मकवानपुर । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले एक साहित्यिक कार्यक्रमबिच विभिन्न विधाका ११ जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ।
प्रतिष्ठानले चार जनालाई साहित्य, संगीत, गायन र कलाकारिता विधामा राष्ट्रिय पुरस्कार प्रदान गरेको छ भने ७ जनालाई विभिन्न विधामा सम्मान समर्पण गरेको छ ।
यसैगरी, प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य सम्मानबाट मकवानपुरका साहित्यकार–बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई सम्मान गरेको छ ।
यस्तै, २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मानबाट पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको छ भने १० हजार राशिको भीम–मथुरा बाल प्रतिभा सम्मानबाट मकवानपुरकी विद्यार्थी रीतिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मानबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मानबाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई सम्मान गरिएको छ ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमको प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामा, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रतिष्ठानका पूर्व अध्यक्ष ह्यग्रीभ आचार्य लगायतले पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 









