विश्वमा अनादि कालदेखि नै मानिसको बसोबास रहिआएको हो । पृथ्वीमा विभिन्न समयमा ठूलठूला परिवर्तनपछि मानिसको जीवनशैलीमा पनि व्यापक भिन्नता आउँदै आउँदै मानव समाज वर्तमानको स्थितिमा आइपुगेको हो । यसरी यस पृथ्वीमा धेरै मानिसको जन्म भयो अनि मृत्यु पनि भइरहेको छ । यहाँ जन्मिएका सबैले आफ्नो कृति राखेर जान सक्तैनन्, जसले यो सुन्दर संसारलाई केही दिएर जान सक्छन्, समयले उसलाई भुल्न सक्दैन अनि जसले केवल आफ्नै जीवन गुजारा गर्ने मात्र काम गरेर जान्छन्, समयले उसलाई छिट्टै बिर्सिन्छ । यसरी पृथ्वीमा आफ्नो त्याग, तपस्या र लगनशीलताले धेरैको उपकार गरेर यो संसारमा आफ्नो चिनो छोडेर जानेहरूमा नेपाली साहित्य तथा कला जगतका ध्रुवतारा श्रद्धेय युद्धवीर राणाको नाम अग्रपङ्क्तिमा लिन सकिन्छ । सन् १९४१ मा बुबा स्व. लालसिंह थापा र आमा स्व. वाणी राणाका पुत्रको रूपमा यिनको जन्म भएको हो । यिनको प्राथमिक शिक्षा असम राज्यको डिगबोइस्थित ए.ओ.सी नेपाली विद्यालयमा प्रारम्भ भई डिगबोइ हिन्दी उच्च माध्यमिक विद्यालयबाट यिनले म्याट्रिक परीक्षा उत्तीर्ण गरेका हुन् । घरायसी दुरवस्थाका कारण यिनको महाविद्यालयको स्नातक तहको शिक्षा अधुरो रहेको थियो ।
‘हुने बिरुवाको चिल्लो पात’ भन्ने उखानलाई चरितार्थ गर्दै कक्षा छ देखि नै यिनले गीत, कविता आदि लेख्न थालेको र अभिनय तथा खेलकुदमा पनि पारदर्शिता देखाउन थालेका हुन् । यिनको कर्म जीवन सन् १९६२ देखि डिगबोइको पूर्वाञ्चल नेपाली विद्यालयको शिक्षकको रूपमा आरम्भ भएको हो । यिनको परिवारमा यिनकी धर्मपत्नी रीता राणा, दुई भाइ छोरा र चार बहिनी छोरी छन् । बहुमुखी प्रतिभाका धनी राणा एकजना आदर्शपरायण शिक्षक हुनुका साथै कुशल खेलाडी, समाज सेवक, नाट्यकार, निर्देशक, सफल अभिनेता, चित्रकार, मूर्तिकार, गीतकार र गायक हुन् । यसका साथै यिनको सबैभन्दा प्रख्यात सीप काष्ठकलामा रहेको थियो ।
समाजप्रति रहेको अवदानको स्विकृति स्वरूप यिनलाई निम्न उल्लेखित सम्मानले विभूषित गरिएको छ-
(१) साहित्य, संस्कृति तथा कलाकार सम्मान (२००२)
(२) कृष्ण स्मृति पुरस्कार (२००४)
(३) साहित्य र शिल्पकला सम्मान (२००६)
(४) रोयल नेपाल अकाडेमीबाट अन्तर्राष्ट्रिय तहको मानपत्र (१९७१, काष्ठकलाका लागि ।)
सानै उमेरदेखि यिनले युगरेखा, उषा, ज्वाला, हाम्रो ध्वनि, रत्नश्री आदि पत्रिकामा विभिन्न रचना लेख्ने गरेका थिए । यिनले सन् १९८६ मा ‘साहित्य प्रवाह’ र सन् २००४ मा ‘उद्गम’ त्रैमासिक पत्रिकाको सम्पादन गरेका हुन् । मौलिक कृतिका रूपमा ‘चिहान नपाएका तक्माहरू’ (१९८१) लामो कविता, ‘मानव यात्रा’ (२००२) ‘नेपाली संस्कृति हाम्रो अस्तित्व’ (२००४) ‘नयाँ पिँडीलाई’ (अनुवाद २००८) ‘सृष्टि र प्रव्रजन’ (२०१७) तथा ‘नेपाली लोकसाहित्य र लोक संस्कृतिको परिचय’ (२०२०) रहेका छन् । यिनका कथासङ्ग्रह र शब्दकोश प्रकाशोन्मुख रहेको थाहा लागेको छ ।
