भारतको डुवर्सस्थित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले ज्ञानेन्द्र खतिवडालाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार–२०२६ प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका सचिव रूपेश शर्माद्वारा सार्वजनिक गरिएको घोषणाअनुसार चयन समितिको बिहीबार बाग्राकोटमा बसेको बैठकले सर्वसम्मत रूपमा खतिवडाको नाम अनुमोदन गरेको हो ।
बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा सम्पन्न उक्त बैठकले खतिवडालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । आगामी सन् २०२६ जनवरी १८ का दिन बाग्राकोट, डुवर्समा आयोजना हुने ९८औँ बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा सालबारी निवासी साहित्यकार ज्ञानेन्द्र खतिवडालाई पुरस्कारद्वारा सम्मान गरिनेछ ।
प्रसिद्ध साहित्यकार बद्रीनारायण प्रधानको स्मृतिमा सन् २०१० मा स्थापना गरिएको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले सन् २०१२ देखि नेपाली साहित्यमा समर्पित योगदान पुर्याउने स्रष्टालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारमा स्मृति–चिन्ह, अङ्ग–वस्त्र र नगद राशि समावेश रहनेछन् ।
गहन अध्ययन, चिन्तन र सिर्जनामा निरन्तर सक्रिय खतिवडाका ‘खस्नै लागेको उज्यालोमा’ (सन् १९९५) र ‘ऐना अघिल्तिर’ (सन् २०२३) काव्यकृति प्रकाशित छन् । पहिलो कृति नृहार प्रकाशन गृह, काठमाडौँबाट प्रकाशित भएको हो भने दोस्रो कृति बुक आन्ट, सिलगढीबाट प्रकाशित छ । पछिल्ला पाँच दशकदेखि साहित्य साधनामा सक्रिय खतिवडाका कथाहरू ‘समकालीन’, ‘कादम्बरी’ लगायतका विभिन्न स्तरीय साहित्यिक पत्रिकामा प्रकाशित हुँदै आएका छन् । उहाँको कथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ भने निबन्धकारका रूपमा पनि उहाँको परिचय स्थापित छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










