विषयप्रवेश
नारायण ज्ञवाली लामो समय निजामती सेवा गरी अहिले अवकासको जीवन बिताइरहेका छन् । राष्ट्रसेवकका रूपमा सेवा गर्ने क्रममा देशका विभिन्न ठाउँको अनुभव सँगालेका ज्ञवालीमा सिर्जनशील प्रतिभा निहित रहेको र अवकाश पछिको जीवन साहित्य साधनामा लगाएको पाइन्छ । यिनका प्रकाशित कृतिहरूमा ‘मान्छे हराएको बस्ती र बस्ती हराएका मान्छेहरू’ (२०७१), मनकम्पन काव्य (२०७२), जागै छ चन्द्रागिरि (२०७३) कवितासङ्ग्रह हुन् । भर्तृहरि नीतिशतक (२०७४), धम्मपद (२०७५) अनुवादमा आधारित कृति हुन् । २०८१ सालमा यिनको आँगामा कैलास अञ्जुलीमा मानस यात्रावृतान्त प्रकाशनमा आएको छ । संस्कृत वाङ्मयको गहिरो अध्ययन गरेका ज्ञवालीमा नेपाली भावना र भाषाको निख्खरपन झल्किएको देख्न सकिन्छ । २०७१ सालदेखि पूर्ण रूपमा साहित्य साधनामा लागेका ज्ञवालीका आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशनमा आएको देख्न सकिन्छ । शास्त्रीय छन्द र गद्य कवितामा समानान्तर रूपमा कलम चलाउने ज्ञवालीको निबन्ध लेखन पनि उत्तिकै सबल र सशक्त रहेको पाइन्छ । मानवीय संवेदनालाई जगाउने यिनका सिर्जनाहरू समसामयिक जीवनका सुस्केरा हुन् । नेपाली भावनाका सजीव अभिव्यक्ति हुन् । आफ्नो ज्ञान र चेतनालाई विषय र सन्दर्भअनुकूल प्रकाश पार्नुका साथै वास्तविकतातर्फ सङ्केत गर्नुले यिनको लेखनमा समाज र राष्ट्रप्रतिको दायित्वबोध झल्किएको पाइन्छ । गाउँघर खाली हुँदै गरेको देखेका ज्ञवाली मान्छे हराएको बस्तीका कुरा गर्छन् । भूकम्पले ल्याएको त्रासदीय अवस्थालाई मनको कम्पनका रूपमा व्यक्त गर्दछन् । प्रकृति, संस्कृति र जीवनको सम्बन्धलाई झल्काउनु यिनको विशेषता हो ।
कृतिको मूलभूत मर्म
आँखामा कैलास अञ्जुलीमा मानस (२०८१) नारायण ज्ञवालीको पछिल्लो कृति हो । यो जीवनमा महत्त्वपूर्ण प्राप्ति र उपलब्धि मानिएको मानसरोवर क्षेत्रको यात्रावृतान्त र त्यससँगै जोडिएका ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सांस्कृति, कूतनीतिक आदि विषयहरू जोडिएर आएको ज्ञानवद्र्धक सामग्री हो । सुरुको भूमिका खण्ड र अन्तिममा रहेको लेखक परिचयबाहेक कृतिको मूल भाग दुई सय बयालीस पृष्ठमा फैलिएको छ । विभिन्न सत्ताईसवटा शीर्षकमा विषयको व्यवस्थापन गरिएको छ । दायित्व वाङमय नेपाल प्रकाशक रहेको प्रस्तुत कृतिमा ठाकुर शर्मा भण्डारीको कवितात्मक मन्तव्य र प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको शुभकामना मन्तव्य रहेको छ । लेखककै शब्दमा काठमाडौँदेखि उत्तरका गेर्जे भन्ज्याङ, छहरे, बट्टार, वेत्रावती, स्याफ्रुबेसी, चीन क्षेत्रका करुङ, सागा, ढोङ्वा मह्युँदा, दार्चेन