ज्ञानबहादुर थापा

बर्माको एकमात्र नेपाली साहित्यिक पत्रिका ‘ऐरावती‘का सम्पादक ज्ञानबहादुर थापा ‘बगाले‘ले राजीनामा दिएका छन् । पत्रिकामा छापिएको एउटा कथामा सीतालाई रावणको प्रेमीकाका रुपमा वर्णन गरेको कारण देखाएर बर्माका धर्मभीरुहरूले लेखक तथा सम्पादकलाई कारवाहीको माग गरिरहेका छन् । पत्रिका जफत गर्ने र लेखकले सार्वजनिक माफी माग्नु पर्ने दबाब बढेको छ । यो विवाद बढ्दै गएपछि सम्पादकले आफ्नो तर्फबाट गल्ती भएको भन्दै पदबाटै राजीनामा दिएका छन् । यो समाचार तयार पार्दा पार्दै सम्पादकले सार्वजनिक माफीसमेत माग्नु परेको छ ।

‘रामायणको अधुरो काण्ड अपूरो प्रेम‘ नामक कथामा व्यक्त भएका विचारले हिन्दु धर्ममाथि छेडखानी गरेको भन्दै धार्मिक अतिवादीहरूले पत्रिका जफत गर्ने निर्णय गरेका थिए । त्यसैगरी कथाका लेखक सेरु थापा ‘च्यापिन‘ले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका थिए । विवाद बढ्दै गएपछि सम्पादकले राजीनामा दिएका हुन् । राजीनामापछि पनि विवाद साम्य भएको छैन । सम्पादक थापाले पत्रिकामा लागेको खर्च सबै आफैँले बेहोर्ने र सार्वजनिक वितरण नगर्ने सर्तमा कुरालाई साम्य पार्ने प्रयास गरिरहेको बुझिएको छ ।

बर्मामा संस्थागतरुपमा दुई वटा पत्रिका छापिन्छन् । त्यसको खर्च म्यान्माली गोर्खालीहरूको संस्थाले गर्दछ । त्यसमध्ये एउटा धार्मिक पत्रिका चलेको छ भने अर्को चाहीँ साहित्यिक । कथा छापिएपछि साहित्यिक सामग्रीको नाममा हिन्दु धर्ममाथि खेलवाड गरेको आरोप त्यहाँका हिन्दु कट्टर हिन्दु धर्मालम्बीहरूले लगाएका छन् । बर्मामा हिन्दु पण्डितको प्रभाव र परम्परागत साेच भएका व्यक्तिहरकाे बाेलावाला भएका कारण पनि सम्पादकले राजीनामा दिनु परेको बुझिएको छ । उनको सार्वजनिक माफी पनि यही दबाबको बीचमा आएको बुझिएको छ ।

यस विषयमा साहित्यपोस्टले पत्रिकाका सम्पादक ज्ञानबहादुर थापा बगालेसँग यस प्रकरणबारे बुझ्न गरेको प्रयास असफल भयो । पटक पटकको फोन प्रयासमा पनि उनले प्रतिक्रिया दिन चाहेनन् । पत्रिकामा यो समाचार छापिँदा अझ विवाद बढ्ने आशंकाले सम्पादकले प्रतिक्रिया दिन नचाहेको बुझिएको छ ।

कथाकारले पनि त्यहाँको परिस्थितिबारे टिप्पणी गर्न चाहेनन् । यसबाट पनि परिस्थिति टिप्पणी प्रतिकुल भएको अनुमान लगाउन सकिन्छ ।
ऐरावती पत्रिकाको चार पृष्ठमा छापिएको उक्त कथामा सीता र रावणबीच मिलन हुन नसकेको अतृप्त प्रेम देखाइएको छ । कथामा सीताले भूसमाधिपछि रावण र सीताको मिलन भएको देखाउने प्रयास गरेको छ । कथाले सीता र रावणको वार्तालापमार्फत् नारीमाथि भएको अन्यायको कुरा उठाएको देखिन्छ ।

