पोखरा । र्यान्डम रिडर्स सोसाइटी, पोखरामा शनिवार मुकुन्दराज शर्माद्वारा लिखित निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा भएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार, पत्रकार तथा विद्वानहरूले कृतिको बहुआयामिक पक्षहरूमाथि प्रकाश पार्नुभएको थियो ।
पत्रकार रघुनाथ वाग्लेले कृतिको समीक्षा गर्दै ‘धोबीघाट मेलोडी’ लाई जीवनकै मेलोडीको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ”जीवनका प्रत्येक दिन फरक हुन्छन्, तर हरेकले आफ्नो छाप छोड्छन् । यसैगरी, शर्माका निबन्धहरू एकअर्कासँग भिन्न भए पनि सबैले सशक्त सन्देश बोकेका छन् ।” वाग्लेले समाजका चम्चाहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार गर्दै शर्माले देशप्रेम र सामाजिक विसङ्गतिलाई सँगसँगै प्रस्तुत गरेको बताउनुभयो । उहाँले निबन्धमा गरिएका नयाँ प्रयोगले शर्मालाई विशिष्ट पहिचान दिएको र आम नेपालीको चाहनालाई निबन्धमा उतारिएको धारणा राख्नुभयो ।
निबन्धकार शर्माले आफ्नो जीवनका अनुभव र विचारलाई निर्बाध ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो । हिउँचुलीमा हिउँ बग्यो…, वनमाराले वनै खायो… जस्ता चर्चित गीतका रचनाकारसमेत रहेका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्ध सङ्ग्रह प्रकाशित छ । गणित विषयका पाठ्यपुस्तक लेखक तथा लिटिल एन्जल स्कुल, काठमाडौँका प्रिन्सिपल समेत रहेका शर्माको ‘धोबीघाट मेलोडी’ कामना न्युज पब्लिकेसन्सले बजारमा ल्याएको हो ।
साहित्यकार सरुभक्तले शर्माका निबन्धमा रहेको काव्यिक गुणले आफूलाई प्रभावित पारेको बताउनुभयो । उहाँले र्यान्डमले पोखरामा बौद्धिक बहसको मञ्च सिर्जना गरेकोमा प्रशंसा गर्नुभयो । निबन्धमा विद्यावारिधि गर्नुभएको डा. जीवलाल बस्यालले शर्माका निबन्धको छुट्टै स्वादले पाठकलाई प्रभावित पार्ने गरेको अनुभव सुनाउनुभयो । सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले कृतिलाई विभिन्न फूलहरूको सुन्दर मालाको संज्ञा दिँदै ससाना कुरामा पनि भावुक भएर लेख्नु शर्माको निबन्धगत वैशिष्ट्य भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गर्नुभएको थियो ।
र्यान्डम रिडर्स सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा कृतिमाथि बहस गर्दै आएको छ । जेठ महिनाको अन्तिम शनिवार सुरेश भुसालको कृति ‘छालबाटो’ माथि रोशन शेरचनले परिचर्चा गर्ने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










