कविता क्षितिज –प्रा. कपिल अज्ञात

कवि प्रा. कपिल अज्ञातको कवितासंग्रह हो ‘कविता क्षितिज’ । कवि अज्ञातको कवितामा युद्धको विरोध, राज्यको खराब प्रवृत्तिको विरोध, सामाजिक कुरितिप्रतिको विरोध पाइन्छ ।

”कपिल अज्ञातसँग जनमतको साइनो गतिलो र गतिशील रहेकै कारणले हामीबीचमा असमञ्जस्यता र असजिलोपनका जटिलता कहिल्यै देखापरेनन् ।”, पुस्तकमा मोहन दुवाल लेख्नुहुन्छ, ”चितवनमा जनमतका साहित्यिक स्पर्श साथीहरूका माझ पुर्याउने सौन्दर्यात्मक कार्य गर्नुभएर जनमतको ‘धन्य’ हुने अभियानमा उहाँको साथ बिर्सन गाह्रो छ। यसर्थ भन्न सकिन्छ जनमत, कपिल अज्ञात र चितवन जोड्ने पुल उहाँ नै हुनुहुन्छ । उहाँको प्रगतिमा जनमत खुसी रहनु स्वाभाविकै छ । थुप्रै पुस्तकका लेखक कपिल अज्ञातका नयाँ कवितासङ्ग्रह कविता क्षितिज प्रकाशन गर्न पाउँदा हामीलाई खुसी लागेको छ । सामाजिक सत्यलाई कवितामा संप्रेषण गर्न सिपालु कविका रूपमा परिचय गर्न सकिन्छ । उहाँका कविताहरू अध्ययन गर्दा भन्न सकिन्छ कवि अज्ञात । यथार्थतालाई नलुकाइकन कविता बनाउन सक्ने कविको क्षमता प्रशंसनीय छ । सरल भाषामा कविता बनाउनु पनि गाह्रो छ। त्यही गाह्रो काम गरेर कवितामा उनी आफूलाई देखाउन सफल छन् । कवितामा मान्छेको भावना र वस्तुतथ्यलाई उजागर गर्न सक्नु नै कविको क्षमता हो। कविको कवितासङ्ग्रह थपिएकोमा बधाई छ ।”

त्यसैगरी पुस्तकमा कपिल अज्ञात लेख्नुहुन्छ, ”कविता क्षितिज (२०८१) मेरो चौबिसौं कृति हो । गद्यकविताका रूपमा यो मेरो तेस्रो कविता सङ्ग्रह हो । गद्यकविता र गीतिकविताबाटै मेरो कविताको थालनी भएको हो । आख्यानबाहेक सबै विधामा मेरो कलम चलेको छ । आफ्‌नो प्रकृति र प्रयासले जे हात लाग्यो त्यसैको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने मेरो मूल्य र मान्यता छ। कविताको लघुयात्रामा लागेपछि बृहद् यात्रा पनि गरुँ भन्ने चाह कसलाई हुन्न तर प्रकृति र परिस्थितिअनुसार चल्नु नियति हो, त्यही मानवीय धर्म पनि हो ।”

पुस्तकलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । ८० ओटा कविता संग्रहित पुस्तकको मूल्य दुई सय ५१ रुपियाँ रहेको छ ।