत उच्चतालाई लिएर आफ्ना व्यक्तिगत अनुभूतिहरूसँगै उड्न सक्ने एउटा प्रवाह हो । यसले कुनै पनि विचारको वेगलाई नियन्त्रण गर्दै आफ्नो गतिभित्र समावेश गर्न सक्तछ । यसैले कविताको यस्तो समावेशी चरित्र नै आजको साहित्यका धेरै धारहरूमध्ये एउटा धार हो । अतः आजको साहित्यमा बहुभुजीय वैचारिकता छ । मानिसका भौतिक जीवन अनि यससँग सम्बन्धित सबै व्यक्तिगत, सामूहिक, सहज अनि असहज परिस्थिति, परिवेश साथै समय र सामाजिकतालाई स्पर्श गर्न सक्ने भरपर्दो माध्यम नै आजको साहित्य हो । जीवनका यस्तै भोगाइ अनि सङ्घर्षहरूलाई एउटा काव्यिक अनुभूतिभित्र राख्न सक्ने साहित्यिक व्यक्तित्व हुन् कवि दामोदर पुडासैनी ‘किशोर’ । उनी यस्तै अनुभूतिहरूका सूक्ष्म निरीक्षक हुन् । व्यक्तिगत अनुभूति अनि प्राकृतिक अनुभवलाई जीवनका धेरै उकाली-ओरालीमा जोखेर एउटा विशिष्ट अभिव्यक्तिको परिवेश बनाउन सक्ने एक जना सक्षम कविका रूपमा स्थापित ‘किशोर’, नेपाली कविता साहित्यमा आफ्ना अनुभवलाई काव्यिक अभिव्यक्ति दिन सक्ने वैचारिक प्रतिपादक हुन् ।
कवि ‘किशोर-का यसबाहेक धेरै काव्यसङ्ग्रहहरू देखा परेका छन् । जसमध्ये आफन्तका अनुहारहरू (२०४९), आँखाको खोजीमा (२०६३), आलोकित आयाम (२०६३), आकारको खोजीमा (२०६३), समयको सहीछाप (२०६९), पहाड र प्रेम(२०७१), उज्यालो खोजिरहेको घाम (२०७५), सहरबिनाको सहर (२०७५), हिमालको आवाज (२०७५) आदि मुख्य छन् । उनका कविताबाहेक झन्डै आधा दर्जनजति नियात्रासङ्ग्रहहरू पनि रहेका छन् भने केही दर्शन सम्बन्धित कृतिहरू पनि प्रकाशनमा आएका छन् । समग्रमा, कवि दामोदर पुडासैनी ‘किशोर’-ले आफ्ना जीवन यात्रामा देखेका अनि अनुभूत गरिएका भावनाहरूलाई विम्ब, प्रतीक, व्यङ्ग्य आदिका साथ निकास दिँदै एउटा अर्थपूर्ण पाठकीय रसास्वादन प्रदान गर्न सक्षम देखिन्छन् । यस अध्ययनअन्तर्गत उनका पछिल्ला कवितासङ्ग्रह ‘निर्वस्त्र घाम र लोलाएको साँझ’-लाई राखिएको छ । यस सङ्ग्रहभित्र रहेका सबै कविताहरूलाई एकैचोटी उल्लेख गर्न नसकिए तापनि अर्थ अनि व्याख्याका दृष्टिकोणमा कवितासङ्ग्रहभित्रका निचोड यस अध्ययन अन्तर्गत राखिने प्रचेष्टा रहेको छ ।
‘निर्वस्त्र घाम र लोलाएको साँझ’ कवितासङ्ग्रहको परिचय :
दामोदर पुडासैनी ‘किशोर’, कलमले मात्र होइन अनुभूतिले, जीवनलाई नजिकबाट हेर्न सक्ने स्रष्टा हुन । उनले जीवनलाई व्यक्तिगत अनि सामूहिक रूपमा पाएका देखेका छन् अनि त्यसरी नै भोगेका पनि छन् । यो कवितासङ्ग्रह प्रारम्भ गर्नुअघि आफ्नो समर्पणमा कविले यस्तो लेखेका छन् –
जीवनभर नाङ्गै भए पनि
छोपिएको अभिनय गर्न
