काठमाडौँ। नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रहको लोकार्पण एक समारोहबिच प्रज्ञा(प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा लोकार्पण गर्नुभएको थियो ।
यस अवसरमा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्छ,मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्छ।यस अर्थमा मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको बताउनु भएको थियो।
नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भएको थियो । उहाँले मुक्तकमा सुख-दुःखका कुरा, यथार्थ अनुभूति ,मातृप्रेम ,मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताउनु भएको थियो ।
उक्त लोकार्पित मुक्तकसङ्ग्रहबाट मुक्तककार पार्वती भट्ट ,कार्मु चौलागाईं ,प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन तीनवटा मुक्तक वाचन गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेललगायतका मुक्तककार सुनिल अधिकारी ,रमेश पौडेल र प्रतीक ढकालका साथै कोमल ढुङ्गाना र आयुश्री चौलागाईंले शुभकामना मनतव्य राख्नु भएको थियो । मुक्तक कृति ‘मनोकाङ्क्षा’ का सर्जक मीना चौलागाईंले आफ्नो मुक्तक लेखनशैली र रचनागर्भका बारेमा बताउँदै केही मुक्तक वाचन गर्नुभएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मनतव्य रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 