हुँदै मानसरोवर र कैलास पर्वतको यात्रा, दृश्यावलोकन गर्दाका दश दिनको अनुभूति र आफ्नो ज्ञानलाई पनि समेटेर तयार गरिएको यात्रावृतान्त हो । नेपाली समाजको विकासको अवस्था र सामाजिक राजनैतिक परिवर्तनलाई प्रत्यक्ष रूपमा देखेभोगेका ज्ञवालीको लेखनमा त्यको गाढा प्रभाव परेको देख्न सकिन्छ । इतिहासको विरासत भत्किँदै जाँदा हामीहरू परिचयविहीन हुने बाटोतिर अगाडि बढेको कुराले लेखकलाई चिन्तित बनाएको पाइन्छ ।
वर्तमान जीवनको तितो यथार्थलाई आलोचनात्मक शैलीमा प्रस्तुत गर्नु नै नारायण ज्ञवालीको लेखकी स्व मान्नुपर्दछ । जागेरे जीवनमा व्यस्त रहेका बेला भनेको ठाउँमा चाहेको बेला भ्रमण गर्न नसकेको मर्म व्यक्त भएको पाइन्छ । २०७९ सालमा मानसरोवर क्षेत्रमा भ्रमण जाने तयारी भएको र त्यस समयमा सुन्नुपरेका क्रियाप्रतिक्रियाले केही अन्योल सिर्जना भएको कुरासँगै भरपर्दो संयोज गर्ने संस्थाका माध्यमबाट यात्रामा सामेल भएको कुरा पनि प्रसङ्गवश उल्लेख गरिएको छ । यात्राका क्रममा देखिएका गाउँबस्ती, पहाड, खोँच, फाँट, खोला आदिको प्राकृतिक, भौगोलिक तथा ऐतिहासिक सन्दर्भलाई प्रकाश पार्ने काम गरिएको छ । आफूसँगै भूगोल, प्रकृति, त्यहाँको अवस्थितिमा पाठकलाई पनि विचरण गराउने कला आकर्षक रहेको छ । लेखकसँगसँगै हिँडेको पाठक कहीँ पुलकित बन्दछ, कही निराश बन्दछ, कहीँ थकित र क्लान्त बन्दछ । ‘ढुङ्गोमा इतिहास बोल्छ’ शीर्षकको लेखमा बेत्रावतीको किनारमा रहेको ठूलो ढुङ्गाको प्रसङ्गबाट नेपाल, तीब्बत चीनसँगको युद्धको झलक प्रस्तुत गरिनुमा इतिहास चेतना सशक्त बनेर आएको पाइन्छ । राष्ट्रप्रतिको संवेदना जगाउने काम गरिएको छ । अध्यागमनमा जाँच हुँदाखेरि चिनियाँ कर्मचारीहरूको विवेकहीन व्यवहार देख्दा नेपालको नेतृत्वले विश्वास गुमाएको सन्दर्भलाई जोडिएको छ । रसुवागढीको ऐतिहासिक महत्त्वलाई प्रकाश पार्ने क्रममा उक्त ठाउँले वीर नेपालीको पहिचानलाई सुरक्षित राखेको मर्म व्यक्त गरिएको छ । नेपाल तीब्बत र चीनसँग लडिएका युद्ध कथा र केरुङ, बेत्रावती र थापाथली सन्धिका प्रसङ्गसँगै नेपाली वीरताको प्रशंसा गरिएको छ ।
‘माउ वारि बाच्छो पारि’ शीर्षकमा मानवीय संवेदनाहीनता र यन्त्रमय बनेको मानव जीवनलाई प्रस्तुत गरिएको छ । चेक जाँचका क्रममा यात्रामा गएका आमा वारि छोरो पारि हुनुपरेको यथार्थलाई प्रकाश पारिएको छ । ‘खुशी र बुर्कुसीको केरुङ’ शीर्षकमा अध्यागमनको प्रत्रिया पार गरेपछि चिनियाहरूले गरेको स्वागत, चिनिया बसमा चढेर केरुङतर्फ प्रस्थान, चाइना पास बनाएर केरुङमा काम गर्नजाने नेपालीहरूको वास्तविकता र नियति, आधुनिक विकासमा अगाडि बढेको केरुङ तथा नेपाली