मरिहत्ते गर्नेहरूको विरुद्ध उभिनेहरूलाई ।
उक्त समर्पण आफैँमा अर्थपूर्ण छ । अर्थपूर्ण यस कारणले पनि छ, मानिसको जीवन नाङ्गो स्वरूपबाट प्रारम्भ हुन्छ । यो क्रम प्रारम्भ भएपछि सारा जीवन नै त्यो नाङ्गोपनबाट ऊ त्राहिमाम् रहन्छ । मानिसलाई जब आफ्नो होस् आउँछ उसलाई नाङ्गोपन मन पर्दैन । उसले त्यसलाई ढाक्न खोज्दा धेरैपल्ट वैचारिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक आदि रूपले ऊ नाङ्गिन्छ । धेरैचोटी निर्वस्त्र बन्नदेखि ऊ आफैँलाई बचाउन सक्दैन कारण जीवनमा उसलाई निर्वस्त्र बनाउने धेरै कारणहरू साथै शक्तिहरू मान्छेको अस्तित्वसँगै संसारमा परिचालित छन् । कविले यस्तै अवस्थालाई लिएर एउटा काव्यिक यात्राको सुरुवात गरेका छन् । जसबाट जीवनका विहङ्गम दृष्टिकोण गर्न उनी दृढ देखिन्छन् ।
तन्नेरी प्रकाशन काठमाडौँबाट प्रकाशित, झन्डै १४२ पृष्ठभित्र सजाइएका उनका ५४ वटा कविताहरू यस सङ्ग्रहभित्र छन् । सन् १९५६मा बोस्टन युनिभर्सिटीका अमेरिकी प्रोफेसर, लेखक Isaac Asimov ले लेखेका विज्ञान फिक्सनअन्तर्गत उनका चारवटा लोकप्रिय विज्ञान उपन्यासहरूमध्ये एउटा उपन्यास The Naked Sun लाई यसका कवितासङ्ग्रहका शीर्षकले सम्झना गराउँदछ । वैज्ञानिक कृति भएको हुनाले त्यस कृति र कवितासङ्ग्रह यस कृति दुवै विधागत अनि स्वरूपगत बेग्लै छन् । यिनीहरू पृथक् पृष्ठभूमिमा सृजित कृतिहरू हुन् । यद्यपि साहित्यिक आस्वादनका दृष्टिकोणले दुवै रोचक छन् ।
निर्वस्त्र घाम र लोलाएका साँझ’ भित्रका कविताहरू: एक अध्ययन

योगेश खाती (दार्जीलिङ)
यस कवितासङ्ग्रहका कविता शृङ्खला निर्वस्त्र घाम र लोलाएको साँझ-बाट सुरु हुन्छ । जम्मा ५४ वटा कविताहरू एकाएक भावपूर्ण छन् । पहिलो कविताबाट उनका काव्यिक फोहोरा छुट्छन् यी अन्य कविताहरूसँगै जस्तै- दुनै, लिभिङ्ग डिक्लेरेसन, टेको, जीवन गीत झरीको सिमाना, शे फोक्सुन्डो, जाडोको राप, वधशालाको ढोकामा, पहाड र आमाहरू, चियाबारीको गीत, नुमाफुङको तोङ्बा भट्टी, गाउँको बहिर्गमन आदि हुँदै अन्त्यमा छुर्पी कविता समावेश गरिएको यस कवितासङ्ग्रह आफैँमा एउटा महत्त्वपूर्ण सिर्जना भएको छ । यस कवितासङ्ग्रहलाई अध्ययनभित्र समेट्दा सबै कविताहरूलाई एकैचोटी यहाँ राख्न असम्भव हुने भएकाले केही कविताहरूलाई मात्र यहाँ राखिएका छन् । सबै कविताका आकार एवम् आयतन मिलेका छन् भने पाठकसँगको सम्प्रेषणीय धर्म पनि उत्तिकै मिलेका छन् ।
