नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मी पूजाको दिन अवसर पारी शुभकामना आदानप्रदान सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ ।

सो अवसरमा महाकवि देवकोटाको जन्मजयन्तीको अवसर छोपी मुक्तकको क्षेत्रमा महत्त्वपूर्ण मानिएको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान-२०७८’ युवा मुक्तककार एवम् मुक्तक अभियन्ता रामजी प्रसाद आचार्यलाई दिने घोषणा गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष आरएनले ठूलो राशिको मुक्तक प्रतियोगिता सञ्चालनसँगै नेपाल सरकारले गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरिएको बताउनुभयो । यो सम्मानका लागि छनोटमा परेका पाँच जनाको नामहरूबाट उहाँहरूले गर्नुभएको कामको मूल्याङ्कन गरी रामजी प्रसाद आचार्य सम्मानित गरिने घोषणा अध्यक्ष आरएनले गर्नुभएको हो । मुक्तकका क्षेत्रमा अहोरात्र खट्ने अभियन्तालाई सरकारले पनि सम्मान गर्नुपर्ने उहाँको धारणा थियो ।

उक्त कार्यक्रम प्राज्ञ सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ भने विशेष अतिथिका रूपमा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका सल्लाहकार डा. रुपक श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाका अध्यक्ष आनन्द श्रेष्ठ र नेपाल मुक्तक प्रतिष्ठान कोरियाका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा त्रय रहनुभएको छ । उहाँहरू संस्थाले आयोजना गरेको मुक्तक प्रतियोगितामा निर्णायक पनि हुनुहुन्छ ।

मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्षसमेत रहनु भएका रामजी प्रसाद आचार्यले प्रखर युवा मुक्तक प्रतिभा सम्मान (नगद रु ११,१११ र सम्मानपत्र) बाट सम्मानित गरिनेछ । खुला विश्वव्यापी मुक्तक प्रतियोगितामा विजयी क्रमशः पदम पाण्डे, मदन घिमिरे, दीक्षा भण्डारी र विषयगत रूपमा विजयी अजय राई, प्रकाश कुइँकेल र कल्पना काफ्ले समेत कार्यक्रममा अतिथिको रूपमा रहनुहुने छ ।

यसका साथै ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’का प्रायोजक डि.आर. न्यौपाने ‘सूर्य’ समेत कार्यक्रममा अतिथिका रूपमा रहनु हुनेछ । उक्त कार्यक्रम लक्ष्मी पूजाका दिन नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ ।