काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबार थापागाउँस्थित मण्डला थिएटरमा सुरु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बजाउँदै महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै कुलपति शर्माले सन् २००० मा आरोहण गुरुकुल खोल्दा देखेको सपना आज साकार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको रंगमञ्चलाई नयाँ पुस्ताका कलाकारले जसरी धानेर राखेका छन्, त्यो देखेर मलाई गर्व लागेको छ।’ उहाँले विदेशी पर्यटक हिमाल मात्र नभई नेपालको कला र संस्कृति बुझ्न आउने भन्दै सरकारी स्तरबाट यस क्षेत्रमा पर्याप्त काम हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । बजेट अभावका कारण काममा बाधा पुगेको उहाँको भनाइ छ।
महोत्सवका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले स्वागत मन्तव्यमा हिजोको रंगमञ्चको यात्राबाट आजसम्म आइपुग्दा पुरानो पुस्ताबाट ज्ञान हस्तान्तरण भएको स्मरण गर्दै अहिले आफ्नो पुस्ताले नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले निटफेस्टको तेस्रो संस्करण ‘रैथाने ज्ञानको उज्यालो’ भन्ने मूल नारासहित ज्ञान हस्तान्तरणलाई नै प्राथमिकता दिएको बताउनुभयो।

उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर असोएसिनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
चैत १२ गतेसम्म चल्ने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुनेछन् । नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी जस्ता कार्यक्रमहरू पनि समावेश छन्। पहिलो दिन पशुपति राईद्वारा निर्देशित ‘उम्लिदो खरानी र लेम्लेमा’ नाटक प्रदर्शन भएको थियो भने २३ जना कविले कविता वाचन गर्नुभएको थियो । किरण नेपाली र दीप्सन पुतुवारको ‘फोकट्रोनिक्स’ शीर्षकको सांगीतिक प्रस्तुतिले पहिलो दिनको कार्यक्रम समापन भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२३ असार २०८३, मंगलवार 