यस कवितासङ्ग्रहभित्र परेको सबैभन्दा पहिलो कविता निर्वस्त्र घाम र लोलाएको साँझले नै कवितासङ्ग्रहको शीर्षक बोकेको छ । अङ्ग्रेजीमा एउटा भनाई छ-“A bleak and desolate atmosphere is nakedness.” अर्थात् उराठ र उजाडलाग्दो अवस्था नै वास्तवमा नाङ्गोपन हो । यस कविताभित्र कविले भन्न खोजेका अवस्थालाई यो भनाइले छोएको छ । उराठ र उजाड अवस्था मानिसमा त्यतिबेला हुन्छ जब भौतिक रूपले उसको केही हुँदैन । कविका विचार यो भनाइभन्दा अझ गहिरो छ । जब मानिस उराठ र उजाडलाग्दो हुन्छ, ऊ उन्मुक्त हुन्छ । नैसर्गिक अवस्थामा यसलाई हेर्नु हो भने ऊ निश्चल हुन्छ, कुनै आडम्बर र बाहिरी वस्त्रको प्रयोजनबिनाको एउटा प्राकृतिक थोक ऊ बन्दछ । घाम एउटा अविजित शक्तिको प्रतीक हो । यस्तो प्रतीक निर्वस्त्र हुनु भनेको गणतान्त्रिक अर्थमा कलङ्कित बनिनु हो । जब कुनै शक्ति अराजक बन्दै जान्छ ऊ निर्वस्त्र हुँदै जान्छ । उसलाई आफू निर्वस्त्र हुँदै गएको कुनै भान नै हुँदैन । अर्थात् त्यो शक्तिमा कुनै नैतिक संवेदनशीलता हुँदैन । कुनै लज्जा अनुभूति हुँदैन । यस्तो घटना गणतन्त्रमा अशोभनीय अनि कलङ्कित, अराजक घटना हो । यसरी नै साँझ, एउटा दिनको अन्त्य हो । दिन ऊर्जामय बितोस् कि आलस्यमय बितोस् त्यसको साँझ लोलाएका अर्थ वास्तवममा चिन्तनयोग्य छ । कुनै सक्रिय मानिस लोलाउनु, कुनै कारण नै नभई तन्द्रालु अवस्थामा पुग्दा वा सामान्य समयभन्दा पहिले नै तन्द्रालु हुनु नै वास्तवमा लोलाउनुको अर्थ खोलिनु हो । यस्तो अवस्थामा कविले घामको अवस्थालाई निर्वस्त्र देखेका छन् । कविका अर्को अन्तर्निहित विम्ब प्रहार हो यो ।
कवितासङ्ग्रहभित्र अर्को कविता छ लिभिङ डिक्लेरेसन । कविले कानुनी भाषामा सामान्यता सुनवाइको रूपमा प्रयोग गरिने शब्द डाइङ डिक्लेरेसनको विपरित शब्दको रूपमा यसलाई यहाँ चलाएका छन् । अर्थात् कानुनको आदलतमा प्रमाणको रूपमा गरिने एउटा कथन हो डाइङ डिक्लेरेसन, यसलाई कुनै व्यक्तिको मृत्युअघि गरिने सबैभन्दा प्रामाणिक कथन भनेर अदालतमा मानिन्छ । कविले ठिक त्यसको विपरीत लिभिङ डिक्लेरेसन भनेर जिजीविषाको घोषणा गरेका छन् । लिभिङ डिक्लेरेसन-भित्र कविले वास्तविक जीवनमा आफ्नो मृत्युअघि जसरी अन्तिम घोषणा डाइङ डिक्लेरेसनका रूपमा गरिन्छ, त्यसको कानुनी परिणाम जस्तोसुकै निस्कियोस् घोषणा कर्तालाई कुनै थाहा हुँदैन तर कविले जिउने चाहनालाई एउटा दर्पिलो घोषणाका साथ व्यक्त गरेका छन् । जस्तै-
तिमीहरू
कैयौँ धानखेत र मकैबारीका
सपना लुटेर,
कैद गर्दैछौ आफ्नै लालपुर्जाहरूमा
सुदूर गाउँको उज्यालो खोसेर लुकाउँदैछौ
आफ्ना सन्दुस र मदुसहरूमा
देशका सपना उमार्न
बागडोर सुम्पिएको हो तिमीलाई
तिमी भने सपेराले बिन बजाएझैँ