भावनाको प्रतिबिम्ब मुखरित भएको पाइन्छ । तिब्बतीय पठारतिरको यात्रा, तल्लो खण्डको रमणीय प्रकृति, उचाइ बढेसँगै नाङ्गा डाडाँको यात्रा, उचाइमा पुग्दा आकाशलाई छोइन्छ कि भन्ने अनुभूति हुँदाको रोमाञ्चित अवस्थाको प्रस्तुति पाइन्छ । नूनको ऐतिहासिकता र नून व्यापारको कथालाई प्रकाश पारिएको छ । नूनले बनाएको पारस्पारिक सम्बन्धका क्रममा समाजशास्त्रीय चेतना पनि व्यक्त भएको पाइन्छ । विषयको शिलशिलासँगै आख्यानात्मकता र लेखकीय ज्ञानको सञ्चार भएको अनुभूति पाठकले गर्दछ । सागाको सन्ध्याकालीन मनोरम प्रकृतिको वर्णनमा मनोहारी प्रस्तुति पाइन्छ । भाषाको सीमाले गर्दा झेल्नुपरेको समस्या पनि व्यक्त भएको छ । तिब्बती पठारको भूगोल, फैलावट, प्रकृति, नूनको इतिहासका सन्दर्भहरू जोडिन आएको पाइन्छ । ‘ब्रह्मपुत्रको तीरैतीर’ शीर्षकमा नदी सभ्यता, नदी र जीवनको सम्बन्धलाई प्रकाश पारिएको छ । विषयको गहिराइमा पुगेर प्रसट पार्ने काम लेखकले गरेको अनुभव हुन्छ । होर्चुबाट देखिने कैलास पर्वत र मानसरोवरको दृश्यले लेखकलाई मोहित बनाएको उल्लेख पाइन्छ ।
सत्रौँ क्रममा रहेको ‘अमृतको सागरसँगै विषको सागर’, ‘किनारका चौबीस घण्टा’, ‘मनचिन्ते सरोवर र कल्पनालोकको विचरण’, ‘कैलासको दिव्यदर्शनपछि दार्चेन’, ‘जिउँदै पुगेको यमद्वार’, ‘रहस्यै रहस्यले भरिएको हिमशिखर’, ‘अलङ्घ्य टाकुरो र मिलारेपाको कुरो’ जस्ता शीर्षकहरू मानसरोवर र कैलास पर्वकै विषय र महिमामा केन्द्रित रहेको पाइन्छ । लेखकीयजीवनको अनुपम आनन्द र दिव्यदर्शनसँगैको आत्मानुभूतिका साथमा विभिन्न धर्मका मानिसको आस्था, विश्वास र पवित्र क्षेत्रका रूपमा रहेको मानसरोवर र कैलाससँगका मिथक, किम्बदन्ती, भौगोलिक संरचना, वैज्ञानिक तथ्य आदिका पृष्ठभूमिमा प्रकाश पार्नेकाम गरिएको छ । हिन्दू, बौद्ध, सिख, बोन आदिको आस्थाको केन्द्रका रूपमा रहेको कैलास पर्वत आफैंमा रहस्यमय पहाड रहेको सन्दर्भलाई जोडिएको छ । पूर्वीय पुराण, शास्त्र र साहित्यमा कैलासलाई शिवको बास्थान रहेको कुरालाई विशद रूपमा प्रकाश पारिएको छ । मानसरोवरको पवित्र जल अनि त्यसको शान्त प्रकृति अनि राक्षस तालको अशान्त छाल र क्षारयुक्त पानीको प्रसङ्ग तथा देवता र दानवसँग जोडिएका कथाहरू समेटिएको पाइन्छ । यमद्वारको प्रसङ्गबाट यमराजको पौराणिक प्रसङ्ग तथा यमद्वाराको भूबनोट, स्थानीय मान्यता र विश्वासलाई प्रकाश पारिएको छ । रहस्यमय कैलास पर्वत सगरमाथाभन्दा होचो भएर पनि मिलारेपाबाहेक कोही पनि यसको टुप्पोमा पुग्न नसकेको कुरा विभिन्न दृष्टान्त र आरोहीका विचारलाई पनि प्रस्तुत गरिएको छ । यसको नजिकमा रहेको विशेष प्रकारको विकिरण र ऊर्जा