रोहन क्षेत्री

लामो समयदेखि अमेरिकामै बसेर नेपाली साहित्यमाथि अध्ययन–अनुसन्धान गरिरहेका भारतका रोहन छेत्रीले पेन अमेरिकाले प्रदान गर्ने साहित्य विद्वत् वृत्ति हात पारेका छन् ।

पेन अमेरिका लेखकहरुको संघ हो । यसले सन् २०२१ का लागि रोहनलाई नेपालका प्रख्यात नाटककार अविनाश श्रेष्ठले लेखेका कविता संग्रहहरुलाई अंग्रेजीमा अनुवाद गर्नका लागि यो विद्वत् वृत्ति प्रदान गरेको हो ।

विगत तीन वर्षदेखि नै उनले श्रेष्ठका कवितालाई नेपालीबाट अंग्रेजीमा अनुवाद गर्न थालेको भए पनि यसै कार्यका लागि उनले यो वृत्ति प्राप्त गरेका हुन् । अनुवादका लागि श्रेष्ठका ६ वटा कविता संग्रह छानिएको छ । एउटा असमी भाषामा कविता संग्रह निस्किएको छ भने बाँकी पाँच वटा नेपाली भाषामा निस्किएको छ ।
श्रेष्ठ नेपालमा वातावरण कविता भित्र्याउने सीमित र विरला कविमध्ये एक हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशन गरिने ‘समकालीन साहित्य’ तथा ‘गरिमा’ मासिकका पूर्वसम्पादक श्रेष्ठ चर्चित नाटककारका रुपमा समेत चिनिन्छिन् ।

फिल्मका कथा, पटकथा तथा संवाद लेखनसमेत गरेका श्रेष्ठले रोहनले अंग्रेजीमा अनुवादका लागि आफ्ना कविता छानेकामा कृतज्ञता व्यक्त गरेका छन् । उनले उपन्यासकार मञ्जुश्री थापाले रोहन छेत्रीसँग जोडिदिएकामा पनि धन्यवाद व्यक्त गरेका छन् ।

छेत्रीले ह्युस्टन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन् । सोही कार्यका लागि उनले अनुवाद र सिर्जनशील लेखन सिद्धान्तमा थेसिस गरिरहेका छन् ।

अविनाशका कविताहरुको समग्र संग्रहलाई रोहनले अनुवाद गर्ने भएका हुन् । ती कविता संग्रहमा सन् १९७७ मा प्रकाशित भएको ‘परेवाः सेता–काला’ (दोस्रो संस्करण १९८४), सन् १९८१ मा प्रकाशित ‘संवेदना/ओ संवेदना !’, सन् १९९१ मा प्रकाशित ‘अनुभूति यात्रामा…’, सन् १९९८ मा प्रकाशित ‘हेर्नुस् यस सहरलाई’ (जर्मनी–नेपाली संयुक्त कवितासंग्रह), सन् २००३ मा प्रकाशित ‘करोडौँ सूर्यहरुको अन्धकार’ (पर्यावरणकेन्द्रित कविताहरुको सँगालो), सन् १९८४ मा प्रकाशित असम, गुवाहटीमा प्रकाशित ‘तुमियेई मोर नेपथ्य प्रिया !’ (असमी भाषामा) रहेका छन् ।

रोहनले यसअघि अन्तर्राष्ट्रिय प्रकाशन समूह ह्याचेट इन्डिया लिमिटेडमा पुस्तक सम्पादकका रुपमा काम गरिसकेका छन् । उनी पश्चिम बङ्गालको डुअर्स निवासी नेपाली मूलका हुन् ।