जनतालाई लठ्याएर
विषालु दाह्रा र नङ्ग्रा गाडिरहेछौ
जनताको पिठ्यू र पेटमा ।
यसरी नै हिमाली जिल्ला डोल्पाको सदरमुकाम ठाउँको नाम भएको अर्को कविता दुनै प्रस्तुत छ । यस कविताभित्र कविले भेरी नदीको उल्लेखगर्दै यससँग जोडिएर बगेको चित्र उतारेका छन् । यस्तो कठिन अभेग ठाउँलाई कविले ज्वलन्त बनाएर त्यहाँका जीवन अनि यससँग जोडिएका मानिसहरूका जीवनको एउटा रुग्ण पाटो उल्लेख गरेका छन् । मानिस आफ्नो जीवन धान्न जीवनको कठिनभन्दा कठिन परिस्थितिमा पनि सम्हालिएर अघि बढ्नुपर्ने हुन्छ, त्यसकै एउटा प्रतिच्छायालाई यस कवितामा उतारिएको छ । कविले आफ्ना उद्गारभित्र दुनैको भौगोलिक अवस्था अनि यसमाथि प्रशासनिक दृष्टिकोणको अभावको सन्दर्भलाई मिलाएर जोडेका छन् । यहाँका मानिसहरूको सङ्घर्ष अनि त्यसमाथि पनि अरूको भरोसामा निर्भर रहनुपर्ने एउटा बाध्यताको कुरालाई प्रतीक बनाउँदै दुनैको उल्लेखभित्र डोल्पा जिल्लाको यो समस्त भेगलाई नेपाल अधिराज्यको प्रशासनिक दृष्टिकोण अन्तर्गत ल्याउने प्रचेष्टा गरेका छन् । जस्तै-
जुफाल, मोतिपुर र कार्कीवाडाबाट
पाँच घण्टा पैदल हिँडेर
दश रुपैयाँ दाना स्याउ बेचेका
रानी साहेब र मै’साबहरूले
झिसमिसेमै सुरुप-सुरुप पिएका छन्
सिन्के चाउचाउको पिरो झोल
र किनेका छन् साँझलाई
एक बोतल खोयाबिर्के
फर्कदा भेरीको झोलुङ्गे पुल तरेर
माग्दैछन् डाक्टर श्रीकान्त अग्रवालसँग
रातमा पसिना आउने र दिनमा पेट फुल्ने
रोगको औषधि .. ।
कविले अर्को कविता टेको-भित्र देशलाई चलाउने मानसिकता अनि यसका क्रममा चाहिने आवश्यक साधनहरूलाई उल्लेख यसभित्र गरेका छन् । देश चलाउनु एउटा साधारण कुरा होइन । देशभित्र रहेका धेरै आस्था-विश्वास, सामाजिक-राजनीतिक सरोकारहरूलाई नागरिक साथ-साथै देश चलाउने चौकीका पहरेहरूलाई एउटा विराट् परिकल्पना अनि प्रतिवद्धताको खाँचो रहेको बताउँदै टेको अर्थात् सहाराको आवश्यकताबारे देशअघि आफ्ना विचार राखेका छन् । जस्तै-
टेकाकै भरमा आफूलाई
हिमाल उभ्याउन खोज्नेहरू
सुकेको लट्ठीजस्तो शरीर
र बुद्धिले टेको दिएर
संसार आफैँले थामेको छु भन्ने
भ्रममा बाँच्नेहरूकै कारण
झन् झन् गहिरो खाडलभित्र
जाकिँदै गइरहेछ देश.. ।
चट्टानलाई अङ्ग्रेजीमा Rock भनिन्छ । जसलाई एउटा भरपर्दो ढुङ्गाको बृहत् स्थायी भूतलका रूपमा मानिन्छ । कविले त्यो भूतलका रूपमा आफ्ना बुबाका सम्झनालाई चट्टानी सम्झना बनाएर राखेका छन् । जस्तै-
पहिलोपटक चिन्दा
विशाल चट्टान देखिनुभएथ्यो बुबा
जीवनभर चट्टान नै रहनुभयो
र अन्त्यमा हाँसी हाँसी
चट्टानको मूर्तिझैँ चुपचाप निदाउनुभयो ..!