शक्ति रहेको अनि प्राकृतिक रूपमा पनि छिनछिनमा रूप फेर्ने कुरालाई महत्त्वका साथमा प्रकाश पारिएको छ । मानसरोवरको स्नान तथा कैलासको दिव्यदर्शनले मनमा प्राप्त हुने ऊर्जा, आत्मशान्ति र पवित्रताको पाटोलाई पनि उच्च महत्त्व दिइएको छ । कैलाससम्बन्धी भएका विभिन्न अध्ययन र अनुसन्धानलाई पनि उल्लेख गरिएको छ । यसको विलक्षण प्रकृतिलाई हेर्दा यो मानव निर्मित हुन सक्ने कुराहरू पनि कृतिमा समेटिन आएका छन् ।
‘धपेरीसित फेरि केरुङ’ शीर्षकमा केही यात्रु कैलास परिक्रमातिर गएको र लेखक लगायतको टोली केरुङतिर लागेको कुरा उल्लेख गरिएको छ । यससँगै यात्राको उत्तराद्र्धको सङ्केत पाइन्छ । पुरानो केरुङको एैतिहासिकता र जीर्णशीर्ण अवस्थाले लखकलाई पनि भावुक बनाएको अनुभूति हुन्छ । अग्लो ठाउँबाट होचो क्षेत्रमा आएपछि स्वास्थ्य अवस्थामा सुधार आएको कुराका उल्लेख गरिएको छ । ‘पर्खाइका दुईरात’ शीर्षकमा साथीहरूलाई पर्खिने क्रममा केरुङको बजार तथा बौद्ध मन्दिरको अवलोकन गरिएको कुरा प्रकाश पारिएको छ । त्यहाँ रहेका नेपालीहरू अवस्थाको उल्लेखसँगै हाम्रो सरकार र अवस्थाप्रति कटाक्ष गरिएको छ । ‘खिनाउरा जिउ र निन्याउरा अनुहार’ चीनका नागरिकहरू सुकिला र खाइलाग्दा तर नेपालीहरूका अनुहार खिनाउरा र टिठलाग्दा देखिएको सन्दर्भबाट हाम्रो वास्तविकतालाई विश्लेषण गरिएको पाइन्छ । नेपाली इतिहासको सर्वेक्षण गरी लिच्छवी र मल्लकालसम्मको नेपालको समृद्ध अवस्था, पृथ्वीनारायण शाहको सैन्य विकास र एकीकरण अभियान, राणाशासनकालमा प्रथम र दा्स्रो युद्धमा नेपाली युवाहरू बेचनुको नियति, पञ्चायतकालसँगै लाहुर जान बाध्य अवस्था, द्वन्द्वकालीका अनाहकमा मर्न विवश युवाहरू अनि गणतन्त्रकालमा खाडी र पश्चिमा मुलुकमा चाकरीमा जान विवश हाम्रा युवायुवतीको दुदर्शापूर्ण अवस्थालाई झल्काई इतिहासदेखि नै हाम्रो नेतृत्व तहमा कुनै लक्ष्य र सङ्कल्प नरहेको कुरालाई निर्मम रूपमा समीक्षा गरिएको छ । ‘प्रत्यागमनको पछिल्लो दिन’ शीर्षकमा घर फर्किदाको उत्सुकता र बाटाको यात्राका झलकहरू प्रस्तुत भएको पाइन्छ । गएकै बाटोबाट फर्किएको र केही प्राकृतिक तथा भौगोलिक संरचनाले आकृष्ट गरेको र छोटो समयमै आफ्ना बनेकाहरूसँग छुट्टिनुपर्दाको न्यास्रो र भावना मुखरित भएको पाइन्छ ।