राणाको कविता ‘चिहान नपाएका तक्माहरू’ धेरै लोकप्रिय कविता हो । यसमा भारतीय नेपालीहरूको परिचय र अस्तित्वको संकट अनि त्याग र बलिदानको उपेक्षा आदि विषयलाई ऐतिहासिक तथ्यका साथ व्यक्त गरेका छन् । भारतीय सेनामा रहेर भारतवर्षको अखण्डता रक्षाका लागि सिमानामा प्राण बलिदान दिने जातिलाई सधैँ शङ्कास्पद नजरले हेरिने प्रवृत्तिले कवि भित्रभित्रै मुर्मुरिन्छन् । चिनी र पाकिस्तानी युद्धमा निडर भएर लडेबापत देशले सेनाहरूलाई भिक्टोरिया क्रस चक्र, परमवीर चक्र आदिले विभूषित गरे पनि तिनैका सन्तानलाई एक चप्परी माटोको अधिकार नदिनु, अनागरिक, विदेशी आदिको लाञ्छना लगाउनुजस्ता घटनाले कविमन अति नै आक्रोशित भएको छ । यिनै भावनाहरू चिहान नपाएका तक्मा कविताको प्रतिपादित विषय हुन् । यिनको ‘म जन्मेको देश’ शीर्षक कविता असम उच्चतर माध्यमिक शिक्षा संसदले प्रकाशित गरेको छ र यसलाई एघार कक्षाको पाठ्यक्रममा गाभेर यिनको साहित्यिक जीवनको गरिमा बढाएको छ ।
यिनको अर्को उल्लेखनीय ग्रन्थ हो ‘नेपाली संस्कृति,हाम्रो अस्तित्व ।’ लगभग ७० वटा सन्दर्भ ग्रन्थ अध्ययन गरेर हाम्रो हराउन लागेका केही धरोहरहरूको संरक्षण गर्ने उद्देश्यले यो पुस्तक प्रस्तुत गरिएको छ । यो पुस्तक लेखकको धेरै अनुसन्धान, अन्वेषण, अध्ययन र प्रयासको मीठो फल हो । वृहत्तर नेपाली संस्कृतिभित्रका जातजातिहरूका सांस्कृतिक झलकहरू झल्काउन सक्षम भएको यो पुस्तकमा हाम्रो संस्कृति नै हाम्रो परिचय हो अनि संस्कृति मासिए हाम्रो परिचय मासिन्छ भन्ने लेखकको अडान छ । संस्कृति बाहेक पनि हाम्रो लोकसाहित्यभित्र पर्ने तुक्का-उखान,गाउँखाने कथा,लोक आख्यान,दन्त्यकथा आदिको उल्लेख रहेको छ । प्रस्तुत पुस्तकले नयाँ पिँढीका लेखक र अन्वेषकलाई ठूलो सहयोग दिएको छ । धेरै पुस्तकालय धाउनुपर्ने,विविध पुस्तकको खोज गरेर कष्ट उठाउनुपर्ने कामलाई उनले एउटै पुस्तकमा अटाएर गाग्रामा सागर भरेका छन् ।
उनको ‘सृष्टि र प्रव्रजन’ शीर्षकको पुस्तकमा ऐतिहासिक दस्तावेजहरूको राम्रो उल्लेख पाइन्छ । विभिन्न जातजातिको मिलन भूमि असम राज्य भातृत्वबोधको अपूर्व उदाहरण हो । हाम्रा पुर्खाले सदियौंदेखि असममा बसोबास गरी यही भूमिको विकासका लागि जीवन गुमाएका छन् । असममा विभिन्न समयमा अनेक जातिको आगमन भएको भन्दै सबैको मेलमिलापले असमलाई स्वर्गराज्य बनाउने आह्वान राखेका छन् ।
राणाको अर्को कृति ‘मानव यात्रा’ एक तथ्य समृद्ध पुस्तक हो । वेद, उपनिसद, मनुस्मृति, भगवत गीता, डा. राहुल सांकृत्यायनको भल्गादेखि गङ्गासम्म (From Volga to Ganga), देवासुर सङ्ग्राम, विश्वकोशका साथै नेपाल, भारत र इङ्गल्याण्डका धेरैवटा पुस्तक अध्ययन गरेर लेखिएको यो अति नै खोजपूर्ण पुस्तक हो ।
यिनको अर्को पुस्तक ‘नेपाली लोकसाहित्य र लोक संस्कृतिको परिचय’ शीर्षकको पुस्तक सन् २०२० मा प्रकाशित भएको हो । लोक साहित्य र लोक संस्कृतिको खोज र सोध गर्ने विद्यार्थी र अन्वेषकका लागि यो पुस्तक एकदमै पठनीय भएको छ । ११५ पृष्ठको यो पुस्तक उनका रचनाहरूमा उत्कृष्ट ठहरिएको छ । यो पुस्तकले अङ्ग्रेजी सन २०२३ को साहित्य अकादमी पुरस्कार प्राप्त गरेको छ ।
युद्धवीर राणाको समृद्ध व्यक्तित्व र कृतित्वका बारेमा यति छोटो लेखमा अटाउने चाहना राख्नु मेरो धृष्टता हो । उनको कर्म जीवन र उनका जम्मै कृतिहरूलाई लिएर हाम्रा साहित्यिक संस्थाहरूले ‘युद्धवीर राणा रचनावली’ प्रकाशित गर्नु हो भने उहाँलाई उपयुक्त सम्मान दिएको हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 