जीवन सँगसँगै कविले यसका धेरै अनुभूतिहरूलाई सिक्दै, भोग्दै अघि बढेका छन् । ती भोगाइ र सिकाइभित्र उनले जीवनका पूर्णता अनि रिक्तता पनि देख्दै आएका छन् । कविले यस अवस्थाका अनुभूतिहरूलाई गीत बनाएर आफ्ना कविता जीवन-गीत-भित्र यसरी गाएका छन् । जस्तै-
रिक्तताका अनगिन्ती लहर भेट्दै आएको छु
रिक्तताका अनगिन्ती सिउँदा भर्ने क्रम जारी छ
रिक्तताका लामा लहरहरू अघिल्तिर देखेर डोरिइरहेछ जीवन
मीठो घाँस देखेर डोरिइरहेछ मृगजस्तै.. ।
प्रकृतिको नजिकमा कविले जीवनका सफा नक्साहरू देखेका छन् । ती सफा प्राकृतिक नक्साभित्र जीवनका गहिरा अर्थ पनि भेटेका छन् । कविले नेपालको ३६११.५ फिट अग्लो डोल्पा जिल्लामाथि अवस्थित एउटा ताल शे-फोक्सुन्डोको वर्णन गरेका छन् । यो तालको बृहत्तर स्वरूप र प्राकृतिक सुन्दरताका दृष्टिकोणले यसलाई स्वर्गका एउटा टुक्राका रूपमा मानिसहरू मान्छन् । यस तालको पानी सफा-पवित्र-चिसो अनि नीलो रङ्गको छ । प्राकृतिक सुन्दरताको वर्णन गर्दागर्दै कविले यसको नीलो पानीलाई मानिसका शरीरमा हुने रातो रगतका सट्टा भर्न पाए हुन्थ्यो कि भन्ने विचार व्यक्त गरेका छन् । जीवनमा वीरता सिद्ध गर्न धेरै युद्ध चाहिन्छ यसैले वीरताको सट्टा प्रेमको बखान गर्न कविले यस तालको नीलो पानीसँग आफू मनमोहक भएको उजागर कविता शे-फोक्सुन्डोभित्र गरेका छन् । जस्तै-
मिल्ने भए मैले
संसारका सबै मान्छेको शरीरमा
रातो रगतको सट्टा
नीलो रगत भरिदिने थिएँ
कि उनीहरूले गर्न थाल्ने थिए
वीरताको सट्टा प्रेमको बखान .. ।
रूख कसरी नाङ्गो हुन्छ? यसका त आफ्नै हाँगापात, फलफूल हुन्छन् । यसले कुनै नग्नता र पूर्णताको कुनै गुनासो गर्दैन । यद्यपि कविले रूखलाई नाङ्गो देख्ने दृष्टिकोणतर्फ इङ्गितगर्दै जीवनका दृश्यहरूतर्फ सकारात्मक बन्ने सुझाव दिएका छन् । जीवनमा हाँगा, पात, फूल, फल सबै हराइरहेका अवस्थामा उम्रन लागेका पालुवा देख्न सक्ने दृष्टिको सन्दर्भ कविता नाङ्गो रूखमा जोडेका छन् । जस्तै-
सपना उडाइलाने बतास
सबै नै हेर्दै थिए नाङ्गो रूखलाई
मैले भने
तिमीलाई सम्झिएँ
र नाङ्गो रूख होइन
नाङ्गो रूखमा उम्रन लागेका पालुवा नियालेँ .. ।
वधशाला जीवनको अन्तिम दृश्य हो । वधशाला पुगिसकेका अनभिज्ञ जीवन आफ्ना अन्तिम दृश्यका निम्ति अप्रस्तुत रहन्छन् तथापि प्रत्येक जीवनका मूल्यमाथि मोल गरिरहने जमात पनि हुन्छन् त्यहाँ । कविले यही सत्यतालाई वधशाला ल्याइसकेका पशुहरूका कुरा गर्दै जीवनकै गहिरो अर्थलाई यहाँ उजागर पारेका छन् । यस सङ्ग्रहभित्रको अर्को कविता ‘वधशालाको ढोकामा’ भित्र कविले एउटा तीतोसत्यलाई यसरी प्रस्तुत गरेका छन् । जस्तै-
वधशालाको बाहिरतिर
निस्फिक्री घाँस चपाइरहेथे
हाम्रै साथीहरू