बर्माका युवा साहित्यकार तीलक पोखरेलका अनुसार चार वर्षअघि नै लेखकले यो कथालाई त्यहाँकाे पत्रिकामा छाप्ने प्रयास गरेका थिए । त्यो बेला बर्मामा धार्मिक पत्रिका ‘धर्मोदय‘ मात्र छापिने गर्दथ्यो । धार्मिक पत्रिकामा अधार्मिक कथा पठाएकोमा त्यही बेला लेखकले खप्की खानु परेको थियो । त्यसयता कथाकार सेरु थापा धार्मिक समाजमा अस्वीकृत जस्तै भएका थिए ।

साहित्यिक व्यक्तित्व ज्ञान बहादुर थापा बगाले त्यहाँको शिक्षा विभाग प्रमुख भएपछि उनले आफ्नो नेतृत्वमा युवा पुस्तालाई अघि लगाएर ‘ऐरावती‘ साहित्यिक पत्रिका प्रकाशन गरे । पत्रिकाले त्यहाँको गोर्खा समाजमा प्रचलित नियम गलत नै भए पनि प्रश्न उठाउने हिम्मत गरेको थिएन । तर नेपालमा हुने साहित्यिक एवं अधिकारको गतिविधिको प्रभाव बर्मामा पर्न थालेपछि भने पत्रिकाले केही गलत ठानिएको विषयलाई साहित्यकको माध्यमबाट प्रश्न उठाउन थालेको थियो । यही कारण सम्पादक मण्डलले ४ वर्षअघि अस्वीकृत भएको उक्त कथा यसपटकको अंकमा छापिएको बुझिएको छ ।

‘हामीले नेपालका कयौँ उपन्यासहरू पढेका छौँ, जसले हाकाहाकी हिन्दु धर्मका भगवानमाथि प्रश्न उठाउने गरेको छ ।‘ युवा साहित्यकार तीलक पोखरेल भन्छन्, ‘कृष्ण धरावासीको राधा, कुमार भट्टराईको अश्वस्थामा, राजेन्द्र थापाको द्रौपदी र सकुनी त मैले भर्खरै पढेका कृति हुन् । ती सबैमा स्रष्टाले भगवानका विषयमा प्रश्न उठाएका छन् ।‘

बर्माका केही युवा साहित्यकारहरू सम्पादन मण्डलमा रहेकाले पनि उक्त कथा छापिएको बुझिएको छ । तर प्रधानसम्पादक भएका नाताले थापाले क्षमायाचनासहित संस्थासमक्ष राजीनामा दिएका हुन् ।

‘खासमा लेखकले कथा लेखेकै भरमा माफी माग्नु नपरोस् भनेर प्रधानसम्पादकले राजीनामा दिनु भएको हो ।‘ सम्पादक मण्डलका एक जना युवा सम्पादकले भने, ‘लेखकको शीर उचोँ राख्न उहाँ माफी माग्न तयार हुनु भयो र पद छाड्न पनि तयार हुनु भयो । लेखक हुनुको नाताले हामी उहाँ जस्तो सम्पादक पाएकोमा गौरव गर्दछौँ ।

२ लाख नेपालीभाषी रहेको बर्मामा करिब डेढ लाख हिन्दु धर्मालम्बी छन् । अझ ५० हजार नेपालीहरू आफ्नो धर्मप्रति कट्टर छन् । यही कडा नियम कानुनका कारण हजारौँ नेपालीहरू हिन्दु धर्म छाडेर बौद्ध धर्म ग्रहण गर्न थालेका छन् ।

‘कट्टरताले कसैको हीत गर्दैन । यही कारण हजारौँ नेपालीहरू हिन्दु धर्मबाट पलायन भइरहेका छन् भन्ने कुरा उहाँहरूलाई बुझाउन गाह्रो भइरहेको छ ।‘ पछिल्लो पुस्ताका एक युवाले साहित्यपोस्टसँग भने, ‘धर्मको कुरामा हामी आफ्नो नाम भन्न पनि सक्दैनौँ, किनभने समाजबाट बहिष्कार हुने सम्भावना हुन्छ । कृपया नाम उल्लेख नगरिदिनु होला ।’

पूरा कथा पढ्न यहाँ पढ्नुहाेस्ः

http://sahityapost.com/2020/09/16893/

कथाकाे पहिलाे पृष्ठ