नेपाली माटो, प्रकृति र संस्कृतिप्रतिको मोह ठाउँठाउँमा व्यक्त भएको पाइन्छ । आफ्नो ज्ञान र विद्वत्तालाई प्रसङअनुकूल ढालेर प्रस्तुतिलाई रोचक र घोचक बनाइएको पाइन्छ । कृति पढ्दै जाँदा पाठकले आफू लेखकसँग विचरण गरेको अनुभूति गर्छ । इतिहासको युद्ध र सन्धि पढेको अनुभूति गर्छ । भूगर्भ शास्त्रीका मान्यता र संरचना अवलोकन गरेको अनुभूति गर्छ । पौराणिक आख्यानका पात्र र स्वर्गीय अनुभूतिका साथमा तिनका कर्मको लेखाजोखा गर्दछ । चिनियाहरूको डिजाइन र विकासको गतिलाई नियालिरहेको हुन्छ । यात्राको गाह्रोसाह्रो र प्रतिकूलतालाई आफैंले भोगेको अनुभूति गर्दछ । देशबाट युवाहरू पलायन हुने इतिहासदेखिको परम्परालाई सर्वेक्षण गर्दछ । नेपाल र चीनको विकासको अव्सथाको केही भेउ पाउँछ । मानसरोवर कैलास क्षेत्रलाई महत्त्व दिइएकाले आँखामा कैलास अँजुलीमा मानस शीर्षक सान्दभिक रहेको पाइन्छ ।
निष्कर्ष
नारायण ज्ञवाली मूलतः कवि, निबन्धकार, अनुवादक लगायतका क्षेत्रमा कलम चलाउने व्यक्ति हुन् । नेपाली जीवनको मर्म र अवस्थालाई कवितामा व्यक्त गर्नु यिनको प्रवृत्ति हो । यो कृति मुख्यतया नियात्रा हो । नियनत्राको कलेवरभित्र इतिहास, भूगोल, राजनीति, संस्कृति, कथा आदिको संयोजन गरिएको पाइन्छ । काठमाडौँदेखि मानसरोवरसम्मको यात्राका क्रममा बाटो वरिपरिको भूगोल, प्रकृति, बजार, जीवनशैली, खानपान आदिको सान्दर्भिक अभिव्यक्ति पाइन्छ । धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्वका ठाउँ र तिनको परिवेशको झलकसँगै लेखकीय ज्ञान र चेतना पनि प्रस्तुत भएको पाइन्छ । विभिन्न मिथक, किम्बदन्ती र जनश्रुतिलाई पनि सान्दर्भिक रूपमा उल्लेख गरिएको पाइन्छ । यात्रावृतान्तसँगै स्थानगत भूगोल तथा विषयको वर्णन पनि प्रभावशाली बनेर आएको पाइन्छ । नेपाल तीब्बत र चीनसँग भएको युद्धका प्रसङ्गहरूमा केही पुनरावृत्तिको स्थिति पाइन्छ । उत्तरगयाको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई पनि प्रकाश पारिएको छ । कृतिको केन्द्र भागमा मानसरोवर र कैलास पर्वतको सांस्कृतिक तथा पौराणिक महत्त्वका साथमा अलौकिक प्रकृति र रहस्यमय सौन्दर्यलाई प्रकाश पार्ने काम गरिएको छ । विषयको शिलशिलासँगै हाम्रा सकारहरूका कार्यशैली र साख गुम्दै गएको हाम्रो अवस्थालाई जोड्ने काम गरिएको छ । आफूसँगै पाठकलाई हिँडाउने अनि केही विषय र सन्दर्भ आउँदा भुलाउने सामर्थ्य लेखकमा रहेको देखिन्छ । नेपालीहरूमा रहेको उदारता, बाल्यकालदेखिको सांस्कृतिक रुझान अनि हाम्रो सहिष्णु प्रवृत्तिको उल्लेख पाइन्छ । ठाउँठाउँमा लेखकीय अभिमान पनि व्यक्त भएको पाइन्छ । उखान–टुक्का सान्दिर्भिक रूपमा संस्कृतका श्लोक तथा सूक्तिहरूको प्रयोगले ज्ञवालीको शैली रोचक बनेको पाइन्छ । प्रस्तुतिमा भावुकता, संवेदनशीलता, आत्मसमीक्षाका साथै बौद्धिकताको प्रयोग भएको पाइन्छ । कृतिले नेपालको इतिहास, संस्कृति र आस्थालाई उच्च महत्त्व दिएको पाइन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