भित्र भने आँखा, खुट्टा, जिभ्रो, छाती र फलमासुमा
विभाजित हुँदैथे असङ्ख्य साथीहरू.. ।
पहाडले कहिल्यै आफ्नो स्वरूप परिवर्तन गरिबस्दैन । हिउँदो होस्, बर्खा होस् सबै सहेर आफ्नो स्थानमा तटस्थ रहन्छ । उसका सङ्घर्ष अनि यात्रा युगौँले देखेका हुन्छन् यद्यपि कसैले देखेर पनि देख्न सक्दैनन् । कविले आमालाई पहाडको समकक्षी देखाएका छन् । दुःख-वेदना, भोक-तिर्सना, शोक-सुर्ताले बारम्बार आएर जिस्क्याइरहे पनि आमा स्थिर रहन्थिन् भन्दै कविले आफ्ना कविता ‘पहाड र आमाहरू’ भित्र यस्तो भाव राखेका छन् । जस्तै-
आमाहरू
पहाड हुनुहुन्थ्यो
जीवनभर
हामीलाई सिकाइरहनुभयो
पहाड नै बन्न
आमाहरूलाई
भोकले जिस्क्याइरहन्थ्यो
फर्की फर्की आएर दाह्रा धसिरहन्थ्यो
शोक र सुर्ताले … ।
नेपाल देशलाई हरिया पहाड अनि हिमालयहरूका देश भनिन्छ । देशको हरियालीसँगै यहाँको प्राकृतिक चरित्रको उदाहरण हरिया वन-जङ्गल अनि चियाबारीले बोकेका छन् । ती हरियाली मनमोहक स्थानहरूमा चियाबारीसँगै निश्चल अनुहार अनि उनीहरूका आफ्ना जीवनचर्याका घटनाहरू अटाएका हुन्छन् । जीवनका कुनै परिस्थितिमा पनि हरिया चियाबारी अनि साधारण छाप्राका छानामाथि आफ्नो देशको झन्डा गाडेर आफ्ना देशप्रेम देखाइरहेका हुन्छन् । कविले आफ्ना कविता ‘चियाबारीको गीत र नुमाफुङको तोङ्बा भट्टी’भित्र यस्ता भाव राखेका छन् । यसरी नै कविले अर्को कविता ‘गाउँको बहिर्गमन’ भित्र मानव सम्पदाको बसाइँबारे उल्लेख गरेका छन् । गाँस, बास र कपासको खोजीमा गाउँ प्राय: शून्य भइसकेको घटनालाई कविले हृदयविदारक उद्गार व्यक्त उक्त कवितामा गरेका छन् । जस्तै-
आफन्तहरू नै नभएपछि
बिरानो हुँदो रहेछ गाउँ पनि
हिजो
बा आमाहरू हुनुहुन्थ्यो
जेठाबा, कान्छा बाको परिवार पनि थियो
गाउँमा मेलापात, नाचगान
ऐँचोपैँचो चल्थ्यो ….
…आफन्तहरू नै टाढिएपछि
बिरानो बन्दो रहेछ गाउँ पनि … ।
भनिन्छ- Violence is the last refugee of the incompetent. अर्थात् अयोग्य र असक्षमका निम्ति हिंसा नै अन्तिम सहारा हो । कविले विश्व इतिहासमा एउटा अमर प्रेम कथाका पात्र-पात्रा बनाएर हातिस सेङ्मीजलाई देखाएका छन् । हातिस आफैँ विदुषी थिई अनि एकजना पत्रकार-साहित्यकार जमाल अहमद खसोग्गीकी प्रेमिका थिई । अरबी मुलुक अनि अमेरिकामा भइरहेको खुफिया पत्रकारिता र त्यसभित्रका षड्यन्त्रकाकारण तुर्कीमा २ अक्टोबर सन् २०१८ का दिन हत्या गरिएको थियो । कविले हातिस सेङ्मीजको प्रश्न कविता उनीहरूलाई नै समर्पण गर्दै यस्तो विचार पोखेका छन् । जस्तै-
खुसीको विशाल आकाशमा
उड्दा उड्दै
किन बनायौ उसलाई मृत्युको निसाना?
अघि अघि उडिरहेको ऊ
एक्कासि खसेपछि
म पो भएकी छु
सबै पखेटा काटिएकी घाइते चरी !!
