नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक सुवर्ण शमशेर राणाकाे जीवनी ‘राजनेता सुवर्ण शमशेर’ सार्वजनिक भएको छ । साहित्यपोस्टकाे सम्पादन रहेकाे रामचन्द्र घिमिरेद्वारा लिखित यो पुस्तककाे विमाेचन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो ।

पुस्तककाे विमाेचनपश्चात् प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शमशेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताउनुभएको छ । सुवर्ण शमशेर अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकमाथि बाेल्दै उहाँले प्रजातन्त्रप्रतिको निष्ठाप्रति सुवर्ण शमशेरमा कहिल्यै कमी नआएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “असल व्यक्तित्व, कम बोल्ने तर सबैका कुरा सुन्ने सुवर्णजीलाई मैले पहिलोपटक कलकत्तामा भेटेको हुँ, नेपाल विद्यार्थी सङ्घ स्थापनामा पनि सहयोग गर्नुभयो, प्रजातन्त्रका लागि आफ्नो सबै सम्पत्ति खर्चने उहाँ प्रजातान्त्रिक समाजवादी नेता हुनुहुन्थ्यो ।”

केन्द्रीय सदस्य रमेश लेखकले अध्ययन, ज्ञान, सूचना र सीप मिलाएर ऐतिहासिक, बहुआयामिक र प्रेरणापुञ्ज सुर्वणजीका बारेमा लेखिएको पुस्तक पठनीय मात्र नभई सङ्ग्रहयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुवर्णजीले तन, मन र धन प्रजातन्त्र र मुलुकको समृद्धिका लागि समर्पण गर्नुभएको छ, उहाँको भावनाअनुरुप आगामी महाधिवेशनमा पार्टी एकताबद्ध र सुदृढ तुल्याउने काममा सबै तह र तप्का लाग्नुपर्छ ।”

सो अवसरमा काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, सहमहामन्त्री डा. प्रकाशशरण महतका साथै पार्टीका केन्द्रीय सदस्य भीमसेनदास प्रधान, न्हुच्छेनारायण श्रेष्ठ, राधा घलेलगायतको उपस्थिति रहेकाे थियो । उहाँहरूले सुवर्ण शमशेरलगायत पार्टीका सम्मानित नेताका नाममा सडक, अस्पताल र सार्वजनिक भवन निर्माण गर्न सुझाव दिँदै उहाँहरूले प्रजातन्त्र प्राप्तिका लागि पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष ध्रुव खड्का र पुस्तकका लेखक रामचन्द्र घिमिरे प्रतिष्ठानले जनहितका लागि गरेका विभिन्न क्रियाकलाप र पुस्तकमा सुवर्ण शमशेरबारे समेटिका विविध पक्षबारे जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई सम्मान गरिएको थियो ।