यी कविताहरूबाहेक धेरै उत्कृष्ट कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । यस कवितासङ्ग्रहका अन्तिम कविताका रूपमा छुर्पी कविता राखिएको छ । यस कवितामा छुर्पीको प्रसङ्ग उल्लेखगर्दै प्रेम र जीवनको गहिरो अर्थलाई व्यावहारिक ढङ्गमा व्याख्या कविले गरेका छन् । जस्तै-
छुर्पीजस्तै हो रहेछ प्रेम र जीवन
चाटेर मात्र नहुने
टोक्न चपाउन र निल्न सक्नेले मात्र
भेट्नेछ मीठो स्वाद
मीठो स्वाद सकिन नपाउँदै
सकिन्छन् सबै किनारा … ।
निष्कर्ष:
कवितासङ्ग्रह निर्वस्त्र घाम र लोलाएका साँझ शीर्षकको मुख्य धरातल नै ‘वस्त्र’ हो । मानिसको उत्पति भएपछि सबैभन्दा पहिला उसले ग्रहण गरेको संसारिक थोक नै ‘वस्त्र’ हो । उसको आनीबानी, साथी-सङ्गी, परिवेश आदि मुख्य रूपले ग्रहण गर्नभन्दा पनि पहिला उसले ‘वस्त्र’ ग्रहण गर्दछ । समय, उमेर, वातावरण सँगसँगै ‘वस्त्र’ पनि उसको परिवर्तन हुँदै जान्छ । सामान्यत: नाङ्गोपनमात्र छोप्ने प्रयोजन बोकेको वस्त्रले मानिसको जीवनको स्तर, आडम्बर, अभिमान, विचार, कुकृत्य, सफलता-असफलता आदि सबैलाई छोप्ने वा प्रतिच्छाया प्रदान गर्ने सहारा बन्नुपर्छ । कविले त्यो परिधानको व्यापक प्रयोगको कुरा बताउँदै मानिस प्राकृतिक रूपले नाङ्गो हुन्छ भन्ने कुरालाई जोड दिएका छन् । आफ्नो जन्मसम्म ऊ निश्चल हुन्छ । उसको जीवन र संसर्ग नाङ्गो हुन्छ । त्यो नाङ्गोपन मानिसले मात्र ग्रहण गरेको एउटा सुन्दर अनुभव हुन्छ । विचारको नैसर्गिक उच्चतामा मात्र यस्ता भावना आउन सक्छन् ।
कविले घामसँग त्यो ‘वस्त्र’लाई जोडेर अर्को वैचारिक अडान लिएका छन् । त्यस अडानमा घाम र वस्त्रका पारस्परिक सम्बन्ध छन् वा छैनन् । यदि छन् भने त्यो वैज्ञानिक दृष्टिकोणले कतै सामान्य देख्न सकिन्न । तथापि कविले घामको पवित्रता, अविजित अस्तित्व, व्यापकता आदिलाई वस्त्रसँगै देख्न अभ्यस्त भएका दृष्टिलाई निर्वस्त्र बनाएर देखाउन लागेका हुन् । मानिसको जीवनमा वस्त्रको प्रयोजन अनि त्यो प्रयोजनको अभ्यासले परिवर्तन ल्याएको दृष्टिकोणलाई बुझाउन कविले घामलाई पनि निर्वस्त्र बनाएर देखाएका छन् । मौलिकता, सुन्दरता, आफ्नोपनका रूपमा कविले संसारको यात्रालाई एउटा विशिष्ट अनुभूतिका रूपमा स्विकार्दै नाङ्गोपन अर्थात् वस्त्रविहीन एउटा सुन्दर अनुभवजन्य प्रकृति मान्दै उल्लेख गर्न चाहेका छन् । मानिस घामजस्तै निश्चल हुन्छ, उसका निम्ति संसारिक वस्त्र र परिधान, कृत्रिम व्यवधान ढाक्ने एउटा सहारा मात्र हो । यद्यपि घाम र मानिसको त्यो नाङ्गोपनलाई जोड्दै कविले एउटा उच्च नैसर्गिक अनुभूतिको कुरा उठाएका छन् अनि नाङ्गोपन अर्थात् प्राकृतिक प्रारूप नै दुवैका वास्तविक सुन्दरता हो भन्न चाहेका छन् । समग्रमा कविका काव्यिक अभिव्यक्ति यस कृतिसम्म आइपुग्दा एउटा विशिष्टतासँगै बढेको देख्न सकिन्छ । जीवनजगत्मात्र नभएर यसका अनुभूति एवम् वैचारिक तर्क अनि अर्थका व्याख्या गर्नमा कविलाई यहाँ आइपुग्दा सबल देखिन्छ । कविका यसअघिका कवितासङ्ग्रहका तुलनामा यो कवितासङ्ग्रह पनि उत्तिकै सरल अनि सम्प्रेषणयुक्त भेटिन्छ । कवि दामोदर पुडासैनी ‘किशोर’-का काव्यिक यात्रा नेपाली कविता साहित्यका कसीमा एउटा उत्कृष्ट अभिप्राप्ति हो ।
सह-प्राध्यापक, नेपाली स्नातकोत्तर विभाग
खरसाङ महाविद्यालय



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 









